Pravin Khaling – Canvas Samachar Patra

प्रवीण खालिङ – क्यानभास समाचार पत्र

दैनिक
समयको क्रमसितै
घटना, दुर्घटनाको तुल्लीका समातेर
न्यूजका इजलहरू
नाइफ स्ट्रोकहरू
क्रमबद्ध पेरको क्यानभासमा उपस्थिति कोरिन्छन्।

शहरको
राजनीतिको कालो रङ्गले
गाउँको सयपत्री सुनौलोलाई ओभर स्याडो गर्छ
सजक दुर्घटनाको रक्ताम्मे कलरले
क्याबिनेट र सचिवालयसम्म ब्रस स्ट्रोक दिन्छ।

धाराको कुरा
तरूणीको मोहनी चुरा
गाउँको वैंशको रङ्ग खेलाउन हाम्मे पर्छ-उतार्न गाह्रो
इजलमा आउँदैन-ब्रसले दिप्दैन।

आत्महत्याको रङ्गमा
वानगोफको पुरानो पिस्तोल
ओभररसुरवाजबाट कतै ह्वाइटहलको बगैंचामा पोतिन्छ
राङ्काको पहेलो खेतको रङ्गमा
कागहरूले गुल्मीसण्डे शुरु गर्छ।

हेडलाइनमा
हत्या,बन्द र अपराधको
पोस्टम्यान रूले पोट्रेट बन्छ
सम्पादकीयमा त्यसैलाई कोलाज बनाइन्छ सान्तवना र सुझाउको
अक्षर रङ्गहरू पोतेर
सयौं नाइफ स्ट्रोकपछि
जब एका विहानै घर-घर र गल्ली-गल्लीको
ग्यालेरीमा प्रदर्शन हुन्छ
त्यो क्यानभास समाचार पत्र
गाउँ, धारा, गोरेटो र धानबारीको चित्र भएमा
मास्टरपीश बन्दैन त्यो
त्यसैले
दूर्घटना, बलात्कार, अत्महत्या, आतंकवाद र राजनीतिको
रङ्ग खेलाउनै पर्छ
त्यसैलाई प्रोट्रेट, कोलाज र ल्याण्डस्केप पारेर
टी टेबलका ग्यालेरीहरू सजाउन।

गान्तोक, पूर्व सिक्किम