राजु स्याङ्तान – मधेश
प्रत्येक वर्ष मेरो बस्तीमा
तूफान बोकेर आउँछ बाढी
बगाएर लान्छ हाम्रा झुपडी र नागरिकता
तर कहिल्यै बगाउँदैन जमिन्दारको खेत
प्रत्येक हिउँदमा
बन्दुक बोकेर आउँछ शीतलहर
उडाएर लान्छ घुर ताप्दै गरेका वृद्ध बाबुजी
तर कहिल्यै लाँदैन हाम्रो दुःख
एकाध वर्ष बिराएर
चुनाव चिन्ह बोकेर आउँछ सरकार
बदलिन्छ
बुढी औंलाको चक्रको रंग
तर कहिल्यै बदलिँदैन जिन्दगी
सुनेका छौं
कतै लेखिँदैछ रे देशको भविष्य
तर
देशभित्र छैनौ रे हामी
छाडिएका छौं आज पनि
त्यही किनारामा
जहाँ युगौंदेखि फरुवा बोकेर
गरिरहेछौं सिमानाको रखवाल
आधारातमा
जंगेपिल्लर सार्न आउनेसँग लड्दा
कति वटा करङ भाँचिए हाम्रा
कति दाजुभाइले गुमाए आफ्नो ज्यान
त्यसको हिसाब छैन तिमीसँग
कति बेटीहरुका इज्जत लुटिए
कति माइहरुका स्तन काटिए
त्यसको पनि अभिलेख छैन तिमीसँग
तिम्रो नजरमा
मात्र दोस्रो दर्जाका नागरिक भयौं हामी
र डाँडापारि लुकेर
प्रत्येक वर्ष पठाइरह्यौ
बाढी
शीतहलर र
विभेद
सरकार !
सेना पठाऊ
बमगोला र बारुद पठाऊ
र पड्काऊ चारवर्षे अबोध बालकको छातीमा
किनकि उसले
भोलि सपना देख्ने त्रास छ
अनि जारी गर तिम्रो एक बण्डल संविधान
तर
तर याद गर
पहरेदारबिना हराउन सक्छ
सिमानाबाट जंगेपिलर