मोहन बन्जाडे – माघेसंक्रान्ति र तरुलको चिन्ता
ऊ बेला सूर्यास्त नहुने उपनिवेशले
आँखा लगाएको मेरो माटोलाई
दुई ढुङ्गा बीचको तरुल भनेर
तिमीले त्यो बेलाको समय चिन्यौ
बाइसी चौबीसी टुक्रामा बाँडिएको भूमिलाई
मुलुकको नूनको सोझो गर्ने अभियानमा
ठिही र पशिना खप्दै
चार वर्ण छत्तिस जातका निम्ति
बाह्र हजार घरधुरीको आशिर्वाद लिएर
तिमी तरुललाई ढुंगा बनाउन हिड्यौ
तोपको जबाफ दिन
खुकुरी बोकेर हिड्यौ
अरु तीर्थाटन गर्न जाने ठाउमा
तिमी बन्दुक खोज्न पुग्यौ
बिसे नगर्चीहरुले जोगाएको खर्चबाट
जुटाएको रसदपानी एवं बन्दोवस्तीका सामान र
भिन्न विश्वासका दुई मिस्त्री समेतले
बनाएका बन्दुकबाट
जोगाएको त्यो तरुललाई
ढुङ्गो( त्यो बेला देशलाई ढुङ्गो पनि भनिन्थ्यो) बनाउन
कालु पांडे र झागल गुरुङ रोज्यौ
न्यायका निम्ति पण्डित, ठकुरी र मगर
अर्थात् ज्ञान, साहस र इमान्दारी खोज्यौ
युद्धमा नेतृत्व कसको गराउने भनेर सोध्यौ
घुस रिसवत लिनेको त धनजीव गर्नुपर्ने भन्यौ
खेति गर्ने , खानी चलाउने ठाउँ छान्यौ
अंग्रेज वैरीलाई सिन्धुलीगढीमा रोक्यौ
कश्मिरको वैरीलाई मकवानपुरमा छेक्यौ
देसी महाजनलाई गोड प्रसाह मै तगारो हाल्यौ
यतै तुन्न भन्यौ, यतै बुन्न भन्यौ
आफैले खन्न भन्यौ आफैले जोतौँ भन्यौ
जडीबुटी बेचेर नगद खैचन भन्यौ
झोली थाप्न होइन आत्मनिर्भर बन्न भन्यौ
यतैका नाच हेर्न सिकायौ
यहीको लागि सास फेर्न फकायौ
वैरीका जासुस बेतिया पठायौ
थिति र न्यायका कुराबाट कानूनी राज सिकायौ
प्रजा बलियो बनाउने कुराले प्रजातन्त्र चितायौ
यो सबै नपचेर
ऊ बेला चोला फेरेर आएका जासुसले
उताको श्रीपेचमा दाखेल गरेको
घृणा पत्र पढेर
तिमीले ढुङ्गो बनाउन खोजेको
त्यो बेलाको तरुल विरुद्ध
कुण्ठा वान्ता गर्दै छन् रे कोही
र पनि अरु महरु, मनहरु
यो माघेसंक्रान्तिमा
अझै ढुङ्गो बन्न नसकेको तरुल
जासुसका सन्तान र तिनका खेतालाबाट जोगाउन
जाग्दै छन् जुर्मुराउदै छन्
हुन सक्छ कुनै दिन
असभ्य र सैतानको पगरीबाट दिक्क भएर
तिनमा पनि प्रायोजित घृणा र कुण्ठा सकिने छ र
तरुललाई ढुङ्गो बनाउन
तिनीहरु मध्ये कैयौ
यतै पंक्तिवद्ध हुनेछन् |
(स्रोत : सदृश्य डट कम)