कृष्ण पाख्रिन – मदारीको कविता
कवितालाई
तिमी
भालुहरु भनेर
डमरु बजाउ
चाहे लठ्ठीले नचाउ
लाटाबुङ्गाहरुको देशमा
दन्त्यकथामा
केटी फकाउन जाने लाटाले
नाचे झैं नचाउ !
कवितालाई/शब्दहरुलाई
अर्थहरुलाई/अलंकारहरुलाई
जसरी मिलाउन सक्छौं
जसरी नचाउन सक्छौं— नचाउ ।
तर कविता नलेख !
भुइँचालो आयो होला हगि ?
मेरो कुरा सुनेर
तिम्रो बुद्धिमा
र तिम्रो मानसिकतामा
त्यो भुइँचालोमाथि
सम्झिने ठाउँ धेरै होला
घर भत्केको दृश्य !
विभत्स मृत्युको दृश्य !!
स–साना अबोध बालकहरुका
बलिकाहरुका हराएका आमाहरुको खोजीमा
मृतक पिताहरुका खोजीमा
हिडिरहेका एक हूल पाइलाहरुमाथि
असन्तोषको भोकले
चिच्याई रहेका उदाश स्वरहरुमाथि
कविता नलेख !
त्यो एउटा क्रान्ति हुन्छ ।
त्यो कविता— कविता हुदैन
त्यसैले कविता नलेख !!
अनैतिक बाँदरहरु
नैतिकताका प्रस्तावहरु लिएर
तिम्रो छेउ
आउन सक्छन् ।
धूर्त बिरालोहरु पनि
हिजोआज तीर्थ गएका छन् ।
फर्केर आएको देखेपछि
कवितालाई
तिमी !
भालु भनेर
डमरु लिएर अरु नचाउ !
डम………….डम……….डम……………
डिग………….डिग………….डिग……….
बहिराहरुलाई कानमा गई
भन !
“दानीका होगा कल्याण”
तब तालीको गडगडाहटसँगै
पैसाको बर्षा हुन्छ ।
त्यो पैसाको बर्षामाथि
ती दान र दानीहरुमाथि
ती भीडका मानिसहरुमाथि
कुनै कविता नलेख !
अरुको लागि
त्यो एउटा— विद्रोह हुन्छ ।
त्यो एउटा— क्रान्ती हुन्छ ।
त्यसैले कवितालाई
तिमी !
भालुहरु भनेर
डमरु बजाउ
चाहे लठ्ठीले नचाउ
लाटा बुङ्गाहरुको देशमा
दन्त्यकथामा
लाटाबुङ्गाले केटी फकाउन जाँदा
नाचे भैंm नचाउ !
तर कविता नलेख !!
कवितामाथि हिजोआज भ्यागुता हिँडछन् ।
कवितामाथि हिजोआज झुसिल्कीरा हिँड्छन् ।
भ्यागुताहरु !
गंगटाहरु !!
र, चमेराहरु !!!
एउटा गोल टेबलमाथि
नक्षत्र यूद्धदेखि शान्ति प्रस्तावसम्म
ठूल–ठूला सम्मेलन गर्छन्÷निर्णय गर्छन्
भाषण गर्छन् र प्रस्ताव पारीत गर्छन्
कि मानिसहरुले यो बस्तीलाई
अब हामीले
चन्द्रलोक,मंगललोक र बुधलोकमा
किन बसाइ नसार्ने ?
मानिसहरु धेरै भए
यो धर्तीमा
यिनीहरुलाई
यिनीहरुबीचमा नै
किन तेश्रो विश्वयूद्ध नचर्काउने ?
किन उनीहरुबीचमा नै
गृहयूद्धको आगो नसल्काउने ?
निर्विकल्प !
निर्विकल्प !!
त्यो प्रस्ताव पारित हुन्छ ।
त्यसैले
तिमी कविता नलेख !
कविता !!
हिजो,
आज,
भोली
कविता रहेन !!!
ग्लास्नोस्त/पेरेस्त्रोइका
रेगन/गोर्वाचोभ
यूद्ध र शान्ति भएछ ।
कविता कविता रहेन
त्यसैले
कविता नलेख !
कविता लेख्न मनाही छ !!
बन्देज छ !!!
कवितामा
अक्षरहरुको जुलूस हुन्छ ।
शब्दहरुको/हरफहरुको
क्रान्ति हुन्छ ।
कवितामा
शब्दहरुले/अर्थहरुले/प्रतीकहरुले
तिम्रो विरुद्ध……………विद्रोह गर्छ ।
तिम्रो विरुद्ध……………क्रान्ति गर्छ ।
त्यसैले
तिमी कविता नलेख !
यौटा मदारी सधैं सधैं यसो भन्छ
डम………..डम…………..डम……….
डिग………..डिग………..डिग………..
कवितालाई
तिमी
भालु भनेर
डमरु बजाउ !
चाहे लठ्ठीले नचाउ !!
लाटाबुंगाहरुको देशमा
दन्त्यकथामा
केटी फकाउन जाने लाटाले
नाचे झैं नचाउ !
कवितालाई/शब्दहरुलाई
अर्थहरुलाई/अलंकारहरुलाई
जसरी मिलाउन सक्छौं
जसरी नचाउन सक्छौं— नचाउ !
तर कविता नलेख !!
तर कविता नलेख !!