Bhim Darshan Roka – Fewa Taal

पर्खिरहनू त्यो वनको किनारमा
मैरै प्रतीक्षा, मेरै विचारमा
फिँजाई थकिँदो आँचल आफ्नो
त्यो वनको छायाँको भारमा ।
बादलको सेतो डुङ्गा तर्छ यहाँ—
हिउँलाई बोकी हिमाल झर्छ यहाँ
पग्लन्छन् किरणहरु जताततै
घामले आफूलाई जब छर्छ यहाँ ।
हावाले पानीलाई तास्दछ यहाँ
लहर लहर आपसमा मिल्दछ यहाँ
हल्लाइदिन्छ हृदय मेरो—
गहिरो आकाश पनि हल्लिन्छ यहाँ ।
तिमी छौ र पँधेर्नीको बिहान छ यहाँ
चखेवा र चखेवीको मिलन छ यहाँ
पाइन्छ छायाँ पन्छीको पानीमा
आकाशलाई छुने उडान छ यहाँ ।
आँचल निकै समाली समालीकन
ताराहरुको लाखौँ पाला बालीकन
हेरिरहनू तिमी बाटो मेरो
लहर लहरमा माथा उचालीकन ।