Taranath Sharma – Laxmi Puja Ko Shubhakamana

दीपावलीको पवित्र चाडमा घरभरि मनभरि बत्ती बलून्
झिलिमिली झिलिमिली दीया बलेपछि दैत्य अँध्यारा सबै जलून्
आऊन् हाँस्तै आमा लक्ष्मी नेपालीहरूमा स्नेह भरून्
खेलौँ द्यौसी भट्ट्याएर जनले संस्कृति बोध गरून्

छिमेकीहरूका घरमा सुन्दर फूलका माला वरिपरि
सेलरोटीको सुगन्ध चल्दा मन लोभिन्छ घरिघरि
दिदी र बहिनी लगाइदिन्छन् दाजुभाइका निधारमा
टीका राम्रा, फूलका माला ढाकी गलाभरि सिँगारमा

मान्छेहरू त प्रसन्न चित्तले घुम्छन् पूरै तिहारभरि
गाई र गोरु कुक्कुरका पनि फूलका माला हारसरि
त्यागी डर सब काग बरन्डा कौसी वरिपरि नाच्तै छन्
आयो हाम्रो दिन पनि भन्दै मीठा व्यञ्जन चाख्तै छन्

को सानो हो को हो ठूलो मातृदृष्टिमा समान छन्
सब प्राणीकी आदि जननी लक्ष्मी स्नेहकी खानी हुन्
लक्ष्मी माता नेपालीका घरघरमा धनधान्य दिऊन्
जहाँ गए पनि नेपालीहरू राष्ट्रगौरवसाथ जिऊन्