Dr. Mohan Prasad Joshi – Khai Ke Garechha?

डा. मोहनप्रसाद जोशी — खै के गरेछ ?

जिन्दगीले खै के गरेछ ?
खालि रूखहरूलाई हेरेछ,
‘जङ्गल’ को भावै भुलेछ,
चित्रहरूमा नजर अड्काएछ,
‘क्यानभास’ को होसै गुमाएछ,
विश्व मानचित्रका अनेकन् धर्का
हेर्नमै व्यस्त बनेछ,
साँच्चिकैको धरतीमा ती धर्का
छैनन् भन्ने बिर्सेछ ,
डाँडाकाँडा र आकाशलाई
अलगअलग देखेछ,
एउटै ‘ल्याण्डस्केप’ को रूपमा
दर्शन गर्न सकेनछ,
कान्तिपुर र भक्तपुरलाई
भिन्नभिन्न भनेछ,
फूलचोकीबाट अभिन्न देखिने
उपत्यका भुलेछ |

यो जिन्दगीले खै के गरेछ ?
खालि अंशहरूमै आँखा गाडेछ,
पूर्णलाई सम्झनै छाडेछ |

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)