Baidyanath Upadhyaya – Mero Kabita

वैद्यनाथ उपाध्याय – मेरो कविता

मेरो कविता
भोका र नांगाहरूको लागि
एक मुट्ठी अन्न र एक चिथडो कपडा
भै दिए कति राम्रो हुने थियो।
संत्रासवादीहरूको चपेरामा परेका
आतंकग्रस्तहरूको लागि
निर्भयता बन्न सके
कविता कति सार्थक हुने थियो।
मेरो कविता
व्यर्थताले निराश बनेका हरूको लागि
आशाको एउटा झिल्कोनै बनिदिन्थ्यो भने
मनभित्र शांति छाउने थियो
मेरो कविता
कहिल्यै कसैको जाउलो टार्न सक्तैन
पीडाले छटपटाई रहेका हरूको
पीडा हर्न पनि सक्तैन
कति लाचार छ, कति विवश छ
मेरो कविता
मेरो जीवन जस्तै दुरुस्तै!