मोहन बन्जाडे – एउटा असभ्य जिजिविषा
तिनका पूर्खाले
हाम्रा पूर्खालाई असभ्य भनेको
वर्ण, जात र थर पिच्छे
कहिले थोक र कहिले खुद्रा रुपमा
अपमान गरेको पनि पढियो (ब्रेकिन्ग नेपाल)
कहिले चोला फेराएर
जासुसी गर्न आएको पनि पढियो
उसलाई उसले त्यसो गरेको भनी
उही बस्तीमा मिली बसेकालाई
आफ्नो दास बनाउन
उचालेका कुरा पनि पढियो
यता विधि विधान लेख्दा
धर्ना कसेर
दान, दण्ड र भेद प्रयोग गरी
मर्सी माफिया बनेर
बिलो लगाएको पनि पढियो
यताका सभ्यताको
जरो उखेल्न
किलो भाँच्न
पसल थापेको पनि पढियो
बंगालमा पुग नपुग चालीस लाख मान्छे मर्ने गरी
अनिकाल पर्दा
गान्धी अझै किन जीउदै त? भन्ने पनि पढियो
जलियानवालावागमा निशस्त्रलाई
घेरामा पारेर मार्नेलाई पुरष्कृत गरेको पनि पढियो
नाला पानीमा पानी रोकेर
पानी बारेको पनि पढियो
पेगन विरुद्ध आमहत्याका कुरा पनि
मनमनै पढियो
सभ्यता समाप्त पारिदिन
काखे बच्चालाई थुतेर
शहर पुर्याएको पनि पढियो
नागासाकी र हिरोसीमा पनि पढियो
ग्यास च्याम्बर पनि पढियो
मण्डेलाको जीवनी पनि पढियो
कुकुर र पररंगीलाई निषेध भनी
ढोकामा टाँसेको पनि पढियो
साना नानीहरुलाई दुर्व्यवहार गर्ने
“पिजागेट’ पनि पढियो
द्वेष घृणा र कुण्ठा फैलाउन
निमेक दिएको पनि पढियो
एक दुई चोटिलाई त
इतिहास सायद यस्तै हुन्छ भन्दै
अलिकति मन मारेर पढियो
अलिकति चित्त दुखाएर पढियो
थप पढ्ने एउटा कौतुहल छ मनमा
अब
तिनका पूर्खाले यहाँबाट लगेका
यतैका शिल्पीले बनाई
यतै प्राण प्रतिष्ठा गरेका मूर्ति
यहींका कलाकारले
आफ्नै रगत पसिनाले कोरेका कला
र यतै लेखेका शास्त्र र विधि विधान
जो सभ्यता होइनन् तिनका लागि
जो पवित्र छैनन् तिनका बीच
त्यस्ता असभ्य कुरा राखी रहँदा
असभ्यता सर्ला भन्ने डरले
फिर्ता गरिदिए भने-
अलिकति शिक्षाको अधिकार सिक्न मन छ
थोरै संस्कृतिको अधिकार पढ्न मन छ
र, केही कला र सभ्यता संरक्षणको
अधिकार बारे सुनाउन पनि मन छ
त्यहाँ मानवाधिकार छ कि खोज्न मन छ
त्यहाँ न्याय छ कि छिचोल्न मन छ
त्यहाँ सत्य छ कि पहिल्याउन मन छ
अथवा
स्वरहरुले साथ दिए
हातहरुले साथ दिए
मनहरुले साथ दिए
यहींका असभ्य हातले पोतेका
पिडिमा बसेर
मधुरो उज्यालोमा
पूर्खाको रगत पसिनाले रचेका ती कृतिहरु
सर्र एकचोटि हेर्न मन छ
र खर्र एकफेर पढ्न मन छ|