डा. मोहनप्रसाद जोशी — आधुनिकताको तीखो धनु
न घाम घरमा पस्न दिएँ
राखी झ्याल खुल्ला,
न हेरेँ उडिरहेका
पङ्क्तिबद्ध बकुल्ला,
न देखेँ फैलिएका
हिमालका शृङ्खला |
न उक्लेँ माथि छतमा
चाँदनी रातमा,
न रुझें म बर्सातमा
रूख-बिरुवाका साथमा,
न पल्टिएँ प्रकृतिको
केही बेर काखमा |
न रोकेँ मैले आफूलाई
हेर्न लामो इन्द्रधनु,
सूर्यास्त देख्दा कुनै दिन
रोकिएन मेरो मनु,
गढेको देख्छु छातीभित्र
‘आधुनिकता ‘ को तीखो धनु |
(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)