Shrawan Mukarung – Pratyagaman

कुन दुःखले उनेको यो माला पहिरिने मान्छे नफर्कदै
तिमी माटो भइसक्नेछौ
तिम्रो कोमल हृदयको अनुहार भएर
आँसुसरिको यौटा सिमल उम्रिनेछ
र त्यसको अभागी हाँगामा सधैँ घाइते चखेवाले रात काट्नेछ

तिम्रो कुमारी सपनाको सूर्यले आत्मदाह गरेको आकाशको
नेपथ्यमा
उसका आदर्शका आभाहरू चिथोरिनेछन्– प्रेमका जर्जर तारहरूले
ऊ ढल्नेछ र उसको इच्छाको समाधिबाट उठेको शोकधुन
खुनैखुन हुनेछ क्षितिजमा

तिमीलाई सम्झिनै नसक्ने गरी बिरानिएर/देख्नै नसक्ने गरी
अन्धिएर
आइपुग्नेछ : यौटा सम्भावना
र उसले तिमीलाई खोजिहिँड्नेछ–
तिम्रो जीवनका प्रत्येक विपक्षहरूलाई कुल्चिँदै
टाकुरा
गडतिर
र पनेला रातका पहाडहरूमा

रात छिप्पिँदै जानेछ
र रातले– तिम्रो सङ्गी त्यो खोलालाई बाँसुरी बनाउनेछ
पहाड टाढिँदै जानेछ
र पहाडले– तिम्रो सङ्गी त्यो गोरेटोलाई मफलर बनाउनेछ
यी रात र पहाडको निरङ्कुशतालाई
निर्दोष रुवाइको चक्कुले छेक्लाएर सोध्नेछ उसले–
‘खोइ मेरो सपनाको आधा भाग…?’
तिम्रो कण्ठ रोकिनेछ
र ऊ अथाह विपत्तिको एक बुद्धझैँ
सिमलका यी अभागी हाँगाहरू लतार्नेछ
त्यसका बैजनी पातहरूले–
आफ्नो छातीमा लागेका आँसु र खुनहरू पुछ्नेछ
मेट्नेछ : शून्यका दाग र पुर्खाका पदचिह्नहरू
र उम्रिन थाल्नेछन् फेरि फूलहरू ।

Hariprasad Bhandari – Shraddanjali

तारा चन्द्र यिनै थिए नि नभमा बग्थे नदी कल्कल
यस्तै शैल तलाउ वृक्ष झरना यस्तै थिए जङ्गल
चम्कन्थे रवि व्योममा तर यहाँ सारा अध्यारो थियो
कालो शासनको समस्त जगमा छायाँ परेको थियो।

केही कर्मठ सन्तती र बलिया यो देशका रक्षक
आफ्नो देश बचाउने प्रण गरी पारेर ठाडो शिर
गर्जे हाँक दिदै डटे समरमा उत्साहको भेलमा
‘मर्छु किन्तु म मर्न दिन्न जननी नेपाल’ भन्दै यहाँ।

‘बैरीलाई भगाउँदै जतनले रक्षा गरी देशको
आफ्नो स्वत्त बचाइ गौरव अनि झण्डा र यो देशको’
भन्थे रे― ‘तरवार बज्री शिर यो टुक्रा परे तापनि
हाँसी हाँसी म जाउला जननी यी नेपाल बाचून्’ भनी।

रातो रक्त छचल्कियो शरीरमा अल्छीपना दौडियो
यस्तो शाहस सामुमा दनुजता कापेर थर्थर् भयो
पक्री ब्यर्थ रिसाइ सत्य नचिनी अन्धाहरू वैरिए
चोखो राष्ट्रिय भावलाई सहजै फाँसी चडाई दिए।

आलै छन् पदचिन्ह ती सहिदका टाटा अझै रक्तका
आलै छन् अझसम्म नै उनीहरू लड्दा बनेका कथा
त्यस्ता वीर सुपुत्र जो मुलुकमा बाँचिरहेछन् मरी
वीरैको गति पाउने सहिदमा मेरो छ श्रद्धान्जली।

Abhas – Dristi

मैले टोपी फेरेँ
र फेरेँ मथिँगलका अनेकौँ कचिँगलहरू
सम्यक् भएर यात्रामा निस्केँ

सोचेँ—
मेरा पुराना मांसकोष मरिसके/मरिरहेछन्

म विलकुल
वर्तमान झै छर्लङ्ग छु
ताजा छु

दोबाटोमा
पुरानो मित्र भेटेँ
उसको पहिलो वाक्य—
“अरे यार तँ त जस्ताकोतस्तै छस् ।”

Daibagya Raj Neupane – Man Ta Katai Chhodiyechha

दैवज्ञराज न्यौपाने – मन त कतै छोडिएछ

हेर्दा-हेर्दै दोबाटोमा अर्कै बाटो मोडिएछ
पाइला अघि सारे पनि मन त कतै छोडिएछ

छोडिएको मन छ मेरो त्यहीँ कतै राखिदिनू
पल्लाभित्र परेलीका सम्झनाले ढाकिदिनू
बाटो लाग्दा जिन्दगीको ठेस पनि लाग्छ कतै
फूलैफूल छैन यहाँ, काँडा पनि बिझ्छ कतै ।

छोडिएको मन छ मेरो सम्झेपनि पीर लाग्ने
बिर्सूभन्दा नबिर्सिने अल्झिएझैँ तीर लाग्ने
जतन् गरी जिन्दगीमा सँगालेर राखिदिनू
मनको माया न्यानो हुन्छ न्यानो माया दिनू ।

Ashank Upadhyaya – Kaso Gari (Nepali Gajal)

आशांक उपाध्याय – गज़ल – कसो गरि

नाङ्गो तन छ-फोहोरी, लुकाउनु कसो गरि ||
यी आँखाका बर्खे झरी, सुकाउनु कसो गरि ||

न कसैको आफ्नो भएँ, न कसैको माया पाएँ,
पुत्ला सरि ठाडोपन, झुकाउनु कसो गरि ||

गल्ति गरि जन्माएर, आफैंबाट पन्छाएर,
जाने आमा सम्झी सुक-सुकाउनु कसो गरि ||

जताततै स्वार्थ मात्र, आफु नै हो मुख्य पात्र
भन्ने जमातमा दु:ख, फुकाउनु कसो गरि ||

सडक नै आफ्नो घर, कुकुर कै लाग्छ भर,
अमुल्य यो जिन्दगानी, चुकाउनु कसो गरि ||

Hari Ghimire – Stan

हरि घिमीरे – स्तन

सृजनाको पूर्वाधार
जीवनको आधार
बैंशको प्रकटीकरण
सौन्दर्यको आभा
आकर्षणको केन्द्र
म लजाउँछु / तिमी लजाउँछ्यौ
तर सृष्टि हाँस्छ।

सुमेरु पर्वत!
देवता-दानवको मधानी
गोबर्द्धन पर्वत!
जीवनरक्षाको प्रत्याभूति
मातृत्व-कलश!
बाल-अमृतको भण्डार
हिमाली टाकुरा!

शुभ्र-स्निग्ध अजस्र प्रवाह
प्रकृति लजाउँछ / ईश्वर हाँस्छ
तर ‘म’ जीवन पाउँछु
ममतामयी जननी उजागर हुन्छिन्
धन्य सृष्ट्रि!!
म नमस्कार गर्छु।

Komal Shrestha Malla – Bhogai (Muktak)

कोमल श्रेष्ठ मल्ल – भोगाई

भोग्नै नपर्ने कति कुरा
भोग्नै पर्ने रहेछ
यो रहेछ कस्तो रहस्य ?
धेरै ठुलो रहेछ
मोल कहाँ आँसु रगतको ?
तेसै बग्दो रहेछ
देख्छ कस्ले दिल जलेको ?
बुझ्ने हुन्न रहेछ
यो रहेछ कस्तो रहस्य ?
हृदय संगै रहेछ ॥

Prakash Sayami – Ke Magchhu Ra Timi Sita [Gajal]

के माग्छु र तिमीसित घामपानी सिवाय
के नै दिन सक्छौ अनिँदो बिहानी सिवाय
मेरो कसम तिम्रा निम्ति कति जुठो भो
चोखो त क्यै छैन तिम्रो जवानी सिवाय
नबुझाउ पहेली मनको म बुझ्दिन खै
स्पष्ट त क्यै भएन उही बानी सिवाय
सपना देख्छु रंगीविरंगी मन त त्यै हो
बदल्छु सारा चीज त्यै सिरानी सिवाय
भित्ताको तस्वीरले रगतको रंग भन्छ
के नै भन्ला शहीदको कहानी सिवाय
यै जीवन काल कोठरी भो नानू
जिन्दगी क्यै हैन पुरानो बानी सिवाय

Kabin Basnet – Usko Bhannu Kehi Chhaina

कबिन बस्नेत – उसको भन्नु केही छैन

ऊ फेरि आईपुग्यो
पिठ्युँमा घोषणा-पत्रहरु बोकेर
आन्दोलित समयको उदिग्नतासगैँ बगेर
ऊ केहीबेर उभिरह्यो
उपेक्षित शालिकको छाँयासँगै बसेर
हेरिरह्यो-
उसको नाकैमुन्तिर
चार थान सुकिला बोलेरोहरू
धुलो छ्याप्दै ओझेल भए ।
दृश्यबोधमा ऊ,
ऊ दुरदर्शक थिएन
ऊ पारदर्शक होइन
ऊ मुकदर्शक भईसकेछ ।
मुकदर्शक, अर्थात्
उसको भन्नु केही छैन ।

राफिलो सडकका बान्कीहरूमा
चिसा खल्तीहरु सुम्सुम्याउँदै
ऊ निधारका गाँठोहरु फुकाउँदै थियो ।
खै ? कहाँ छुटे ?
सहृदयी हातहरु
किन साँघुरिँदै छन्?
मायालु टेको अडिने अग्रगामी अँगालोहरू
एउटा असंगत सत्यको अविर्भाव !
यौनबजारका बिचौलियाहरूलाई
प्रेमको पाठ पढाउनु ?
बोझिल आँखाहरूमा
सपना कैद छ-
माखेसाङ्लोमा,
निकास बनेर
कुनै प्रोमिथियस आईपुगेन
आग्नेय फिलुङ्गो लिएर ।

उसले निर्णय लिइसकेको छ –
महाभिनिष्क्रमणको कसीमा
ऊ खाडी मुलुकको बोर्डिङ पाससँगै उभिनेछ ।
सलिचासगँ इमान साट्नेहरूलाई
उसको भन्नु केही छैन ।

– देवीनगर, बुटवल

Asha Gurung – Bishwash Euta Yatri Ko

आशा गुरुङ – विश्वाश एउटा यात्रीको

म एउटा यात्री जिन्दगीको,
हिड्दैछु अझै पनि समायन्तर संगै निरन्तर-निरन्तर
कुनै दिन त्यो पर क्षितिजमा पर्खिरहेको
उदेश्यको देउरालीमा बिसाउने आशाहरुमा
हो सुरुवात त निकै अगाडि भइसकेको थियो
तर बिडम्बना !कतै आँफै होस् गुमाउन पुगेछु
पाइलाहरु त रोकिएको थिएन
केबल मडाँरिदै थिए समयको आबेगमा

गन्तब्ये नभएको पनि होइन
तर लाग्छ दासी हुन पुगेछु ती असाहाय हालतहरुमा
म आँफैमा कम्जोरी पनि त कहाँ थियो र
समर्पण गरेछु आँफैलाई त्यो विवसताको हुरीमा
अझै हिड्दै थिए बेहोशी झै
तर बलबान समयले
ल्याइपुरायो जिन्दगीको अर्कै मोड्मा
अनि बिउँझाइदियो र छडिदियो उही सपनाको संसारमा
उस्तै सपनाहरु छचल्किएकै छन
आज पनि मेरो मानसपटलमा
सपना देखनु गलति होइन न त अधर्म नै
फेरि आज एउटा पाइला अघि सारे जिबनको गोरेटोमा
जति हावा हुरी आए पनि जे-जस्तोले तगारो हालेपनि
अब हल्लाउन अनि दबाउन सक्दैन
मेरो अटुट विश्वाश अनि अपूर्ण सपनाहरुमा
म हिँद्छु र हिँडिरहनेछु
त्यो मेरो सपनाको चौतारी नभेटेसम्म
मेरो आत्माले तब सम्म शान्ति पाउँदैन
जब सम्म मेरा यी पाइलाहरुले
अनि सपनाहरुले गन्तब्यको छात्तीमा सास नफेरेसम्म …

Abhas – Hiroshima Ka Parewa

जब म
एकान्तमा बसेर
मुरली बजाउन थाल्छु
हिरोशिमाका परेवा
मेरो सामु आउँछन्
वमले छिया छिया भएका
शरीरका मासु देखाउँछन्
आँसुले भिजेका
पँखेटा फट्कार्छन्
आँसुले सेचन गरिदिन्छन्
मेरो शरीर
जब म
एकान्तमा Continue reading “Abhas – Hiroshima Ka Parewa”

Nawaraj Subba – Bachan

यहाँ फूल बर्सन्छन्
ढुङ्गा अनि तीर बर्सन्छन्
मान्छे मान्छेका मुखबाट
त्यसैले
लाग्नु अघि छेक्ने
लागे सेक्ने
केही हैन आफ्नै मन हो
ढालले नछेक्ने छाती मै ठोक्किने
अरु हैन त्यो कसैको वचन हो ।

Shyam Dahal – Laasai Laas haru

श्याम लम्साल – लासैलासहरू
(मधुपर्क जेठ, २०६८)

मलामीहरू लास बोक्न विवश नै थिए
लासैलासका चाङहरू देखेर
कसैले सोध्यो
‘यो कसको लास हो ?’
मानवीय समवेदना र संस्कृतिको
मानवीय मूल्य र मान्यताको
अबोध शिशुहरू जस्तो रोइरहेको
नेपाल आमाका उनका सन्ततिहरूको
मलामीहरू लास बोकिरहेका नै थिए
फेरि कसैले सोध्यो
यो कसको लास हो ?
‘तिम्रो आफ्नै अस्तित्वको
आफ्नै जीवनको
तिम्रो हाम्रो नाममा जन्मने भावी पिंढीहरूको
हामी सबै मानव जातिको’
लासैलासको थुप्रोभित्र आफ्नो मृत्युलाई हामी आफैँले देख्ने भए
सृष्टि कति सुन्दर, कुशल हुन्थ्यो होला ?
सृष्टि सुन्दर मात्र भएर
मृत्यु नजिक नभैदिएको भए
संसार कस्तो हुन्थ्यो होला ?
तर हामी सबैले बुझ्नै पर्ने हुन्छ कि
सृष्टिका प्रत्येक पाइलाहरू
मृत्युको घुम्टोभित्र लपेटिएकै हुन्छन्
मलामीका लास बोकाइसँगै, हामी आफँै लास हुन्छौं ।

दमक, झापा

Seema Abhash – Desh Ko Simana

मेरो देशको सिमाना हराएपछि
सप्तकोशी किनारै किनार
सगरमाथा छ छैन थाहा पाउन
बैशाखी टेकेर
म लगडो नागरिक
जादैछु नाम्चेतिर

सप्तकोशी ब्यारेजबाट हुत्तिएर
जब मेरो देश
पारिपट्टिको बगरमा पछारियो
तब दन्दनी Continue reading “Seema Abhash – Desh Ko Simana”

Kusum Gyawali – Saddam Ra Hami Haru

सद्दाम!
हामी फाँसी दिदैनथ्यौं तिमीलाई
दर्जनौ मान्छेको हत्या गर्ने
नरभक्षी शासकलाई पनि हामी
ससम्मान दरवारमा बस्न दिएर पाल्छौं
उसैका सेवामा टक्र्याउँछौ
करोडौंमान्छेका रगत र पसीना
दुजेल नभए दोरम्बा-सुखानी छन् हामीसँग
तेलका कुवा नभए पानीका छहरा छन् हामीसँग
वाज उड्ने समुद्री किनारा नभए
वीर छाति माथीको टिङ्गकरमा
विदेशी सैनिकका बंकरहरु छन् हामीसँग

तिमीले सत्तामा टिक्न यहाँ
चुनावको नाटक सम्म पनि गर्नु पर्दैनथ्यो
मान्छे मार्नका लागि विदेशी हतियार बोकेर बाजहरु
आफै तिमी कहाँ आउँथे
उनीहरुनै तिमीहरुलाई
आम नरसंहारको तालिम दिन्थे
पशु जस्ता खैराहरु वदमासहरू
अधिकारवादका नाटक मञ्चन गर्न उतैबाट आउथे
उनीहरुले खाने हरियो घाँस पनि उतैबाट आउथ्यो
ती घाँस खाने खसीले
विरोध जस्तै देखिने गरी समर्थन गर्थे
तर,
तिमीलाई केही कार्यवाही हुँदैनथ्यो सद्दाम!
●●●
हामीले एउटा आयोग बनाउथ्यौ
कार्यवाहीका गुड्डी हाक्थ्यौ क्रान्तिकारी भाषण गर्थ्यौ
अनि तिम्रो अग्लो दरवारका अगाडी
हाम्रो त्यो लिलिपुट आयोग
मुसाको आवाजमा वेस्सरी डुक्रन्थ्यो
तिमी मस्त निद्रामा घुरेको आवाज सुन्दा डराएर
हाम्रो आयोगले तिमीलाई सिफारिस गरेको सजायँको दफा
रातारात हटाउँथ्यो आफ्नै प्रतिवेदनबाट
तिमीलाई “डामेको साँढे” जस्तै सडकमा निस्पि्कक्री छोड्थ्यौ
अनि ‘साँढे छोड्नु हाम्रो संस्कृति हो’ भन्दै
हामी निर्लज्ज सडकमा वकालत गर्दथ्यौ
तिमीलाई केही कार्यवाही हुँदैनथ्यो सद्दाम !
●●●
वाजहरुको आफ्नो राष्ट्र हुदैन
उनीहरूलाई मन पर्दैन राष्ट्रवाद
कुल्चेर कुनैपनि मानवताका सीमाहरू
वाजले जिउँदो मान्छेलाई
लाश घोषणा गर्छ र लूछ्छ
तिमीले जेसुकै अपराध गरे पनि
राष्ट्रवादी हुनु हुँदैनथ्यो वाजका अगाडि !
आफ्नै शरीरको मासु खान खोजे पनि
तीनै हिंस्रक फटाहा वाजले
तिमीले धपाउनु हुदैनथ्यो रे उसलाई
बरु सट्टामा तिमीले अरु सयौं शरिरको
मासु खान छुट पाउथ्यौ

सद्दाम!
अब तिमी कहिल्यै नेपालमा नजन्म
किनकी तिमीलाई हतियार दिने
नरसंहारको विभत्स योजना दिने
अखण्ड सहयोग दिने
तिम्रा अत्याचारलाई मान्यता दिने
तिम्रा तानाशाहीलाई सहारा दिने
नयाँ क्रान्तिका नाममा निहत्थाका हातखुट्टा भाँच्न दिने
अमानवताको सट्टामा
हामी लोकतान्त्रिक गणतन्त्र ल्याएकाछौं

त्यसपछि
न तिमी जन्मिनेछौ हाम्रो धर्तिमा
न तिमीलाई जन्माउनेहरू जन्मिनेछ हाम्रो धर्तिमा
मात्र नयाँ यूगीन बुद्धहरु जन्मिनेछन्
हाम्रो प्यारो धर्तिमा

Hari Khanal – Yo Tapobhumi Ma (Nepali Gajal)

हरि खनाल – यो तपोभूमिमा (गजल)
(मधुपर्क २०६६ असोज)

यो तपोभूमिमा राक्षसी वास भो
जो मरे ती बाँचे, बाँच्ने लास भो ।

झुक्किए लोक नै शेर औ खातमा
रक्तका कुण्ड छन् नास भो नास भो ।

चुँडिए ‘ख्यातीझै’ कोपिला बागमा
सन्तका वेदना दुष्टका हास भो ।

रुपमा मानवी चालमा दानवी
धर्म औ सभ्यता चोरका तास भो ।

-धादिङ

Kshetra Pratap Adhikari – Baaje Ko Byatha

क्षेत्रप्रताप अधिकारी – बाजेको व्यथा
(मधुपर्क भदौ , २०६७)

जिन्दगी फुलेन भनूँ भनेँ
कपाल पनि फुल्यो
फुल्यो भनूँ भनेँ
पेटभरि दुई छाक
दाल भात पनि फुलेन
सधैँ गुनासो सधैँ गनगन
कति थुमथुम्याउने यो मन
अब त आँत पनि सुकिसक्यो कान्छा
अब त गाउँघर दुखिसक्यो कान्छा
असी वर्षको यो यात्रामा
श्री तीनदेखि प्रचण्डसम्म
अनेक अनुहार देखियो
सबैबाट –
सुमधुर आश्वासन पाइयो
र, आशाखेतीका गीतहरु गाइयो
तर यो बस्तीमा
सिन्को पनि भाँचिएन
यो नूर त झन्झन् झुक्यो नि कान्छा
बस्ती त झन्झन् दुख्यो नि कान्छा
पहिले पनि दुखियाको
घरमा एक थोपो भुटुन र
हरमा एक सरो भोटो थिएन
तर शान्ति सुरक्षा थियो
आधा पेट खाए पनि
पेटभरि सुत्न पाइन्थ्यो
तर अहिले त
कुनै पनि क्षण
मेरो नाति अपहरण हुन सक्छ
मेरी नातिनी बलात्कार हुन सक्छे
त्रासदी ढोकामा ढुकिरहेछ कान्छा
मान्छे त झन्झन् दुखिरहेछ कान्छा
भ्रष्ट हरौटे भष्मासुरहरु
सत्ताको स्वाद चाटिरहेछन्
त्रस्त निमुखा नागरिकहरु
अराजक कहर काटिरहेछन्
के सहर के गाम
जताततै चक्का जाम
यतै बन्द उतै बन्द
गति मति सबै मन्द
जब बेथिति बढ्दै जान्छ
तब राष्ट्रले फेल खान्छ
संसार हामीलाई थुकिरहेछ कान्छा
देश त असाध्य दुखिरहेछ कान्छा

Samba Dhakal – Pahadma Samjhandai Pahad

साम्ब ढकाल – पहाडमा सम्झँदै पहाड

यसपल्ट पहाड उक्लन मनलाग्यो
र उक्लिएँ
पहाड उक्लिँदा
पहाडकोजस्तै मन बनाएर उक्लन पर्दोरहेछ !
पहाडजस्तो मन भनेको किमार्थ कठोर र जब्बर नभएर
निर्दोस र निरीह अनि मायालु मनले उक्लनुपर्ने रहेछ ।

यसपाली पहाड देख्दा मलाई त मेरो घरछेउको
रातोदिन आरनमा बस्ने बूढा दाइ बिजुली विकझैँ पो लाग्यो
अहर्निस कहिलेदेखि एकै ठाउँमा बसेको बस्यै
धेरै कुरा सहेर ÷नसहेर ।

एकैछिन पहाडको गथासो सुनेँ,
बिजुली दाइकोजस्तै पहाडको पनि छातिभरि
बेगन्ती बेथाले हाराबारा खेलिरहेको रहेछ ।

पहाडका लामालामा बाटाहरू उकालो लागेर
ओरालोमा बेपत्ता भएझैँ
बिजुली बिकको सुखपनि कता हराउँछ हराउँछ
विपनाका विछट्टै राम्रा फाँटहरू पहाडैभरि रैमट्ट भएझैँ
बिजुली बूढाका स्वप्निल आँखाका सपनाहरूमा पनि पहिरो जान्छ ।

विलाउन तैयार चौतारो
इतिहास धानिरहेको जीर्ण पौवा
सुक्न राजी लेउ लागेका पधेँरा
धुकधुकीमा टिकिरहेको ढिकी र जाँतो
आफन्त कुरिबसेको पिँढी र दलान
बटुवा खोजिरहेको गोरेटो र डगरहरूमा
पहाडले आफूलाई सम्झन खोज्यो
अहँ पाएन अत्तोपत्तो,
बिजुली दाइलाई आफन्तले
लामो वियोगमा डुबाएर विदा भएजस्तै ।

भन्ज्याङको बूढो बरमा अल्झेको अस्ताचलको रक्तिम घामलाई
बोकेर पहाड कतै जान सक्दैन
पहाड उज्यालो जूनलाई काँधको ठाँउ दिएर बसेको जुग भएको बिर्सन पनि सक्दैन
पहाडको छातीमा सल्बलाएर हिँडेको गोरेटोले मान्छेलाई कहाँमात्र पु¥याएन
पहाड जहीँकोतहीँ कतै नपुग्न ठिङ्गिरहेछ ।

पहाडबाट मनलाई
यो पटक अर्कै बनाएर फर्केँ
पहाडलाई पहाडमा गएर नियालेँ
पहाडकै कुनै अँश मनभरि बोकेर
पहाडझै बोझिल भएर फर्केँ ।

Rajab – U Pani Arko Brain

बिहान उठेपछि
बाहनको दौडादौडी
र तीतो कफीको स्वादबाहेक
अर्को मीठो कुरो
र नवजात सूर्यको गति हेर्न पाइन्न
थुप्रै सुन्दरता मारेर
बनेको यो चरम–नगरमा
न भिजेका केटाकेटी देखिन्छन्
न ओत लागेका मान्छे देखिन्छन्
ब्राइन भन्छ
यहाँ ओत कतै पाइँदैन
यस्तो ठाउँमा के बस्नु
जान्छु मध्यसमुद्रतिर
वा पहाडतिर वा तराईतिर
खूब मजाले सूर्योदय हेर्छु, अस्ताचल हेर्छु
झरीमा रुझ्छु
रात, बिहान र दिनको आनन्द लिन्छु
जान्छु चराहरू भएको ठाउँमा
जान्छु माटो देखिने ठाउँमा
र खेतहरूमा अन्नबालीहरूको लहलहाउँदो रूप हेर्छु
धर्तीबाट वायुमा
धूलो कसरी उड्छ
मजाले हेर्छु,
वास्तवमा मलाई
नगरले नखाएको प्रकृति छाम्नु छ
र मुटुसम्म पुग्ने अनुभूति लिनु छ
ब्राइन महानगरको व्यस्तताले थलिएको छ
उसलाई पहाडको वैविध्य अग्लाइ
र तराईको सघन रूप
र मरुभूमिको उच्चाट आत्माको ज्ञान छैन
उसले धर्तीको मौलिकता जानेको छैन
बिहान उठेपछि
बिछ्यौनैदेखि दाँत माझ्दै
बाथरुमभित्र पसेर
निस्केपछि
हडबडीको लुगा भिरेर
कारको गति रन्काउने ब्राइन
बाटोको कुनै ‘कफी सप’ मा पस्छ
त्यहाँबाट कपभरि बीस आउँस कफी किनेर
फेरि कारको बेतोड गतिमा तातो कफी चुस्दै
मध्यनगरको असी तले भवनको
तीसौँ तलाको अफिस कोठामा छिरेपछि ब्राइनको
प्रत्येक दिन
डलर उत्पादनमा त्यहीँ बित्छ
शहर बिजुलीले उजेलिएपछि
टाउको बिसाउन कुनै सम्भ्रान्त ‘पव’ मा पस्छ र
एकाद घण्टा त्यहीँ आनन्द किनेर बिताउँछ
त्यसपछि ब्राइन
कोन्यागको नशामा मस्तिएर
डोचेस्टरको आफ्नू अपार्टमेन्टमा गुँडुल्किन पुग्छ,
बितेको तेह्र वर्षदेखि ब्राइन यही गरिरहेछ,
बेलाबेला अति दिक्किएर भन्छ
मसँग कुनै जीवन छैन
यही हो मेरो जीवन
के छ यसमा ?
तीतो कफी
कोन्यागको नसा
“अमेरिकन स्प्रिट एलो’ चुरोट
इम्पोर्टेड डिओडिरेन्टको वासना
डलर सचेत कामको क्रुर बोझ
र, नवजात कार
यत्ति हो
यत्ति हो
यत्ति हो जीवन
म वञ्चित हुंदैछु
ताजा कविहरू
जिमी सान्टियागो बाका,
मार्क कोक्स, रिटा डोभ, स्टिफेन डन, विलि कोलिन्स
डेभिड लेहम्यान, नाओमी सिहाव नाय, इरा साडोफ
लुइस गुलग र टोनी टोस्टका कविताहरू र मलिसा
इवे, फ्रेड इस्कर, सारा रेन, एरिक वेस्ट
र मार्क एडकिन्सका रंगका तरंग र सूक्ष्मताहरूबाट

वञ्चित हुँदै छु
सब मौलिकताबाट
मेरा दिनहरू
खरो डलरमा निख्रिँदै छन्
म कहिले बौलाउँछु डाक्टर ?
तर उत्तरआधुनिक डाक्टर जन बेरी बोल्दैन
ऊ पनि अर्को ब्राइन हो

Damodar Pudasaini – Nariwal Ra Supari Ka Rukh Haru

दामोदर पुडासैनी किशोर – नरिवल र सुपारीका रूखहरू

ठिँग उभिएर
सँसारको चर्तिकला हेरिरहेछन्
नरिवल र सुपारीका रूखहरू
मान्छेले भने
सँसारको कुना कुना चाहार्दा पनि
बुझ्न सकेको छैन
ज्यूँनुको रहस्य
मान्छेहरू
मन्दिरमा ,मस्जिदमा र चर्चमा
ध्यानको अभिनय गरिरहेछन्
नरिवल र सुपारीका रूखहरू भने
जन्मेदेखिनै ध्यानमग्न छन्
सँसारका कुनैपनि मान्छेले
ध्यान गर्न सकेको छैन
नरिवल र सुपारीका रूखहरूलेजस्तो
अलि फरक छ
पोखरी छेउ ध्यानमग्न बकुल्ला
र ,बारीमा उभिएका
नरिवल र सुपारीका रूखहरूमा
बकुल्लाहरू
कसैलाई थुतुनोमा हुलेपछि
आवरण फालेर कुलेलम ठोक्छन्
यी रूखहरू भने
ध्यानमग्न छन्
केही न केही अरूलाई दिनको लागि
माया गरेर नथाक्ने आमा
लडाईँमा नथाक्ने सिपाही
भारी बोकेर नथाक्ने खच्चर
सबै सबै हुन्
नरिवल र सुपारीका रूखहरू
केही फरक लाग्दैन मलाई
आँगनछेउमा उभिएको नरिवल र तिमीमा
कहिल्यै नरिसाउँने
सधैं चम्किलो पहिरनमा मुस्काइरहने
चराहरू पनि खुशी
घाम पनि खुशी
पानी पनि खुशी
बादलका कथा सबै खुशी
जिन्दगी त आखिर पत्र फेरिरहने त रहेछ नि
प्याज जस्तो
अथवा नरिवल र सुपारीको बृक्ष जस्तो
पत्र पढ्यो ,फाल्यो
पुरानो पत्र फाल्यो
पढ्यो पुन: नयाँ पत्र
पत्र पलाउँने क्रम सकिएपछि
सकिँदोरहेछ फूल जस्तो जिन्दगी
प्याज र नरिवललाई जस्तै
मलाई पनि धौ धौ छ
पुराना पत्रहरू जोगाउँन
र, नयाँ पत्रहरू उमारिरहन
नरिवल र सुपारीका रूखहरूमा
लेख्न सकिनेछ
हाम्रो मायाको हिसाबकिताबको अभिलेख
कोर्न सकिनेछ
देशको फेरिन लागेको अनुहार
उभ्याउँन सकिनेछ बिशाल विजयस्तम्भ
बनाउँन सकिनेछ
मान्छे हिड्ने फरक ढँगको बाटो
यी रूखहरूले निरन्तर रखबारी गरिरहेछन्
मान्छे हिँडिरहेको उज्याला र अँध्यारा बाटाहरूको
अपराधका बिउ रोपेर
बहादुरीका इतिहाँस लेख्न खोजिरहेछ मान्छे
भित्र भित्रै अग्नीज्वालाहरू पिएर
अनुहारमा पूर्णिमा लेप्न खोज्दैछ मान्छे
भएकोलाई होइन र नभएकोलाई हो भन्नेहरू
आफ्नै अघिल्तिर ओहोरदोहोर गरिरहेको देखेर
उमेरनै नपुगी छिया छिया बन्दैछन्
नरिवल र सुपारीका रूखहरू
यो बस्तीमा
मान्छेहरू रूख बन्न खोजेका हुन् कि
रूखहरू मान्छे बन्ने प्रयासमा छन्
किन कसैले सोचेन अहिलेसम्म ?

-२०७५ माघ १२ गते शनिबार
होटल आनी हेरिटेज प्लाजा
भद्रपुर,चन्द्रगढी,झापा