Sanjay Bista – Dosro Sanskaran Ko Tayari Ma

सञ्जय बिष्ट – दोस्रो संस्करणको तयारीमा

बिहाचाहिँ गरेको तर गुरु ट्रेनिङ र मेट्रिकचाहिँ नगरेको सुकुटे, निक्कै सुकुटे; साह्रै होइन तर काले नै; हेर्दै चुर्से-चुर्से अठारको नारायण शर्माले पैँसठी सालको मई महिनामा बिनाअन्तर्वार्ता गाउँकै प्राथमिक पाठशालामा शिक्षकको निम्ति हातैमा नियुक्ति-पत्र पाएका हुन्।

पैँसठ सालमा नियुक्ति पाएका नारायण सरले पहिलो महिना अस्सी रुपियॉं तलब पाएका थिए। थापेर आठ-दस रुपियॉं आफूसँग राखेर अरू सबै स्वास्नीलाई दिएका थिए उनले। अर्को महिनाको तलब थापेर ल्याउँदा स्वास्नीले पहिलेकै बाट पनि केही बचाएर राखेकी थिई। त्यसपछि क्रमश: नारायण सरको तलब बढ़्दै आएकै हो। शुरुमा अस्सी रुपियॉं थाो उनले कुनै दिन अस्सी सय रुपियॉं थापिइन्छ तलब भन्ने कल्पना पनि गरेका थिएनन् तर अस्सी सय नाघेर तलब केही माथि पुग्दा पनि नारायण सरले आफ्नो परिवारका सदस्यहरूको जीवन-स्तर अलिकति पनि माथि उठाउन सकेनन्।
जेठी छोरी। नारायण सरकी जेठी छोरी। नौमा फेल भई। सरलाई नमिठो छोरी फेल भएकोमा भन्दा पनि सरकी छोरी फेल भएकोमा लागेको थियो।

त्यो नमिठोपनले आफूबाट निख्रन नपाई बम बस्तीदेखि मान्छेहरू आए केटालाई पनि साथै लिएर। सरकारी नोकरी गर्ने, ब्लकमा—बुझेर अरू धेर बुझ्न नचाही ‘‘हुन्छ,’’ भनिदिए सरले।

तेह्र वर्षअघिको कुरो हो यो।

माइली छोरी पढ़्दै थिई। राम्रैसित पढ़्दै थिई। दसमा थिई एघार वर्षअघि। एक दिन सॉंझ परिसक्दा पनि छोरी घर आइपुगिन। अर्को दिन सॉंझ परिसक्दा पनि छोरी घर आइपुगिन। तेस्रो दिन सॉंझ नपरी दुई बुढ़ाहरूसित दुई अधबैँसे नारायण सरको घर सोध्दै आइपुगे।

यो गोपाल, नारायण सरको तेस्रो र अन्तिम पनि सन्तान जो कल बन्द गरेर अहिले अर्कोपल्ट उस्तै आवाज सुन्नलाई पर्खिरहेछ—त्यो समय , त्यो समय भन्नाले सरकी सुधी मानिएकी माइली छोरीले त्यसरी सबलाई छक्क पारेकी समय दिदीचाहिँभन्दा एक क्लास तल नौमा पढ़्दै थियो।

‘‘सरलाई के छ र? दुवै छोरीहरूको बिहे गरी दिइहाल्नु भो। गोपाललाई पछिबाट तपाईँकै काम दिँदा भइहाल्यो नि।’’ हेड सरले नारायण सरलाई भनेको त्यही समयतिर हुनुपर्छ।

नारायण सरले हेड सरको कुरा सुनेका थिए। प्रतिक्रियामा केही भनेका थिएनन्। आफ्नो काम छोरालाई दिने कुरो उनले सोचेका थिएनन् त्यो दिनसम्म त्यसैले नदिने कुरो पनि सोचेका थिएनन्।

दिनु पर्दैन।—त्यो दिनको त्यही क्षण उनले सोचे।

‘‘कति छ सरको अब?’’ सोधे हेड सरले।

‘‘छ अझै। बाह्र-तेह्र साल छ।’’ भनेका थिए शर्मा सरले।

‘‘ए’’ भनेका थिए हेड सरले। त्यति।
‘‘साथीहरूसितै बस्छु।’’ गोपालले बाबुलाई भनेको थियो।

‘‘पर्दैन हरि काकाकोमा बस्।’’ बाबुले कड़ा स्वरमा भने।

गोपालले केही भनेन भन्नु नसकेर।

‘‘अस्ति भेटेर भनिराखेको छु हरिलाई।’’ पनि भने बाबुले।

परीक्षा शुरू हुनुभन्दा दुई दिनअघि शर्मा सर आफैले छोरालाई पर्ने भाइ शहरको हरि शर्माको घर पुर्याए।

‘‘इक्जाम राम्रो गर्नू। नघुम्नू धेर।’’ हिँड्ने बेलामा छोरालाई भने।

समय पाइए अरू दुईवटा काम गर्ने विचारसित निस्केका थिए शर्मा सर बिहान घरबाट। पहिलो काम ननपाएको निक्कै दिन भएको हुनाले सुगर नपाउने र दोस्रो काम डेढ़ महिनाअघि थाहा गरेको तर हाल दुखाइको मात्रा निक्कै बढ़ेको आफ्नो दाहिने खुट्टा किन दुख्छ डाक्टरलाई देखाएर जान्ने।

बजारदेखि थाकेर आइपगेका सरले झोला राखेर आफूलाई चौकीमा बिसाए।

केही क्षणपछि मुन्टो मात्रै चुह्लातिर घुमाएर उनले भने, ‘‘नुनकै बनाऊ है।’’

फेरि केही क्षणपछि मुन्टो नघुमाइ भने, ‘‘सुन्यौ?’’

चियासित स्वास्नी आई।

‘‘सौदा निकाल,’’ सरले भने।

साना-ठुला केही पोकाहरूपछि एउटा किताब पक्रेर निस्क्यो हात झोलाभित्रदेखि। चारसम्म पढ़ेकी गुरुमाले ‘समयाङ्कन’ पढ़ी अनि चौकीकै सरलाई दिई।

हप्ता दिन जत्तिपछि शर्मा सर चौथो श्रेणीका विद्यार्थीहरूसित थिए।

‘‘सन्चबार, आइतबार के गर्छौ तिमीहरू?’’ विद्यार्थीहरूलाई सोधे सरले।

उत्तर कस्सैलाई आएन। हेराहेर गरे तिनीहरूले एकाअर्कालाई।

‘‘काम गर्दैनौ घरमा?’’ सजिलो बनाए प्रश्न सरले।
‘‘गर्छौँ सर?’’ प्रायैले भने।
‘‘के गर्छौ?’’ प्रश्न अप्ठ्यारो भइहाल्यो फेरि।

प्रश्न दोहोर्याए सरले।
‘‘दाउरा खोज्न जान्छु सर।’’ एउटाले भन्यो।
‘‘म पनि जान्छु सर।’’ अर्काले भन्यो।
‘‘सर म पनि जान्छु।’’
‘‘म पनि…।’’

नजाने एक-दुई मात्र रहे।
‘‘जङ्गलमा’’ सरले भन्न शुरू गरे, ‘‘ढुङ्गामास्तिर, भिरतिर, भुइँमै पनि,’’ दुवै हात अघिल्तिर ल्याए ‘‘एत्रो-एत्रो डल्लो पाउँछ।’’
‘‘पॉंउछ?’’ सोधे।

जबाब आएन।
‘‘पाउँछ।’’ आफैले भने अनि बताए। ‘‘तमर्के भन्छ त्यसलाई।’’
‘‘देखेको छु सर।’’ तमर्के चिन्ने एउटा उठ्यो।
‘‘अरूले?’’ सबैलाई हेरे सरले।

तमर्के देख्ने, चिन्ने आठ-दस हातहरू उठे।
‘‘खोजेर ल्याई दिनू घरमा।’’ भनेर केही क्षण रोकिए र भने ‘‘किताब खोल।’’
चामल बॉंड़्नेे दिन थियो त्यो, त्यो महिनाको। थाहा पाएर विद्यार्थीहरू सबै आएका थिए। त्यो महिना मने पनि होइन, क्विनटले पनि होइन, बिचको मझौला बोरामा चारदेखि घटेर तीन बोरा मात्रै आएको थियो चामल। दोस्रो बोरामा चामल अझ अलिकति बॉंकी रहँदै पङ्क्तिको अन्तिम विद्यार्थीले
चामल थापिसकेथ्यो। खोल्नै नपरेको तेस्रोमाथि थोरै रहेको दोस्रोलाई पनि खप्टाएर राखेपछि चारको एउटा केटालाई हेड सरले भने,‘‘ताला लगा।’’

बाह्र-पन्ध्र मिनटको बाटो बिस्तारो हिँड़ेर घर पुगेपछि चौकीमा बसेका शर्मा सरले याद गरे—हिजोको भन्दा थाहा पाउने धेर दुख्दैछ घुँड़ा।

‘‘राम्रो गरेँ,’’ भन्यो घर आएर गोपालले।

केही भनेेनन् सरले। सुने खालि।

पढ़्नुमा राम्रो छोरामाथि भरोसा थियो सरलाई। फेल होला कि भन्ने सोचेकै थिएनन् सरले। बरू , अब कता पढ़ाउनुपर्ने सोच्दैथे। अब पढ़ाउनुलाई सरलाई शहरै पठाउनुथ्यो छोरालाई। कहॉं राख्नु?—उनी सोच्दैथे।

‘‘साइन्स पढ़्छु।’’ गोपालले दुई-तीनचोटि भनिसकेथ्यो।

एक दिन सर शहर गएर हरिकोमा पनि निस्किएर, डाइवेटिक र दुख्ने खुट्टालाई पनि दवाई लिएर आए। त्यसको दस-एघार दिनपछि गोपालको परीक्षा फल आयो।
‘‘सेकेन्ड भएछु।’’ खुशी न खुशी अनुहारको त्यसले बाबुलाई भन्यो।
‘‘अलिक कोसिस गरेको भा फस्ट हुन्थेछस्।’’ खुशी नै अनुहारको शर्मा सरले भने।

दुई-तीन दिनपछि शर्मा सरले छोरालाई केही रुपियॉं दिएर फारम भर्न पठाए उँभो पढ़्नुलाई।

साथीहरूसित गयो त्यो, त्यो दिन फारम भर्न।

काकाकोमा बस्नु मानेन गोपाल।
‘‘बस्दिनँ त्यॉं,’’ आमाचाहिँलाई भन्यो त्यसले।

आमाले बाबुलाई सुनाइहाली।
‘‘किन?’’ बोलाएर सोधे छोरालाई शर्मा सरले। निरुत्तर उभिरह्यो गोपाल।
‘‘किन बस्दैनस् काकाकोमा?’’ सोधे फेरि।
‘‘साथीहरूसित बस्छु।’’ भन्यो त्यसले।
‘‘नपढ़्नुलाई?’’ हकारे बाबुले। तर कुनि किन त्यहीँ बस् भनेर कर गरेनन् उनले छोरालाई।

कलेज पढ़्नलाई साथीहरूसित एउटा कोठा भाड़ामा लिएर बस्दा दसैँ-तिहार र ठन्डा महिनाको छुट्टीमा बाहेक रुपियॉं सकिँदा-सकिँदा मात्रै घर आयो गोपाल ती दुई वर्षमा।

तेस्रो वर्ष कलेज पढ़्नलाई त्यसले त्यसरी घरबाहिर बस्नै परेन। किनभने उच्चत्तर माध्यमिकको परिणाम-पत्रसित आइपुगेको अँध्यारो अनुहारको गोपालले बाबुलाई भन्यो, ‘‘एक सय सोह्रमा 6 पास, सिधै भिक्टिमाइज् हो यो।’’

केही भनेनन् बाबुले।
‘‘रि-एसेसमेन्ट गराउँछु,’’ पनि भन्यो त्यसले।

बाबुले केही भनेनन्।

वर्षभरि गाउँ घुमेर अर्को वर्ष परीक्षा दिनलाई मात्र गयो गोपाल।
दिएर आयो।
परीक्षा फल आयो।
फेल भएकै आयो।
भिक्टिमाइज् भनेन त्यसपटक त्यसले।
रि-एसेसमेन्ट पनि भनेन।
तेस्रोपटक त्यसले परीक्षै दिएन।

उच्चत्तर माध्यमिक अनुतीर्ण गोपाल गॉंउमै हल्लिरह्यो त्यसपछि। गॉंउमा त्यस्तो कुनै पनि वृत्ति थिएन जसमा त्यसले आफूलाई संलग्न गराओस्। अधुरो शिक्षाको त्योसित गाउँदेखि बाहिरिने साहस पनि थिएन।

‘‘पल्टन जान्छु,’’ पनि भन्यो गोपालले एक-दुईपल्ट।

बाबुले जवानीको आफूजस्तै शारीरिक गठनको जवान छोराको विचारमा नाक खुम्चाए।

पल्टनमा भर्ती हुनलाई प्रत्येक महिना कटकपाहाड़ धाइरहने साथीहरूसँग त्यस विषयमा सोध-खोज पनि गर्यो त्यसले। तर साथीहरूले शर्माहरूको भर्ती खुलिएको र खुलिने खबर कहिल्यै ल्याएन।

बिजिनेस गर्ने विचार पनि गरेको थियो गोपालले। गोपालले बुझेको बिजिनेस सानु दोकान थियो। विचार मात्रै सुनाउँदा ‘‘पर्दैन त्यस्तो डुब्ने काम’’ भनिहाले बाबुले।

‘‘दोकान नखोल्नू, खान्छ-खान्छ तिर्ने बेलामा कालो पार्छ अनुहार जो पनि। बरू अरू बेपार ठिक गर्नु सक्यो भने।’’ पनि भने बाबुले छोरालाई।
तर दोकान खोल्नुबाहेक अरू पनि बिजिनेस हुनसक्छ भन्ने गोपालले बुझेकै थिएन। एउटा कैँया आएर कुचो उठाएर टाटाको टाटा सिलगढ़ी पुर्याउँथ्यो। कति नाफा भयो होला भनी त्यो साथीहरूसित बसेर हिसाब गर्थ्यो। अर्को कैँया आएर अदुवा उठाएर उसरी नै सिलगढ़ी पुर्याउँथ्यो। थुक्क! यो पनि थिएछ त गरेको भा— गोपालहरू मनमनै भन्थे। अब केही छैन गाउँमा भन्ने लागिरहेको बेला अर्कै कैँयै आएर अर्को व्यापार शुरू गर्थ्यो।

छोरामा आफूले देखेको सम्भावना क्रमश: धुमिल बन्दै गएर हराई नै सकेको थियो। त्यसैकारण दुई वर्षअघि बसेँ भने छोराको जीवन सुरूबुरू बित्छ भन्ने सोच बाध्य भएका थिए शर्मा सर।
शर्मा सरलाई कतिचोटि पहिले पनि लागिसकेको—परिवारको प्राथमिक आवश्यकताहरूको परिपूर्ति मै महिनाको सम्पूर्ण आय सकिन्छ। प्रत्येक महिना ‘‘अर्को महिना’’ भनेर स्वास्नी, छोरा-छोरीका इच्छाहरूलाई अर्कोपल्ट फेरि मार्नुपर्छ। पहिले छोरीहरू हुँदा र नहुँदामा फरकै छैन।—फेरि लागेर आश्चर्य लाग्यो।

प्राथमिक पाठशालाको शिक्षक परिवारको टाउके हुनसक्छ। उत्तरदायित्व वहन गरेर परिवारको, परिवारको लागि बॉंचु सक्छ तर परिवारलाई बचाउनैको निम्ति मात्र—लाग्यो सरलाई।
तर घरभित्र र मनभित्र जसरी बॉंचे पनि बाहिर चिन्नेहरूले इज्जतै गर्छन्। केही नहुनुभन्दा आवश्यकताको समुद्रमा इज्जतको च्याङ्ले लाइभ ज्याकेट लगाएर आजीवन आफूजस्तै परिवारलाई पनि घॉंटीसम्म डुबाइरहनु तर बॉंचेर बचाइरहनु ठिक—पनि लाग्यो शर्मा सरलाई।
दिइनँ भने धोका हुन्छ होला पछि।—मनमनै भने।

दुई वर्ष त्याग्दा छोराको जीवन बन्छ भने दिन्छु।—निश्चयजस्तै गरे।

अब आफ्नो दोस्रो संस्करणको तयारीमा लागिहाल्ने निर्णय लिए शर्मा सरले।

पाठशाला नगएर एउटा सोमबार तिनी एक के. जी. घिउसित त्यसै सन्दर्भमा जान्नलाई सम्बन्धित कार्यालय गए।

घिउ थापेर, आफू बसेर छोरालाई काम दिन के-के गर्नुपर्छ राम्ररी सिकाएर ‘‘यताको त चिनी कि गुँड़ मिसाको हुन्छ। सरहरूको तिर प्योर मह पाइँदैन?’’ विभागीय कर्मचारीले सोधेका थिए।
बेलुका घर आएपछि शर्मा सरले बाकस खोलेर, खोदलेर आफ्नो बिमारीसित सम्बन्धित केही कागजहरू झिके। अर्को दिन बेलुकी उनले शारीरिक अशक्तताको फलस्वरूप पेशाबाट अवकाश पाऊँ र सरकारी प्रावधानमुताविक आफ्नो काम छोरालाई दिइयोस् भन्ने निवेदन-पत्रको खेस्रा बनाए।
चार-पॉंच दिनपछि पाठशालाबाट फर्किँदा शर्मा सरको हातमा एउटा महको बोतल थियो।

त्यसपछि अस्वस्थ शर्मा सर त्यस सन्दर्भमा धेरैपल्ट सम्बन्धित विभागीय कार्यालय गए। धेरैपल्ट झोला झुन्ड्याएर, थोरैपल्ट खाली हात।

झोला झुन्ड्याएर कार्यालय पुगेका शर्मा सरले अधिकारीहरूबाट जुन व्यवहार पाए, खाली हात पुगेका उनले संसार स्वार्थमय देखे। यहॉंसम्म कि अघिल्लोपल्ट झोलासितको भेटपछि जसलाई उनले साह्रै जाती मान्छे ठानेका थिए, खाली हातको भेटपछि मान्छे पनि मानेनन्।
शर्मा सरलाई त्यही सन्दर्भमा एउटी सही चाहिएको थियो एकजनाको। एउटा पोका झुन्ड्याएर बिहानै पुगे तिनी त्यस महानुभावको घरैमा।

देलोमै उभिएर आफू आउनुको कारण बताए उनले। पोका समातेको हात अघिल्तिर बढ़ाए।
‘‘के यो?’’ रिसाएर सोधे महानुभावले।
‘‘अलिकति … घरकै।’’ ढॉंटे सरले।
‘‘कसले सिकायो तपाईँलाई यसरी आउनु? कसले सिकायो? तपाईँको एति नाथे घिउ खाएर मोटाउँछु मो? लानुहोस्, लगिहाल्नुहोस्, यो।’’ रॉंकिए उनी।

शर्मा सरको अनुहार र कानहरू पनि तातिएर आए। तातिएको कान टि…नि…नि…नि…बजे।
‘‘व्यवस्था बिगार्ने तपाईँहरू नै हुनुहुन्छ।’’ बजेकै कानले सुने उनले।

इमान्दारी देखाउने मौका पाएछ साला।—मनमनै रिसाए सर।

सपनामा जस्तो हिँड़ेर फर्किए सर त्यहॉंदेखि।

त्यसपछि अर्को मान्छेलाई भेट्नु जानुअघि शर्मा सर निक्कै घोरिए।

एक त पहिल्यैदेखि सुकुटे नारायण शर्मा थप डाइवेटिकको रोगी—हड्डी र छाला भइसकेका थिए। जस-जसले जे-जे खाऊ भन्थे सबै खान्थे, जस-जसले जे-जे नखाऊ भन्थे सबै मान्थे। पकाएको के कॉंचो तितेकरेला कति खाए उनले हिसाब छैन।

औपचारिकता निर्वाह गर्न शुरू गरेको चार महिनापछि एउटा सरकारी चिठी आयो नारायण शर्माको नाममा। खोलेर पढ़े उनले। चौबिस तारिख मेडिकलको निम्ति मेडिकल कलेज, सिलगढ़ी जानू भन्ने सूचना रहेछ।

यत्तिका लामो अवधिसम्म गरेको पेशाको धुमधाम माया लागेर आयो उनलाई।

त्यसै क्षण उनले वर्ष दिनजति पहिले आफू बसेर छोरालाई काम दिने नजिकैको सर सम्झे। अनुभवी तिनै सरलाई मेडिकल साथी जान मनाउने विचार गरे।

पाहाड़बाट मदेश झरेका बिरामी सर सिलगढ़ीको गरमले हेर्दै पनि बिरामी देखिने भए।

बल्ल-बल्ल पालो आएको बिरामी नारायण शर्मा र उनलाई बिरामी प्रमाणित गर्ने डाक्टरकै कागजहरू हेरेर , हेर्ने डाक्टरले शर्मा सरलाई काम गन एकदमै अयोग्य मानेन।
‘‘आँखा राम्ररी देख्दिनँ।’’ भने सरले।

मसुमुसु हॉंसे डाक्टर।
‘‘कान पनि राम्रोसित सुन्दिनँ।’’ भनेर आफूलाई साह्रै दयनीय अनुभव गरे उनले।
‘‘जवाब ठिकै दिनु हुँदैछ।’’ सुनेर बित्थामा भनेछु लाग्यो सरलाई।
‘‘अर्को चौबिसमा आउनुहोस्।’’ डाक्टरले भने र लेखेर पनि दिए।

अरू केही भन्नै आएन उनलाई। केही क्षण चुपचाप बसेर तिनी उठे।
‘‘यो मेडिकल बोर्ड तल जानु पनि आन्दोलनकै उपलब्धि हो। दार्जीलिङमा भा एस्तो झन्झट नै नहुने। पहिलाकोहरूलाई खाड़ाले केई नसोधी एकै तालमा गरिदिन्थ्यो अरे।’’ सुनेको सुनाए बाटोमा साथी गइदिने सरले सरलाई।

श्रीमतीले तामा पनि पकाएकी रहिछ। तामाको स्वाद बिर्सन लागेको सरले ‘‘हाली देऊ मलाई पनि अलिकति,’’ भने।
‘‘होस् पर्दैन खानु। खुट्टा दुखेर फेरि फत्रक-फत्रक पर्नुलाई।’’ स्वास्नीले भनी।
‘‘नखॉंदा जाती छु र?’’ सर खरो बोले।

स्वास्नी अरू बोलिन।

डाक्टरहरूको त्यत्रो प्रिस्क्रिसन हेररे पनि काम गर्नु सक्छ भन्छ। सरकारी नियम छ, दिहाल्दा के जान्छ त्यसको—रातभरि सरलाई लागिरह्यो।
‘‘दवाई खान्नँ एक महिनै,’’ सङ्कल्प गरेर बिहानीपख शर्मा सर एक छिन निदाए।

भोलिपल्ट उनले दवाई खाएनन्।

बरू ‘‘कत्ति बार्नु? नखाई मर्नुभन्दा बरू खाएरै मर्छु।’’ भनेर आमा-छोरालाई अलग्गै पकाएको आलुको तरकारी थोरै खाए।

पहिले-पहिले दवाई खानु भुल्छु कि भन्ने लाग्थ्यो शर्मा सरलाई अब नखानु भुल्छु कि लाग्न थाल्यो।

आफ्नो बिमार बढ़ेर आउँदो चौबिसमा डाक्टरलाई काम गर्न अयोग्य देखिइएँ भने नमरुन्जेल ढुक्कैले बॉंचिन्छ भन्ने लागेको थियो सरलाई।

खाएनन् दवाई उनले।

जति-जति चौबिस नजिकिँदै आयो उति-उति अस्वस्थता बढ़्दै आएको थाहा गर्दै थिए उनी। बस्दा, बसिरहँदा पनि थाक्ने, फतक्कै गल्ने भइसकेका थिए। करैले गएर पाठशालाबाट सिधै घर आउँथे। आएर बसिरहन्थे कि त सुतिरहन्थे दिउँसै पनि। स्वास्नीले सोद्धा ‘‘ठिकै छु,’’ भन्थे।
प्रतीक्षारत थिए उनी आउने चौबिसको।

हिजो तेइस तारिक शर्मा सरले गोपाललाई बोलाएर भने, ‘‘अर्कालाई कति दु:ख दिनु। तैँ हिँड़् भोलि मसित। किरणलाई दुइटा सिट भन् गएर।’’

आज बिहान आमा उठेकी थाहा पाएर गोपाल पनि उठिहाल्यो।

रातो घामको अर्धवृत्त डॉंड़ाभित्र थियो। आकाशभरि बादलको एकै टुक्रा पनि थिएन। कतिचोटि सिलगढ़ी गइसकेको गोपालले त्यहॉंको गरमको स्मरण गर्यो। स्मरणले नै त्यसलाई त्यो दिन असाध्यै कष्टकर लाग्यो।

दॉंत माझ्दै त्यो कलनेर गयो। कल खोल्यो त्यसले। कलदेखि झरेर भुइँमा बज्न थाल्यो पानी। मुख खकाल्यो गोपालले। हत्केलालाई अञ्जुली बनाएर फेरि पानी थाप्दा क्षणभर शून्यता छायो त्यहॉं। त्यही शून्यतामा गोपालले घरभित्र स्वास्नीमान्छे काहालिएर रोएकी सुन्यो। अञ्जुली भरिएर पोखिएर पानीले पुन: बज थालेको थियो भुइँमा। अञ्जुली भत्कायो गोपालले अनि कल बन्द गर्यो र अहिले त्यो भयको ठुलो भारी बोकेर अर्कोपल्ट स्वास्नीमान्छेको उस्तै रुवाइ पर्खिरहेछ।

Bimalendra Mishra – Suhag Raat Ko Samapti

विमलेन्द्र मिश्र – सुहागरातको समाप्ति
(Source : शनिवार)

दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने । दुलाहा पक्ष र दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलोनै हुने । दुलाहा र दुलहीबीच बिस्तारै परिचय हुँदै गयो ।

एकैदिनको विवाह चाँडैनै दुलहीलाई अन्माउने बेला पनि हुन लाग्यो । दुलही पक्षका सबैको मुख निन्याउरो र सानो भएको थियो । बाजा बज्न थाल्यो । दुलही अलि नरमाइलो मान्न थालिन । दुलहीका मनमा अनेक थरी कुरा खेल्न थाले । यो आफन्तसँगको बिछोड, पराई घरमा मिलनको सुरूवात थियो । दुलाहा सुबोध भने दुविधामा थियो । त्यसैले उसको मनमा पनि अनेक थरि कुरा खेलिरहेको थियो । दुबैले एक अर्काको मन बुझीसकेका थिएनन् । यो पे्रम विवाह थिएन ।

बाजा धन्कियो । दुलही पक्षका आफन्तका आँखा रसिला भए । एकैछिनपछि दुलही अन्माएको घर चकमन्न भयो । दुलहीलाई जन्मघरबाट कर्मघरतिर पराइहरूले बाजाको तालमा नाच्दै गाउँदै लागिरहेका थिए । अब त्यो घर सिन्धुको घर थिएन । त्यो घर जहाँ उनी जन्मिन््, हुर्किन्, खेलिन्, बढिन्, त्यो त माइतीमा परिणत भइसकेको यिो । उनी बाटाभरि कल्पनानै गरिरहिन् । उनका श्रीमान् उनी नजिकै थिए । अबका दिनमा त्यो अपरिचित लोग्नेमान्छे नै सबैभन्दा उनको नजिकको हुन्थ्यो । आˆना सबै कुरा उसलाई नै समर्पित गर्नुपर्ने । उनी कहिले रमाएकी थिइन् भने कहिले पराइ घरसँग डराएकी थिइन् ।

रात परिसकेको थियो । सिन्धुलाई अनेक चलन र विधिविधानले बधूको रूपमा घरमा भित्र्याइयो । सबै खुशी थिए । रात पनि छिप्पिन लाग्यो । सिन्धुलाई दुलाहाको कोठामा लगियो । त्यस कोठाको ढोका लगाउन लगाइयो । बन्द कोठामा, एउटा नौलो मानिससँग उनको मन ढुक्क भयो । झ्याल ढोका बन्द थिए । झ्याल ढोका सबैतिर पर्दा लगाइएको थियो । आजैबाट चिनेको मान्छेसँग उनलाई कुरा गर्न सहज भएन । उनी चुपचाप बसिरहिन् ।

सुहागरात दुलाहा र दुलही बन्द कोठामा सँगै रात बिताउने पहिलो रात, अविस्मरणीय रात, सृष्टिलाई निरन्तर अघि बढाउने क्रमको प्रथम सुरूवात, पुर्खौदेखि पछ्याउँदै आएको रीति, दुई जीवनको संयोग ।

सुबोधको भने यो पहिलो सुहागरात थिएन । उसको पहिलो सुहागरातले उसलाई आजसम्म पनि पीडा दिँदै आएको थियो । यसरी नै केही महिना पहिले उसले पहिलो चोटि विवाह गरेको थियो । दुलहीलाई यसरी नै घर ल्याएको थियो । दुलही कोठामा आइसकेकी थिइन् । उसले दुलहीसँग कुरा अघि बढाउन चाहृयो । दुलही ऊबाट परपर भइन् । आखिरमा उनको त अर्कै केटासँग पे्रम भएको कुरा दुलहीले खुलस्त गरिन् । सुबोध छाँगाबाट खसेजस्तो भएको थियो । दुलहीले आˆनो पे्रमीलाई डाकिन् र पे्रमीले पनि तुरून्तै आई उनलाई लग्यो । त्यो दिन उसको सुहागरात नभइ बोझिलो रात भएको थियो । त्यो दिनदेखि ऊ सुहागरातसँग डराउँथ्यो ।

रात चकमन्न हुँदै थियो । सिन्धुले आˆना साथीहरूको सुहागरातका कुरा सुनेकी थिइन् । उनको एउटा साथीको श्रीमान् त सुहागरातकै बखत मादक पदार्थ धोकेर झगडा गर्न आएको थियो । यो कुराले उनी पनि तर्सिन् तर सुबोध असल थियो । आगोलाई साक्षी राखि जग्गेलाई सातफेरा लगाई नयाँ जीवन, नयाँ वातावरण र नयाँ सम्बन्ध आत्मसाथ गर्दै सङ्कल्प गरी विवाह बन्धनमा बाँधिएका यिनीहरू मन, बचन र कर्मले निश्चल र पवित्र थिए । पति पत्नीको पे्रमको अङ्कुर टुसाउँदै विश्वास फैलदै जाँदै थियो । पे्रम मौलाउन थाल्यो । विस्तारै लाज हराउन थाल्यो । कुरा विस्तारै अघि बढ्दै गयो ।

सुबोधले उनको घुम्टो खोल्यो, नाडीका हातका चुरा चलायो । उसको स्पर्श सिन्धुलाई पनि मीठो लाग्न थाल्यो ।बिस्तार बिस्तार सिन्धुलाई पनि सुबोध चिनेको आˆनै मानिस झँै लाग्न थाल्यो । उनी पनि सुबोधसँग बोल्न थालिन् । आखिरमा रात छिप्पिँदै गयो । सुबोधले उनलाई ओछ्यानमा आउन आग्रह गर्‍यो तर उनीअटेर भई जहाँको तहीँं रहिन् । सुबोधले उनको हात तानेर ओछ्यानमा लगे उनी हाँसिन् र बोलिन् –

‘छि हजूर त कस्तो मान्छे !’

भोलि बिहान भयो । रात सकियो । बिहानी भएको आभाष चराचुरूङ्गीले दिए । सिन्धु ओछ्यानमै पल्टिरहेकी थिइन् । एउटा नौलो अनुभूति दुबैलाई भइरहेको थियो । दुबै एकअर्काप्रति समर्पित थिए । सिन्धुको केशराशी यताउति अनुहारतिर छरिएको थियो । सिन्धु कपाल पन्छाउँदै सुबोधसँग मुस्काइन् । सुबोध पनि आˆनो जिउ तन्काउँदै सिन्धुसँग मुस्कुरायो । यसपालिको सुहागरातले सुबोधलाई चिन्ता दिएन । ऊ आफैँमा रमायो । यो सुहागरातको चाहिँ रमाइलो समाप्ति भयो ।

Kumud Adhikari – Dhana Didi

कुमुद अधिकारी – धना दिदी
(साहित्य सरिता)

२०६० भाइटीकाको दिन । टीका लगाउने साइत ढिलै भएकाले हामी दाजुभाइहरू सिकुवामा बसेर समसामयिक विषयमा छलफल गर्दै थियौँ । मन उचाट थियो । समग्रमा निराशाका कुराहरू नै थिए छलफलका । रमाइलो मान्नुपर्ने चार्डपर्वमा पनि मेरो मन कुनै बेला बिनाकारण निराश बन्छ । बिनाकारण निराशा हो वा निराशाको कारण म आफैँले पत्ता लगाउन नसकेर हो म निराश चाहिँ हुन्छु । भित्री निराशालाई प्रकट नगरी म छलफलमा भाग लिइरहेको थिएँ । त्यत्तिकैमा आँगनका पल्ला छेउमा दुईजना व्यक्तिहरू मलीन अनुहार लिएर देखा परे । मेरो परिचयको सूचिमा नपरेका व्यक्तिहरूले माल्दाजुलाई बोलाएर अलिपर लगे । म अलि अलमलमा परेँ। समयकाल ठीक छैन । कस्ता व्यक्ति हुन् – के गर्न आएका – मनमा कुरा खेलीरहे एकछिन । केही समयपश्चात् माल्दाजु आएर घोषणा गर्नुभयो “धना दिदी बित्नुभयो अरे । आमालाई अहिले नसुनाऊँ टीका लगाएपछि सुनाउँला ।” वहाँको घोषणाले मेरो मनको निराशालाई दुःखमा बदल्यो । मलाई लाग्यो मलाई कसैले ठूलो भीरबाट खसालिदिएको छ । हातखुट्टा शून्य भएर आए । केहीक्षण पछि चेतना फिर्‍यो । मेरी आमालाई सानीमा भनेकाले हाम्री दिदी हुनुभएकी धना दिदी यति चाँडै खस्नुहोला भन्ने मनको कुनै अन्तरकुन्तरमा पनि थिएन । वहाँ अस्वस्थ हुनुभएको त थाहा थियो तर यति छिटै वहाँको चोला उठ्ला भनेर सोचेकै थिइनँ । अझ टीकाकै दिनपनि धना दिदी टीका लाइदिन लठ्ठी टेक्दै टुप्लुक्क आइपुग्नुहुन्छ कि भन्ने आस बोकेको मनलाई वहाँको मृत्युको खवरले मर्माहत तुल्यायो ।

त्यसपछिका घटनाक्रमहरू यन्त्रवत् घटिरहे । शारीरिक रूपले मैले तिहारको टीकामा भाग लिए पनि मनचाहिँ धना दिदीसँगै विगतमा घुमिरह्यो । दिदी पानी लिएर दाजुभाइहरू बसेको स्थान परिक्रमा गर्न थाल्नुभयो । दिदी पछाडि पनि मैले धनादिदी नै देखिरहेँ। वहाँ टीका लगाउने सबै प्रकृयाहरूमा दिदीकै पछिपछि हुनुहुन्थ्यो । मलाई असामान्य केही लागेन । धना दिदीको अनुपस्थितिको भान नै भएन । अचानक दिदीले कपालमा तेल लगाई दिन टाउकामा हात पुर्‍याउनुभयो । म झसङ्ग भएँ, ओहो धना दिदी त हुनुहुन्न, म त तन्द्रामा पो रहेछु ।

दिदीले टाउकामा तेल लगाइदिनुहुँदै छ । मलाई याद भयो धना दिदीले भनेको कुरा- म सानै थिएँ रे । वहाँले मलाई माया गरेर काँधमा बोक्नुहुन्थ्यो रे । काँधमा बोक्दा मेरा हातले वहाँको टाउको समात्थेँ रे । एकपल्ट यसै गरी बोक्ता वहाँको काँधमा मैले छेरिदिएको थिएँ रे । यी सबै कुरा सुनेर म त्यत्तिकै हाँसिदिन्थेँ पहिले तर अहिले यिनै कुराले मन रुवाइ रहेछ । म आफूलाई बालकमा परिवर्तन गरेर उक्त घटनाको नायक बन्न खोज्छु । मुटुमा भक्कानु मात्र फुट्छ । सायद मैले छेरेको कारणले धना दिदी रिसाउनु भएको हो कि । अहिले वहाँ नजीक भए मैले छेरेकोमा क्षमा माग्ने थिएँ जुन काम मैले पहिले कहिल्यै गरिनँ।

कार्यक्रम अगाडि बड्यो, दिदीलाई टीका लगाएर दक्षिणा दिने बेला भयो । मलाई धेरै पटक लागेको कुरो हो चाडबाडमा दिदीहरूलाई राम्रै दक्षिणा दिऊँ, ठूलै रकम दिऊँ, तर दिने बेलामा उही खर्चका हिसाबकिताब अगाडि सर्छन् र दक्षिणाको रकम प्राथमिकतामा पर्दैन । दिदीलाई दक्षिणा दिएपछि लाग्यो धना दिदीलाई पनि अलि बढी दक्षिणा दिन पाए कति खुसी हुनुहुन्थ्यो वहाँ । तर अब त धेरै ढिला भैसकेको थियो । खै चेलीबेटीलाई धक फुकाएर दक्षिणा दिने बेला हाम्रो जीवनमा आउला कि नआउला ।
खाने बेला भयो । भागमा परेका फलफूल टोक्दै गएँ। मोही खान मन लाग्यो । मोहीको गिलास समातेपछि फेरि झल्याँस्स भएँ धना दिदी भन्ने गर्नुहुन्थ्यो “मेरा घरमा मुसा पालेकी छु, सुन्तलेमा भाइ, सुन्तले गएर मुसा दुहुनुपर्छ, दूध जमाउनुपर्छ मोही पार्नुपर्छ र पिउनुपर्छ ।” मनमा टीस उठ्छ । अहिले मलाई थाहा छ मुसा दुहेर दूध खान सकिन्न तर त्यस बेला वहाँले भनेको असत्य लाग्दैन थियो । कल्पना गर्थेँ ठूला मूसा होलान् गाईकै जस्ता चारवटा थुन होलान् । ससाना ढुङ्ग्रा होलान् मुसा दुहुने, त्यही रकमका सानै ठेका-टोलङ होलान् दूध जमाउन र मोही पार्नका लागि । केटाकेटीको कल्पनाबाट आखिरी के पो अछुतो छ र ।

खानपिन सकेर माल्दाजु र म सुन्तले जाने भयौँ। आँगनबाट निस्केर गल्लीमा पुग्यौँ। गल्ली- मैले सानामा खेलेको गल्ली- सहर बजारमा धेरैधेरै घरका बीचमा साँघुरो बाटो नभएर ठूलो वरको फेदबाट गएको तेर्सो बाटो- यही गल्लीमा गाडी आउँछ भन्दा मन फुरुङ हुन्थ्यो सानामा, आफ्नै कल्पनाका गाडीहरू, ती गाडीमा चडेको कतैकतै गएको, अहिले सम्झँदा रमाइलो लाग्छ । धना दिदी गाडीको कुरा गर्दा भन्ने गर्नुहुन्थ्यो- “गल्लीमा गाडी आउँछ, हुर्र चढौँला, इलाम जाउँला सिलाम खाउँला ।” गाडीका कल्पना माथि धना दिदीले इलाम र सिलामको सपना थपिदिनुभएको थियो । इलामको कल्पना त धेरथोर वास्तविकतासँग मेल खायो नै तर सिलामको स्वादचाहिँ पटक्कै कल्पित स्वादसँग मेल खाएन ।

हामी फेरि अगाडि बढ्यौँ। बाटादेखि मुन्तिर यामबहादुरको सानो घर छ । घर टाटीले बारेको र खरले छाएको । ठ्याक्कै यस्तै घर थियो धना दिदीको पनि सुन्तलेमा । म वहाँसँग सुन्तले धेरैपल्ट जाँदाका यादहरू मेरा मानसपटलमा सुरक्षित छन् । वहाँको घर सानो, चिटिक्क परेको टाटीले बारेको, खरले छाएको हुने गर्थ्यो । भित्रपट्टि सबै माटाले टाटी भरेर रातामाटाले राम्ररी लिपेको हुन्थ्यो । टाटीका बीचमा दुईतिर केही भाग माटो नलगाई आँखी झ्याल राखेको हुन्थ्यो । झ्यालको वरिपरि अलिकति माटो उठाएर कलात्मक रूप दिएको हुन्थ्यो । एकापट्टि कुनामा सानो खाट थियो र खाट सामुन्ने सानो चुल्हो थियो भइँमा । मैले त्यो चुल्हो देख्दा त्यो जहिले पनि रातो माटाले लिपेर सफा बनाएको मात्र देख्थेँ । चुलामाथि एल्युमिनियमको मख, कालो फलामे चिम्टा, बुलाकी लगाएको चुलेसी आदि भित्तामा झुन्डिएका हुन्थे । धना दिदीले त्यो चुलेँसीले इस्कुस ताछ्दा चुलेँसीको बुलाकी र वहाँको नाकमा भएको बुलाकी सँगसँगै हल्लिन्थे । मलाई चाहिँ त्यो दृश्य बिछट्ट रमाइलो लाग्थ्यो । त्यस घरमा दैलो र खाटचाहिँ काठकै देखेको थिएँ । म धना दिदीसँग सुन्तले जाने बित्तिकै, दूध दिने मुसा खोज्न थाल्थेँ । दिदी भन्नुहुन्थ्यो “गए त ती मुसा त गोठमा, केटाकेटीका छेउमा ती आउँदैनन् । भरे तँ सुतिसकेपछि म बोलाएर दुहुन्छु है ।” म पनि होला नि भनेर चुप लाग्ने गर्थेँ । अँध्यारो हुँदै गएपछि मलाई डर लाग्थ्यो । धना दिदीको घरमास्तिरपट्टि नेपालबारी साँल्दाजुको घर थियो । बेलुका भएपछि धना दिदी कराउनुहुन्थ्यो उँभो फर्केर “ए साहिँली ! ढोका लगा, पर बाटामा भोटे आयो है, केटाकेटी सुते कि सुतेनन् ।” त्यसपछि साँल्दाजुका घरमा ढोका लगाएको आवाज र आग्लो चढाएको आवाज आउँथ्यो । मचाहिँ धना दिदीको सानो खाटमा भित्तापट्टि डल्लो पर्थेँ डरले । मलाई त्यस बेला भोटे भनेपछि साह्रै डर लाग्थ्यो । लामालामा हातखुट्टा भएको, जिउभरि काला भुत्ला भएको भालूको जस्तो मुख भएको, वनमान्छे जस्तो आकृति लाग्थ्यो भोटे । धना दिदीले भोटे आयो भनेर भित्र पसी दैलो लगाइसकेपछि मात्र म आँखा हेर्थेँ। तैपनि खाटमास्तिर रहेको सानो टाटीको आँखीझ्यालबाट भोटेले हात छिराएर तान्छ कि भन्ने लागिरहन्थ्यो ।

सोच्दासोच्दै निकै अगाडि बढिसकिएछ । माघेखोला तरेर अलैँचीबारीको उकालो उक्लेपछि माल्दाजुले एकछिन उभिएर जाऔँ भन्नुभयो । उभिने क्रममा वहाँले गोजीबाट चुरोट निकालेर सल्काउनुभयो । म यो देखेर फेरि स्मृतिको पानामै फर्किएँ । मलाई थाहा छ, यो माघेको हाम्रो घरकै घटना हो । मलाई रुघाखोकी लागेको थियो । त्यस बेला धना दिदी चुर खानुहुन्थ्यो । मलाई चाहिँ चुरको गन्ध एकदमै मन नपर्ने । मलाई रुघा लागेको देखेर वहाँले भन्नुभयो -“ल भाइ ! म दबाई गर्छु त्यसपछि वहाँले चुर बेर्ने कागजमा ज्वानु बेरेर चुर सल्काएजस्तै सल्काउनुभयो र मलाई पनि तान्न दिनुभयो । म त केटाकेटी, चुरोट वा चुर कहिल्यै नतानेको एकपल्ट तान्नेबित्तिकै भित्रभित्रै आगो लागेजस्तो भयो । खोकी लागेको लाग्यै भयो म राल र सिँगानसरि भएँ । धना दिदी भने त्यही ज्वानाको चुर मज्जाले तानिरहनुभएको थियो ।

यस्तै उकालीओराली गर्दै हामी दाजुभाइ गन्तव्यमा पुग्यौँ । त्यहाँको बोझिल वातावरणमा केही व्यक्तिहरू तास खेलिरहेका थिए । दिदी जिन्दगीभरि आफ्नो परिवारसँग नबसेर एक्लै बस्नुभएको थियो । धेरै वर्षनेपालबारी साँल्दाजुको घरछेउमा कटेरोरूपी घरमा बस्नुभयो र त्यसपछि विजया भाउजूकामा बस्दै आउनुभएको थियो । धना दिदीको चोला पनि विजया भाउजूको घरमै उठेको थियो । मेरो ज्ञानले भ्याएअनुसार भिनाजुको खोजी गर्दा, धना दिदी भिनाजुसँग नमिलेर एक्लै बस्नुभएको जानकारीमा आयो । आफ्ना श्रीमान्-सँग जिन्दगीभरि छुट्टिएर बसे पनि शवयात्रा निकाल्न भने घरकै मान्छे चाहिने रे – त्यसैले शवयात्रामा ढिलाइ भएको थियो । यो देखेर आफ्नो मनमा चाहिँ आफ्नै संस्कारप्रति वितृष्णा जागेर आयो । धना दिदीका घरबाट मान्छे आएका थिएनन् । आफूलाई त्यहीँ बसिरहन उकुसमुकुस भएर आयो । जे भए पनि धना दिदीले यो पृथ्वीलाई त्यागिसक्नुभएको थियो । धना दिदीको स्मृतिसँगै हामी गह्रौँ मन लिएर त्यहाँबाट हिँड्यौँ ।

आज मलाई मेरी प्यारी धना दिदीलाई तिहारमा हजारैहजारका नोट खाममा हालेर दक्षिणा दिन मन लागेको छ । मलाई अहिले बालक हुन असाध्य मन लागेको छ । पहिले जस्तै वहाँको अर्को काँधमा चढेर दिसा गरूँ र- दिदी ! तपाईँ कति राम्री भनूँ जस्तो लागेको छ । धना दिदीले पालेका मुसाको दूध विछट्ट खान मन लागेको छ, र खै किन हो सबैभन्दा धेरैचाहिँ भोटे आउने डरले वहाँको काखमा लुक्न मन लागेको छ ।

Bhairab Aryal – Pashu Pashupati Ra Manchhe (Hansya Byangya)

भैरव अर्याल – पशु – पशुपति र मान्छे (हाँस्य-व्यंग्य)

साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो – “तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंले पुलपुल्याइदिंदा आज मान्छेले गर्नुसम्म गरिसक्यो। रिसानी माफ हुन्छ भने हामी समस्त पशुहरुको एउटै आवाज छ – मान्छे मात्तियो, मात्तियो तर पशु बिचरो आत्तियो।”

यो मोरो पशुको जात, जहिले पनि रङ्ग न ढङ्गको कचकच गर्न आउँछ भन्ने ठानी पशुपतिले झर्किएर सोधे – “आखिर तिमीहरुको समस्या के हो?”

साँढेले भन्यो – “हामी फाँटको फाँट मडिया मार्ने साँढेजातिलाई कान्जीहाउसभित्र थुनेर दुई मुठा परालमा बाँच भन्छ- आजको स्वतन्त्रताप्रिय भनाउँदो मान्छे।” साँढेको कुरामा संशोधन थप्तै गोरुले भन्यो – “होइन हजुर! वास्तविक मर्कामा परेको पशु त अझ म

पो छु। जमिन जोत्नेको हुन्छ भनी नारा लाग्दछ तर जमिनको खास जोताहा मलाई मुखमा पेरङ्गो बाँधिदिन्छ – आजको समाजवादी मान्छे।” साँढे र गोरु आँखा पल्टाउँदै थिए, वानर उफ्रेर पशुपतिका अगाडि पुग्यो। उसले अर्जी गर्यो – “हामी विश्वका समस्त वानरजाति घरबारहीन छौं, तर हाम्रो यो समस्या हेरिदिंदैन- आजको विश्वबन्धुत्ववादी मान्छे।” यत्तिकैमा गैंडा र ग्राहको संयुक्त डाँको सुनियो – “हामीलाई जङ्गल र जलमा पनि चुपचाप बाँच्न दिंदैन – आजको शान्तिवादी मान्छे।”

ओहो! सुन्दासुन्दा पशुपतिको कानै टट्टायो। उनले च्याँट्ठिएर भने – “यो सब तिमिहरुका बकबास हुन्। मान्छेमाथि मेरो पूरापूरा पत्यार छ। ऊ कहिल्यै पशुझैं मात्तिदैन, ऊ उत्ताउल्याइँ जान्दैन।” पशुपतिको कुरा काट्तै पशुराज सिंहले भन्यो – “होइन हजुर! हामीसित चोखो बल छ, तर मान्छेसित बिटुलो बुद्दि छ, बुद्दिभित्र छल छ। त्यसैले मान्छे भस्मासुर भैसक्यो, आज ऊ आफूबाहेक कसैलाई पनि गन्दैन, स्वयं पशुपतिलाई पनि पशुले मात्र पत्याउने पाषाण पो ठान्छ।”

पशुपतिजीले पशुहरुका कुरा सुनी दिक्क भएर सोधे – “त भन न आखिर तिमीहरु के चाहन्छौ?” साखुल्ले भएर अघि सर्दै ब्वाँसोले भन्यो -“अरु हामी केही चाहँदैनौं हजुर! यो मान्छेको जातलाई हाम्रो जिम्मा लगाइदिनुपर्यो। यिनिहरुले तपाईंको टाउको खान लागिसके।” “व्यर्थै केको फिक्री? मात्तिएको मान्छेलाई हात्तीले तह लगाउँछ।” दाह्रावाल हात्ती कड्क्यो। तर पशुपतिको चित्त बुझेन। उनले भने – “मैले कत्रो दु:ख गरी पाले-पोसेका, सिकाए-सधाएका मान्छे अब म पशुको जिम्मा दिऊँ? स्पुतनिक युगबाट फेरि जङ्गली युग फर्काऊँ? – यो हुन सक्तैन। पशूभन्दा मान्छे कहिल्यै नजाती हुँदैन।” बुढी गाईले नम्रतासाथ भनिन् – “हो हजुर! मान्छेलाई अब तहमा राख्ने हो भने यसको जिम्मा पशूलाई दिनुपर्छ। मान्छेसित केवल आसक्ति बाँकी छ, शक्ति छैन, आक्रोश बाँकी छ, प्रेम छैन। आशङका बाँकी छ, विश्वास छैन।” गाईको पनि यस्तो कुरा सुन्दा पशुपतिको मनमा अलिकति चिसो पस्यो। पशुपतिले गम्भीरताकासाथ सोधे – “आखिर तिमीहरुसित यसको प्रमाण के छ त? प्रमाणबिना अर्कालाई दोष लाउन पाइँदैन – बुझ्यौ?”

मुखामुख गर्दै पशुको प्रतिनिधिमण्डल चुप लाग्यो। अन्त्यमा बिदाइको सलाम गर्दै गधाले भन्यो – “प्रमाण एक मात्र होइन, हामी
हजारौं लिएर आऔंला।” बाहिर आएर पशुहरु मान्छेको करतुत सबुद खोज्न थाले। कोही पुस्तकालयतिर गए त कोही वाचनालयतिर, कोही वेधशालातिर गए त कोही सैन्यशालातिर।

———————

एक दिन पशुपतिको प्राङगणमा पशुहरुको कचहरी थियो। स्पष्टीकरण दिन मान्छेको प्रतिनिधि पनि उपस्थित थियो। सयौं हात्तीहरुले रासका रास पुस्तकहरु पशुपतिका अगाडि राख्तै भने – “मान्छेका दिमागको एउटा करतुत यही हो, जसको कारण आजको मान्छे बौलाएको छ।” पशुपतिले एउटा पुस्तक पल्टाएर सर्र पढे, पुस्तकमा कसरी अरुलाई उछिनेर आफू अघि बढने, कसरी मान्छे फकाउने, कसरी छकाउने र कसरी बहकाउने इत्यादि कुरा थियो। पशुपतिले आँखा अलि तरेर नजिकै बसिरहेको मान्छेलाई सोधे- “यो क्या हो?” मान्छेले फुर्तीसाथ जबाफ दियो- “यो पुस्तक हो- राजनीतिको पुस्तक।” पशुपतिले अर्को पुस्तक पल्टाएर, त्यसमा कसरी सम्पत्ति कसरी धेरै कमाउने, कसरी बचाउने इत्यादि कुरा थिए। मान्छेले बतायो- “यो अर्थशास्त्र।” पशुपति पुस्तक टिप्तै गए, मान्छे भन्दै गयो- “यो व्यापारशास्त्र, यो आधुनिक दर्शन नित्सेको, यो मनोविज्ञान फ्रायडको, यो डार्बिनको थ्योरी, यो योगवशिष्ठ, यो धम्मपद, यो बाइबिल, यो इजरा पौण्डको कविता, यो क्यामुको कथा, यो …” पशुपतिले जिभ्रो काट्तै भने- “यी सब किन? किन यी सब? पशू ठिकै भन्छन- बुझिस् मान्छे! तँ बौलाहा भइछस्, धेरै मात्रामा बौलाहा बहुलाइसकिछस्। अब लैजा यी सारा कसिङगर। ए वानर हो! च्यातिदियो यी सारा थाङ्नाहरु।” मान्छे जिल्ल पर्यो। युगानुयुगदेखि उसले गर्दै आएको चिन्तन, मनन, मन्थन, आविष्कारको सम्पूर्ण राशि पुस्तकप्रति पशुपतिको यत्रो कुदृष्टि। आखिर पशुपति पशुकै पति रहेछन- तिनलाई मान्छेको दिमाग कति गहिरो र व्यापक छ – के थाहा?”

यत्तिकैमा एक बथान कुकुर, बिराला र मुसाहरुले अखबारको ठेली पशुपतिको समक्ष थुप्र्याए- ‘साम्राज्यवादी अमेरिकाले भयतनामलाई ध्वस्त पार्यो’- पशुपतिले अखबार एक-एक गरी पल्टाउँदै गए- ‘विस्तारवादी चीनले भियतनाममा खुट्टो घुमायो’, मङगलग्रहको तस्बिर खिचियो’, ‘अल्जेरियामा सैनिक विद्रोह’, ‘रुसको नयाँ राकेट, जोन्सन र दगालको भनाभन’, ‘जनकपुर चुरोट कारखानाको प्रगति’, ‘कलकत्तामा लाठीचार्ज’, ‘बर्लिनमा गोली हानाहान’, … “यी सब के हुन्?” रातो मुख लगाउँदै पशुपतिले सोधे। “यी अखबार हुन् हजुर! दिनदिनका समाचार, विचार छापिने अखबार।” पशुपति- “के यिनमा सब सत्यसत्य छापनिन्छन्?” “सत्य त सत्यै हुन्, तर आजको मान्छेको अगाडि सत्य गणितजस्तो छैन। देशदेशका आफ्ना सत्य, दलदलमा आफ्ना सत्य…।” मान्छेले व्याख्या गर्यो, पशुपति रन्किए। अखबारहरुलाई धुजाधुजा पारेर पशुपतिले भने – “बिग्रेछौ मान्छेहो! तिमीहरु पक्का बिग्रेछौ।”

“अँ, यो के हो नि?”- बाधबालुहरुले सकीनसकी बोकेर ल्याएका हातहतियारलाई नियाल्दै पशुपतिले सोधे। चितुवाले भन्यो- “हामीलाई हिंस्रक जन्तु भनेर हेलाँ गर्ने मान्छेले मान्छेमाथि नै प्रहार गर्न बनाएको यो बन्दुक, यो तोप, यो क्षेप्यास्तर, यो एटम बम…।” “धिक्कार!!!” पशुपतिले लामो सुस्केरा हाल्दै मान्छेलाई धिक्कारे। सारा पशुहरुले कुनैले खुट्टा बजारेर, कुनै सिङ् तिखारेर र कसैले जुरो हल्लाएर भने- “कसो भो!!” मान्छेले अँध्यारो मुख लाएर स्पष्टीकरण दियो- “यी सब संहारको निम्ति होइन, सुरक्षाको निम्ति हामीले निर्माण गरेको हौं, शक्तिसन्तुलनको लागि बनाएका छौं…।”

“गर्यौ सुरक्षा!” भनेर अझ रन्कँदै पशुपतिले पशूहरुपट्टि फर्केर भनेर- “लैजाओ, अब मलाई वास्ता छैन- यी मान्छेहरुको बुद्दि र बठ्याइँ पाएँ भन्दैमा मात्तिने र पात्तिने यी उत्ताउलाहरुलाई अब तिमीहरु नै जेर गर्छौ गर।” यति भनेर पशुपतिले मान्छेलाई फेरि भने- “जा, तँ पशुको पछि लाग्- अब मलाई कसैको वास्ता छैन, म समाधिमा पसें।”

“हाम्रो समाजमा त यसलाई ल्याउन हुन्न, यसले भित्रभित्र बम बनायो भने…।”

“हो हो ल्याउन हुन्न, यसको पशुका छाउराछाउरीलाई पुस्तक पत्रिका पढ्न सिकाएर बिगारिदियो भने…।”

केही पशुहरु कराए। तर लुरुक्क परेर मानिसले आफ्नो बचेखुचेको मौलिकता पोली पशुका समक्ष आत्मसमर्पण गर्यो।

आषाढ, २०२२
लायकुसाल

सगुन

Bhairab Aryal – Sandhe (Hansya Byangya)

भैरव अर्याल – साँढे (हाँस्य-व्यंग्य)

हिन्दुहरुले साँढेलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएका छन्। महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्,तर आफूलाई जेजे चाहिन्छ देवीदेवताहरुलाऐ पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणा रहँदै आएको छ। आफू घोडा, हात्तीमा चढ्ने हुँदा हाम्रा पुर्खालले आफ्ना देवीदेवताहरुको लागि पनि चढेर हिंडने एकोटा जनावरको प्रबन्ध गरिदिएका छन्। जस्तै- विष्णुलाई गरुड, देवीलाई बाघ, यमराजलाई राँगो र गणेशलाई मुसो। आजको जमाना हुँदो हो त विष्णुलाई गरुडको सट्टा हेलिकोप्टर दिइँदो हो। यस्तै आरुलाई पनि दर्जा हेरी कार, स्कुटर, रिक्सा, साइकल आदि वितरण गर्दै गणेशजीलाई चाहिं गाडाकै प्रबन्ध गरिन्थ्यो कि? भन्नाको मतलब आजका हिन्दूले महादेवको बन्दोबस्त गर्नुपरेको भए वा महादेव अहिलेसम्म रहेका भए त्यही साँढे चढी के हिंड्दा हुन्? यताउति हिंड्न कमसेकम एउटा मर्सिडिज कार र हिमालयमा ससुराली जान एउटा विशेष किसिमको हेलिकोप्टर त उनीलाई चाहिन्थ्यो, चाहिन्थ्यो। तर जान दिऊँ उस बेला जे भयो, भयो। महादेवको विशेष वाहनमा श्रीमान् साँढे नै नियुक्त भयो।

त्यति उच्च ओहदामा नियुक्ति पाउने योग्यता साँढेसित के थियो र भन्ने प्रश्न उठाउने आवश्यकता नै छैन। कारण योग्यताभन्दा माथिका दुइटा महायोग्यता ऊसित थिए। पहिलो त साँढे भनेको गाईको साक्खै लोग्ने हो, उसकी श्रीमतीसिति आमाजस्तै एउटा धार्मिक साइनो हाम्रो लागेको छ। यही साइनोले उपल्लो नातेदार भएको साँढेलाई तल्लो ओहदामा राख्ता उसको प्रतिष्ठा घट्ने कुरा त छँदै छ, दुनियाँमा नसनाताको महत्त्व नासिंदै जान बेर छैन। साँढेको अर्को महायोग्यता हो उसको फुँकार। आध्यात्मिक जगतमा ओंकारको जति महत्त्व छ व्यवहारिक जगतमा फुँकारको उत्तिकै महत्व छ भन्ने कुराको ज्वलन्त प्रतीक साँढेले पाएको सम्मान हो। ऊ रुष्ट भयो भने पर्खाल भत्काउन, बाली बेमाख पार्न र फाँक्क र फुँक्क गरी मान्छे हान्न सक्छ, त्यसैले उसलाई एउटा माथिल्लो पदमा सुशोभित गरिदिन पाए जुरो नचाउँदै जिभ्रो मिठ्याइरहन्छ, सायद यही सोचेर उसलाई त्यत्रो ओहदा प्रदान गरिएको हि कि? जे होस्-

महादेवको विशेष वाहनमा नियुक्त भएकोले साँढेको चुरीफुरी निश्चय नै कुनै मन्त्रीको पीएको भन्दा कम छैन। मन्त्रीज्यूको आदेश खोज्नेले पीएलाई सिझाउनुपर्छे भन्ने पद्धतिको श्रीगणेश नै हिन्दूहरुले साँढेबाट गरेका छन्। त्यसैले पशुपतिनाथको दर्शन गर्नुभन्दा पहिले उनको अगाडि लँगौटीसमेत नलगाएर गजधम्म बसेको लबस्तरो साँढेलाई साष्टाङ्ग प्रणाम गर्नुपर्छ। बाली फाँडोस् कि मान्छेलाई हानोस् उसलाई लट्ठी देखाउनु महापाप ठानिन्छ। जिमीदारले जतिसुकै अत्याचार र व्यभिचार गरे पनि नेपाली किसानले ठूलाबडासित जोरी खोज्नु हुन्न भनी सहनुपरेझैं हिन्दूहरुले साँढेको अत्याचार सहँदै आएका छन्। साँढेको सिङमा हाम्रो इहलोकको भाग्य निर्भर गर्छ भने साँढेको पुच्छर परलोकको निम्ति वैतरणीको झोलुङ्गे पुल हुन्छ रे! वृषोत्सर्ग हिन्दूको तर्ने उत्सव, गाईपुत्रले आजीवन छाडा हुने अधिकार पाउँछ – साँढा भएर खाने बिर्ता पाउँछ। उब्जाउने र कमाउने झन्झट साँढेलाई पर्दैन। तर अपशोच के भने साँढे हुने सौभाग्य दुई-चार भाग्यमानीले मात्र पाउँछन्, बहुसंख्यक गाईपुत्रहरुको निम्ति त बालकैमा भेसेक्टोमी गरेर मुखमा पेरुङगो लगाई काँधमा जुवा बोक्नु सिवाय अर्को बाटो रहँदैन। त्यसैले साँढे सामन्त हुन्छ, गोरु सर्वहारा। साँढे गोरा झैं रजाइँ गर्छ, गोरु निग्रा झैं कजिन्छ; साँढे शक्तिपूर्ण स्वतन्त्र र स्वच्छन्द नेता वर्गमा पुग्छ गोरु लुरेलाम्रे जनता!

साँढेको आफ्नो खुबी फुँकारर मात्र हो हुन त, जेजति अहङ्कार उसमा चढ्छ त्यो त्रिशुलको प्रतापको फल हो। यसो भनेर साँढेको सम्पूर्ण प्रसिद्धि महादेवको वाहन हुनाले मात्र भएको भन्नुचाहिं गाईको बेइज्जत गर्नु हो। उच्च ओहदामा पुग्ने श्रीमतीका श्रीमानले’चिन्नुभएन? म फलानीकी श्रीमान हुँ’ भनी फुलेर परिचय दिएझैं साँढे पनि जुरो नचाउँदै गर्व गर्छ- ‘म गौमाताको पतिदेव हुँ।’ मास्टरकी श्रीमतीलाई वर्णमाला नखारीकनै मास्टर्नी मान दिएझैं दिने हो भने साँढे पदेन हाम्रो गौपिता हो। पतिको अस्तित्वबिना पत्नीको अस्तित्व आधा हुने हाम्रो संस्कार अनुरुप गाईलाई मान्दा साँढेलाई नमान्नु आधा गाईको पूजा गर्नुजस्तै हो। तर यस तथ्यलाई कत्ति ध्यान नदिई हामी गाईतिहार मान्छौं, साँढेतिहार मान्दैनौं, गाईजात्रा गर्छौं, साँढेजात्रा गर्दैनौं। यो हेर्दा आफैंले सम्मान गरेको साँढेको आफैंले अपमान गर्न खोजेजस्तो लाग्छ। गाईतिहार, गोरुतिहार मानी साँढेतिहार नमान्नु जनाना र नामर्दको अगाडि पुरुषको उपेक्षा गर्नु होइन र?

तर होइन, छोरीले राजीनामा दिएको भोलिपल्ट ‘ज्वाइँ न स्वाइँ अगुल्टाले च्वाइँ’ भनेझैं गाईमैयाँले छाडिदिनासाथ राँको बालेर साँढे लखेट्ने चलन पनि यहाँ देखिएको छ। हाम्रो संस्कारमा जेसुकै होस्, व्यवहारमा गाईको निम्ति ‘उक्तदान’ बाहेक साँढेको अरु योगदान

के हुन्छ र? जिभ्रोमा लोभ, जुरोमा अहङ्कार, सिङमा रिस र मनमा ईख लिएको साँढे वास्तवमा फाँटफाँडा र समाजभाँडा तत्त्व हो, जो एक अर्कोसँग मिलेर बाँच्न सक्तैन। एकले अर्कोलाई देख्नासाथ भुइँ खोस्रँदै होक्काँ गर्छ र जुध्न थालिहाल्छ। कोही नपाए भित्तैमा पनि सिङौरी खेलेर तुजुक शान्त पार्ने साँढेको प्रवित्तिले मान्छेमा पनि साँढा हुने रहर जगाइदिन्छ। त्यसैले हामी कान्जी हाउस बनाएर थुन्न खोज्छौं, साँढेहेरुभनेर चिच्च्याउँछौं, साँढेहरु होक्काँ-होक्काँ गर्दै जुधीरहन्छन्, सम्भव छ एक दिन दुई-चारओटा हान्ने साँढेको जुधाइमा संसारका सम्पूर्ण शान्तिप्रिय बाच्छाहरु किचिन के बेर? मिचिन के बेर?

अर्पणबाट परिवर्तित