Kunta Sharma – Bartaman

कुन्ता शर्मा – वर्तमान

यात्रा चलिरहेको छ
बाटाभरि भीर र पहिरो छ
तलतिर नदी गहिरो छ
कुहिराले सर्वत्र छेकेको छ
चालक उत्तेजित छ, उन्मादयुक्त छ
कतिखेर समाप्त हुने हो ईहलीला
न केही सुनिएको छ,
न केही गुनिएको छ
सायद यही सन्त्रासको
नाम हो वर्तमान ।

डाँवाडोल छ
भविष्य अनिश्चितताको कुहिराभित्र हराएको छ
साढेहरू जुझिरहेका छन् डुक्रँदै
बाछाहरू मिचिँदै छन्
कसको के दाउ छ, कसको के दाउ छ
मनहरूमा चोट लागेर गहिरो घाउ छ
मानिसहरू चिन्तामग्न छन्
सर्पको मुखभित्र भ्यागुतो छ
भ्यागुतो झिँगो निलिरहेको छ
यही विदीर्ण अवस्थाको नाम हो वर्तमान ।

हावामा कावा खाँदै
निरङ्कुशतापूर्वक पखेटा फिँजाउँदै
शक्तिविहीनहरूको सातो उडाउँदै
उडिरहेको चीलको नाम हो वर्तमान
मानिसहरूलाई भेडो ठान्दै
कान समातेर कोर्रा लगाउँदै
गोठतिर होइन भीरतिर लखेटिरहेको
मूर्ख गोठालाको नाम हो वर्तमान ।

कालो इतिहासको पुनरावृत्ति
ब्वाँसाहरूको स्वार्थी प्रवृत्ति
सिद्धान्तले कता हो कता आकाश छोएको
व्यवहार लुलो, लङ्गडो र खोरन्डो हुँदै गएको
खोइ बसूँ बसीसक्नु छैन
नबसूँ नबसी धरै छैन
नखाऊँ दिनभरिको सिकार
खाऊँ भने कान्छा बाबुको अनुहार
जस्तो भएको छ वर्तमान।

गजधम्म छन् चोरहरू चौतारामा
मोटाएर पुटुस्स परेका छन्
देखिँदैन सन्तुष्टि मुखमण्डलमा
हतास छन् कुनै बित्यास परेजस्ता
यात्रा अविरल छ
लगाम अर्काकै हातमा छ
कता पुगेर ठोक्किने हो
कहाँ पुगेर रोकिने हो
कुनै गन्तव्य नभएको
सुन्दर भविष्य हराउँदै गएको
एउटा अर्थहीन यात्राको नाम हो वर्तमान ।

त्रासदी र आतङ्कले
भताभुङ्ग लथालिङ्ग
थर्कमान परिवेश हो वर्तमान
रोग, भोक र शोकको नाम हो वर्तमान
अशान्ति, असुरक्षाको र व्याधिको
पर्याय हो वर्तमान
चारैतिर फैलिएको
सन्त्रासको कुहिराको छाया हो वर्तमान ।

प्रगतिको नाममा बजाइएको
निरर्थक ढोल हो वर्तमान
लोडसेडिङको भारले
निर्जीव निदाइरहेको गुलुब हो वर्तमान
प्रजातन्त्रको खोल ओढेर स्वेच्छाचारी ढङ्गले
अघि बढिरहेको मनपरीतन्त्र हो वर्तमान
ग्लानि र हिंसाले किचिएको
सन्त्रस्त मुलुकको नाम हो वर्तमान ।

शिरहरू कुनै नतमस्तक छन्
कुनै लाचार छन्
कुनै अभयदान माग्न
कुनै आशीर्वाद थाप्न
आतुर छन्
शिरहरू झुक्तै छन्, झुकिरहेका छन्
शिर नझुक्नुपथ्र्यो
तर झन्झन् झुक्तै गएका छन्
जीवनमूल्यबाट चुक्तै गएका छन्
सायद झुकेको शिरको नाम हो वर्तमान
सायद चुकेको
जीवनमूल्यको नाम हो वर्तमान ।

वर्तमानलाई खुनीहरूले गोजीमा हालेका छन्
वर्तमानलाई निरङ्कुशहरूले मुट्ठीमा थुनेका छन्
निरङ्कुश हुँदै गएको छ सारथी
अन्धाधुन्ध दगुरिरहेको छ सवारी
सायद यही अन्धा दौडको नाम हो वर्तमान ।

सन्त्रासका छायाहरू तन्केर
परपर पुगेका छन् सन्ध्याकालजस्तो
बतास बग्दै छ यता–उता
षड्यन्त्रको दुर्गन्ध बोकेर
पाइला सार्नु पनि त्रासदयुक्त हुन्छ
कतिखेर भासिने हो टेकेको भुई
कतिखेर पर्ने हुन् पैतालाहरू धरापमा
अनमयस्कताको, अन्योलग्रस्तताको
परिस्थितिमा बाँचेको समय हो वर्तमान ।

बाटो सपाट छ शून्य छ
मानिसहरू उत्तेजित छन्
प्राप्त भइसक्यो भन्छन् निर्दिष्ट गन्तव्य
सहयात्रीहरू शब्द–हानाहानमा व्यस्त छन्
कुर्सी तानातानमा मस्त छन्
छाती भग्न भएको छ सपनाहरूको
चौबाटामा पुगेर अलमलिएको
पथिक भएको छ मानिसको मन
सायद निस्तब्धता ओढेर बसेको
अकर्मण्यता अँगालेर बसेको
थर्कमान–थर्कमान
परिवेशको नाम हो वर्तमान ।