Bhoj Raj Neupane – Rastraghaati

भोजराज न्यौपाने – राष्टघाती

म आजदेखि
राष्टघाती बने ।

अमेरिका जाने
स्वप्नस्मृतिले गाँजिएर
पराईभूमिको सुन्दर सपनामा डुव्दै
डीभी भर्न लाम लागिरहेको बेला
मैले आफ्नै देशलाई धिक्कारें ।

साँच्चै म किन आफ्नो जन्मभूमि छाडेर
विदेशिन खोजें ?
सानो घरवारी
बृद्ध बाबु आमा
मायालु जीवनसाथी
र फूलजस्तै छोराछोरी छाडेर
किन जान लागें म त्यो परदेश ….?

उद्यमी बन्छु भन्दा, ऋण पत्याउँदैन बैंक
किसान बन्न हतोत्साही बनाउँछ सरकार
शीप सिकाउन छाडेर, विदेश जान सल्लाह दिन्छन् प्राद्यापक
विदेशमा पसिना बगाउ भन्छ नेता
तस्करी गर्न छुट दिन्छ कर प्रशासन
घुस लिएर अपराधी छुटाउँछ प्रहरी
कर तिर्नेलाई कालोबजारी देख्छ कर्मचारी
पढाउन छाडेर पार्टीको काममा हिंड्छ शिक्षक
पैसाकालागि अपराधीसंगै मिल्छ वकिल
पैसाकै लागि सद्दे हातपनि ब्यान्डेज गर्छ डाक्टर
विद्यालय बनाउने बजेटले मन्दीर बनाउँछन् गाउँले
बाटो मिचेर घर बनाउँछ छिमेकी
नदीमा ढल हाल्ने सल्लाह दिन्छ इन्जिनियर
पेसेवर अपराधी गुहारेर चुनाव जित्छ नेता
अब म कसरी टुलुटुलु हेरेर बसौं यो दुर्दशा ?

आफ्नै आँखा अगाडि
आफैंले छानेको मान्छे
खराब भैदिदा म उसलाई औंलो ठड्याउनपनि नसक्ने भएछु ।
त्यस्तै खराबहरुले छानेकाहरुसंग
कसरी उभ्याउन सक्छु र म आफूलाई ?

यस्तो देशमा मैले
आफूलाई कसरी सुरक्षित बनाउन सक्छु ?
मनमनै आफैंलाई
भगाउन मन लाग्छ मलाई मेरै आफ्नो आँखाबाट ।
सबै सबै कुदृष्टिहरुबाट बच्न
किनकी मजस्तै राष्टघाती बन्नु नपरोस मेरा सन्ततिले ।

Bhoj Raj Neupane – Sharanarthi Lai America

भोजराज न्यौपाने – शरणार्थीलाई अमेरिका

ढल्यो
सर्वश्व ढल्यो ।

त्यसैले दिग्भ्रमित छन् मेरा आँखाहरु
र खोज्दैछु म त्यस्तै
नोष्टाल्जिक आँखाका सुन्दर सपना

ओहो
कसरी भयो एकाएक यस्तो ?
कसले भत्कायो मेरो घर ?
कसले उखेल्यो पारिजातको रुख ?
कसले ढाल्यो तुलसीको मोठ ?
कसले सल्कायो गोठमा आगो ?

उग्राइहेका चौपाया
र भकारो सोहोरी रहेकी बुहारी
कोही जीवित भएनन
जहाँ म जन्में, त्यही हो मेरो धर्ती
थाहा छ ?
म जन्मेको देशले स्वीकार गरेन मलाई
पिता पुर्खाको के कुरा ?
आफ्नै दौंतरीका आँखामा म अनागरिक बनें
के दोष थियो मेरो , जहाँ म अनागरिक बन्न पुगें ?
आफ्नै चाहानामा मान्छे जन्मन सक्दैन भने
कसरी म अनागरिक हुन सक्छु ?
पटक्कै सक्दिन ,
म जन्मेकै देश मेरो हो
त्यसैले मलाई यही देशको माटो प्यारो छ
मलाई यही देशको माटोको सुगन्ध प्यारो छ ।

म आफ्नो सुन्दर वाल्यकालको
सुखद क्षण सम्झँदैछु ।
र, कुर्दैछु विरानो ठाउँको अत्यासलाग्दो परिवेश ।
सम्झन्छु कति रमाइलो हुन्थ्यो होला
मेरो देश यतिकै विकसित भैदिए
मेरो देशको सरकार
यतिकै विवेकी भैदिए ।
कसले विझाउन सक्थ्यो मलाई
शरणार्थीको बोझिलो शव्दमा
र अप्रिय आश्वासनमा ?
यतिबेला
पाइलै सार्न नसक्ने भएको छु म
किनभने मेरा चाहनाका पाइलाहरु रोकिएका छन्
अमेरिकाको यो विशाल आकाशमा
म मेरो देशको सानो नक्सा कोरिरहेको छु
जहाँ अनगिन्ती सपना
मेरो आँखा अगाडि विस्कुन बनेर
सुकिरहेका छन् ।

(भुटानी शरणार्थीलाई अमेरिका लगिएपछि लेखिएको कविता )

Bhoj Raj Neupane – Kamalari Ko Maaghi

भोजराज न्यौपाने – कमलरीको माघी

साला, यही मालिक हो
जसले पहिलो पटक
मलाई माघीमा किनेको थियो ।

पैसा हुनेहरु
सुख किन्छन् — खुसी किन्छन्
ऐस आराम
र, सवै सबै उपभोग्य वस्तुहरु किन्छन्
तर किन मानवीय Continue reading “Bhoj Raj Neupane – Kamalari Ko Maaghi”

Bhoj Raj Neupane – Mrityu Sparsha

भोजराज न्यौपाने – मृत्यु स्पर्श
(असोज मधुपर्क, २०६८)

कस्तो होला
मृत्युले टेकेको आँगन ?
भर्खरै पोतिएको
उजाड तुलसीको मोठ
समुद्रजस्तै छचल्किएका परिवारका आँखा
शोकाकुल आफन्तजन,
तिल, जौ र कुश छरिएको पिँढी
छरपष्ट बाँसका टुक्रा
सेतो कपडा र अलिकति पिताम्बर
पुरानो गुन्द्री र मैलो विच्छयाउना
पानी खाने करुवा, बटुको र चम्चा
यही हो मृत्युले छाडेको निशानी ।
कसले देख्न सक्छ ?
यहीं कतै बसेको छ मृत्यु
जसले भरखरै कसैलाई कुल्चेको छ ।
फूलजस्तै हो मान्छेको जीवन
अरूको इच्छामा टिपिनु पर्ने
कहिल्यै अघाउन्जेल बाँच्न नपाइने ।
कस्तो अपि्रय हुन्छ मृत्यु
र, कति भयावह हुन्छ मृत्युको खबर
त्यसैले,
मृत्युको खबरको कसैले कल्पनै नगरोस्
र, मृत्युले कसैको आँगन टेक्दै नटेकोस् ।

Bhoj Raj Neupane – Naya Gas Chamber

भोजराज न्यौपाने – नयाँ ग्याँस च्याम्वर

किन दोहोरिन्छन्
‘ग्याँस च्याम्वर’ सम्झाउने आतंकहरु ?

मानव सभ्यतामा कुनै दिन
कालो इतिहास बनेको थियो
र,लेखिएको थियो
मानव दहनको कुरुप अक्षर
हिटलरको ग्याँस च्याम्वरभित्र ।

सुनेको छु
कम्वोडियामा खमेरुजको
अत्याचार
र,अवोध शिशुहरुको
पाठशालामै गरिएको संहार ।

कसले विर्सन सक्छ ?
नोमपेनको तुओल स्लेङ जेल
र,जेनोसाइड म्युजियम ।
कसले कल्पना गर्न सक्छ
विद्यालयको कक्षा कोठा
कुनै दिन मानव खप्परको पहाड
बन्न सक्छ ?
अहँ म पनि वावु हुँ कसैको
तर म कल्पना गर्न सक्दिन ।

ठाउँ फरक भएपनि
मेरो आँखै अगाडि
दोहोरिरहन्छन्
ग्याँस च्याम्वर सम्झाउने आतंकहरु ।
वसभित्रै खरानी बनाइए
काजोल खातुनहरु
वस्तीभरि वारुदको डढेलोमा
डढाइए कर्णधारहरु ।

ट्रकमा लादिएका राँगा भैंसी
निशाना बने
र,जलाइए
जिउँदै जलाइए राजमार्गमै ।
यो कु्ररता हेर्दा , लाग्छ
मेरो देश ‘ग्याँस च्याम्वर’ को
धङ्धङीबाट मुक्त छैन ।
र,हामी त्यही नयाँ ग्याँस च्याम्वरका
अभागी पात्र बनी रहेका छौं ।

Bhoj Raj Neupane – Desh Ko Naksa

भोजराज न्यौपाने – देशको नक्सा

भन्नुस त महोदय
मेरो देश कस्तो हुन्छ ?

मेचीदेखि महाकाली सम्मका
जंगे पिलरहरु
युद्धले थकित सिपाहीजस्तै
घिस्रिंदै घिस्रिंदै नेपाल पसिरहेका बेला
महोदय, तपाईं राजधानीमा
देशको नयाँ नक्सा कोर्दै हुनुहुन्छ
देशको भागवण्डा गर्दै हुनुहुन्छ ।
अलिकति शेर्पा
अलिकति तामाङ
नेवार, मधेसी, थारु
राई, लिम्बु, गुरुङ
मगर, चेपाङ, थकाली
र, क्षेत्री–बाहुन सबैलाई भाग लगाउँदै
कति बचाउनु हुन्छ महोदय मेरो देश ?

संस्कृतिका विशाल आयामहरु
सभ्यतासंगै सौम्य बन्दै गएका बेला
कसले सल्कायो आगो यो देशमा ?
कसले खन्यो जातियताको खाडल ?
कसले रच्यो धर्मको नाम ?
तराईमा कौरा नाच्दा होस्
वा पहाडमा भोजपुरी नाच्दा
किन कोही अत्तालियो ?
राजधानीले छठ पर्व भित्र्याउँदा
कसलाई घाटा, कसलाई नाफा भयो ?
क्रिसमस होस् या इद
दशैं होस् वा तोरन्ल
लोछार होस् वा होली
संस्कृतिका भव्य संरचनाहरु
मजबुत बनीरहेका बेला
कसले बनायो आदिबासी र जनजातिको
मन दुख्ने कथा ?
सुन्दर देशको
खराब चित्र बनाउने को छ महोदय पर्दाभित्र ?
आफ्नै स्वार्थको तूफान बनेर
आफ्नै वस्ती खरानी बनाउने सपना नदेख्नु महोदय
बाईसे–चौबीसे राज्यजस्तै
टुक्रा टुक्रामा विभाजित हुने
मेरो देशको नक्सा कसरी हेर्न सक्छु म ?
कल्पना गर्छु
मेरो देशको नक्सा
राई– लिम्बुले खोजेजस्तो
मधेसी–थारुले रोजेजस्तो
तामाङ–शेर्पाले मागेजस्तो
सबै जातिले चाहेजस्तै
अलिकति टुक्रयाउँदै भाग लगाउँदै गरेको
कतै चुच्चो जस्तो — कतै बुच्चो जस्तो
कतै नेप्टो जस्तो — कतै थेप्चो जस्तो
साँच्चै भन्नुस त महोदय
मेरो देश कस्तो हुन्छ ?
मेरो देश कत्रो हुन्छ ?
साँच्चै मेरो देश
‘देश’ जस्तो त बन्छ ?

Bhoj Raj Neupane – Aashish Haraune Desh

भोजराज न्यौपाने – आशिष हराउने देश

वुबा सानो छँदा
जिजुवुवाले दशैंमा टिका लगाएर
आशिष दिंदै भन्नु हुन्थ्यो रे
‘डिठ्ठा भएस् सुवेदार भएस्
पण्डित भएस् विचारी भएस् ।’

म सानो छँदा
हजुर वुवाले दशैंमा टिका लगाएर
जमरा सिउरिंदै पातीले पर्सेर
आशिष दिनु हुन्थ्यो –
‘सवैको मान्य भएस् सवैको प्यारो भएस्
ठूलो भएस् उँचो भएस् ।’

अहिले मेरो छोरालाई
वुवाले दशैंको टिका लगाउँदा
आशिष दिंदै भन्नुहुन्छ
‘असल हुनु ठूलो मान्छे नहुनु ।’

समय न हो हेर्दा हेर्दै वदलिंदो छ
समय न हो छाम्दा छाम्दै घर्किदो छ
भोलि कुनै दिन
मेरो छोराले
उसको नातिलाई दशैंमा टिका लगाउँदै भन्नेछ
‘वावु ,मान्छेको अनुहार लिएर जन्मँदैमा
कोही मान्छे हुँदैन,
अहिले मान्छेमा विवेक हराएको छ
अहिले मान्छेमा विचार हराएको छ ।
यो जन्ममा यस्तै भैहाल्यो
अर्को जन्ममा मेरा सन्तान मान्छे नहोउन
किनभने
मान्छेले पुर्खाको अंश खोज्छ
र पुर्खालाई नै घृणा गर्छ ।
मान्छेले पुर्खाको सदाचार सिक्दैन
पुर्खाको सम्मान गर्दैन
यो आशिष हराउने देश हो वावु
मान्छौ भने शिरको आशिष शिरमैं राख ।’

चरिकोट, दोलखा; हाल: काठमाण्डौं

समाप्त