दीपेन्द्र के.सी. – यो शहरमा विरामी फूल !
शंका छैन
यो शहरमा
सँधै हतारमा कुदाउने
हुलका हुल स्कूटरहरुका
चालकहरु नेपाली नै हुन्
नभए बँगाली, पाकिस्तानी वा भारतीय हुन्
वा पक्कै अरवीहरु हुन् ।
यो माइनस डिग्रीको चिसो हुस्सुमा
फैलिएको आहट !
प्रर्याप्त छ परिचयलाई ।
जीवनको समय !
उडेर जान्छ यही साइलेन्सरको धुंवाबाट
वा चुल्होको चिम्नीबाट
हराउंछ आकाशतिर धुंवै उडेर
जीवनका पाँग्राहरु रगडेर यही सडकमा
कहाँ पुग्यौं हामीहरु ?
डोरवेल बज्यो,
“म पिज्जा, करी वा शुसी बोकेर
तल आएको छु
लिन आउनुहोस महाशय !”
साला पूँजीवाद !
कजाउंछ कोठामै बोलाएर ।
भर्खरै दौडिएको स्कूटर,
नसोचे हुन्छ
त्यो “गोरे” हुनसक्छ, हेलमेटभित्रको अनुहार
तर पक्का हो
स्कूटरको साइलेन्सरबाट निसास्सिदै चिच्याएको जीवन मै हुँ
र यो शहरका घर—सडकमा परिचित पाइला मेरै हुन ।
हिमालको सेतो पर्दापछाडी
हावाले सक्दैन लान
बिरामी फूलहरु !
वा स्कूटरहरु पुग्दैनन् सम्झना बोकेर ।
सुनमायाँ !
तिमी नै छामी हेर “रेमिट्यान्स” मा
तिम्रो फूल !
ओइलाएको छ कि
छ अझै फक्रिएको ?
तर मलाई
संधै हतार छ ।
बागलुङः हाल लुभेन बेल्जियम ।
(यहाँको शहरमा स्कूटरमार्फत “होम डेलिभरी फुड सर्भिस” दिने क्षेत्रमा कार्यरत हामीहरुका लागि ।)