Basudev Adhikari – Paris Ko Hawa Sanga

वासुदेव अधिकारी – पेरिसको हावासँग

परपरबाट बत्तिएर
कान नजिकै आएपछि त
सबै कुरा भन्नु नि !
किन कान नै तान्ने ?
किन झिर पठाउने भित्रसम्म ?

मन्त्रमुग्ध भएर
पेरिस हेरिरहँदा
त्रिकोणी बाटो देखिरहँदा
आइफेलटावर लुब्रे हेरिहँदा
धन्यवाद भन्न चाहेको हो तिमीले ?
आफ्नो बुढ्यौलीको
कथा हाल्न खोजेको हो तिमीले ?
कि मलाई
सानो देशको गरिब फुच्चे केटो भनी
गाली गर्न खोजेको ?
कान नजिकै आएपछि त
खुलस्तै कुरा गर्नु नि !
किन च्यात्तिने गरी कान तानेको ?
किन भित्रै पुग्ने गरी झिर पठाएको ?

पेरिस आउँदा
तिम्रो रेनेसाको गर्व
कण्ठै गरेर आएको छु
भिन्सी वागको पराग
काठमाडौँमै सुँघेर आएको छु
के भन्छौ त तिमी मलाई ?
आफ्नै रोमान्सको कथा !
युरो ऋणको घाउ
कि सोध्छौ ?
हाम्रो भद्रगोल मासिने समय !
नकार ऊर्जा निख्रिने अवधि !
कि डराएका छौ ?
म भित्र देदिप्यमान्
नयाँ नेपालको स्वप्न ऊर्जासँग !

परबाट बत्तिदै आएपछि
किन मौन तिमी ?
किन छुच्ची गुरुमाले जस्तो
कान तानिरहेकी !
झिर रोपिरहेकी !