अबिर खालिङ्ग – माथि
हेर्न नसकिने अभिसाप पाएर हो कि
त्रस्त छन् आँखा
माथि हेर्न ।
आकाशको गीत र नीलो रंग कसैको पेवा भईसक्यो ।
धरतीको चित्कारले
बन्द भएको कानमात्र छ
नदीले रेटेको सारंगी र हावाले फुकेको बाँसुरी
नेपथ्यमा विलीन भईसक्यो ।
शिशुहरु रुन्छन आतंकको रुदन ।
मायाको अंकमालमा
वैरताको न्यानो ।
कुदिरहन्छ गाउँघरमा आतंकको सिटी फुक्दै उँधो जाने रेल ।
गाउनै छाडे हिजोआज मान्छेहरूले गीत…
माथि माथि सैलुंगेमा र बिर्से माथिको आनन्द ।
(Sent to Sanjaal Corps via Email)