Ashank Upadhyaya – Kasto Hola Timro Chheu (Nepali Gajal)

आशांक उपाध्याय – गज़ल – कस्तो होला तिमी छेउ

कस्तो होला तिमी छेउ पर्दाको त्यो दिन
हात थामी मिठा कुरा गर्दाको त्यो दिन

बशन्तको बहारमा मुहार चम्किंदा,
ओठबाट मुस्कान ती झर्दाको त्यों दिन

आँखा छोपी लुकामारी खेलेको सम्झिँदै,
थोरै लाज मानी पर सर्दाको त्यों दिन

बाबा आमा रिसाए’नी फरक पर्दैन,
मुटु साटी सातै खोली तर्दाको त्यो दिन

जन्ती बिनै रातो सारी चौबन्दी लगाई,
मन्दिरमा तिम्रो सिउँदो भर्दाको त्यो दिन

Anmol Mani – Badshaha Ko Mrityu

अनमोलमणि – बादशाहको मृत्यु

जन्मोत्सवको भोज मनाएर खुसीहुनेहरु
होस गर
छिट्टै व्युँतिनेछन् हत्या गरिएका निर्दोष आत्माहरु
र खुले आम मारिने छ यौटा निरंकुश राजा ।

पाता कसेर काटिएका र गोलीले उडाइएका Continue reading “Anmol Mani – Badshaha Ko Mrityu”

Baidyanath Upadhyaya – Aakash Ko Antya

वैद्यनाथ उपाध्याय – आकाशको अन्त्य

जम्मै उमेर लगाएर
खोजि हिंडे
जीवनको अर्थ
कहीं कतै पत्तो लागेन।

हिंडदा हिंडदै
आकांक्षाका पहाड र कन्दराहरूमा
जीवन भरको हिसाब नै हराएको छ
खोज्दै हिंडें
जम्मै सीप लगाएर
कहीं भेटिएन।

मैले इन्द्रेणीको
सातौं सिंढीमा पुगेर
आफ्नो रंगीन आकाशलाई
ब्रह्मपुत्रमा धँसाइदिएको छु।

अब आकाशको अन्त्य आएको छ।

Saroj Dhital – Chhi ! (Nepali Short Poem)

सरोज धिताल – छि !

कुर्सीको मोह—
त्यो जमराको रहर
पहेँलो बन्ने

मार्च २००४

Komal Shrestha Malla – Kohi Aanshu Ma (Geet)

कोमल श्रेष्ठ मल्ल – कोहि आँशुमा (गीत)

कोहि आसुमा कोहि हासोमा
यहि त एउटा फरक छ
आसु हेर हासो हेर
आसु र हासोमा कती कती जहर छ

रातै रगतको जात
उस्तै छ उस्तै आत
कोहि बासमा कोहि आसमा
यहि त एउटा फरक छ
आरोह हेर अवरोह हेर
सुख र दुखमा कति कति रहर छ ॥

उस्तै उस्तै स्वास
केही नहुनु साथ
कोहि दिनमा कोहि रातमा
यहि त एउटा फरक छ
फूलेर हेर झरेर हेर
शिशिर र बषन्तमा कती कती कहर छ

Admin Note – This article needs grammatical correction.

Sarita Tiwari – Monsoon

सरिता तिवारी – मनसुन

नानू
ढोका ढक्ढक्याइरहेछ कोही
सुन त

बतास चलिरहेको छ बाहिर
मनसुन शुरु भएको छ

त्यो
समयको नयाँ झोक्का हुन सक्छ
जसले खट्खट्याइरहेको छ
हाम्रो घरको ढोका

या तिमीलाई ऋतुपर्वको निमन्त्रणा दिन
रङ्गीन छाता लिएर उभिएकी हुन सक्छे
तिम्रो प्रिय साथी

अथवा
भर्खरै सिमसारबाट चरेर फर्केको
उडानरत घाइते बकुल्ला हुन सक्छ
फड्फडाउदै पखेटाहरू
अन्तिम सास फेरिरहेको

त्यो सानो प्वालबाट चियाएर हेर त
केही त हुनुपर्छ अवश्य
हाम्रो ढोका बाहिर

मनसुन
अक्सर
मनोरञ्जनभन्दा त्रासदी भएर भित्रिएको छ यो ढोकाबाट
तिमी सानै छौ छोरी
अहिल्यै सबैकुरा बुझ्न सक्तिनौ

बिजुली चम्किरहेछ, चट्याङ् पर्दैछ र अबरुद्ध छ टेलिफोन
झ्यालका पल्लाहरू बेस्सरी लगाउनु पर्छ
दक्षिणी हुरी अलिक साह्रो चल्दैछ
यस्तोमा
दक्षिणमुख किञ्चित कमजोर ढोका
आफै पनि खट्खटिन सक्छ

शंसयमा छु म
जे पनि हुन सक्छ बाहिर

आँखाभरि नयाँ नयाँ हतियार बोकेर
क्यान्टोनमेन्टबाट भाग्दै गरेको भूतपूर्व छापामार हुन सक्छ
वा सम्भावित अनिष्टको सङ्केत गर्न
सदाशयतापूर्वक आइपुगेको शुभेच्छु छिमेकी हुन सक्छ
अनुमान गर्न सकिदैन
चोर, लुटेरा, सिपाही, पत्रकार वा कुनै भिखारी ?
अथवा
साना नानी बोकेर कतै टाढा जान हिडेकी एक्ली आइमाई ?

वा हुन सक्छ
खाकी लुगा लगाएको
सुखद समाचारको पुलिन्दा हातमा लिएर
हसिलो मुद्रामा उभिरहेको हल्कारा

ढोका ढक्ढक्याइरहेछ कोही
नानू
जोसुकै पनि हुन सक्छ बाहिर
पर्ख, म पनि आउदै छु
साबधानीपूर्वक
बिस्तारै खोल्नुपर्छ ढोका ।

-चितवन

Basu Dhakal – Ama Mato Ra Dharti

बासु ढकाल – आमा, माटो र धर्ती

आमा!
मलाई एक मुट्ठी माटो देऊ
कतै जीवन दर्शनको उकालोमा
थकाई मार्नु पर्ला
म,चौतारी रोपी दिन्छु
अथवा
मलाई एक मुठी ऑटो देऊ
कतै देश निर्माणको बाटोमा
भोक मेटनु पर्दा
म दुईचार टुक्रा रोटी बेली दिन्छु
या
मलाई गोरेटो बाटो देऊ
ठेल मठेल गरी हिडीरहेका संततिलाई
काँडाहरु पन्छाएर यी हातहरुले
म मूल सड़क भेटी दिन्छु
माटो
जीवनको आदि र अंतस्थल
उर्बर बनाउनु पर्ने हातहरु
बारूदको रोपाईमा जुटेका छन,फुटेका छन
माटो बाटै उदाएर,
साँझ नपर्दै अस्ताएका छन्
धर्ती
सहेको सह्यै छ
तिम्रो शिर सागरमाथा
मान्छेहरुको आगमन प्रत्यागमनको
दृश्य,परिदृश्य हेरेर
मौन
एकनास अविछिन्न
संसार सामु उभिएको उभियै छ
जननी
मलाई एउटा चौडा छाती देऊ
बुद्ध बनेर संसार सामु
सदा सागरमाथा झै
अनवरत, अनन्तसम्म
अविछिन्न शान्त उभिन सकूँ ।

अमेरिका

Bhoj Raj Neupane – Sharanarthi Lai America

भोजराज न्यौपाने – शरणार्थीलाई अमेरिका

ढल्यो
सर्वश्व ढल्यो ।

त्यसैले दिग्भ्रमित छन् मेरा आँखाहरु
र खोज्दैछु म त्यस्तै
नोष्टाल्जिक आँखाका सुन्दर सपना

ओहो
कसरी भयो एकाएक यस्तो ?
कसले भत्कायो मेरो घर ?
कसले उखेल्यो पारिजातको रुख ?
कसले ढाल्यो तुलसीको मोठ ?
कसले सल्कायो गोठमा आगो ?

उग्राइहेका चौपाया
र भकारो सोहोरी रहेकी बुहारी
कोही जीवित भएनन
जहाँ म जन्में, त्यही हो मेरो धर्ती
थाहा छ ?
म जन्मेको देशले स्वीकार गरेन मलाई
पिता पुर्खाको के कुरा ?
आफ्नै दौंतरीका आँखामा म अनागरिक बनें
के दोष थियो मेरो , जहाँ म अनागरिक बन्न पुगें ?
आफ्नै चाहानामा मान्छे जन्मन सक्दैन भने
कसरी म अनागरिक हुन सक्छु ?
पटक्कै सक्दिन ,
म जन्मेकै देश मेरो हो
त्यसैले मलाई यही देशको माटो प्यारो छ
मलाई यही देशको माटोको सुगन्ध प्यारो छ ।

म आफ्नो सुन्दर वाल्यकालको
सुखद क्षण सम्झँदैछु ।
र, कुर्दैछु विरानो ठाउँको अत्यासलाग्दो परिवेश ।
सम्झन्छु कति रमाइलो हुन्थ्यो होला
मेरो देश यतिकै विकसित भैदिए
मेरो देशको सरकार
यतिकै विवेकी भैदिए ।
कसले विझाउन सक्थ्यो मलाई
शरणार्थीको बोझिलो शव्दमा
र अप्रिय आश्वासनमा ?
यतिबेला
पाइलै सार्न नसक्ने भएको छु म
किनभने मेरा चाहनाका पाइलाहरु रोकिएका छन्
अमेरिकाको यो विशाल आकाशमा
म मेरो देशको सानो नक्सा कोरिरहेको छु
जहाँ अनगिन्ती सपना
मेरो आँखा अगाडि विस्कुन बनेर
सुकिरहेका छन् ।

(भुटानी शरणार्थीलाई अमेरिका लगिएपछि लेखिएको कविता )

Abir Khaling – Tatashthata

अबिर खालिङ्ग – तटस्थता

छुन चाहन्न तिम्रा मखमली हातहरु ।
बगेर गएका निर्मल पानीका थोपाहरू तिम्रामात्रै रहुन ।
तिम्रो निर्मलतामा नुहाएर
म पवित्र हुन पाउँ ।

बजेका छन तिम्रा पाउजेब छमछम
कुन नृत्य Continue reading “Abir Khaling – Tatashthata”

Pravin Khaling – Chupchap

प्रवीण खालिङ – चुपचाप

स्सस्स्स्स्स……
हल्ला नगर
अहिले सबैको मन सुतेको छ
तिम्रो सानो हल्लाले बिउँझन सक्छ, उसको चेतना
चेतना ब्युँझियो भने
यसले के के विगार्छ
थाहा हुँदैन के के ढाल्नसक्छ
पैह्रो जान सक्छ, आसन जानसक्छ
राशन जानसक्छ अनि त प्रशासनै जानसक्छ
त्यसैले हल्ला नगर।
सहनु भनेको हार्नु होइन
मौन रहनु भनेको चुपचाप होइन
चुपचापले धेरै चाप सिर्जना गर्छ
त्यसैले चुपचाप बस्नेहरूसित शब्द साह्रै डराउँछ
आवाजसित शान्ति डराए जस्तै।
चुपचाप बस्न थालेपछि
पहिले आवाज हराउँछ
त्यसपछि शब्द हराउँछ
अनि त अक्षरहरूको अकाल लाग्छ
उजेलोको राज शुरु हुन्छ
अक्षर भनेको अन्धकार हो कालो हो
त्यसैले कालोको कुनै रङ हुँदैन
कालोको जात हुँदैन
अनि सिर्जना हुँदैन
र श्रोत हुँदैन
उजेलोमा बाँच्नेहरूलाई
थाहा हुँदैन धिब्री बुझ्न साथै
पुनः अध्यारो कै राज हुन्छ
अध्याँरोको छाया हुँदैन
छाया खोज्नु पनि त उजेलोको सहारा चाहिन्छ
आकार नभएरै अन्धकार निराकार छ
त्यसले सबैलाई चुपचाप राख्नसक्छ
चाहे थाङ्ना मै किन नहोस सुताउन सक्छ
मसान कै किन नहोस शान्ति घोषणा गर्नसक्छ
तर चेतना उठ्न पाएको दिन पो थाहा हुन्छ
यो चुपचाप, यो शान्ति
मसानको हो कि मन्दिरको हो
त्यसैले अहिले हल्ला नगर
कतै चेतना उठेको दिन मसानको शान्ति थाहा
पाएर धेरैको शान्ति हराउनसक्छ
भ्रान्ति हराउनसक्छ
सस्स्स्स्स…
हल्ला नगर ।

Tika Bhakta Jirel – Panch Tukre Kabita

टीकाभक्त जिरेल – पाँच टुक्रे कविता
(मधुपर्क साउन, २०६७)


च्यातेर भ्रमको पर्दा
उभिँदा
ऐना अगाडि
थुक्यो भने ऐनाभित्रको मान्छेले
के हिँड्नु
दोसल्ला ओढेर….।।


बुढेनीलाई भाकेको
रातो भाले
स्यालले लगेपछि
बार्दलीबाट
बेस्कन भुक्यो-
मेरो भोटे कुकुर ।।


चोक-चोक
गल्ली-गल्लीमा
टाँगिएका
सिनेमाको कुनै
कामुक पोस्टर हेरेर
सपनामा सर्प नचाउँछ-
बालब्रहृमचारी ।।


तिमीले मेरो बौद्धिकता
मैले लगाएको
पुरानो कमिजमा खोज्यौ
धन्य ! तिम्रो बौद्धिकता ।।


तिम्रो-
मानसम्मान, पुरस्कार, स्याबासी…
केही चाहिन्न
तिमीले नचिनेर के भो र
मलाई
मेरो ईश्वरले चिने पुग्छ ।।

Bajra Kumar Rai – Birodhaavas

बज्र कुमार राई – विरोधाभास

आज निष्पट अँध्यारो छ
भोलि उज्यालो आउँछ पक्कै
तर, खोइ म के भनु ?
कसरी भनु ?
भोलिसम्म बाँच्नै नसक्ने
यी हर अन्धकारका
अभागी यात्रीलाई

जीवन संघर्ष हो
र,संघर्ष सधैं बिजयी हुन्छ भनेर
म कुन महान युध्दको इतिहाँस देखाउँ?
रगतको आहालबाट
गरीबको विभत्स्य टाउको झिकेर
जसलाई,
न झण्डाले चिन्यो
न डण्डाले चिन्यो
निरर्थक मारिए
विचरा ती भोलिका उज्यालो देख्न चाहनेहरु

किन हो खोइ !
मलाई त यस्तो लाग्छ
भोलिको उज्यालोमा
एकाबिहानै
काग,गिध्द र हुचिलहरु
सर्प, बिरालो र मालसाप्राहरु
ब्वाँसो,स्याल-प्याउराहरु
उठ्ने छन् जुरुक्कै
अशक्त मान्छेको गन्धले
र, फेरि लुछ्ने छन्
फेरि घिसार्ने छन्
मान्छेलाई।
अनि, म कसरी भनु ?
उज्यालोमा मान्छे सुरक्षित छ भनेर
भलै म उज्यालो र भोलिको कट्टर दुष्मन होइन

ए! भोलिको सपना सजाउनेहरु हो
भोलि पक्कै आउँछ
उज्यालो भएर
आशा गर
पक्कै त्यो
आउँछ आउँछ
तर,कसरी आउँछ !
त्यो भोलि नै देख्नेछौ .

Dr. Mohan Prasad Joshi – Khai Ke Garechha?

डा. मोहनप्रसाद जोशी — खै के गरेछ ?

जिन्दगीले खै के गरेछ ?
खालि रूखहरूलाई हेरेछ,
‘जङ्गल’ को भावै भुलेछ,
चित्रहरूमा नजर अड्काएछ,
‘क्यानभास’ को होसै गुमाएछ,
विश्व मानचित्रका अनेकन् धर्का
हेर्नमै व्यस्त बनेछ,
साँच्चिकैको धरतीमा ती धर्का
छैनन् भन्ने बिर्सेछ ,
डाँडाकाँडा र आकाशलाई
अलगअलग देखेछ,
एउटै ‘ल्याण्डस्केप’ को रूपमा
दर्शन गर्न सकेनछ,
कान्तिपुर र भक्तपुरलाई
भिन्नभिन्न भनेछ,
फूलचोकीबाट अभिन्न देखिने
उपत्यका भुलेछ |

यो जिन्दगीले खै के गरेछ ?
खालि अंशहरूमै आँखा गाडेछ,
पूर्णलाई सम्झनै छाडेछ |

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)

Komal Shrestha Malla – Dukhyo

कोमल श्रेष्ठ मल्ल – दुख्यो

म र मेरो कर्तव्य के हो ?
सिकाउने एउटा पाठशाला चाहियो,
बन्द, हडताल, आगजनी र चक्काजाम,
लुटपाट, हत्या, दमन, तोडफोड र हानाहान
निस्तेज गर्ने, एउटा वधशाला चाहियो
किनकि, एउटा Continue reading “Komal Shrestha Malla – Dukhyo”

Dibya Giri – Timi Nai (Nepali Gajal)

दिव्य गिरी – तिमी नै (गजल)

यो तनमा तिमी नै, यो मनमा तिमी नै
सधैँ सम्झनाको आँगनमा तिमी नै ।

छामेर हेर, मेरो यो छातीमा
मुटुको हरेक धड्कनमा तिमी नै ।

चौतारीको पीपल छहारीमा छु म
बिहानीको शीतल पवनमा तिमी नै ।

गाउँघर, सहरमा तिमी खोज्दै हिँडे
भेटेँ आराधनाको मधुवनमा तिमी नै ।

यो तनमा तिमी नै, यो मनमा तिमी नै
सधैँ सम्झनाको आँगनमा तिमी नै ।

-टीकाथली-५, ललितपुर

Biyogi Budhathoki – Sanjha Ko Batti Bale Jastai (Nepali Gajal)

वियोगी बुढाथोकी – गजल
(मधुपर्क २०६६ भदौ)

साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ
दुःखमा साथ निभाउन व्यवहारमा आयौ ।
आँधी, हुरी, बतास हो कि मनको त्रास मेरो
अन्धकार रातलाई छल्न बारम्बारमा आयौ ।
दिलको देउता देखाएर पूजा अर्चनामा
श्रद्धा सुमन चढाएर लगातारमा आयौ ।
घाइते मनको चाहनामा दुःख बाँड्न सखा
एक्लो भौँतारिँदै थिएँ म हरिद्वारमा आयौ ।
संयोग जुर्यो भेट भयो बसौँ चौतारीमा
चाह होइन वियोगीको हारगुहारमा आयौ ।

Umesh Rai ‘Akinchan’ – Golo Samjhana

उमेश राई ‘अकिञ्चन’ – गोलो सम्झना

मसँग
गिटारको खोलमात्र छ
गिटार

गिटारको आवाज
तिमीसगै कहाँ….. कहाँ……

यो
बर्षको समय
बगिरहेको बाग्मती जस्तो
धमिलो आँसु झँर्दै
परिरहेछ झरी


तिम्रो सम्झनाको सप्कोले
ढाकीरहेछु रातो गुलाफ
कालो सेतो खुइलिदै गएको
जेब्रा क्रसमा

एक्लै छु
कुनै क्याफेको
टेवल नं. २ मा
तर
सँगै बसेको छ
तिम्रो सम्झना
कालो कोकको बोतलमा पनि देख्छु
तिम्रै अनुहारको गोरो झझल्को
कहाँ सँगै छैनन् सम्झनाहरु ?

यो सिहदरबारको
फराकिलो गेटदेखि
त्यो सुदूर गाँउको
केरा झ्याङसम्म

अझैपनि
कुनै पहाडि बाटोमा
गुड्ने गाडीको पछाडि झुण्डिएको
गाउँले मान्छे वा उसको छाँयाँसरी
झुण्डीदै झुण्डीदै पछ्याइरहन्छ किन ?
तिम्रो एक अँगालो अनुहार

चित्रकारको आलो पेन्टिङ जस्ता
भर्खरै देखिएको छ
कोपिला इन्द्रेणी
आकाशमा
त्यो इन्द्रेणीमुनि
तिमीलाई सम्झेर लेख्दा
किन काम्छन् मेरा हातहरू
सायद
माइकल ज्याक्सनको
मृत्यूझैं
दुःखे मेरा औंलाहरू

यहिनेर हो यहिनेर
बच्चाले हिर्काएको फुटबलजस्तो
पुग्न नसकेर टाढा
रोकिएको थियो
हाम्रो गोलो यात्रा ।

Nimesh Nikhil – Aba Yeso Garaun

निमेष निखिल – अब यसो गरौँ
(मधुपर्क मंसिर, २०६७)

अब यसो गरौँ ।
समातौँ दुखहरूको कठालो
र हमला बोलौँ सबै रोग भोकहरूमाथि
कुलेसो काटौँ मनका भ्रमहरू निकाल्न
अनि सम्पादन गरौँ असम्भव सपनाहरूलाई
बयोवृद्ध Continue reading “Nimesh Nikhil – Aba Yeso Garaun”

Santosh Lamichhane – Hami ra Hamro Batawaran

सन्तोष लामिछाने – हामी र हाम्रो वातावरण

मेरो वरीपरी
घनघोर जंगलबाट आउने
शित्तर हावाहरु
गर्मीका पंखा हुने गर्थे

चराका चिर्चिरसँगै
धर्ती अनि आकाश
खोलाका सुसाइमा
संगीत सिर्जना गर्थे

गहेन्द्र सम्सेरका बन्दुक बोकेका
जंगबहादुरहरु
मेरै चारकोसे झाडीहरु अनि
बाँसका झाङहरुमा
वनक्रिडा गर्थे

शान्तिका साधना गर्ने बुद्धहरु
‘ॐ शान्ति शान्ति’ भन्दै
मेरै छहरा अनि पहरा गुञ्जाउँथे

वेदध्वनीहरु संखका धूनमा समाहित भएर
गीता र त्रिपिटक उराल्थे

तर आज
मेरा वागमती र विष्णुमतीहरु
नालीको गन्धले टाइफाइड र जण्डिसका रोगी भएका छन्

मेरा आफन्तहरु
अनेकौं रोगले च्यापेर
मृत्युशैयामा सिकिस्त छन्

वातावरणको विनाशले
मेरा डाँफे नाँच्ने गुँरासे पाखाहरु नाँगिएका छन्
हरिया वन अनि केराका घारीहरु
ऐंसेलुका बोट अनि बयरका बुटयानहरु !
फाँडिएर उजाड मरुभूमिझैं भएका छन्
अनि मेरो माटो
बाढी पिडित भएर तप्प तप्प आँसु चुहाइरहेछ

यसरी वातावरण मबाट भाग्न खोलेको छ
मबाट भाग्न खोजेको छ ।

Krishna Prasai – Tyo Timi Nai Thiyou

कृष्ण प्रसाईं – त्यो तिमी नै थियौ

एउटा भव्य समारोह
जो तिमीलाई सम्मान गर्ने
सम्मान सभा थियो त्यो–
तिमी भने खागीरङ्को जुत्तामाथि
कालो पेन्ट र
कालै चश्माको पहिरनमा
हामी सहस्रमाझ सम्मान थापिरहका थियौ
मेरा धेरै साथीहरुको प्रश्न थियो
सायद ! तिमी आखामा कमजोर हुनुपर्छ
यसैले अन्धोपन छिपाउन
कालै चश्मा मनपराउँछौं ।
आहा !
लामो तर अलि तल आएर
तिमीतिरै धुम्रिएको कपाल
संगीतको भाकामा चलिरहेका तिम्रा दुवै खुट्टा
सुकर्म समूहको (व्याण्ड) यमन राग–
अनि उपसना नामको धुनमा भुलेर
निमग्न हल्लिरहेको तिम्रो शिर
र संगीतको संसारमा
समुद्र जस्तै गहिरो भएर डुबेको तिम्रो मन
साथमा गलाभरी सयपत्रीमा सजिएको
घाँटीले थाम्न नसकिरहेको मालाहरुको बयान
र दर्जनौ रङगिन खादाहरुमा
मानौ प्रतिमा जस्तै सजिएका तिमी
सायद तिमीले विर्सिरहेका थियौ आफूलाई
कहिले काँकी फुल पनि भारी हुनसक्छ भनेर
कस्तो अचम्म, हो त्यो त्यस्तै थियो
जसमा सितार सारङ्रगी र तवला पनि नाचेको
मायाले झंकेको तिम्रो कपाल वरिपरि
सयौको संख्यामा उभिएका दर्शकसामू
तिमीले नदेखेमा पनि हुनसक्छौं मलाई
तर मैले सबैभन्दा ज्यादा हेरेको मान्छे
जमातभरिमा तिमीनै थियौं
साक्षात कविता जस्तो मान्छे
कविता झै मन भएको कवि मान्छे
जसलाई मैले पहिला पनि कतै देखेको थिए
हो कवि यू सिवा ,
त्यो मात्रै तिमी थियौ
जो कालो चश्मामा सजिएर
हजारौं वर्ष अघि देखि
मेरो बाँसुरीभित्र लुकेको धुनमा झुमेर
सेतो कविता गमिरहेका थियौ
म फेरी पनि भन्छु
हो ! त्यो तिमी नै थियौ ।