रमेश गुरुधामी – राहत(कविता)
राहत पाइने आशमा
वडा कार्यालय पुगेकी दिदीलाई
उनको नागरिकता मागियो,
घरबेटीको हस्ताक्षर मागियो
जसको कुनै नागरिकता छैन
जसको कोही घरबेटी छैन,
बस उनलाई मात्र थाहा छ,
उनकी आमाले उनलाई
सडकमै जन्म दिएकी हुन्
सडकमै हुर्काएकी हुन
उनको कुनै थर छैन
मात्र उनकी आमाले बोलाउने
एउटा नाम छ: आशुमाया!
उनलाई थाहा छैन,
नागरिकता भनेको के हो?
नागरिकता कस्तो हुन्छ?
अनि यो पनि थाहा छैन कि,
घरभित्रको निदरी कस्तो हुन्छ?
खासमा उनलाई आफ्नो परिचय नै थाहा छैन,
आमाले आशुमाया भन्छिन्,
अरूले बेश्याकी छोरी, आभारा भने पनि सहन्छिन्,
कस्तो कहाली लाग्दो जिन्दगी,
यस्तो सुन्दा हुन्छ उनलाई धेरै असहय
लाग्छ होला, कति दुःखको समय।
त्यसैले उनी आकाशलाई घर
र भगवानलाई घरबेटी सम्झन्छिन्।
अब भन्नुहोस्, अध्यक्ष ज्यू!
उनले कसरी नागरिकता ल्याउन सक्छिन्?
कसरी घरबेटीको हस्ताक्षर गराउन सक्छिन्?
त्यसैले म हात जोडेर बिन्ती विसाउँछु,
अहिले तपाईंको कमिसन राख्ने
गोजी रित्तो नदेख्नुस!
घरमा भएको भकारिलाई
भोको नसम्झनुस।
किनकी मलाई थाहा छ,
तपाईं अनि तपाईंको परिवारको गोजी रित्तो छैन।
तपाईंको खाद्यान्नको भकारी भोकाएको छैन।
मात्र तपाईंको जनता प्रतिको माया रित्तिएको छ,
कमिसनले भरिने पेट भोकाएको छ।
त्यसैले यस्तो विपत्तिमा
बाहाना नबनाइदिनुस, मेरो विन्ती छ,
ती दिदी र दिदी जस्तालाई
अलिकति भएपनि राहत दिनुस्
उनको भोको पेटले
तपाईंलाई जिउँदो भगवान सम्झनेछ
फेरि पनि त्यही कुर्सीको मालिक बनाउने छ।
तपाईंको सधैं जय! जय! हुनेछ।
तपाईंको जय! हुनेछ।
(बझाङ्ग)