मोहन बन्जाडे – गोठ
हिउदभरि वेसी वा पहारतिर
गर्मी लागे सिख वा सिहाँलतिर
आफ्नो सुबिधा हेर्दै
गोठ सार्छन्
खान नपाए उग्र हुन्छन्
खाएपछि उग्राउन बस्छन्
मैमत्त साँढेहरु
आफैले जोत्नु परे भाग्छन्
जोताउन पाए
कहिले वादका साउमा सपना देखाएर
कहिले विचारका व्याजबाट तर्साएर
बधुवाहरु किलो उखेल्न खोज्छन्
चरुवाहरु जरो उखेल्न उफ्रन्छन् |
छाडाहरु त झन्
गोठ नै भत्काउन डुक्रन्छन्
छेउमै अनमयस्क विचरा गाईहरु
तिनको स्वाँ स्वाँ र फ्वाँ फ्वाँ,तथा
तिखा सिङ र दुलत्तिसंग तर्सेर
जीउ ज्यान जोगाउँन
कहिले यता कहिले उता भाग्छन्
उन्मत साँढेहरु
जे जानेका छन् त्यसैमा मस्तछन्
त्यसैलाई मात्र विश्वव्यापी र ध्रुवसत्य ठानेर
अरुका सबै सोंच, धारणा र विचारलाई
सखाप पार्न उद्द्त छन् |
अझ केही अन्तरालमा
कुन सनक चड्छ कुन्नि तिनमा
डोडडाउँदै, कोकोहोलो हाल्दै
वस्तीतिर तिर पस्छन्
र, अब
आफू सुध्रिएको बहानामा
खेत जोत्ने वाचा गर्छन्
गाडा तान्ने कसम खान्छन्
तर केही दिनपछि फेरि उस्तै
पहिले झैँ – जस्ताको तस्तै
अरु बलिया साँढेहरु चाटेर दिन काट्छन्
र, आफ्नो भकारो ओंगटन
साँढे साँढे बीच भकारो बाँड्छन्
सबै घाँस पराल दाना पानी
आफू र आफ्नातिर सोझ्याउन
प्रतिज्ञा सबै बिर्सेर
मसक्क आँटछन् र सर्लक्क बाँड्छन्
अनि आफन्तलाई बाँडदा उडेको केही सातु
पितृका नाउमा बाँड्छन्
वादमा बाँधिएका
विचारले थुनिएका
आशाले डोर्याईएका
विचरा गाईहरू
आजित, त्रसित र थकित आँखा
चारैतिर घुमाउँदै
त्यस्ता छाडा साँढेलाई
पशुशालामा थान्को लाएर
बाली जोगाएर
छेउ कुनामा चर्न खोज्दैछन्
र, चुडाएर सबै दाम्ला
भत्काएर सबै खोर
बाच्छा बाच्छीसहित
बुर्कुसी मार्न खोज्दैछन् |