Janak Karki – Kapada

जनक कार्की – कपडा

बजारभरी दोकानहरु
बेचिरहेछ
लाज छोप्ने कपडा
भित्र देखि बाहिरसम्म
ढाकिने वस्त्रहरु।

लुकाउन चाहन्छ
कपडा भित्र
आफ्नै चित्र
डराउछ
कमजोर जगमा ठडिएको घर
हावामा उडेर गुडिरहेको गाडी
जाम भैरहने सेफ्टी ट्याकीं
बैंक खाली पारिएको ढिकुटीको सेफ बक्स

जब देख्छ उसले
क्याराम खेलिरहेको युवा
मकै बेचिरहेको बुढी आमा
क्याबिन रेस्टुरेन्टबाट सकेंत गरिरहेका युवती
समाचार बेचिरहेका हकरहरु

अनि आत्तिन्छ
नजर लाग्ने हो कि
पींजडामा थुनेर राखेको गरिबी
दराजमा झुण्डाएका रोजगारी
माकुराको जालो लागेको घोषणापत्र

अर्मानी
लिभाईज
अ्मेरिकन इगल्सले
पर्दा भित्र बेरेर
लुकाएको बिपनाहरुले
देखाएको छ सपनाहरू ।

कपडा पसलको ग्राहक
लाखौ कोशिसको बावजुद
उ देखिरहेछ पारदर्शी
छर्लङ्ग कृस्टल किलिएर

तर जानवरहरु
कपडा पसल कहिले छिरेनन
कतैबाट देखिएनन नाङ्गो।