Janak Karki – Siyo

जनक कार्की – सियो

एउटा सियोको आवश्यकता छ
यतिबेला,

जसले सिँउन सकोस्
तराईका फाटेका फाँटहरूलाई
धानका लहलह बालाहरूले

जसले सिँउन सकोस्
उध्रेको पहाडलाई
हरिया वनस्पतिहरूले

जसले सिँउन सकोस्
हिमालका पग्लेका हिँउहरू
हिमपातका कपासहरूले

एउटा सडक सिँउनु थियो
नागबेली आकारको
तराई देखि हिमाल जोड्ने

त्यही सडकमार्गमा
आयात र निर्यात गर्नुछ
भाषा,कला,संस्कृती
भाइचारा ,एकता,आत्मीयता।

अनि सिँउनु छ
एउटा राष्ट्रिय ध्वजा
र नहल्लने गरि गाड्नु छ
हिमालको शिरमा।

सिँउन पर्ने धेरै कुरा थिए
तर यति बेला देश व्यस्त छ
पोस्टमार्टमको लास सिँउन।