Krishna Prasai – Duryodhan Satsang Ma Bhijeka Chhan

कृष्ण प्रसाई – दुर्योधन सत्संगमा भिजेका छन्

देशमा विभिषणहरू ज्यूदैं छन् ।
देशमा जालन्धरहरू पनि छन् ।
जे जति अर्जुनहरू छन्-
ती अब कुनै हालतमा,
कृष्णको बहकाउमा,
अर्को महाभारत लड्न चाहँदैनन् ।
र पश्चतापको भाषामा-
उल्टै सम्झाइरहेछन् कृष्णलाई ,
फेरि अर्को युद्धको तयारी-
अब कसैगरी गर्नु हुन्न भनेर ।
अझै जिकिर छ कृपाचार्यको ?
उनले चाहेका भए ,
विगतमा पनि –
युद्ध टाल्न सकिन्थ्यो भनेर ।
निरीह धृतराष्टहरूले –
पहिला पनि कहाँ सिमाना देखेका थिए र !
दुरद्रष्टा भनिने,
सञ्जयहरू पनि हड्तालमा जुटेका छन्
उनीहरू अब ,
कुनै द्रृष्टिहीनको पाउभक्तिमा,
आफ्नो समय उर्त्र्सग गर्नर् चाहँदैनन् ।

चाहँदैनन् –
पुत्र मोहको नाउँमा,
एउटा सिंगै सभ्यता नाशियोस् ।
दाउको राजनीति छोडेर,
शकुनी पनि सुध्रिएका छन् ।
सभ्यता टिकिरहनु पर्छ भनेर-
दुर्योधन सत्संगमा भिजेका छन् ।
इच्छा छैन कसैलाई-
अब कुनै युद्ध चम्कियोस-

खरानी बनोस् कुरुक्षेत्र ।
म, मेरै देशको अगम शिखरको चौतारीमा बसेर,
तल समथर सम्पदा हेरिरहेछु –
मेरो देश-
आजभोलि जहाँ ,
हस्तिनापुरमा नभएका-
केही पुराना लेन्डुपहरू छन्-
केही लेन्डुप हुन खोज्दैछन्-

भर्खर जन्मेका नयाँ लेन्डुपहरूलाई-
स्कुले नानीहरू,
पुतला बनाएर जलाउँदैछन् ।