Krishna Prasai – Tyo Timi Nai Thiyou

कृष्ण प्रसाईं – त्यो तिमी नै थियौ

एउटा भव्य समारोह
जो तिमीलाई सम्मान गर्ने
सम्मान सभा थियो त्यो–
तिमी भने खागीरङ्को जुत्तामाथि
कालो पेन्ट र
कालै चश्माको पहिरनमा
हामी सहस्रमाझ सम्मान थापिरहका थियौ
मेरा धेरै साथीहरुको प्रश्न थियो
सायद ! तिमी आखामा कमजोर हुनुपर्छ
यसैले अन्धोपन छिपाउन
कालै चश्मा मनपराउँछौं ।
आहा !
लामो तर अलि तल आएर
तिमीतिरै धुम्रिएको कपाल
संगीतको भाकामा चलिरहेका तिम्रा दुवै खुट्टा
सुकर्म समूहको (व्याण्ड) यमन राग–
अनि उपसना नामको धुनमा भुलेर
निमग्न हल्लिरहेको तिम्रो शिर
र संगीतको संसारमा
समुद्र जस्तै गहिरो भएर डुबेको तिम्रो मन
साथमा गलाभरी सयपत्रीमा सजिएको
घाँटीले थाम्न नसकिरहेको मालाहरुको बयान
र दर्जनौ रङगिन खादाहरुमा
मानौ प्रतिमा जस्तै सजिएका तिमी
सायद तिमीले विर्सिरहेका थियौ आफूलाई
कहिले काँकी फुल पनि भारी हुनसक्छ भनेर
कस्तो अचम्म, हो त्यो त्यस्तै थियो
जसमा सितार सारङ्रगी र तवला पनि नाचेको
मायाले झंकेको तिम्रो कपाल वरिपरि
सयौको संख्यामा उभिएका दर्शकसामू
तिमीले नदेखेमा पनि हुनसक्छौं मलाई
तर मैले सबैभन्दा ज्यादा हेरेको मान्छे
जमातभरिमा तिमीनै थियौं
साक्षात कविता जस्तो मान्छे
कविता झै मन भएको कवि मान्छे
जसलाई मैले पहिला पनि कतै देखेको थिए
हो कवि यू सिवा ,
त्यो मात्रै तिमी थियौ
जो कालो चश्मामा सजिएर
हजारौं वर्ष अघि देखि
मेरो बाँसुरीभित्र लुकेको धुनमा झुमेर
सेतो कविता गमिरहेका थियौ
म फेरी पनि भन्छु
हो ! त्यो तिमी नै थियौ ।