Rajendra Parajuli – Raajneeti

राजेन्द्र पराजुली – राजनीति
(Source: Himal Khabar)

पार्टीभित्र रघुनाथको त्यागको निकै प्रशंसा हुन्छ। उसको त्याग नै त पार्टीको सफलताको आधार हो। स्वार्थ, बेइमानी र विकृतिले भरिपूर्ण राजनीतिक दुनियाँमा रघुनाथ अपत्यारिलो पात्र छ। आफ्नो पार्टीमात्र होइन अन्य पार्टीका निम्ति पनि ऊ ठूलो प्रतिद्वन्द्वी र ईर्ष्याको पात्र बनेको छ। यस्तो लाग्छ, उसको राजनीतिक जीवनको शब्दकोशमा प्राप्ति कहीँ-कतै लेखिएको छैन। अधिकांश नेताहरू उसको ईर्ष्या गर्दा सोच्छन्, किन म रघुनाथजस्तो बन्न सकिनँ? यसो भन्दै उनीहरू कहिलेकाहीँ भित्रभित्रै आफूप्रति नै दया जताउँछन्।

रघुनाथको पार्टीले पटक-पटक सत्तासयर र सरकारको नेतृत्व गरेको छ, तर ऊ कहिल्यै पदमा गएको छैन। आफू पदमा जाँदा पार्टी कमजोर हुने उसको विश्वास छ। रघुनाथ हरेक निर्वाचनमा चुनाव लड्छ र जित्छ। अन्य पार्टीले उसको क्षेत्रमा प्रायः कमजोर उम्मेदवार दिन्छन्। सबैलाई थाहा छ― रघुनाथलाई जित्न कसैले सक्दैन। उसको बफादारिताका अगाडि कसैको केही लाग्दैन।

रघुनाथ पार्टीको उपाध्यक्ष। यसो भन्दा पनि हुन्छ― आजीवन उपाध्यक्ष। पूरै फुलेको कपाल र दाह्री-जुँगा, चाउरी परेका गाला, आधाभन्दा बढी झ्रेका दाँत र ६ दशक नाघ्दै गरेको उमेर देखेपछि जोकोहीले अनुमान लगाउन सक्छ, रघुनाथको मह140वपूर्ण उमेर राजनीतिमा, त्यो पनि उपाध्यक्ष पदमै बित्यो। रघुनाथले अध्यक्ष बन्ने अवसर नपाएको होइन, तर त्यस्तो चाहना उसले कहिल्यै राखेन। त्यसका निम्ति गर्नुपर्ने सामान्य प्रयत्न पनि गरेन। पार्टी अध्यक्षले थुप्रै पटक आफू निकै बूढो भएको र राजनीतिबाट सन्न्यास लिन चाहेको बताउँदै अध्यक्ष बन्न रघुनाथलाई आग्रह गरेको हो, तर ऊ आफू नै तयार भएन। अन्य नेता-कार्यकर्ताले पनि पार्टी सत्तामा गएका बखत सुहाउँदो मन्त्रालयको जिम्मा लिन पटक-पटक अनुरोध गरेका हुन्, तर ऊ यसमा पनि तयार भएन। उसका सहकर्मी सबैको मनमा प्रश्न तरङ्गित हुनेगरेको छ― के रघुनाथ मूर्ख हो?
परिवारमा ऊ, पत्नी, एक छोरी र दुई छोरा गरी पाँच जना छन्। छोरीको बिहे भइसकेको छ, दुवै छोरा र पत्नी राजनीतिमा छन्। उनीहरू पटक-पटकको आन्दोलनमा उत्रिएका, जेल भोगेका, प्रहरीको लट्ठी खाएका र घाइते भएका छन्। तर रघुनाथले कसैलाई पनि पार्टीको जिम्मेवार पदमा लगेको छैन, कतै राजनीतिक नियुक्ति दिन लगाएको छैन। मानौं, उनीहरूको कामै पार्टीलाई आवश्यक परेका बखत आन्दोलनमा उत्रिनु हो। पार्टीको उच्च पदमा म छँदैछु नि! एउटै परिवारका मान्छेले जिम्मेवार पदहरू लियो भने वंशवाद हावी हुन पुग्छ, यसले जनतामा राम्रो सन्देश जाँदैन― यस्तै सोच्छ रघुनाथ।
उता पार्टी अध्यक्षको परिवारका कोही राजनीतिमा छैनन्। श्रीमती राजनीतिलाई श्रीमानको मात्रै पेशा मान्छे र भन्छे― परिवारका सबैले राजनीतिमै लाग्नुपर्छ भन्ने छैन। सन्तान भन्नु एउटै छोरा म्यानपावर एजेन्सी चलाएर बस्छ। उसले आफ्नो गलत क्रियाकलापका कारण थुप्रै पटक बाबुलाई अप्ठेरोमा पारेको छ। उसका तीनवटी श्रीमती छन्। छोराको बहुविवाहलाई लिएर पनि पार्टीमा अध्यक्षको विरोध भएको थियो। त्यसबखत उसले जवाफ दिएको थियो- मैले ल्याएको हो र, तीनोटी श्रीमती?

केही समयअघि अध्यक्षको छोरा आफ्नो एजेन्सीमार्फत दुई सय जनालाई बेलायत पठाइदिन्छु भनी करोडौँ रुपैँया असुलेर भिसा दिलाउन नसकी कतै लुकेको थियो। यस घटनाले पार्टीभित्र ठूलै हलचल मच्चायो। जनमानसमा पार्टीप्रति नै नकारात्मक सन्देश जाने अवस्था सृजना भयो। पार्टीको केन्द्रीय समितिको बैठकमा केही सदस्यको प्रश्नको जवाफ दिँदै अध्यक्षले मैले खाएको हो र पैसा! भनेर पानीमाथिको ‘भानो बन्ने प्रयत्न गरेपछि रघुनाथले भनेको थियो― सर्वसाधारणको पैसा कुनै पनि हालतमा फिर्ता हुनुपर्छ।

रघुनाथको भनाइले अध्यक्षलाई व्यक्तिगत रूपमा निकै चोट पुगेको सङ्केत त्यसबखत उसको अनुहारमा झ्ल्केको थियो। त्यो घटनापछि केही दिन अध्यक्षले रघुनाथलाई बेवास्ता गर्‍यो, ऊसँग राम्ररी बोल्दा पनि बोलेन। तर रघुनाथविना पार्टीको कुनै काम अगाडि बढ्न सम्भव थिएन। रघुनाथ एक्लैको प्रतिष्ठा, इमानदारी, स्वाभिमान, त्याग नै त्यस पार्टीको बल थियो।

देशमा भर्खरै सम्पन्न निर्वाचनबाट रघुनाथको पार्टी संसद्को ठूलो पार्टी बन्यो। चुनाव प्रचारका क्रममा आधाभन्दा बढी निर्वाचन क्षेत्रमा रघुनाथ स्वयम् पुगेको थियो। यसैका कारण उसको पार्टी अन्य दलभन्दा ठूलो बन्न सफल भएको हो। निर्वाचनपछिको पहिलो बैठकमा अध्यक्षले रघुनाथलाई अब आफूले कुनै पनि हालतमा पार्टी सम्हाल्न र मन्त्रिमण्डलको नेतृत्व गर्न नसक्ने बताउँदै यस कार्यमा रघुनाथलाई अगाडि बढ्न अनुरोध गरेको थियो। अध्यक्षको प्रस्तावलाई पार्टीका अधिकांशले स्वागत गरेका थिए। तर यस पटक पनि रघुनाथले टार्‍यो।

उसका सहकर्मी सबैको मनमा फेरि पनि प्रश्न तरङ्गित हुन पुग्यो― के रघुनाथ पागल हो?
निर्वाचनमा रघुनाथ र पार्टी अध्यक्षले दुई-दुई स्थानबाट उम्मेदवारी दिएका थिए। रघुनाथ दुवै स्थानमा सानदार मतका साथ विजयी भएको थियो भने पार्टी अध्यक्ष एक स्थानमा मात्रै, त्यो पनि झ्िनो मतान्तरले। अर्को स्थानमा त अध्यक्षको बडो लज्जाजनक पराजय भएको थियो। यसकारण पनि अध्यक्ष पार्टीको नेतृत्व गर्न पछि हटेको हो। साथै उसको उमेर पनि निकै ढल्किसकेको थियो।

नयाँ सरकार बनिसकेको थिएन, कामचलाउ सरकार नै चलिरहेको थियो। साना पार्टीमात्र होइन चारैतिरबाट रघुनाथको पार्टीलाई सरकार बनाउन दबाब आइरहेको थियो। जनता सडकबाट रघुनाथलाई नै सरकारको नेतृत्व गर्न समेत आह्वान गरिरहेका थिए। स्पष्ट बहुमत प्राप्त नभए पनि सबैभन्दा ठूलो दल भएका कारण उसको पार्टीलाई सरकार बनाउन दबाब आउनु स्वाभाविक थियो।

यसैबीच अचानक पार्टी अध्यक्ष बिरामी परे। चिकित्सकले उनको अवस्था निकै गम्भीर भएकोले दबाबमूलक काम लगाउन नहुने, चर्को आवाजमा बोल्न नहुने र वादविवाद गर्न नहुने बतायो। यसबखत भने रघुनाथ निकै सोचमग्न भयो। उसले एक पटक नजिकबाट नियालेर अध्यक्षको कान्तिहीन अनुहार हेर्‍यो। ऊ निकै गलेको र कमजोर भएको देख्यो। र, त्यसपछि आफूलाई तयार पार्‍यो― पार्टीको अध्यक्ष बन्न र सरकारको नेतृत्व सम्हाल्न। यद्यपि, यतिखेर पनि रघुनाथलाई आफ्नो मन बुझ्ाउन निकै गाह्रो परेको थियो।

केन्द्रीय समितिको बैठक बस्ने र त्यसले नै मन्त्रिमण्डलबारे निर्णय गर्ने भनेर कुरा त्यसै अड्किरहेको थियो। केही दिनपछि अध्यक्षले अस्पतालमै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गर्‍यो। चिकित्सकहरूले यस्तो निर्णयलाई अस्वीकार गरे पनि अन्त्यमा उनीहरूको केही लागेन। बैठक चाँडो सक्ने र अध्यक्षले लामो नबोल्ने सहमति भयो।

बैठक शुरु भएको केही मिनेटमै अध्यक्षको छोरा अचानक चैत-वैशाखको हुरी जसरी हुर्रिंदै अस्पतालभित्र पस्यो। र, आफ्नो बाबुको छेउमा बस्यो। अध्यक्षले रघुनाथलाई पनि आफूसँगै बस्न इशारा गर्‍यो। अध्यक्षले एउटा हातले रघुनाथ र अर्को हातले आफ्नो छोरालाई समाउँदै रघुनाथलाई भन्यो, “रघुनाथ तिमीले मेरो राजनीतिलाई आजका मितिसम्म जोगाइदियौ। मलाई म बनाउन मेरो आफ्नो भन्दा पनि तिम्रो भूमिका धेरै र महत्वपूर्ण रह्यो। मेरा कुरा सधैँ शिरोपर गर्‍यौ― अब अन्तिम पटक एउटा सहयोग माग्छु, गर्छौ होइन त?”

रघुनाथले एउटा इमानदार बालकले झ्ैँ स्वीकारोक्तिमा टाउको हल्लायो। रघुनाथले मनमनै अनुमान गर्‍यो― अबचाहिँ अध्यक्षले आफूलाई पार्टी र सरकार दुवै सम्हाल्न अनुरोध गर्नेछन्, अब म यो प्रस्तावलाई कुनै पनि हालतमा अस्वीकार गर्न सक्ने छैन। फेरि केन्द्रीय समितिका अधिकांश सदस्यहरू पनि रघुनाथले नै पार्टी र सरकारको नेतृत्व गर्नुपर्ने माग गरिरहेका थिए। छोरातिर इङ्गित गर्दै अध्यक्ष विस्तारै बोल्यो, “जस्तोसुकै भए पनि यो मेरो छोरो हो, एक्लो छोरो! मलाई यसको असाध्यै माया लाग्छ। यसले आजसम्म गरेका कुनै पनि काम सफल हुन सकेन। अनि यसलाई पनि राजनीतिमा रुचि छ। अब पार्टी अध्यक्ष र सरकारको नेतृत्व गर्न मलाई सहयोग गरेजसरी नै यसलाई सघाऊ न है रघुनाथ!”

रघुनाथलाई पत्याउन गाह्रो पर्‍यो― के यी शब्दहरू अध्यक्षकै मुखबाट निस्किएका हुन्? यदि हुन् भने यसभन्दा पहिला रघुनाथलाई पार्टी अध्यक्ष र सरकारको नेतृत्व गर्न गरेका अनुरोधहरू के थिए? ढोङ? स्वाङ? पाखण्ड? वा अरूसामुन्ने त्यागी देखिन गरेको अभिनय? यी कुनै पनि प्रश्नका चित्तबुझदा उत्तर रघुनाथसँग थिएनन्। रघुनाथलाई आफ्नो टाउकोमा चट्याङ परेजस्तो महसूस भयो। के बोलिरहेछ अध्यक्ष!

रघुनाथ किंकर्तव्यविमूढ बन्दै अस्पतालको छततिर हेर्न थाल्यो। छतको प्लास्टर ठाउँ-ठाउँमा उप्किएको थियो। थुप्रै ठाउँमा पानी चुहिएका दागहरू स्पष्ट देखिन्थे। बिरामीलाई आश्रय दिने, पानी, हावाहुरीबाट जोगाउने र उद्धार गर्ने त्यो छत जीर्ण भइसकेको थियो। रघुनाथले अस्पतालको त्यो छत र आफू संलग्न पार्टीलाई उस्तैउस्तै देख्यो। आफूलाई दह्रो पार्दै मनमनै निर्णय गर्‍यो, “भो पुग्यो, अबदेखि यो घिनलाग्दो राजनीति गर्दिनँ।”

अध्यक्षको निर्णय सुनेर अस्पतालमा एकछिन ठूलै होहल्ला भयो। चिकित्सकहरू आएर सबैलाई बाहिर जान भने। सबै अस्पतालको कोठाबाहिर निस्कन थाले, रघुनाथ पनि निस्कियो। क्रमशः अवस्था सामान्य हुन थाल्यो। पार्टीका अधिकांश सदस्यहरू अध्यक्षको छोराको वरिपरि घुम्न थाले। केही दिनपछि रघुनाथले थाहा पायो― २३ सदस्यीय केन्द्रीय समितिमा अध्यक्षको निर्णयमा २० जनाले समर्थन गरेछन्, रघुनाथसमेत तीन जना अनुपस्थित थिए।