Dr Rupak Shrestha – Manchhe Harayo

डा.रुपक श्रेष्ठ – मान्छे हरायो

सूचना! सूचना !! सूचना !!!
आधा उमेर ढल्केको
गहुँगोरो, तिलचामले
अन्दाजी साढे पांच फुटको,
नेपाल राज्य मूल थलो भई
दुई दशकदेखि इंग्ल्याण्डमा बस्ने,
बिशुद्द निंग्लिश बोल्ने,
गोराको भिडमा अलग्गै सुनिने,
कालाको भिडमा अलग्गै देखिने
बृद्द बालक हराएको छ,
देख्नुहुनेले खबर गर्नुहोला ।

ममचा खान मन लाग्यो भन्थ्यो रे!
चाइनिज डम्प्लिंगले चित्त बुझाउन
चाइना टाउनतिर जाँदै थियो रे !
चाइना टाउनको चोकतिर खोजियो,
चाइना टाउनको गेटतिर कुरियो,
ख्वै उता देखिएन ।

बागबजारको बारा खान मन लाग्यो भन्थ्यो रे !
बर्गरले मन बुझ्छ कि भन्दै
बर्गरकिंगतिर बहकिंदै थियो रे !
उतै बेग हानें, बेलिबिस्तार लगाएँ
अंह, भेटिएन ।

दाल भात खान मन लाग्यो भन्दै
साँझपख साउथल ग्लासी जंक्सनबाट सुंइकिंदै
गुरुद्वारतिर गएथ्यो रे !
सोंचे, दाल भातले मन भर्ला र आउला
अंह, आएन ।

निंग्लिश बोल्दा बोल्दा दिक्क लाग्यो
नेपाली बोल्न मन लाग्यो भन्थ्यो रे !
“ह्याम्प्शायरमा नेपाली बढी भो!”
तितो पोख्दै सांसद होवार्थ कुर्लिएछन्,
कानोलाई आँखो
“अलिदिन अल्डरशटतिरै अल्झिन्छु”
भन्दै उतै हाम्फाल्दैथ्यो रे !
खोज्नुसम्म खोजियो,
अंह अत्तोपत्तो लागेन।

रोंटे पिंग खेल्न मन लाग्यो भन्दै
लन्डनआईतिर लागेथ्यो रे !
धित पुर्याई फर्की आउला भन्थें
आएन ।
लन्डन आईको छेउछाउ
अनि,
वाटरलु देखि वेस्टमिन्स्टर वरपर
भिडभाडमा खोजियो,
अंह, भेटिएन ।

महेन्द्रपुलबाट माछापुछ्रे हेर्ने मन लाग्यो भन्दै
टावरब्रिजतिर लम्किंदै थियो रे !
सोंचे मनभरी हेर्ला र आउला,
के आउंथ्यो, आएन ।
थेम्सको तिरैतिर खोजियो,
अंह कतै देखिएन ।

गंगास्नान गर्ने बिचार छ भन्दै
“पोर्ट्समथतिर जान्छु”
साथीसंग साउती मार्दै थियो रे !
लाग्यो धर्मकर्म जागेछ,
शूद्दीकरणमा लागेछ,
सोंचें,
फर्की आउला नि आत्मशुद्दी गरि
आएन !
आउंदै आएन !!

भगवानको दर्शन गर्ने इच्छा छ भन्थ्यो रे !
मनमा शान्ति चाहियो भन्थ्यो रे !
स्कन्दभेलको दर्शन गर्न
वेल्सतिर पो आईपुगे कि ?
लौन शिवजी,
उता त्यस्तो मान्छे भेटे
यता खबर गर्नुहोला ।

हिमाल हाँसेको हेर्ने हो भन्दै,
गुराँस फुलेको हेर्ने हो भन्दै,
डांडाकाँडा घुम्ने हो भन्दै,
स्कटल्याण्डतिर लागेथ्यो रे !
लौ न बिष्णुजी,
उता त्यस्तो मान्छे देखे
यता खबर गर्नुहोला ।

खुकुरी र झण्डा टाँसेको
भादगाउंले टोपी,
सबैले सोधेको सोध्यै गरेछन्,
दिक्क लागेर आफ्नो स्वाभिमान झिकेर फालेछन्,
दौरा र सुरुवालमा हिंड्दा कसैले जागिर नदिएसी
हुरुक्क भएछन्,
बिचरा बाँकी रहेको चिनारी खोलेर फालेछन्,
त्यसैले,
सँधै सुट र टाईमा हिड्ने,
हातमा ब्रिफकेश बोक्ने,
बिश्वग्रामको कल्पना गर्ने,
जन्भूमिलाई बिर्सन नसक्ने,
अनि,
आफ्नै मन कतै अड्याउन नसक्ने
यस्तो असन्तोषी अभागीलाई भेटे
यता खबर गर्नुहोला ।

सधैं देश गुमाएँ भन्थ्यो रे !
फर्के कि आफ्नै थातथलो भनि
सोधखोज गरियो घरतिर पनि
सुनाए अनाहकमा नानाथरी,
बिदेसियो रे !
भासियो रे !
अवसरबादी रे !
आमाको माया मारिस्, निर्दयी रे !
उफ!
एकाएक कानहरु थुने औंलाहरुले !

दिनभरि फ्याक्ट्रीसंग जुधेकी
ज्याककी आमालाइ सोधें,
“कतै त्यस्तो मान्छे देखिन् कि” ?
भन्छे,
म निकम्मा भएँ रे !
बेकम्मा भएँ रे !
समय चिनिन रे !
उनी बर्बाद भईन रे !

साथीहरुलाई फोन गर्यो
हेल्लो भन्नु अघि नै
सोध्छन्,
कता बेपत्ता ?
कहाँ हराइस्?
म भन्छु,
म पनि त्यहि सोध्न फोन गर्दैछु
साथि हो,
म आफैलाई हराएर खोजिहिंड्दै छु
मलाई जिउँदो वा मरेको पायौ भने
मलाई तुरुन्त खबर गर्नु है,
म हराएको छु!
– बेलायत