Bajra Kumar Rai – Birodhaavas

बज्र कुमार राई – विरोधाभास

आज निष्पट अँध्यारो छ
भोलि उज्यालो आउँछ पक्कै
तर, खोइ म के भनु ?
कसरी भनु ?
भोलिसम्म बाँच्नै नसक्ने
यी हर अन्धकारका
अभागी यात्रीलाई

जीवन संघर्ष हो
र,संघर्ष सधैं बिजयी हुन्छ भनेर
म कुन महान युध्दको इतिहाँस देखाउँ?
रगतको आहालबाट
गरीबको विभत्स्य टाउको झिकेर
जसलाई,
न झण्डाले चिन्यो
न डण्डाले चिन्यो
निरर्थक मारिए
विचरा ती भोलिका उज्यालो देख्न चाहनेहरु

किन हो खोइ !
मलाई त यस्तो लाग्छ
भोलिको उज्यालोमा
एकाबिहानै
काग,गिध्द र हुचिलहरु
सर्प, बिरालो र मालसाप्राहरु
ब्वाँसो,स्याल-प्याउराहरु
उठ्ने छन् जुरुक्कै
अशक्त मान्छेको गन्धले
र, फेरि लुछ्ने छन्
फेरि घिसार्ने छन्
मान्छेलाई।
अनि, म कसरी भनु ?
उज्यालोमा मान्छे सुरक्षित छ भनेर
भलै म उज्यालो र भोलिको कट्टर दुष्मन होइन

ए! भोलिको सपना सजाउनेहरु हो
भोलि पक्कै आउँछ
उज्यालो भएर
आशा गर
पक्कै त्यो
आउँछ आउँछ
तर,कसरी आउँछ !
त्यो भोलि नै देख्नेछौ .