Saroj Dhital – Mero Priya Kavi

सरोज धिताल – मेरो प्रिय कवि

मेरो प्रिय कवि
आजकाल कविता नै लेख्दैन ।

भोकाएको बेला
छटपटिए पनि, रोए पनि
अँगेनाको छेउमा बसेपछि
मुख रसाउँछ
दुई चार गाँस परेपछि
सुकेको आँत नै रसाउँछ
र भोक मरिसकेपछि
म कविता लेख्छु—भोककै बारेमा

तर मेरो प्रिय कवि
कविता नै लेख्दैन ।

मुख थुनिएको बेला
बोल्नै नपाएर छट्पटिए पनि
धुरु धुरु रोए पनि, रिसले मुर्मुरिए पनि
परबाट आएको धुन सुन्दा
म पनि गुन्गुनाउँछु
रिस मरेपछि, पीडा घटेपछि
म कविता लेख्छु—अभिव्यक्ति स्वतन्त्रताको बारेमा

तर मेरो सबभन्दा मन पर्ने कवि
आजकल बिल्कुलै कविता लेख्दैन ।

जुन, २००२

Basanta Mohan Adhikari – Nepali Sapana Ra Bipana

बसन्त मोहन अधिकारी – नेपाली सपना र बिपना

आमा !
आज फेरी सपना देखें
तिमीलाई भैसिले लखेटेको
मध्यरातमा जुरुक्क उठेर
चैतन्यको बतिमा
चारैतिर हेरे
घरबाहिरका अर्नाहरूले खेद्दै रहेछन् ।

हो बाबु,
भो त्यो कुरा नगर
तिम्रो घरबास उठ्ला!
ईज्जत मात्र होइन
प्राण चुडिएला
मेरो चाहना
तिम्रो गाँस, बास र कपास
र जीवन हो ।
मैले पनि भयङ्कर सपना देखेँ
गाँउघर, शहर मात्र होइन
प्रदेशमा पनि ऐंठनहरू आएर
तिम्रो गला थिचिरहेछन् ।

घरआँगनबाट
बल्ल तल्ल बाँचेका
मेरा सन्तानहरूलाई
कुबेर बन्ने होडमा
जिउँदो बलि दिदै
त्यो प्रदेशमा
कठ्ठै ! बाँच्नु न मर्नुको दोसाँधमा
कठ्ठै ! बाँच्नु न मर्नुको दोसाँधमा
सैतानहरूले
भेडा बाख्रा झै बेचिरहेछन् ।

आमाको ममता न हो
सहन नसकेर
रुदैँ सगरमाथा उक्लिएर
प्रदेशतिर चिहाए
कयौ सपुतहरूले
भाईबैनीहरूलाई
ममताले बाँधेको देखेँ
अँगालो हालेर राखेको देखेँ
त्यतिखेर
भावविहल भै आँखाबाट आँशु खस्यो
खुसी र हर्षो
धेरै भयो
यस्तो दृष्य नदेखेको ।

समयको अन्तरालमा
अनायासै,
तिम्रो जस्तै सपना देखेँ
सपुतहरूलाई घरकै भैंसीहरूले खेदिरहेछन् ।
हान्न र फाल्न सिंग उदाई रहेछन् ।
पापै पापले भरिएको धर्ती बिच
आधा रातमै उठेँ
पुकार गरे
हे जन्मदाता !
संसारका सृष्ट्रिकर्ता !
यो धर्तीमा
सत्यताको कर्म र कतर्ब्यमा
बाँच्न दिदैनौ भने
जन्म पनि नदेउँ
म सधै मेरा सन्तानहरू
अनाहकमा बलि चढाउन चाहन्न ।
बलि चढाउन चाहन्न ।

Bhim Darshan Roka – Ek Yug Bhayo

एक युग भयो, छाडेर घर
म यात्री गर्न एक्लै सफर
हिँडिरहेछु, साथी ! म हिँडिरहेछु
आरम्भ छाडी अन्तदेखि बेखबर !
एक युग भयो…
सधैँ बिहान हिँड्न थाल्दछु म
सधैँ साँझ, ताराहरु बाल्दछु म
सधैँ दिनको एकै अन्त देख्दा
किन हो किन लाग्दछ डर ?
एक युग भयो…
जहाँ जहाँ वास बस्दै जान्छु
ती सबलाई घर आफ्नै ठान्दै जान्छु
फर्र्कूँ यदि भोलि यही बाटो
गाह्रो पर्ला चिन्न मलाई मेरै घर !
एक गुग भयो…

Umesh Rai Akinchan – Ma Banche Bhane Bhagawan Marchha

उमेश राई’अकिञ्चन’ –म बाँचे भने भगवान मर्छ

एक हरफ शब्दले
संसार जित्न खोज्ने
ए कवि !
कोर एउटा
नानी रोएको आवाजजस्तो कविता
छापामारको कैमोफ्लेज लुगाजस्तो
टाटे पाङग्रे
विश्वको नक्सामा
ए भिक्षु !

विपरित बहिरहेछ हावा
उल्टो फरफराइरहेछ झण्डा
फर्काउ
पानको पात पाइला नाघेर
सिमाना काटिरहेका
घामलाई

कि त रोएर
कि त हाँसेर सकिने
जिन्दगीलाई
यसरी जोड
ए दार्शनिक !

पुथ्वी घुमे जस्तो
फेरि फेिर
नदोहोरियोस्
कलिलो फूलको गुनासो

‘म मरे भने भगवान बाँच्छ
म बाँचे भने भगवान मर्छ’ ।

Mahesh Regmi – Meri Antim Stri

महेश रेग्मी – मेरी अन्तिम स्त्री
(मधुपर्क असार, २०६७)

मेरी अन्तिम स्त्री
जो वाचाल छ
म उसको श्रोता बनेर अघाउनुपर्छ
उसका तर्क र भाषणको ‘ब्रेकफास्ट’ खानुपर्छ
र, बेलाबखत स्वर्गीय दृश्य भएर विभाजित बन्छे
मलाई तृप्ति दिन ।
ऊ अमूक पार्टीको सक्रियतावादी
र, केही छायाँवादी
उसले निर्वाचन जितेकी छे
संसद्मा पुगेकी छे
समलिङ्गी अधिकारका लागि युद्धरत् ।
मलाई आवारा बनाउने सरकार
उसका लागि सत्ता पक्ष छ
र, संसद भवन
उसका लागि घर र माइती भएको छ ।
म उसको जीवनको एकछेउमा बास गर्छु
तर ऊ मेरो निवास भने होइन
र, घर पनि होइन ।
मेरा लागि ऊ अन्तरिम सम्बन्ध बन्छे
र, मेरा अङ्गहरूको विघटन गर्न खोज्छे
जसरी यो गुण्डा सहर
मेरो जिब्रो थुत्न खोज्छ
खोस्न खोज्छ मेरो वीर्य
ए मेरी अन्तिम स्त्री
म अन्तिम नायक हुन चाहन्नँ ।

पाल्पा, हालः काठमाडौं ।

Bhim Darshan Roka – Fewa Taal

पर्खिरहनू त्यो वनको किनारमा
मैरै प्रतीक्षा, मेरै विचारमा
फिँजाई थकिँदो आँचल आफ्नो
त्यो वनको छायाँको भारमा ।
बादलको सेतो डुङ्गा तर्छ यहाँ—
हिउँलाई बोकी हिमाल झर्छ यहाँ
पग्लन्छन् किरणहरु जताततै
घामले आफूलाई जब छर्छ यहाँ ।
हावाले पानीलाई तास्दछ यहाँ
लहर लहर आपसमा मिल्दछ यहाँ
हल्लाइदिन्छ हृदय मेरो—
गहिरो आकाश पनि हल्लिन्छ यहाँ ।
तिमी छौ र पँधेर्नीको बिहान छ यहाँ
चखेवा र चखेवीको मिलन छ यहाँ
पाइन्छ छायाँ पन्छीको पानीमा
आकाशलाई छुने उडान छ यहाँ ।
आँचल निकै समाली समालीकन
ताराहरुको लाखौँ पाला बालीकन
हेरिरहनू तिमी बाटो मेरो
लहर लहरमा माथा उचालीकन ।

Matrika Pokhrel – Ban Phool Ra Sapana

मातृका पोखरेल – वनफूल र सपना
(सहिद सेतू सुनारको स्मृतिमा)

म वनफूल,
युगौंदेखि
गरिबी र अपमानको हिउँले
धेरै ठाउँमा डामिएका छन्
मेरा फूलका पत्रहरू
सभ्यताको जँघारमा
घाइते भएर म
धेरैपटक लडेकी छु
अपमानित भएरै
मैले पनि युगलाई नबोकेको भए
हामी सबै मिलेर चन्द्रमा कसरी छुन्थ्यौं ?
ठिहिर्याउने वर्तमानमा बाँचेर
मैले सबैलाई
एक पाखो घाम ताप्न बोलाएकी हुँ,
म सेतू सुनार !
हामी सबैभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन ।

मेरा पिता पूर्खाले
खाडलमाथिको जमिन देखेनन्
मैले खाडलमाथिको जमिन टेकिन
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भर्याङ लाएँ
हामी धेरैले उचालेको
नयाँ यात्राको एउटा साइतमा
मैले पनि अघिल्तिर पाइला राखेँ,
मलाई थोपाको शक्तिसँग विश्वास छ
मलाई घामको वास्नासँग विश्वास छ
मलाई हावाको गतिसँग विश्वास छ
म सेतू सुनार !
मलाई समानताको भोलिसँग विश्वास छ
म तपाईंहरूजस्तै हो,
मलाई बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।

प्रिय आफन्तहरू !
भोलिको समयलाई
बेलाबेलामा सम्झाइरहनु
मैले रोपेको विरुवामा
फेरि झुन्डिनुहुँदैन कालीपोकेहरू,
मेरो यात्रामा
कसैले कुनै शोकगीत नगाउनू
मेरा साना सन्तानहरूलाई
बुझने भएपछि सुनाइदिनु
तिम्रा निला आँखाहरूको
प्यारो अनुरोध पूरा गर्न
ऊ सागर हिँडेकी छ,
मसँग लोभको कुनै दरबार छैन
म वनफूल !
मलाई बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।

मेरा पूर्खाले,
गोडमेल गर्दा नदेखेको एउटा झार
झयाँगिएर विषवृक्ष भएछ,
त्यो हल्किएको देखेर
म क्रोधले आहात भएँ
म अतितसँग क्रुद्ध भएँ
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भर्याङ लाएँ
प्रिय आफन्तहरू !
म जंगली फूल !
म सेतू सुनार !
तपाईंहरूभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन ।

(जनआन्दोलनका क्रममा २०६३ वैशाख ४ गते नेपालगञ्जको ज्ञानेन्द्र चोकमा गोली लागी मृत्यु भएकी सहिद हुन् सेतूसुनार । पछि आन्दोलनकारीहरूले ज्ञानेन्द्र चोकलाई सहिद सेतू विक चोकको रूपमा नामाकरण गरेका थिए ।)

Rajeshan Rai – Sapana

सपना

पोहोर सालको नयाँ बर्षमा
आमाले आफ्नो बुलाकि राखि
छोराछोरिलाइ लगाइ दिएको नँया लुगाको
रिण कसरि म तिरौ
त्यहि बुलाकिको ब्याज आमाले तिर्न नसक्दा
साहुले ढोका ढक ढक गर्दै बजाएको
ढोकाको आवाज कसरि म बिर्सौ
त्यहि साल बाबाको बिहेको अौठि राखि
दसैमा मिठ्ठो मसिनो खुवाएको
अन्नको तिरो कसरि म गरौ
अनि बाबाको रित्तिएकाे खालि गोजि
कसरि र कैले म भरौ

त्यहि त हो सपना मैले देखेको
त्यहि त हो सपना मैले देखेको
अामाको बुलाकि र
बाबाको औठि उकास्ने
अझै पनि कहिले काँहि ढक ढक
गर्दै बज्ने त्यो ढोका बनाउने
बाबा को रित्तो गोजिमा सारा
खुसि खन्याउने
अनि ढिडो र गुन्र्दुकको हरेक भेट त्यागि
धानको भातसंग परिचय गराउने

त्यैसैले हाक्किए म परदेश तिर
कसैको करले होइन
कसैको डरले होइन
मात्र आफ्नो सानो सपना पुरा गर्न

हाक्किए म परदेश तिर

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 005 – Lau Anjuli Tin Baar Jal Ko

सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम
यो छाया–छविको डुब्यो दिन, डुब्यो रङ्गीन त्यो जीवन
थोत्रो देवल, शून्यसान दुनियाँ, सारा अँध्यारोतिर
जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर

बत्ती यो घरबाट बल्छ अहिले सङ्घारमा दख्खिन
बाल्थिन् यै घरभित्र बत्ति घरकी लक्ष्मी उनी क्वै दिन
हे वैवस्वत ! बत्ति यो शहरमा तिम्रो लगी जोडिद्यौ
उल्टीद्यौ सब अन्धकार उनको बाटो तिमी छोेडिद्यौ

छायारुप लिएर शून्य घरमा आई नच्याऊ अब
हाम्रा आँसु नहेर, निष्ठुर बनी माया चुँडाल्द्यौ सब
हल्का प्वाँख उचाल, झार भुइँमै धूलो र मैलो जति
जाऊ सुन्दर शान्त देश, पुतली ! हे ज्योतिकी सन्तति !

लाऊ अञ्जुलि तीन बार जलको, खाएर जाऊ सखी !
यौटा फुल चुँडेर दिन्छु दिलको लाएर जाउः सखी !
आँसू आज पुछेर दुःख सब यो बिर्सेर जाऊ सखी !
मान्छेको घर अन्धकार छ भनी सम्झेर जाऊ सखी !

आऊन् पुष्पविमान पुण्यबलले निस्केर आकाशमा
हाँसी क्यै वरदान द्यौ रहरको, जाऊ सखी ! बैँसमा
लैजाओ अमरावती शहरमा हे स्वर्गका देवता !
ताराका सँग हाँस है, अब तिमी नौ लाखमा एउटा

हाँस्यौ, प्यार गर्यो, बिगार गरिनौ कैल्यै कसैको यहाँ
यो चारै दिनमा पनी गरिसक्यौ जो गर्नुपर्ने यहाँ
केही बाँकि भए म गर्छु सँगिनी ! ज्यूँदै छु आधा अब
तिम्रो खेल समाप्त भो सब, तिमी विश्राम लेऊ अब

मट्टीलाइ फुकेर प्राण बिउँझ्यौ हे फुलकी वासना !
हाँस्यौ घाम र जूनको मनि यहाँ हे स्वर्गकी सिर्जना !
देवी ! जोबनमै गयौ, मलिन यो मट्टी बिसाईकन
हाम्रै जीत छ प्यार चार दिनको पायौ महापावन

टाढा निर्मल मौन शान्त गहिरो आनन्दले दीपित
तिम्रो शाश्वत धामभित्र भवको पर्दा खसाली सुत
एकै बार जहाँ सुतेर कहिल्यै पर्दैन है ब्यूँझन
बल्छन् बाहिर जून्किरीसित जहाँ नौलाख तारागण

Hemanta Pardeshi – Marubhumi Ko Cactus

हेमन्त परदेशी – मरुभूमिको क्याक्टस

तिमी कल्कलाउदो गुलाबको फूल
म आधा सुकिसकेको मरुभूमिको क्याक्टस
अब आफै भन तिमी –
कहाँ छ हामीमा समानता?

हो, प्रेमको कुनै परिधि हुँदैन
उमेर र आयूको सीमा हुँदैन
तर Continue reading “Hemanta Pardeshi – Marubhumi Ko Cactus”

Ganga Ram Gadtaula – Ma Kahan Dera Painchha

गङ्गाराम गड्तौला – मकहाँ डेरा पाइन्छ

तपाईं डेरा खोज्दै हुनुहुन्छ?
सुविधायुक्त घर रोज्दै हुनुहुन्छ?
भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
आउनुहोस् मकहाँ डेरा पाइन्छ।

सुविधाका लागि डराउनु पर्दैन
कुनै कुरामा कराउनु पर्दैन
आफू भलो त जगतै भलो
कहिले आफैँ आगो हुनुहोस्
कहिले आफैँ पानी हुनुहोस्
यस्तो डेरा कहाँ पाइन्छ
भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ
आउनुहोस् मकहाँ डेरा पाइन्छ।

लाइन छ ― बत्ती छैन
धारो छ ― पानी छैन
सुत्न नमिले पनि बस्न पाइन्छ
भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
आउनुहोस् मकहाँ डेरा पाइन्छ।

गफ गर्नुहोस् ― बोल्न पाइन्न
झ्याल कहिल्यै खोल्न पाइन्न
कौसीमाथि डुल्न पाइन्न
पाहुना आए हुल्न पाइन्न
सधैँ बाहिर रहे पनि पानी–बत्तीको महसुल चाहिन्छ
भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
आउनुहोस् मकहाँ डेरा पाइन्छ।

डेरा होइन ― दरबार हो
तपाईंका लागि घरबार हो
रङ्गशाला हो ― दौडनुहोस्
स्विमिङपुल हो ― पौडनुहोस्
टुँडिखेल आफैँ बनाउनुहोस् ― भित्रै जात्रा मनाउनुहोस्
यहाँ केवल बोल्न पाइन्न, अरू सबै छुट छ
भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
आउनुहोस् मकहाँ डेरा पाइन्छ।

डेरा हो यो सस्तो छ ― खेल्ने मैदान जस्तो छ
हावा छिर्छ ― घाम छिर्दैन
नपरेसम्म पानी छिर्दैन
मुसाका दुला टाल्नुपर्छ ― दिउसै बत्ती बाल्नुपर्छ
अग्रिम भाडा तिर्नुहोस् ― निहुरेर भित्र छिर्नुहोस्
यस्तो डेरा कहाँ पाइन्छ?
भन्नुहोस् तपाईंलाई यस्तै चाहिन्छ?
आउनुहोस् मकहाँ डेरा पाइन्छ।

शान्तिनगर ― ५, झापा, हाल: काठमाडौँ।

Komal Shrestha Malla – Thapdai Gai Maile Piyen (Gajal)

कोमल श्रेष्ठ मल्ल – थप्दै गई मैले पिएँ (गजल)

थप्दै गई मैले पिएँ,पिउनु पिएँ पिउनु पिएँ
बोतलको हेर कमाल बिग्रिएछ मेरो हाल
मालामाल मालामाल उनी मालामाल

बात लाउँछे छोएँ भने नपिएर बसेँ भने
आई हाल्छे Continue reading “Komal Shrestha Malla – Thapdai Gai Maile Piyen (Gajal)”

Komal Shrestha Malla – Aama

कोमल श्रेष्ठ मल्ल – आमा

तिमी थियौ
तर छोडी गयौ
म रुनु रोए …
आमा यो भिजेको छाती
तिमि बिना के सुक्छ र ?
तिम्रो अभावका यी घाउहरु
कहिले बिषेक हुन्छर ?

आमा संझेर दुख्नु
रोकिएन कहिल्य
छल्किएका आँसु नसम्हालेको भय
नदि सुसाउथ्यो उहिल्य
आमा तिम्रो माया ममता
कहा मिल्छ र ?
आमा यो भिजेको छाती
तिमि बिना के सुक्छ र ?

दुख्नु दुख्छ मुटु निरन्तर
वात्सल्यताको अभाबमा
पाअौ है शुभ आर्षिकबाद
जहा रहे बसे पनि
मेरो उस्को उनको सबैको
आमा आमा आमा !!!

Dr. Mohan Prasad Joshi – Adhuniktako Tikho Dhanu

डा. मोहनप्रसाद जोशी — आधुनिकताको तीखो धनु

न घाम घरमा पस्न दिएँ
राखी झ्याल खुल्ला,
न हेरेँ उडिरहेका
पङ्क्तिबद्ध बकुल्ला,
न देखेँ फैलिएका
हिमालका शृङ्खला |

न उक्लेँ माथि छतमा
चाँदनी रातमा,
न रुझें म बर्सातमा
रूख-बिरुवाका साथमा,
न पल्टिएँ प्रकृतिको
केही बेर काखमा |

न रोकेँ मैले आफूलाई
हेर्न लामो इन्द्रधनु,
सूर्यास्त देख्दा कुनै दिन
रोकिएन मेरो मनु,
गढेको देख्छु छातीभित्र
‘आधुनिकता ‘ को तीखो धनु |

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)

Sudhir Chhetri – Rakta Pipasu Camera Haru

सुधीर छेत्री – रक्तपिपासु क्यामेराहरू

नखिँच्नू अबदेखि मेरा अर्द्धमुदित नयनहरू
रगतका भोका क्यामेराहरूले।
नटिप्नु डुब्नलागेको घाम रक्तपिपासु क्यामेराले।
सत्याग्रह खाएर डम्म अघाएका
अन्शनकारी सन्तोषहरू र
हावामा पौडी खेलिरहेका
स्वाभिमानी झण्डाका नक्शा उतार्नलाई
चर्केका सम्वेदना-लेन्सहरू
अहँ,
पुग्दैन।
क्यामेराहरू ड्र्याकुला हुन्।
घाउहरू, रगत, विस्फोटहरू ह्नमर्‍याङ्-मर्‍याङ् चपाउँदै
निल्दै
ओकल्दै
गणतन्त्रका अँध्यारा गल्लीभित्र
ती मुत्न जान्छन्।
क्यामेराहरू मृत्युका प्रयोजक हुन्
वधशालादेखि बुफेसम्मै।
जसलाई आमजनता भन्छौ नि तिमीहरू !
त्यो माचिस सल्कँदा
कता-कता डढेलो लाग्छ, हेर्नू।
अनुहारभरि लतपत रक्तिम महोत्सव बोकेर
खुफिया गोजीमा हात घुसारी
यतै आउँदैछ त्यो महानायक।
किटाणुयुक्त पाठेघरबाट
हुलका हुल सिजोफ्रेनिक महाशयहरू
सभ्यताको व्हाइट-कलर कायामा निस्कँदैछन्।
मेरो माटोको आवाज
चियर्स-लिडरहरूका काखी र छेपारीका भञ्ज्याङ्हरूमा
साउती बनेर हराइबस्छ।
ऊ ह्न धातुको रूमालले
मेरो आँसु र पसीना सोतार्न चाहन्छ।
तिमी नखिँच्नू
भस्मेका पवित्र मृतात्माहरू

पौष्टिक उद्भिदका हरितकण।

Bishwa Sigdel – Ekkai Chhin Sano Paridhi Malai

विश्व सिग्देल – एक्कैछिन सानो परिधि मलाई

हेर है !
नछोए नि मेरा कविता
नसँगाले छरिएका पन्नाहरु
भुईं/टेबुल/किताबका पत्र/गोजी
रहन दिए
यथास्थान

सडक
राता हरिया बत्ती
आदेश दिन्छ
म लुरुक्क हुन्छु

अफिस
करेन्ट चरो, पाले
आदेश दिन्छ
म लुरुक्क हुन्छु

चामल पसल
बाँकी बक्यौता
आदेश दिन्छ
म लुरुक्क हुन्छु

अरु त अरु
तिमी
भान्छा,सयनकक्ष
आदेश दिन्छेऊ
म लुरुक्क हुन्छु

अब
आदेशमाथि आदेश सहेर
सधिएको गोरुको पिठ्यूँ
सिधा गर्न
छर्न/बढंगी बनाउन/भत्याङ भूतुङ गर्न
मैले नपाउने लेख्ने बेला ?

म छरिन्छु
सेता सूर्य किरण पन्ना
लुकाउँछ
अन्तर कुन्तर घाम
मात्तिन्छु/लड्खडाउँछु ,हदयको छाल
ठोक्किएर लड्छु, छरिएका कविता
चिप्लिन्छु, हिलो कविता
उ कमल…पख ! पख !

एक्कैछिन
सानो परिधि
तिम्रो के जान्छ ?
बरु ढोका लगाउँछु नि हुन्न !

हेर है !
नछोए नि मेरा कविता
नसंगाले छरिएका पन्नाहरु
भुईं/टेबल/किताबका पत्र/गोजी
रहन दिए
यथास्थान

Laxmi Prasad Devkota – Huri Pachhi Grihagaman

क.
मीठो, मीठो, प्यारो गन्ध प्याज लसुनको आयो !
सूघँ बडो सरसरायो !
चट्याङ्गहरुमा जन्म लिएको, प्राणवायुको बाक्लो दाना
त्रिकणी ओजोन्,
माछा, माछा गह्नायो !
स्वर्गमा आज डीनर छ !
क्रान्तिपछि ! कि ? क्या Continue reading “Laxmi Prasad Devkota – Huri Pachhi Grihagaman”

Bimal Giri – Anmol Chha

आबेसमा आउनुहुन्न बिधम्सनै भए पनि
एकान्तमा रुनुहुन्न आँखातरी गए पनि

अनमोल छ जीबन यो मुस्कुराइदिउ बरु
सुन्दर समाज निर्माण गरौ शरण परुन अरु
जन्म मृत्‍यु नितान्तछ कुबेर जस्तै भए पनि
एकान्तमा रुनुहुन्न आँखा तरी गए पनि

शिखर चुम्ने हिम्मत गरौ थकाईहरु पर सारी
ब्यथाहरु आउछन जान्छन सहनुछ आधि हुरी
धर्य गरौ जस्तै दु:ख आपत बिपत आए पनि
एकान्तमा रुनुहुन्न आँखा तरी गए पनि।

चारपाने झापा
हाल बेल्जियम

Ratna Shamsher Thapa – Christmas Ko Raat

रत्नशमशेर थापा – क्रिसमसको रात

डिसेम्बरको चिसो रात
ठाँटिएका क्रिसमसका रुखहरू
धर्तीका समस्थ मानवजातिलाई
विश्वशान्तिको सन्देश दिन
झिम्काउँछन् आँखा
मुख मिठ्याउँदै

रंगीचंगी विस्फोटहरूका
आफ्ना हात हाँगाका औँलाहरू
भव्य स्वागतका लागि
बिस्तारै बिस्तारै फैलाएर ।

Nawaraj Subba – Akar Jeevan Ko

सुरक्षित राखिनु पर्छ
जिन्दगी भन्दा पनि
यो जिन्दगीको आकार
जो ठोक्किएर नकुच्चियोस्
जाडोमा नकक्रियोस्
नपग्लियोस् गर्मीमा,
सुरक्षित राखिनु पर्छ
यात्रा भन्दा पनि
गन्तव्य लक्षित आशा
जो वातावरणको रापमा
मौसमझैं Continue reading “Nawaraj Subba – Akar Jeevan Ko”