Damodar Pudasainee – Buddha Aayam

दामोदर पुडासैनी किशोर – बुध्द आयाम

मैले
देवता छैन
देवताले
कसैलाई सपार्न सक्दैन
र,कसैलाई बिगार्न पनि सक्दैन
भनेँ
तर, केही मान्छेहरू
देवता देवता भनेर हिँडे ,हिँडिरहे

मैले
मूर्तिपूजा नगर
मूर्तिपूजा समस्याको समाधान होइन
भनेँ
तर,केही मान्छेहरूले
विश्वमै सबैभन्दा धेरै मेरै मूर्ति निर्माण गरे
बुध्द ,बुध्द भनेर चिच्याइरहे

मैले
परलोक छैन
यो लोकमा गरेको कामको फल
यही जीवनमा पाइन्छ
पाइन्न परलोकमा
भनेँ
तर,केही मान्छेहरूले
परलोकका कठोर नाटक रचेर
सोझा मान्छेहरूलाई
चुसे ,चुसिरहे

मैले
दुख छ र पो जीवन छ
दुख छैन त जीवन पनि छैन
भनेँ
केही मान्छेहरू
जीवनभरि
सुखनै सुखको खोजमा भौंतारिरहे
सट्टामा बगिरहे
अँध्यारा सागरहरूमा

नाम जपेर केही हुँदैन
नाममा आखिर केही हुँदैन
केही हुने त
कामले पो हो
मैले भनेँ
केही मान्छेहरू
कारण र परिणामको परिधान नखोलि
चैते हुरीमा उंडेको पत्करझैँ
ओम मणिपद्मे हुँ
फलाके,फलाकिरहे

एकथरी मान्छेहरू
म जन्मेको थलोलाई
काल्पनिक सीमारेखाले
आफ्नो खल्तिभित्र कोच्ने ब्यापारमा
सल्बलाइरहेछन्
र ,भनिरहेछन्-
अप्प दीपो भव:
बुध्दम् शरणम् गच्छामी

म एउटा बुध्दले
कसरी धान्ने संसारको शान्ति
अब जन्मने हरेक मान्छेलाई
आह्वान गरिहेछु
अँध्यारोभित्र कोर्न
उज्यालो जीवन चित्र ।

-२०७५ कार्तिक १७
लुम्बिनी, रुपन्देही,नेपाल