सुषमा मानन्धर – साथी
(Source: मधुपर्क साउन, २०६७)
हतार हतार हिँडिरहेको उसले अत्यास लागेर एकपव्ट फेरि माथि हेर्यो । ऊ , … त्यो पहाडको टुप्पो । टुप्पोमा रहेको त्यो मन्दिर । ऊ त्यही पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुङ्गे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात् ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूरा हुन्छ भन्ने आस्था र प्रचलित विश्वासका कारण उसले मन्दिरमा पुग्नुलाई आफ्नो गन्तव्य बनाएको छ ।
यात्रा थाल्दा ऊसँग सहयात्रीहरूका रूपमा एउटा निकै ठूलो जमात थियो । कस्तै गाह्रो परे पनि उनीहरूको साथ आफ्नो कठिन र लामो यात्रा सजिलै छिचोल्न सकिन्छ भन्ने आशामा ऊ हिँडिरहेछ । तर यात्रा नसकिँदै थाकेर, अल्मलिएको र गाह्रो भएर धेरैजनाले यात्राबाट बीचैमा उसको साथ छोडिसकेका छन् । निकै ठूलो भीडको रूपमा रहेका आफ्ना सहयात्रीहरू घटेर दुईतीन जना मात्र बाँकी हुन थालेकाले ऊ आत्तिन थालेको छ ।
लामो र उदेकलाग्दो बाटो । उसमाथि कहिले डढाउने घाम, कहिले झरी । आफ्नो अनवरत यात्रामा धरमराउँदै हिँडिरहेको बखत उसले देख्यो कि ऊभन्दा केही पर अलि दुब्लो देखिने एक व्यक्ति पनि ऊसँगसँगै हिँडिरहेको छ । डुब्न लागेकोलाई त्यान्द्रोको सहारा भनेझैँ उसमा थोरै भए पनि साहस पलायो । हुँदाहुँदा अन्तमा उसको साथ नछाड्नेमा त्यही दुब्लोव्यक्ति मात्र बाँकी रहन गयो । उसलाई छाडेर जाने साथीभाइहरूका के कुरा, ऊ आफैंले पनि यात्राको किचलो र कठिनाइसँग आजित भएर निकैपल्ट यात्रा छोड्न खोजेको थियो ।
‘यहाँसम्म त पुगिनैसक्यौ, फेरि किन हरेश खान्छौ ? हेर, कसैले साथ नदिँदा पनि म छु तिम्रो साथमा ।’ निराश भै फर्किन खोज्दा साथमा आउने दुब्लो साथीले बारम्बार सम्झाउँथ्यो । साथीको भरोसामा ऊ बढ्यो, बढ्दै गयो ।
धेरै दुःखकष्ट आए, त्यो साथीले उसको साथ छोडेन र अन्तमा साथीकै हौसलाले टुप्पोमा भएको मन्दिरमा पुगिछाड्यो । अथाह शान्ति थियो त्यहाँ र ऊ त्यतिबेलासम्ममा कामनारहित भैसकेको थियो । उसले पछाडि फर्केर आफ्नो उत्साह बढाउने साथीसँग उसको परिचय माग्यो । ‘अझै चिनेनौ मलाई ? म हुँ तिम्रो आडभरोसा, तिम्रो आफ्नै आत्मविश्वास ।’ साथीले उसको काँध थप्थपाउँदै हाँस्दै जवाफ दियो ।