Pratima KC – Yuddha

प्रतिमा के.सी. – “युद्ध”

ऊ जगतकी जननी हो
संसारकी सृष्टीकर्ता हो
हर मानवकी माता हो
जीवन दाता हो
जूनसंग पनि युद्ध छ उसको
घामसंग पनि युद्ध छ उसको
युध्दै युद्धमा जन्मेको उसको जिन्दगी
गिद्धहरु मासु लुछिरहेछ्न्
गोहीहरु आँसु पुछिरहेछ्न्
रातलाई सिंगै ढलाएर
सपनाका ठेलीहरु जलाएर
आगो ताप्नु पर्छ उसले !
जिन्दगीका हरेक बाजीहरु
एउटा सिंगो जिन्दगी जिउनका लागि
जिन्दगीलाई पटक पटक
मार्नु पर्छ उसले !
म आज बोलिरहेछु
ऊ, तिमी र हामी मिलेर
एउटा युद्ध गर्नुपर्ने
गोप्य कुरा खोलिरहेछु /

आमाको गर्भको भुणदेखि
शुरु भएको उसको लडाई
जिन्दगीको अन्तिम स्वाँससम्म
अनवरत रुपमा जारी छ
जिन्दगी देखि जिन्दगी सम्म
पुस्तौं पुस्तादेखि हस्तान्तरण हुँदै आएको छ
उसको जिन्दगी नै युद्ध हो
युद्ध नै उसको जिन्दगी हो
धर्म र संस्कारको नाममा
कुल, इज्जत, मान र प्रतिस्ठाको आडमा
असमान जिम्मेबारी बोकाइएको छ
शारीरिक बलत्कार !
मानसिक बलत्कार !
भैरहेको छ आफ्नै र आफन्तहरुबाट
हत्या, अपहरण र अन्तराष्ट्रिय देह ब्यापार चलेको छ
नाबालक देखि बृद्ध सम्म
त्रासको आगो बलेको छ
जीवन रक्षाको लागि
आफ्नै जन्मदातालाई प्रतिवादी बनाएर
परायको अगाडी हात फैलाई
भिख माग्नु परेको छ उसले !
म आज बोलिरहेछु
ऊ, तिमी र हामीले
एउटा युद्ध गर्नु पर्ने
गोप्य कुरा खोलिरहेछु /

झीरमा उनेर उसको जिन्दगी
तानाबानामा बुनेर फेरी
जे मन लाग्यो त्यहि गरिरहेछन
समाजका नाइकेहरु
जनताका पहरेदारहरू
सत्ता र भत्ताको मातमा
आमाको कोखलाई लात मारेर
उनको नामको राजनीति गरिरहेछन
घरदेशमा होस् या परदेशमा
पुरुषबादका गन्धहरु
अफिम र चरेश जस्तै कम भएका छैनन्
पितृसतात्मक सोंचको खुल्ला कारागारभित्र
बन्दी जीवन जिउनु पर्छ उसले
मुल्यहीन जिन्दगी पिउनुपर्छ उसले
पुरुषप्रधान सिंगो समाजसंग
कमजोर तुच्छ आइमाई भएर
बलात्कृत सपनाहरु बटुली
औचित्यहीन लडाई लडिरहनु पर्छ उसले
जिन्दगी देखि जिन्दगी सम्म
सम्भ्रान्तहरुलाई यी सब फगत हुन
अवसर पाएकाहरूलाई यी सब गलत हुन
तर मैले साँचो कुरा बोल्नु पर्छ
हिंजो भन्दा आज अलिकति फेरिएको छ
असुरक्षाले सिमा नाघेको छ
अपराधीहरुको मनोबल बढेको छ
देश चुनौतिले घेरिएको छ
मानसिक गरिबीका पर्खालहरु तोड्नका लागि
उसले आफुलाई मोड्नु पर्छ
अश्लिल विज्ञापनका होडिंगबोर्ड छोड्नु पर्छ
बौद्धिक सुन्दरताको लडाई लड्नु पर्छ
म आज बोलिरहेछु
ऊ, तिमी र हामी मिलेर
एउटा युद्ध गर्नु पर्ने
गोप्य कुरा खोलिरहेछु /

बैठकमा सभा सम्मेलनमा
चर्को भाषण गर्ने
घरमा श्रीमति दमन गर्नेहरु पनि देखियो
दिनभर महिला अधिकारका नारा ओकलेर
साँझ रक्सीभट्टीमा लरखराउने फेमिनिस्टहरु पनि देखियो
महिलामुक्ति आन्दोलनको सवालमा
महिला नै अगाडी बढ्नु पर्छ
हर शक्तिसित लड्नु पर्छ
यसको बिकल्प देखिन मैले
समतामुलक समाजको निर्माण गर्न
युध्दै युद्धको उसको जिन्दगी र मानसपटलबाट
पितृसतात्मक सोंच र संकीर्णताको घुम्टो उघारी
मानवीय हक र पूर्ण अधिकार प्राप्तिको लागि
मूल्य, मान्यता, इज्जत र स्वाभीमानको लागि
अलिकति मुस्कान
अनि धरै साहसको पोको पारेर
भबिस्यको खातिर भबिस्यलाई
उसले हस्तान्तरण गर्नु पर्ने छ
म आज बोलिरहेछु
ऊ, तिमी र हामीले
एउटा युद्ध गर्नुपर्ने
गोप्य कुरा खोलिरहेछु /

अब त थाहा पाउनुभयो होला
ऊ भनेको
तपाईं
हामी
महिलाहरुको
प्रतिनिधि हो//

जय नारी दिवस / २०१५ मार्च ८
रुपन्देही, नेपाल