Dipendra KC – Christmas

दीपेन्द्र अपजसी – क्रिसमस !!

क्रिसमस !!
सिण्टरक्लासले तिम्रो शन्देस वोकेर
परिक्रमा नगरीसक्दै यो नगरीको
झिलीमिली र बैभव;
सम्पन्नताको प्रतिवेदन चढाइसकेको हुनुपर्दछ
अनि आइपुग्छौ तिमी
२५ डिसेम्वरलाई अनुगमन गर्दै
दर्शन दिन ।

तिम्रो स्वागतमा सिंगारिएको नगरी
धूपी, सल्लाका रुख, संसार उजिल्याउने प्रज्वलित दीप
साँच्चै जति अँध्यारो भएपनि
उजिल्याउँछ मन,
अदृश्य तिमी
कहीं कतैबाट हेरेर
आल्हादित छौ होला र त
साँच्चिकै सार्थक छ क्रिसमस !

आज
सडक सुतेका छन एक दिनलाई
ढोका निदाएका छन एक दिनलाई
पादरीहरु एकोहोरो जाग्दै
बिश्व शान्तिको प्रार्थना गर्दैछन्
यो मनमोहकता, यो धून, यो रीत
झँकृत यो मन
शान्त, सुखी, खुशी सवै
क्रिसमस !!

छाता ओढाईराखेको छ राज्य
तिम्रो शीतलतालाई जोगाउन
तिम्रा मुकुटहरुप्रति
तिम्रा धरोहरहरुप्रति
तिम्रा सौन्दर्यहरुप्रति
कति चिन्तित !
आधारहरुको टेको लगाएर
जतनको फूलवारी बनाएर
शीरमा लगाएको छ तिमीलाई
त्यसैले त
जाज्वल्यमान छौ, तेजस्वी छौ
ठाडो शीर गरेर २५ डिसेम्वर नआउदै
छाती फुलाएर घुमेका हुन्छौ
२ महिना पहिलेदेखि नै
क्रिसमस !!

यो क्रिसमस माहोलमा –
तिम्रो शुभकामना आत्मासात गर्छु,
तिम्रो भावना सम्मान गर्छु
अनि एउटा बिन्ती पनि गर्छु –
सम्पन्नताको खाममा
डलर र यूरोको टिकट टाँसेर
गरीव हुलाकीलाई
धर्म निरपेक्षताको डाँक नबोकाउ,
एउटा शुभकामना कार्ड पनि नपठाउ
जहाँ धर्म निरपेक्षताको शन्देस लुकेको छ ।

हामीसँग पनि अर्कै क्रिसमस छ
हाम्रो दियोमा सल्काएर प्रकाश
जाजल्यमान क्रिसमस मनाउन चाहन्छौं
तर नितान्त आफनै, मौलिकताको डिसेम्बरमा । ।

क्रिसमस २०१२
बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।