एउटा हुरीको झोक्काले हुत्ताएर
पल्लो कुना पुगेका हामी
स्वाभिमानको अहं लिएर
ढोका ढोका चाहार्दै भौतारिएर
मानवीयताको दावी गर्दै दरखास्तको लाइन र
अन्तर्वार्ताको टेवुलमा ङिच्च दांत ङिच्याइरहेका
कुनैपनि वेला च्यातिन सक्ने फालिन सक्ने
स्तरहीन कागजमा नाम चढाएर
मख्ख पर्दै उफि्ररहेका हामी
टाढैवाट छुट्टीने परिचयपत्र पाएर
मानौ
उ जुनीको ऋण भुक्तान गर्न आएझै
कामको पुछारको सिंडीबाट उक्लन
तंछाड मछाड गर्दै दौडिरहेका
खुट्टा राख्न कहां सजिलो
फेरि यस्तै अभीप्साले भौतारिइरहेका
खोसाखोस तानातान हानाहान
आफैमा एउटा अस्पष्ट वैरभाव
सात्विक स्वभाव अनि व्यर्थैको रवाफ देखाइरहेका
खैरा टाउकाहरुको आदेशमा टाउका हल्लाउदै
गुमेको समयको क्षतिपूर्ति होइन
यिनैको ऋणको व्याज तिर्न हतारिइरहेका ।
Category: Dipendra KC
Deependra KC – Bhot Ko Kheti
आफैले पालेको
आफैले फालेको
उत्पादन हराएको वीज,
उठाउन लगाएर आफैले
चलाउन लगाएर आफैले
अह्राउछन आफनैलाई
भोटको खेती लगाउन आफनैमा
मलजल गरेर कृतिम सिजनमा
हुर्काउछन त्रासका हातले आफनै बन्धनमा
फलेपछि फसल,
निमोठेर फेरि
पूरा गर्न आफनो स्वार्थलाई
वा
भत्काउन अरुको योजनालाई
छप्काउंछन त्यही खेती
अनाहकमा,
परिचालन गरेर
आज्ञाकारी खेतालाहरु
डुलाउंछन फाण्टहरुमा फेरि
विविध नामका वीउहरु खोज्नलाई
विविधखाले भोटकैं खेतीहरुका लागि।
Dipendra KC – Bipana Janmaune Sapana
दीपेन्द्र के.सी. – विपना जन्माउने सपना
तार्न नसकेका सपनाहरु सवै
छोडेर खोलापारि
उतार्छु आफूलाई बगरमा
अनि हेर्छु ओसिलो पल्लो किनार –
एकझोला सपनाहरु
पोखिएका रहरहरु
र, झरेका रक्तिम लालीगुराँसहरु
अन्तिम हाँसो हाँस्छन म सँग ;
बग्नुछ उनीहरुलाई
केहीक्षण पछि आउने भीषण बाढीसँगै
र, गर्नुछ समापन–धमिलो यात्राको ।
म फेरि शुरु गर्छु
शाश्वत यात्राको नयाँ श्रृङ्खला
र, लाग्छु उकालीहरु
अर्कै क्यानभाष पोतेर मनमा ।
भत्केका सिंढीहरु
लहरै बतासे डाँडाहरु
नाँगा सिंगाने बालकहरु, कुप्रा बुढाबुढीहरु
पहाड ओदारिरहने भोका पेटहरु
रातै बाँझा बारीहरु, मक्किएका झुप्राहरु
पुगेर मध्यमा
विसाएर हेर्छु तलतिर
र, फेरि बटुलेर केही सपना !
सम्भार गरेर तलदेखि
गाँउलाई गाँउजस्तै बनाउनु छ
पाखा र डाँडाभरि राताम्मै लालीगुराँस फुलाउनुछ
बोट र बारीभरि लटरम्मै सपनाका फलहरु फलाएर
अनि बल्ल आराम लिनुछ सिरानमा ।
यो अर्को रुप हुनेछ
मेरो सपनाको
जसले कोरलेर पक्कै
जन्माउने छ विपनाहरु
अनि बल्ल यात्राले फेर्नेछ
सन्तोषको एउटा श्वास
पुगेर सिरानमा ।
बागलुङ, हाल ओस्टण्डे बेल्जियम
२६ फेब्रुअरी २०१३
Dipendra KC – Itihas Ra Aama
दीपेन्द्र के.सी. – इतिहास र आमा !
अगेनामा आफनै जीवन फुकेर
दुःखहरु जान्छन धुरीबाट
र, न्याना लाग्छन
छातीजस्ता भित्ताहरु ।
तिमी अगेनामा बस्नु
र, हामीहरु वरिपरि घेरिनु
माहुरीको घारमा
औधी सन्तोषको रौनकता भुनभुनाएर
घरभरी चँचलता दौडनु
इतिहासको खोंचमा उभिएर हेर्दा
भीर बोकेर उभिएकी छिन
र, दौडिएका छौं हामी जीवनको सम्म राजमार्गमा ।
एउटा अध्याय यहाँ पनि छ इतिहासको—
हयाँगरजस्ता लाग्ने करङहरुमा
टाँगिएका मैला कपडाहरु
हाम्रा सुकिला जीवनका अर्थहरु रहिछन,
उनको निद्रा अपहरण हुनु
र, छेउमा हामी ढुक्क निदाउनु
यी पनि हाम्रै सपनाका पहरेदारी रहिछन् ।
सम्झनाका नदीहरु बगाउँदै आँखाबाट
तर पनि अटाएकै छन्
हाम्रा भागका सपनाहरु
एक्लैबाट धेरै
र, टुक्रिएकर पनि फेरि एक्लै
हाम्रै राजमार्ग फराकिला पार्न लागिरहने
“आमा” !
त्यसै कहाँ बनिदोरहेछ र
“आमा” !
थाहा भयो
समयले गलहत्याएर इतिहासको चाङमा राखिदिएपछि ।
महानताको व्याख्या यसै हुन सक्दैन
छोराहरु आयोजित/प्रायोजित
औपचारिकताको आडम्वरी भेलामा ।
१६-०३-२०१६
बागलुङः हाल लुभेन बेल्जियम ।
Dipendra KC – Desh Bhakti
दीपेन्द्र के.सी. – देशभक्ति !
दिन !
उस्तै हो यहाँपनि
जो, हार्नेहरुको हुदैन
म, चेपिएको छु इतिहासभित्र ।
सडकमा भेटिने
हराएका नागरिकहरुजस्तै
जसको देशभक्ति
अस्वीकार्य छ यहाँ,
म खोजिरहेछु देशभक्ति आफैभित्र
बश्त्रको बजारमा
सुहाउने देशभक्ति कुन हो ?
धोती, कमीज
टोपी, दौरा सुरुवाल
बख्खु, घलेक, भोटो, खाँडी ?
भक्ति, बलभद्र
मरेर गए सीमामै उभिदाउभिदै
नरोजी कुनै बश्त्र
देशभक्ति लिएर गए मुटुमै
म रोज्छु त्यही बाटो /
त्यागेर सवै प्रकारका बश्त्रहरु
म निस्कदै छु बश्त्रबजारबाट
विचार छोटिएको लामो बश्त्र
आयातको ट्याग लागेको रँगीन बश्त्र
चटकेहरुका थरीथरी नटबश्त्र ।
ती भन्दा
इज्जत छ त्यो देशमा, लाजमात्रै छोपेर बाँच्ने नाँगाहरुको
देशभक्तिको हुलमुलमा
सुन्दर लाग्छन् नाँगाहरु ।
भक्ति थापाको शालिकमुनि
जोसँग राग छ भक्तिको मुटुको
म त्यही देशभक्तिको अधिकार माग्छुु ।
बश्त्रधारीहरु !
म अश्लील र बिरुप पो देख्छु
तिमीहरुको जुलुस !
जसको खल्तीमा
च्यातेर टुुक्रयाइएको
देशको नक्शा छ ।
बागलुङ, हालः लुभेन बेल्जियम ।
Dipendra KC – Kasto Bihani Khoji Rahechhaun?
दीपेन्द्र के.सी. – कस्तो विहानी खोजीरहेछौं ?
बुद्धको आँगनबाट
शान्ति सिक्ने वेला
के सिकिरहेछ ? नयाँ पुस्ता !!
गुम्बाबाट सहनाई बजाएर
युद्धको घोषणा गर्दै
स्वागत गर्दछ भोलिलाई
लाग्छ ! शान्तिका पाठहरु
छापिदैनन् Continue reading “Dipendra KC – Kasto Bihani Khoji Rahechhaun?”
Dipendra KC – Euta Rahar Chha
दीपेन्द्र के.सी. – एउटा रहर छ
धेरै रहर त्यागिसकियो
त्याग्न नसकेको
एउटा रहर छ ।
दशगजामा-
उताबाट यतातिर सारिएको
जँगे पिलर
सुगौली सन्धिकै पालाको
दक्षिण डोवमा
सार्ने रहर छ,
त्यति गर्दा बरु
दक्षिणबाट आएको
तातो गोली खाएर
मर्ने रहर छ ।।
धेरै रहरहरु त्यागिसकियो
सीमाका
चेलीवेटी र पोकापन्तुरामाथी लाग्ने
गिद्धे आँखाहरु निकाल्ने
साँस्कृतिक रहर छ,
जवर्जस्ती
यता फर्काइएका बाँधहरु फोडेर छ्यालव्याल
दुष्टहरुका वस्ती
बढार्ने रहर छ,
त्यति गर्दा बरु
त्यही भेलमा मिसिएर
हराउने रहर छ ।।
धेरै रहरहरु त्यागिसकियो
षडयन्त्र र कमजोरीमा
खेलिएका सन्धिहरु
खारेज गर्ने रहर छ,
२१ औं शताव्दीको नयाँ सन्धि
दिल्लीमा होइन
काठमाडौंमा वसी
गर्ने रहर छ
त्यति गर्दा बरु
मुक्ति युद्धमा
शहीद हुने रहर छ ।।
धेरै रहर त्यागिसकियो
त्याग्न नसकेको
अर्को एउटा रहर छ
पूर्व, पश्चिम, उत्तर, दक्षिण
जताततै
बराबरी हुने रहर छ .
खै किन हो
यी रहर त
जसरी पनि
पुरा गर्ने रहर छ ।
बागलुङ, हाल ः ओस्टण्डे बेल्जियम ।
Dipendra KC – Meri Nabodha
दीपेन्द्र के.सी. – मेरी नवोढा !
ओई मेरी नवोढा !
उतारिदेउ लाज सवै
रात छिप्पिईसक्यो आज ।
अनजानमै सही
यात्रा शुरु गर्नुछ आज
मधुशालामा घन्किएको गीत
तिम्रा मेरा लागि हो
जीवनभर नभुल्ने रात
आत्मिक Continue reading “Dipendra KC – Meri Nabodha”
Dipendra KC – Naya Rastriyata Ko Shahar Ma
दीपेन्द्र के.सी. – नयाँ राष्ट्रियताको शहरमा
किन हो ? हरेक दिन–
फेरिएको राष्ट्रियतासँगै
एकफेरा जन्मन्छु
र, एकफेरा मर्छु म !
नयाँ परिचयमा जारी जन्म र मृत्यु
आधा बाँचेर मरेको छु
र, आधा मरेर बाँचेको छु ।
आत्मा बरालिएको छ अन्त कतै
म छु यहाँ नयाँ सीमानाभित्र ।
इलेक्ट्रिोनिक कार्डमा, लुकेको छ धेरै कुरा
तर कवै लुक्दैन
धारिलो नजर आफनै तस्वीरको
जो कटिरहन्छ घरीघरी आफैलाई
सपनाको मरुभूमिमा
आफनै रगतको पानी पिउन ।
हिंडदा सडकमा –
आफनै छातीमा पाइला राखेसरह
हरेक पाइलाहरु, सजायका कोर्राहरु सहन्छु म !
दुनियाँका सशंकित नजरहरु दाँयावाँया
अमूक यातनाहरु सहन्छु म !
मेरो टोपी जुत्ता बनिदिन्छ
उसको मोजा मैले टोपी बनाउनुपर्छ
धेरै जँग बहादुरहरु उभिएका छन ट्राफिक चोकमा
२+२= पाँच भन्नु पर्दछ मैले
आधा बाँचेर मर्दै
आधा मरेर बाँच्दै ।।
आज स्मृति दिवस मेरो राष्ट्रियताको –
असँख्य पूर्वस्मृतिहरुले
पुनः प्राण भर्न सक्दिन म
सँजीवनीविहीन म
ढाका टोपी टेकिएको
मलीन अनुहार दिलमा राखेर
मुखुण्डो हालेर नयाँ राष्ट्रियताको
गेटपास हुन्छु र छिर्छु
नयाँ राष्ट्रियताको शहरमा
त्यहीं क्रमशः धेरै कोर्राहरु सहदै
एकफेरा जन्मन्छु
र, एकफेरा मर्छु म !
आधा बाँचेर मरेको छु
र,आधा मरेर बाँचेको छु
नयाँ राष्ट्रियताको शहरमा ।।
२ अप्रिल २०१३,
Oostende. Belgium
Dipendra KC – Udaas Samaya Haru Lai
दीपेन्द्र के.सी. – उदास समयहरुलाई !
किन ? प्रतीक्षा “”” !
उदास समयहरुलाई !
पोलिरह्यो चिसो रातले
आशा बोकेर झर्दैनन् ताराहरु
मनमा विझाइरह्यो त्यो साइत
आफनै दृष्यमाथी अविश्वासी आँखाहरु,
झरनाको ढुँगाजस्तै
पखालिएको छ कि ? थिलथिलिएको ?
कसलाई के थाहा ?
खोलो सुसाएको
रोएको हो कि ?
गीत गाएको ?
अँध्यारोमा टम्म भरिएको बाहेक
रित्तो देखिन्छ दुनियाँ
हेर्दा उज्यालोमा
सायद !
आउँदा पनि खाली
जाँदा पनि खाली
यही हो कि ?
नमेटिएको तिर्खा !
आँधीहरु चलिरहे
के पातहरुलाई
रहर थिएन होला र ?
रुखमै लहराउने ?
तिमीले कटेर गएपछि
कहिले सम्मिएन त्यो डाँडो,
यो मनको पहिरो
चल्छ आफै, थामिन्छ आफै
अव भत्कनै के बाँकी छ र त्यहाँ,
थाहा छ मलाई
भाग्यको लेखन, र
आशीर्वादले नचल्ने जीन्दगी
कुनै असफल रिक्रुटे
खाली खुट्टा फर्किएझैं
किन प्रतीक्षा छ
उदास समयहरुलाई !
कुनै स्टेसनबाट
छुट्यो कि छुटेन ?
पुरानो रेल झैं उदास समय
आइपुगेको छैन अझै यहाँ
रँगहीन शन्देस बोकेर ।
बागलुङ, हाल ओस्टण्डे बेल्जियम
Deependra KC – Koshi Pidit Haru
कोशी पीडितहरु
हो कोशी पीडितहरु
सवैसंग सहयोग मागिरहेछन्
सरकारसंग कराइरहेछन् अनुरोध गरिरहेछन्
विचरा सरकार
चल्ला स्याहार्न नसक्ने माउ
थमथमाइरहेछ आश्वासन दिएर
मन हल्का बनाइरहेछ शव्दहरु बांडेर
हो कोशीपीडितहरु
कोशीको भेलले ह्दयमा बनाएका
भंगालाहरुको वेदनाले
भेलसरी आंशुमा चुर्लुम्म हुदै
फेरि पनि हात फैलाइरहेछन
आफनै माउसित
माउ पनि लाचार
भएपो केही दिनु
माग्ने वानी परेको
उ पनि मागिरहेछ तर पाएको छैन
त्यसैले
कोशीपीडितहरु
केही पाएका छैनन्
तर संधै सोच्छ सरकार
मात्र ठान्छ राहत बुझदैन अरु
आंशुले चुकाएको मूल्य थाहा पाउदैन
तर उनीहरु अरुनै माग्दैछन्
राहत माग्नु त वाध्यता हो
बगेका आंशुले अरुनै खोज्दंैछ
प्रकृतिको अधिकार
छिमेकीको असल व्यवहार
सन्धिका बुंदाहरुमा केरकार
अनि
कोशी सन्धिले दिन नसकेको न्यायका लागि हारगुहार ।
Dipenrda KC – Timi Prati
दीपेन्द्र के. सी. अपजसी – तिमीप्रति
माफ गर मलाई !
सुवासना र सौन्दर्य एकैचोटी छर्दै
जीन्दगीको पत्र–पत्र गाफिएर तिमीमा
सँधै मुस्काइरहेको एक थँुगा मुहार
तिम्रो सौन्दर्य र गुणको
बाराम्वार वयान र चर्चा गर्न चाहदिन म !
जो मनभित्रै टाँसिएको छ स्वर्णपत्रमा
अनुभूतिका अक्षरहरुले कँुदेर ।
सत्य !
तिमी छेउमा छौ र पो ढुक्क छु म
उज्यालो छ यो घर, प्राण छ यो घरभित्र
स्नेह र मोहकता खेल्छन घरभित्र ।
डुङडङती गन्हाउने यो शहरबाट
तालुभरी वजनले थिचिएको यात्राबाट
सम्साँझ घरभित्र छिर्दा–
न्यानो आत्मीयताको सुवासना छ घरभित्र
शीतल हावाको चौतारो छ घरभित्र,
यति भैसकेपछि पनि
म किन बोलिरहुँ र ?
तिम्रो सादगी र उत्तमालाई
शव्दमा खुम्च्याउन !
पसीनाका तेल हालेर
दियो जलाउँछ्यौ घरको
आफना आकाँक्षाहरुलाई खोपामा राखेर
रथ चलाउँछ्यौ घरको
परेलीका बलेसीहरु चिस्याएर आफना
पखाल्छ्यौ कचराहरु घरको
नबोलेर मुखले कत्तिपनि, बोल्छ्यौ धेरै हातहरुले,
यस्तोमा म के केनै बोलेर
किन चम्काउनु पर्छ र तिम्रो अनुहार
तिम्रै उपस्थितिले
घर चम्किएको बेला ।
त्यसैले प्रिय !
माफ गर मलाई
मनभित्र अँकित स्वर्णपत्रका अक्षरहरु
बाराम्बार बयान र चर्चा गर्न चाहदिन म !
मौन प्रशन्नतामा केवल
उज्यालो आभाष साट्न चाहन्छु
नखर्ची शव्दहरु ।
बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।
२७ जनवरी २०१३
Dipendra KC – Chunab Ra Naatak
दीपेन्द्र के.सी. – चुनाव र चटक
खोलाहरु उल्टा बगेर
हिमालको जरामा थिग्रदैछन
झरेका पातहरु फेरि
हाँगा खोज्दै हिंडेका छन्
तर मध्यदिन, चमकन्न सूर्य
बस्ती अँध्यारोको अँध्यारै छ
अँध्यारै पर्दा हालेर
अँध्यारैमा आज–
फेरि एउटा चटक शुरु होला जस्तो छ ।
दुई शताव्दी खर्लप्पै निलेर
मध्ययुगबाट एक सिँढी उक्लन नसकेको बस्तीमा
लोडसेडिङ, बिश्वबैंक र एडीवीको
विकासे ऋणको भारीको खातमा उक्लिएर
विकासको फेहरिस्त प्रस्तुत गर्न
एकटोली चटकेहरु
गाँउ पस्दैछन चुनाव बोकेर !
अव फेरि
एउटा चटक शुरु होलाजस्तो छ
चमकदार, वजनदार, दार्शनिक र नयाँ नेपाल झल्कने
घोषणापत्र लोकार्पण र वाचनसँगै
ईन्द्रजालको नाईकेको नेतृत्वमा ।।
थाकेको वस्ती –
उज्यालो कुरेर अँध्यारैमा निदाएको वेला
चटकेहरु चोर्नेछन मनग्गे भोटहरु
र, उज्यालो भैनसक्दै वेचेर लिलामीमा
छिरिसक्नेछन नयाँ बानेश्वर, सिंहदरवार र बालुवाटारका गेटभित्र
र, ढुक्कसँग निदाउनेछन……………….बर्षसम्म
अर्को चटक तयार नभइञ्जेलसम्म ।।।
फेरि एउटा चटक शुरु होलाजस्तो छ
आज क्याविनेट बस्दैछ
निर्वाचन घोषणा गर्न
केन्द्रीय समिति बस्दैछ
रिहर्सल गर्न ।।।।
१९ मार्च २०१३
बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।
Dipendra KC – Shubhakamana
दीपेन्द्र अपजसी – शुभकामना !
केही पछाडिएको दीर्घामा वसेर
धेरै आत्मीय, आदरणीयजनहरुको
शुभकामना, सदभावना, हार्दिकता
बोकीसकेपछि,
बिजुलीका तरँगहरुबाट
फोन, इमेल र फेसबुकहरुमा
तपाईहरुका मधुर आँकाक्षाहरुबाट
नयाँ बर्ष शुरु गरिसकेपछि,
म पनि चाहन्छु –
आउँदो बर्षको फूलवारीमा
एकजोर मनमोहकताका वेर्ना रोप्न
जो तपाईका जीन्दगीमा
सुगन्धका अक्सिजन दिन सकुन,
र फेर्न चाहन्छु
एक जोर पुराना व्याट्रीहरु
पुराना बर्षहरुका,
जो चिर्न सकुन
नयाँ वर्षका अँध्याराहरु
शुभकामनाका प्रकाशहरुले ।
नयाँ वर्ष २०१३, बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।
Dipendra KC – Balirahechhu Ma
दीपेन्द्र के.सी. – बलिरहेछु म
आज बलिरहेछु म
न्यानो दिन कसैलाई
उज्यालो दिन कसैलाई ।
बलिरहन आगो –
जल्नुपर्ने रहेछ कोही
जीन्दगीको खलियानबाट
झिकिएर घरीघरी
सल्किरहेछु दाउरा झैं ।
भन त –
के सम्झिन्छौ मलाई
आगो निभीसकेपछि पनि ?
न्यानो
सेलाइसके पछि पनि ?
जतिवेला धुँवाले
सँकेत गर्नेछैन
मेरो मृत्युको ।
आज बलिरहेछु म
न्यानो दिन कसैलाई
उज्यालो दिन कसैलाई ।
बागलुङ, हाल ओस्टण्डे बेल्जियम
Dipendra KC – Balatkaar
दीपेन्द्र के.सी. – बलात्कार
जव तिमी !
यो राज्यले तोकेको
सवैभन्दा सुरक्षित शहरको
अति सुरक्षित गल्लीमा निस्कन्छ्यौ
तिमीलाई चियाउँछन आँखाहरु
र्याम्पकी अर्धनग्न मोडल
क्याटवाककी नवयौवना
वा कुनै छाडा Continue reading “Dipendra KC – Balatkaar”
Deependra KC – Naya Nepal
नँया नेपाल ।
नँया नेपाल ।
कहाँबाट शुरु हुन्छ ?
नँया नेपाल ।
कालीकोटको भोकमरीबाट
वा
काठमाडौको सोल्टीको किचेनबाट ?
हुम्लाको दुर्गमबाट
वा
वीरगंजको सुगमबाट ?
बनाउंछन नँया नेपाल
पशुपतिका मगन्तेहरुको Continue reading “Deependra KC – Naya Nepal”
Dipendra KC – Matai Kaafi Chha
दीपेन्द्र के.सी. – मातै काफी छ
सम्झेर तिमीलाई
पिइन कहिल्यै मैले
तिम्रो सम्झनाको
मातै काफी छ,
खोजेर तिमीलाई
हिडिन कहिल्यै
तिम्रो मीठो सपनाको
रातै काफी छ ।
भरिएको त
वोतलमात्रै हो
हेर्दै लाग्ने
तिम्रो रुपको
मातै काफी छ,
भो वाचा कसममा
पुग्दिन म
मनकै गुलाफ लजाउने
वातै काफी छ ।
जोवनै खोजेको छैन
अहिल्यै मैले
सहाराको एउटा
हातै काफी छ
मीठो सपनाको
रातै काफी छ ।
प्रतीक्षाभरि वर्वराउन
त्यो ‘लज्जावती’ को
मातै काफी छ
मीठो सपनाको
रातै काफी छ,
उठनै नसक्ने गरी लाग्ने
कल्पनाको क्या वात,
उसको
बातै काफी छ ।
Dipendra KC – Yo Shahar Ma Birami Phool
दीपेन्द्र के.सी. – यो शहरमा विरामी फूल !
शंका छैन
यो शहरमा
सँधै हतारमा कुदाउने
हुलका हुल स्कूटरहरुका
चालकहरु नेपाली नै हुन्
नभए बँगाली, पाकिस्तानी वा भारतीय हुन्
वा पक्कै अरवीहरु हुन् ।
यो माइनस डिग्रीको चिसो हुस्सुमा
फैलिएको आहट !
प्रर्याप्त छ परिचयलाई ।
जीवनको समय !
उडेर जान्छ यही साइलेन्सरको धुंवाबाट
वा चुल्होको चिम्नीबाट
हराउंछ आकाशतिर धुंवै उडेर
जीवनका पाँग्राहरु रगडेर यही सडकमा
कहाँ पुग्यौं हामीहरु ?
डोरवेल बज्यो,
“म पिज्जा, करी वा शुसी बोकेर
तल आएको छु
लिन आउनुहोस महाशय !”
साला पूँजीवाद !
कजाउंछ कोठामै बोलाएर ।
भर्खरै दौडिएको स्कूटर,
नसोचे हुन्छ
त्यो “गोरे” हुनसक्छ, हेलमेटभित्रको अनुहार
तर पक्का हो
स्कूटरको साइलेन्सरबाट निसास्सिदै चिच्याएको जीवन मै हुँ
र यो शहरका घर—सडकमा परिचित पाइला मेरै हुन ।
हिमालको सेतो पर्दापछाडी
हावाले सक्दैन लान
बिरामी फूलहरु !
वा स्कूटरहरु पुग्दैनन् सम्झना बोकेर ।
सुनमायाँ !
तिमी नै छामी हेर “रेमिट्यान्स” मा
तिम्रो फूल !
ओइलाएको छ कि
छ अझै फक्रिएको ?
तर मलाई
संधै हतार छ ।
बागलुङः हाल लुभेन बेल्जियम ।
(यहाँको शहरमा स्कूटरमार्फत “होम डेलिभरी फुड सर्भिस” दिने क्षेत्रमा कार्यरत हामीहरुका लागि ।)
Dipendra KC – Janma Raat Ra Punarmulyankan
दीपेन्द्र के.सी. – जन्म रात र पुनःर्मूल्याङ्कन
जोडिन नसकेका
सपनाका कडीहरु !
जो, म सँगै जन्मिएका थिए
र, देख्नुभएको थियो त्यहाँ हजुरले
भयानक पीडापछि
हाँसेको एउटा सँसार ।
रातहरु हराइरहे रातहरुमै
दिनहरु Continue reading “Dipendra KC – Janma Raat Ra Punarmulyankan”