Gopal Ashk – Ghurki

गोपाल अश्क – घुर्की
(गोरखापत्र)

त्यो रात, कुन्नि के भो, रमाले आफूलाई सधैँझैँ संयमित राख्न सकिनन् । उनको अविनाशसँगको वैवाहिक जीवनको तीस वर्षको लामो अवधिमा यति साह्रो नैराश्य भाव आएको थिएन । हिजोसम्म बडो प्यारो लाग्ने उनको दश बाई एघारको कोठा, कोठामा रहेको छ बाई तीनको एक पलङ्ग, पलङ्गमा अभावको पीडा खेपिरहने तन्ना र सिरानी आदि दुःख दिने साधन लाग्न थाले । त्यै कोठाको एक कुनामा राखिएको एउटा पुरानो, मर्मतको आवश्यकता महसुस गरिरहेको एक टेबलमाथि राखिएको अविनाशको हँसिलो फोटो जो हिजोसम्म दुवैको प्रेम प्रतीकको रूपमा स्थापित थियो, आज अचानक मानसिक पीडा दिइरहेको थियो । शारीरिक सुख वा पीडा दिने कुबत नै कहाँ हुन्छ कुनै फोटोमा । अभावमा पनि हाँसी हाँसी जीवन जिउने र अरूलाई पनि त्यसै गर्न सल्लाह सुझाव दिने रमा आज अशान्त थिइन्, विद्रोहको अग्निमा जलिरहेकी थिइन् । बिहानै किस्केका श्रीमानप्रति रिस पोख्दै थिइन र यस क्रममा उनको मुखबाट यी वाक्यहरू झर्दै थिए हैन ! अब अति भो अब सहदिनँ ! सहनुको पनि एउटा सीमा हुन्छ । कति मै मात्र सहनु ? जीवनसाथी ऊ पनि त हो ? मै मात्र हुँ र ?

ऊ भनेको को, थाहा त पाइनै सक्नुभयो होला । आफ्नो ज्ञानमा अलिक वृद्धि गर्नुस् है । ऊ भनेको आजभन्दा तीस वर्षअघि कुनै रात रमाको स्यूँदोमा सिन्दुर हाली प्रेमी प्रेमिकाको नियति बिछोड मात्र हुँदै भन्ने सन्देश दिने एक प्रेमी । आफ्नो कक्षाहरूमा कहिल्यै कुनै श्रेणीका साथ उत्तीर्ण नहुने तर व्यवहारिक जीवनमा पतिको श्रेणी वा उपाधि हासिल गरेका एक व्यक्ति । ऊ भनेको पत्येक रात आफ्नो अभीष्ट पूरा गर्नका लागि श्रीमतीका प्रत्येक कुरामा सही थप्ने बाचा गर्ने तर बिहान हुनासाथ एउटा जड्याहाँजस्तो बिर्सीहाल्ने बानी भएको एक निम्न मध्यमवर्गीय आम नेपाल नागरिक । ऊ भनेको आफ्ना छोराछोरीहरूको मुखमा माड कसरी लाग्ने हो भनी चिन्ता नगर्ने तर देश र दुनियाँको चिन्तामा सधैँ पिरोलिरहने एक भावुक कवि । ऊ भनेको आफ्ना चिन्ता बा-आमाले राखिदिएको नाउँमा आफ्नो प्रवृत्ति र प्रकृति अनुसारको ‘आँसु’ शब्द थपेर अविनाश आँसुले चिनाउन रूचाएको एक साहित्यिक प्राणी ।

त्यही बहुआयामीक प्रतिभाकी पत्नी हुन् रमा । त्यै रमा जो अहिले अशान्त र विद्रोही भएकी छिन् । रातिको नौ बजिसकेको छ । हुनत या रमाका छोराछोरीहरू आमा ! बा कतिखेर आउनुहुन्छ र हामी खान पाउँछौ, सोध्दासोध्दै सुतिसकेका छन् । रमा त्यो कारणले पनि होला, अब सम्झौता गर्ने मुडमा देख्दिनन् । ढोका खुल्लै छाडेर अविनाशको प्रतीक्षा गरिरहेकी छिन् । अविनाशको अचानक प्रवेश हुन्छ, दुई कालोपोलिथिन र एउटा पत्रिकाको साथमा । उनी एक नजर रमालाई हेर्छन र चुपचाप पलङ्गमा बसी एक शब्द बोल्छन् – ढिलो भो ! यस प्रश्नको जवाफमा रमा बोल्दिनन् बरू हेरिरहन्छिन् । उनको आँखामा अविनाशप्रति गुनासो, केवल गुनासोको भाव देखिन्छ ।

– के भो ? किन यसरी हेरिरहेकी ? अविनाशले सोध्यो ।

– यहाँ यति ढिलो भइसक्यो । एउटासम्म सवारी भेटिएन, ऊ घण्टाघरबाटै हिँडेर आउँदैछु । कहाँ पानी सानी सोध्नु त, यहाँ उल्टै श्रीमतीको मुख …

– भै गो, घुर्की लगाउनुपर्दैन । भोलि छ गर्छु गर्छु । रमाले आफ्नो निर्णय सुनाइन् ।

– के, के गछ्र्यौ भोलि, मलाई पनि त भन ? अविनाशले रमाको इच्छा जान्न खोज्छ ।

– तिम्रो भण्डाफोर । अरू के नि ? रमा आक्रोस पोख्छिन् ।

– कस्तो भण्डाफोर ! मैले त बुझ्नै सकिन नि ! र अर्को कुरा, तिमीलाई कति पटक भनिसकेँ तिमी मलाई तिमी नभन भनेर । पहिलाको कुरा अर्को थियो, अहिलेको कुरा अर्कै छ । पहिला हामी प्रेमी प्रेमिका थियौँ, अहिले हामी पति पत्नी छौँ । यो नाताको गरिमा राख के ? अविनाशले भाउ खोज्यो ।

– बढी न बोल्ने, भन्दिराछु । मलाई हरेक रात मेरो इच्छा विपरीत त्यो गर्नका लागि विवश पार्ने, हरेक क्षण इमोशनल ब्लेकमेल गर्ने, मेरो छोराछोरीहरूको वर्तमान र भविष्यसँग खेलवाड गर्ने तिमी पानीमरूवा पुरूषको विरूद्धमा भोलि प्रेस कन्फ्रेस गर्छु र त्यसपछि ……… रमा भन्दै गइरहेकी थिइन्, ऊ सुन्दै गइरहेको थियो । ऊसँग सुन्नु बाहेक अरू कुनै उपाय नै थिएन ।

– कति दिन भयो, मैले भनेको, घरमा चामल रित्तिन थालेको । एकाध छाक मात्र टार्न सकिन्छ । रमाले सोधिन् । ऊ चुप थियो ।

– कति दिन भयो भन्या ?

– राति मात्र ……….

– त्यो कुरा होइन भन्या ! घरमा चामल सिद्धिन थालेको सूचना दिएको कति दिन भयो भन्या !

– ए त्यो ! अविनाशले औँलामा गन्दै भन्यो चार दिनभा होला ।

– अनि ? रमाले स्यानो प्रश्नमा ठूलै तत्त्वबारे सोधिन् ।

– तिम्रो अनिको जवाफ यी पोलिथिनमा छ, के ! चामल र अन्य खाने कुरा ! आज म अति प्रसन्न छु ।

– किन ! भोलि प्रेस कन्फ्रेसमा जानु छ भनेर । धेरै खुशी हुनु जरूरी छैन, किनभने त्यसमा तिम्रो काव्यपाठ हुँदैन, तिम्रो चर्तिकलाको प्रकटन हुनेछ ।

– हत्तेरिका, फेरि त्यै कुरा । सुन पहिला, आज त एक्कै पटक तीन तीन कविताको पारिश्रमिक पाएको छु – तीन तियाइ नो ! नौ सय रूपियाँ – तर के गर्ने त्यो एकाउन्टेन्टले एक सय पैँतीस रूपियाँ टयाक्स भनी काट्यो । अविनाशले जानी जानी रमाको मुड चेन्ज गर्न खोज्यो ।

– चुप लाग् । सुन्नु छैन मलाई तिम्रा गन्थन । म त मान्नेवाला हैन । भोलि गर्छु गर्छु । रमाले आफ्नो अठोट सुनाइन् तर वास्तविकता के थियो भने त्यस अठोटको धार अलिक मत्थर भइसकेको थियो । अविनाशले छोराछोरीलाई हेर्यो, म्वाइ खायो र बोल्न थाल्यो काव्यिक भाषामा –

– फेरि कविता ? अविनाशलाई लाग्यो निदाइरहेका छोराछोरीको आवाज हो यो । कति चाँडो रिस्पन्स । आखिर कविका सन्तान हुन् ! तर एकछिनपछि उसको यस सोचाइम्ाा तुषारापात भयो । त्यो आवाज रमाको थियो – भूतपूर्व प्रेमिका र वर्तमानकालिक पत्नीको आवाज ।

– फेरि कविता ! हामीलाई तिम्रो कवितासँग कुनै अर्थ छैन । अर्थ नदिने कवितालाई व्यर्थ ठान्दछाँै हामी । रमाले भनिन् ।

– होइन, के भन्या तिमीले ! मेरा कविताहरूमा कुनै अर्थ नै हुँदैन ! मेरा कविताहरू अर्थहीन हुन् । अविनाशले आफ्नो कविताको आलोचना खप्न सकेन । खपोस् भने पनि कसरी आजै, कविता लेखेबापत पारिश्रमिक पाएको थियो, हिजो अस्तिको कुरा भइदिएको भए, अर्कै कुरा । प्रतिवाद गर्यो ।

– अर्थ भनेको मिनिङ्ग होइन, पैसा हो के ? रमाले अर्थ्याइन् ।

– ए ! त्यस्तो पो ! मैले त बिर्सिसकेको थिएँ, तिमी अर्थशास्त्रको असफल विद्यार्थी हौ । त्यै अर्थ पढ्दापढ्दै मेरो कविता रूचाइ, र मेरी भई ! होइन ?

– हो, अनि पो त पछुतो गरिरहेकी छु । तर भोलि त गर्छु गर्छु । रमाको विद्रोह अब फितलो हुँदै गएको थियो ।

– मान्दिनौं ।

– अहँ !

– ठीक छ । अहिले भात पकाऊ, हामी सबैलाई खुवाऊ, मस्तसँग निदाऊ, भोलि जे मन लाग्छ गर्नु अविनाशले रमाको शान्त भइसकेको रीस थाहा पाइसकेको थियो ।

– भयो पनि त्यसै । रमाले भात पकाइन् । एघार बजेको थियो । अविनाशलाई खान दिइन्, बच्चाहरूलाई खुवाइन्, आफू खाइन् । भाँडाकुँडा माझिन् । हुँदाहुँदै बाह्र बज्यो ! काटमाठौँ सहर । रात चिसो भइसकेको थियो । ओछ्यानमा पल्टिन, चाहँदा नचाहँदै सिरकभित्र पसिन । उपाय थिएन, सिरक एउटै थियो । अलिक न्यानो भएपछि अविनाशले सोध्यो –

– डार्लिङ ! भोलि शनिवार । भोलिको के छ प्रोग्राम !

– भोलि ! एक घण्टाको लागि माइत जान्छु है । तिमी पनि हिँड्नु पर्छ नि !

– अनि प्रेस कन्फ्रेन्सको आयोजना नि ?

– हाँस्दै भनिन् – यस पल्टलाई छाडि्दराछु ! तर अबदेखि यस्तो नगर्नु । भोकै पेट सुत्न नभन्नु ।- हस् ।

शनिबार गोरखापत्र
असार १९, २०६७