Matrika Pokhrel – Ban Phool Ra Sapana

मातृका पोखरेल – वनफूल र सपना
(सहिद सेतू सुनारको स्मृतिमा)

म वनफूल,
युगौंदेखि
गरिबी र अपमानको हिउँले
धेरै ठाउँमा डामिएका छन्
मेरा फूलका पत्रहरू
सभ्यताको जँघारमा
घाइते भएर म
धेरैपटक लडेकी छु
अपमानित भएरै
मैले पनि युगलाई नबोकेको भए
हामी सबै मिलेर चन्द्रमा कसरी छुन्थ्यौं ?
ठिहिर्याउने वर्तमानमा बाँचेर
मैले सबैलाई
एक पाखो घाम ताप्न बोलाएकी हुँ,
म सेतू सुनार !
हामी सबैभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन ।

मेरा पिता पूर्खाले
खाडलमाथिको जमिन देखेनन्
मैले खाडलमाथिको जमिन टेकिन
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भर्याङ लाएँ
हामी धेरैले उचालेको
नयाँ यात्राको एउटा साइतमा
मैले पनि अघिल्तिर पाइला राखेँ,
मलाई थोपाको शक्तिसँग विश्वास छ
मलाई घामको वास्नासँग विश्वास छ
मलाई हावाको गतिसँग विश्वास छ
म सेतू सुनार !
मलाई समानताको भोलिसँग विश्वास छ
म तपाईंहरूजस्तै हो,
मलाई बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।

प्रिय आफन्तहरू !
भोलिको समयलाई
बेलाबेलामा सम्झाइरहनु
मैले रोपेको विरुवामा
फेरि झुन्डिनुहुँदैन कालीपोकेहरू,
मेरो यात्रामा
कसैले कुनै शोकगीत नगाउनू
मेरा साना सन्तानहरूलाई
बुझने भएपछि सुनाइदिनु
तिम्रा निला आँखाहरूको
प्यारो अनुरोध पूरा गर्न
ऊ सागर हिँडेकी छ,
मसँग लोभको कुनै दरबार छैन
म वनफूल !
मलाई बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।

मेरा पूर्खाले,
गोडमेल गर्दा नदेखेको एउटा झार
झयाँगिएर विषवृक्ष भएछ,
त्यो हल्किएको देखेर
म क्रोधले आहात भएँ
म अतितसँग क्रुद्ध भएँ
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भर्याङ लाएँ
प्रिय आफन्तहरू !
म जंगली फूल !
म सेतू सुनार !
तपाईंहरूभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन ।

(जनआन्दोलनका क्रममा २०६३ वैशाख ४ गते नेपालगञ्जको ज्ञानेन्द्र चोकमा गोली लागी मृत्यु भएकी सहिद हुन् सेतूसुनार । पछि आन्दोलनकारीहरूले ज्ञानेन्द्र चोकलाई सहिद सेतू विक चोकको रूपमा नामाकरण गरेका थिए ।)