प्रवीण राई जुमेली – वर्जन
पहाड़को चेप-चापबाट बादलको सतहबाट सञ्चारित भइरहेछ सारंगीका सेता धूनहरू, अविरल। नदीको स्वरलाई पनि जितेर। म त साह्रै खुशी छु है आज।
अचानक नै शहरको कुनै गल्लीबाट एकजना मत्थु मुख्यसड़कमा कलाउनलागेको थियो। तब, वर्षा ऋतुपछि भदाैरे घामले सेकिएर एक प्रकारले निन्याउरो भएको शहरको वातावरणमा क्षणिक नै भए पनि एउटा राेमाञ्चको सिर्जना भयो। गाउँले जन-जीवनको निम्न आर्थिक अवस्थालो गर्दा उति व्यस्त नरहने त्यो शहरको सबै खालका मानिसहरू भने सधैं यस्तै मनोरञ्जनपूर्ण घटनाहरूको प्रतीक्षामा रहन्थे।
मत्थुले उसको शरीर केही सन्तुलित राख्ने कोशिश गरे तापनि उसका खुट्टाहरूमा नियन्त्रण थिएन। बेवास्तासित उँभो पल्टाइएको पुरानो पतलूनका मोहोरीहरूबाट निस्कोका दुइ जिरिखिम्टे नाङ्गा धेरै दिन अघिदेखि नधोइए झैं देखिन्थे। आफ्नो असली रंग गराइसकेको मैलो कमेजका दुइवटा टाँकहरू पनि तल-माथि पारेर लगाइएको थियो र मैला पारेर बेस्याहार केशराशीचाहिँ पुरै गुजिल्टिएको थियो।
सुन, ए बिल्डिङहरू हो… मलाई दामी घर चाहिँदैन, अघाइञ्जेल खानु चाइन्दैन। मेरो छोरी स्कूल नपढ़्दा पनि हुन्छ। मेरो स्वास्नी खोकेरै मरोस्… हा-हा
मत्थुको असली उमेर अङ्कल्न गाह्रो थियो। जीवनको कुनै न कुनै विषमताले गर्दा उमेरभन्दा अघाड़िनै उसको जवानी परास्त भइसकेको थियो। त्यस मत्थुलाई चिन्ने प्रयासमा शहरका भेगीदार लफंगाहरू चारैतिरबाट भेला हुनथाले पनि पक्कासित ठिम्याउन चाहिँ कसैले सकेन। मत्थु निश्चयनै कुनै गाउँबाट आएको हुनुपर्छ भन्ने अङ््कलबाजीले नै प्राथमिकता पाएको थियो बरू।
यो बिल्डिङ कसको हो… चिन्दिनँ म, अघिल्तिर उभिएको अग्लो बिल्डिङतिर इशारा गर्दै त्यसले भन्यो, मेरो झुप्रोमा सुत्दा मज्जा आउँछ त्यति मज्जा पनि आउँछ कि आउँदैन यो बिल्डिङभित्र सुत्नेहरूलाई… हा-हा वर्षौंदेखि एउटा विरक्तलाग्दो र एकोहोरो जीवन बाँच्दै आउने ती मानिसहरूले अब आ-आफ्नो सुविधाअऩुसारको ठाउँ चुनी मत्थुतिर केही लापरवाहीसित हेर्न लागेका थिए। त्यसबेला तल्लो कुइनेटोमा अवस्थित एलएसजी विभागले राखेको मैला फ्याँक्ने ढ्वांगबाट एउटा लुते कुकुर निस्केर मत्थुकै छेउछाउ भई जानलागेको थियो। लुतोले पिल्सिएर शरीरको कमै भागमा मात्र रौ त्यस कुकुरको अवस्था मत्थुको भन्दा कम दयनीय थिएन। मेरो छेउ भएर किन हिँड़्छस्, एई… ला। भन्दै मत्थुले अचानक नै त्यस लुते कुकुरको भुँड़ीमा मुंग्रे लात कस्यो। खान नपाएर त्यसै त अधमरो भइसकेको कुकुर, अचानक यस्तो अप्रत्यासित आक्रमण खप्न नसकी काँयु-काँयु गर्दै डाँड़ै काटेर भाग्यो। लात कस्दा बंल परेर मत्थुको शरीरको सन्तुलन पनि बिग्रिएछ क्यार… सड़कमा झण्डै पछारियो। तर सम्हालिँदै त्यो बोलिहाल्यो पनि, आफूभन्दा कम्जोरलाई हेप्ने बानी यो हाम्रै समाजको बानी हो। ईः त्यसैले मैले पनि त्यो लुते कुकुरलाई कुटें।… तर हामी जस्तो मान्छे त यो समाजको मालिकहरूका लागि यो मैले कुटोको लुतेकुकुर जतिकै र भइदिएका छौ नि हा-हा.. मालिक र कुकुरको साइनोमा हामी मानिसहरू बाँचिरहेछौ।
त्यहीक्षण, केही परबाट जानलागेका दुइजना केटीहरूलाई देखी मत्थुको ओंठभरी एउटा रहस्यमय मुस्कान आएक सजियो कै राम्री बैनीहरू हौ…. एकातिर पनि हेरिदिने।
केटीहरूले निकै ठूल्ठूला आँखाहरू फुकाली हेरिदिएपछि फेरि मत्थुले अर्कैतिर हेर्दै टोलाउन लागेको थियो। यो क्षण मत्थुको अनुहारमा उसको आफ्नै अभाव, परिस्थिति, सफलता र वाद्यताहरू अवरोध बनी उभिएका छैनन्। उसको आस्थाको असीमतामा भूत, वर्तमान र भविष्यको प्रवर कहीं छैन।
आज त घरमा गाई र बाख्रालाई घाँस पनि काटिएन होला, सुँगुरलाई चारो पनि पकाइएन होला केटा-केटीहरूको ज्ञानै छिपिएकोछैन, तिनीहरूको आमा अन्धीमाथि पनि बिमार छ… र पनि म आज यसरी रमाउन सकें – बोल्दा-बोल्दै उ रोकिएकोमा वरिपरिकाहरूले केही काैतुहलतासित उतिर नियाले तर, एई रोक-रोक… भन्दै यसबेला आवास-कोलोनीतिरबाट आउँदै गरेको एउटा गाड़ीको ठीक अघि उभिएर दुवै हात माथि उठाइरहेको थियो मत्थुले। गाड़ी त्यसको डेढ़-दुइ फूटभन्दा टाड़ा रोकिएन होला।
चालकले झ्यालबाट शीर बाहिर निकालेर आँखा फुकाल्दै- औ, मर्नु मन लाग्य भने चाहिँ पर भीरतिर जाऊ ल… मेरो गाड़ीमुनि चाहिँ होइन-बुझ्यौ यति भनिसकेपछि मत्थु पनि उसको नजिक गयो। पछि-पछि चाहिँ लफंगा र नाम्लेहरूको ताँतीले पछ्याउन थालिसकेको थियो, मत्थुलाई।
गाड़ी कुदाएर तिमी खुशी छौ… ईः म त साह्रै खुशी पो छु त मत्थुका राता आँखाहरूले झिम्किन बिर्से झैं लाग्थ्यो तर त्यहाँ पनि हाँसोको पुट भने भरिएकै थियो।
चालकले मेरो खुशीसित तिमीलाई केको खस-खस् … पर जाऊ, गतिछाड़ा मान्छे भन्दै र मत्थुलाई छातीबाट ठेलिराख्दै पनि गाड़ी अघि बढ़ाएथ्यो। भुइँमा चित्त परेको उसको ओठबाट भने मुस्कान हराएन।
मलाई कुट, पिट… तर मखुशी हुनु छोड्छु र, बइयौ हा-हा-हा त्यो अट्टहासमा पनि सारंगीको एउटा अनाैठो तरंग थियो। फेरि अचानक नै त्यो मत्थु उठेर गीत गाउँदै नाच्न पनि थाल्यो। उसको यस्तो अनौठो नृत्यमा लफंगाहरूले चाहिँ ताल मिलाएर थपड़ी मार्नलागे। यतिञ्जेलसम्म त्यहाँ मानिसहरूको एउटा झुण्ड नै तयार भइसकेको थियो। कुन्नि कतातिरबाट घुम्दै-घुम्दै दुइजना डण्ठे पुलिसहरू पनि त्यहाँ आइपुगे। मत्थुको नाच देखेर, लफंगाहरूको थपड़ी सुनेर… तर पुलिसहरू पनि माैन उभिएका थिए। यो गानभजनको प्रक्रम यथावत चलिरह्यो तर मत्थुको शरीर र स्वरमा भने शिथिलता आएको थिएन।
भदौको खुल्ला आकाशमा घामको सत्ता थियो। क्षितिज छेउ छाउ छटाक-छिटिक उँड़िरहेका भुवाहरूले पनि घामको यो उत्तापलाई कति नै रोक्ने प्रयास गरेका थिएनन्। शहरलाई फन्को मारेर बग्ने नदीको एकनासे स्वर स्वाँ…. को व्याप्ति थियो चारैतिर। तापनि अब केही दिनहरूपछि आउनेवाला दशैंको सुनौलोपन रातमाटे भित्ताहरूतिर, साल र सैगुनका रूखहरूतिर टाँसिएर बसेको थियो। यो क्षण पृथ्वीको यो भागमा अवस्थित त्यो शहर र त्यहाँ विचरण गर्ने मानिसहरू धेरै अनौठो प्रतीत लाग्थ्यो… अझ आजको यो घटना थपिँदा त कुरै अर्को भएको छ।
पहाड़हरूको फेदमा स्थित त्यो शहर कुनै ठूलो शहर थिएन। केही सहकारी एकाई र कार्यालयहरू, आवासगृह एवं केही मसिना व्यापार-विनियमको आधारले हटाका दिनहरूमा अनि चाढ़-पर्वको छेक पारेर भने व्यस्त हुन्थ्यो त्यो शहर। पहाड़का निम्न उर्वर जमीनहरूमा येनकेन उमारिएका अन्न, फल-फूल र साग-सब्जीहरूको पनि पर्याप्ति थिएन त्यहाँ। तापनि प्रान्तका विभिन्न गाउँ र बजारहरूसित जोड़िएको थियो त्यो शहर, विशेष गरी चुनाउको समयमा त्यसको महत्व आफ्नै प्रकारको हुन्थ्यो।
मुख्यसड़कको एकछेउमा त्यो मत्थुको नाच र लफंगाहरूको थपड़ी रोकिएको छैन, अझै पनि।
के हुँदैन हँ…. याँ। फेरि एउटा अप्रत्यासित आवाजको झटारोले थपड़ीको श्रंखला टुट्छ, झुण्ड केही फाटिन्छ। तर मत्थुको नाच थपड़ीबिनै पनि जारी रहिरहन्छ। झुण्डको केही छेउमै एउटा सेतो गाड़ी रोकिएको छ र त्यसको झ्यालबाट एउटा चश्माधारी अनुहारले चियाइरहेको पनि छ। को हो यो नाच्ने चश्माधारी गाड़ीवालाको कठोर स्वर सुनेर झुण्ड पन्छिन्छ, पुलिसहरू पनि एक छेउ लाग्छन्। मत्थुको निद्रा पनि बाधित बन्छ र उ धर्खाराउँदै गाड़ीको नजिक जान्छ।
यो नाच्ने सोधेको मत्थुको स्वरमा पुलिस वा लफंगाहरूमा झैं डरको आभास तर किमार्थ पनि छैन, बिस्यौ तिम्रो जुलूसमा हिँड़ेको मिटिन मा भात पकाइदिएको… हा-हा। तर डराउनुपर्दैन तिमीले अब-मलाई केही दिनुपर्दैन। तिमीहरूले नदिँदा पनि म खुशी छु, खुशी… अब यति आफैं रमाउने र खुशी हुने छुट त छ होला नि यो देशमा छ कि छैन चश्माधारी मानिसका आँखाहरू केही परतिर उभिरहेका पुलिसहरूमाथि पुगेर रोकिन्छ र के हेरेको तिमारले समात यसलाई भन्ने आदेश जारी गर्छ उसको कटु मुखरविन्दले। पुलिसहरू मत्थुतिर बढ़्छन्।
मलाई थानामा थुन कि धुलाई देऊ… तर म रमाउनु छोड़्दिनँ। तिमीहरूले आश देखाएको त्यो कहिल्यै नपाउने खुशीभन्दा यो मेरो रमाहट कता हो कता ठूलो छ, बुझ्यौ चश्माधारीले पुलिसहरूलाई नजिकमा बोलाएर भन्यो – यसलाई थानामा लगेर तबसम्म चुट््नू जबसम्म यसले खुशी भन्ने शब्द भुल्दैन। भरै म आउँछु। त्यसपछि चश्माधारीको इशारामा सेतो गाड़ी अघि बढ़िहाल्यो। पुलिसहरू मत्थुलाई तन झ्याई पार्दै थानातिर हानिन्छन्। झुण्ड पुरै छरिएर जान्छ। कसैको हुकुमले र पुलिसको चुटाइले मेरो खुशी लुटिन्छ भनेको इस..। केही बेरसम्म टाड़ाबाट पनि मत्थुको स्वर कता-कति गुञ्जिरहन्छ। अनि शहरमा अघि जस्तै चकमन्नता व्यप्तिन्छ। फेरि मानिसहरू हिज जस्तै यो घटनालाई भूलेर आ-आफ्नो धूनमा लाग्छन्।
बेलुकीपख त्यो सेतो गाड़ी शहरको थानाअघि रोकिन्छ। पुलिसहरू सतर्क बन्छन्। थानाको कुनै अनाम कोठाको भुइँमा मत्थु लड़िरहेको हुन्छ, त्यसको मुखबाट रगत बहेको हुन्छ। अनुहार निलडामले सुनिएको छ। हा-हा, खुशी कस्तो हुन्छ अरे मत्थुको लड़िरहेको शरीरमा हल्कासित लात दिँदै चश्माधारीले प्रश्न गर्छ। उसले मत्थुको जगटे केशमा समाएर खुबै गहिरोसित अनुहारमा नियाल्छ, अचानक मत्थुको एक कुना ओठ मुस्काउँछ। चश्माधारी जुरूक्क उठेर पुलिस अधिकारीको कोठाभित्र पस्छ।
म चाहन्छु यसको अनुहारमा मुस्कानको अलिकति पनि छेस्का बाँकी नरहोस्। सास राखेर अझै चुट्नू यसलाई। अनि क्षणभरमै चश्माधारीको गोजीबाट केही ओजनदार वस्तु पुलिस अधिकारीतर्फ हस्तान्तरण भइसकेको हुन्छ।
ढुक्क हुनू होला, हजूरको निर्देशन म इमान्दारीसित पालन गर्नेछु। पुलिस-अधिकारीको त्यस्तो आश्वासन पाएपछि म भोलि आउँछु भन्दै चश्माधारी बाहिरिन्छ। राती पनि कालो चश्मा धारण गरिएको त्यो परिदृश्य केही अप्ठ्यारो किसिमको लाग्छ पुलिस अधिकारीलाई, तर रहस्य जान्न मुख फोर्नसक्तैन। कोही बेरपछि त्यस अधिकारीलाई मत्थु भएको कोठामा पस्दैगरेको देखिन्छ। सारंगीको स्वर अझ गहिरिन्छ। पहाड़को कुनै गाउँमा एउटी रोगी आईमाई खोक्दै हुन्छे, घरभरि केटा-केटी रोएका स्वर ढाकिएको हुन्छ। चकमन्नता र भतुवा कुकुरहरूका क्षीण भुकाइहरूबीच फेरि रात बितेर जान्छ। अहोरात्र चिच्याइरहन्छ नदी। सबै स्वाभाविक रूपमै हुन्छ, हिज जस्तै। बिहान पूर्वबाट घाम झुल्किएपछि स्वभाविक चहलपहल पनि शुरु हुन्छ शहरमा। अनि चश्माधारीको सेतो गाड़ी आएर थाना अघिल्तिर रोकिएको देखिन्छ। के त्यसले रमाउनु बिर्स्याै थानाको सिड़ी उक्लिँदै चश्माधारीले सतर्क पुलिस अधिकारीसित प्रश्न गर्छ।
स्वयं हेर्नुहोला हजूर। मत्थुको शरीर अझ पनि कोठाको भूइँमै लड़िरहेको हुन्छ। चश्माधारीले उसको अनुहार राम्ररी नियाल्छ – आज त्यहाँ खुशीको प्रतिछायाँ हुँदैन। त्यो देखेर चश्माधारी भित्रदेखि नै रमाउँछ। उसले पुलिस अधिकारीको ढाँड़ थप्थ्याउँछ। दुवै बाहिर आउँछन्।
अन्यथा नठान्नु भए एउटा प्रश्न राखूँ हजूर। पुलिस अधिकारीले एउटा अनुनयसित प्रश्न राख्छ – मात्नु मात्र त्यसको अपराध होभने यति ठूलो दण्ड ठिक थियो मात्नेलाई तिमीहरू के गर्छौ। केही घण्टा थुनेर मात्रै छोड़िदिन्छौ।
त्यसको अपराध मात्नुभन्दा धेरै ठूलो थियो। कसरी जसरी त्यसले खुशी हुनु जानिरहेको थियो, त्यो हाम्रो लागि खतराको संकेत थियो। तिनीहरूले यो भ्रम राख्नुपर्छ कि खुशी हामीबाट मात्रै सम्भव हुनेछ, यही भ्रम बेचेर हामी आफ्नो अस्तित्व कायम राख्छौ। यो देशमा कसैलाई पनि आफैं रमाउने अधिकार छैन, चश्माधारीले पुलिस अधिकारीको कान नजिकै मुख लगेर भन्यो, तिमी र तिमीजस्तो हरेकलाई पनि त्यो अधिकार छैन। पुलिस अधिकारी अवाक बन्छ। चश्माधारी चाहिँ एउटा कुटिल मुस्तानसहित थानाका सिँड़ीहरू ओल्र्हिँदै उसको सेतो गाड़ीसम्म पुगेको देखिन्छ। फेरि अचानक नै सारंगी बज्न छाड़्छ, वातावरणभरि बिगुलको रातो स्वर गुञ्जिन थाल्छ।