Harihar Dahal – U Muskurai Raheko Thiyo

गाउँ भरी नै सम्मानित थियो उ|सामाजिक संघ-संस्था तथा स्थानिय सार्वजनिक महत्वका कुनै पनि कार्यक्रमहरुमा बिना उसको उपस्थिती कार्यक्रमनै खल्लो महसुस हुन्थ्यो|बिभिन्न संघ सस्था को सस्थापक अध्यक्ष,सल्लाहाकार समितिको संयोजक,आजिबन सदस्य,मानार्थ अध्यक्ष जस्ता अनगिन्ती गरिमामय जिम्मेवारि तथा संलग्नताका कारण उ अत्यन्तै ब्यस्त हुन्थ्यो| प्रमुख बक्ताको रुपमा होस् वा पुरस्कार ग्रहणका लागि होस,उ देश-बिदेश समेतका कार्यक्रममा गैरहन्थ्यो|

उसको ब्यक्तित्व,मानवीय संवेदना,उदारता र योगदानका बारेमा देश-बिदेशका पत्रपत्रीका समेतले प्रमुख समाचार का रुपमा लेख्ने गर्दथे|स्वाभिमानी चरित्र,लगनशिलता र अनुशासन को नमुना थियो उ| सधैं हाँसी रहन्थ्यो| रिस घमन्ड र आक्रोस कहिल्यै देखिएन उसमा |
उ बारम्बार यिनै कुराहरु भनिरहन्थ्यो-” कि जन्मनु भनेको मर्न र मार्न का लागि हैन,जिवन बाँच्नु को उद्द्धेस्य श्रृजना र परिमार्जन का लागि हुनु पर्दछ|ध्वंस, बिनाश र हत्या जस्ता अमानबिय अपराध कायरहरुले मात्र गर्दछन|सुधार र बिकासका नाममा बिनास गर्नु अपराध हो|भौतिक बिकास र सामाजिक परिवर्तनका लागि चेतना को बिकास हुनु जरुरी छ”|यिनै सर्बमान्य र सत्य भनाइ र गराइका कारण सर्बत्र संमानित थियो उ|अन्याय, अत्याचार र गरीबि बिरुद्ध का अभियानमा उसले कसैलाई पनि रुवाएन| माया र संयमताको उत्कृष्ट हतियार प्रयोग गरेर संसार जित्दै थियो उ |उसको व्यबहार र चरित्र देख्दा यस्तो लाग्थ्यो कि उ समाज-बिकास र सुधार का लागि बरदान हो |

एक्कासी उ गाउँबाट हरायो|कहाँ गयो,के भयो,कसैलाई पनि थाहा भएन।गाउँ भरी रुवा-बासी चल्यो| प्रशासनले उसलाई भेट्टाउनेलाई ५० लाख रुपैया पुरुस्कार को घोषणा गर्योन|अथक् प्रयास गर्दा पनि उसलाई कँहि-कतै भेट्टाउन सकिएन |

घाँस-दाउरा लिन जाने गाउँलेहरुले हराएको एक महिना पछी एक्कासी उसलाई जङलमा भेट्टाए। छातीमा गोली ठोकी, हात-खुट्टाहरु भाँचेर, रुखमा बाँधिएको अवस्थामा भेटिएको उसको शरीर गन्हाइ रहेको भएपनी अनुहार चाँही अझै मुस्कुराइरहेको थियो |

– क्यालिफोर्निया

Harihar Dahal – Kshatipurti (Nepali Laghu Katha)

हरिहर दाहाल – क्षतिपूर्ति (लघु कथा )

उजेली भक्कानो छोडेर रोई। मुटु पिटीपिटी रोई। सपनाहरू गर्ल्याम्गुर्लुम ढलेर आँफैलाई किचेझैं लाग्यो उसलाई। विवाह भएको तीन महिना बित्न नपाउदै कमाउन गएका श्रीमानको मृत्युको खबर कति हृदय बिदारक भयो होला, त्यो उजेलीलाई मात्र थाहा छ। श्रीमानलाई गर्भवती भएको खबर पनि सुनाउन नपाउदै मृत्युको समाचार पठाउने निर्दयी दैबलाई धारे हात लाएर सरापी। आँसु नसकुन्जेल रोई ऊ| आफन्त, छरछिमेक र गाँउले पनि रोए।

जीवनलाई सरल र सहज बनाउने अभिलाषा बोकेर बिदेस भासिएको अन्तरे बाक्सा भित्र लास बनेर फर्कनुको पीडालाई पत्र पत्रिकाले मुख्य समाचार बनाए। पत्रिकाको सम्पादकले सम्पादकीयमा अन्तरेको ब्यथा र बाध्यताका बारेमा कलम चलाए। पत्र पत्रिका पढ्ने पाठकहरू रोए र सिङ्गो देश रोयो।

राजनीतिक अस्थिरताका कारण देश भित्र अबसरका संभाबनाहरू नहुनु, भौतिक संरचनाहरू भत्काउनु र पुन निर्माण नगर्नु ,नेताहरू जनताप्रति उत्तरदायी नहुँनु, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका आँफै भ्रष्ट हुँनु, दण्डहीनताले पराकस्टा नाँघ्नु जस्ता अराजक परिस्थितिनै आम नेपालीहरूको पलायनको मुख्य कारण हो भनी सम्पादकले ठोकुवा गरे। सम्पादकको ससक्त कलमले देस भरी एउटा ज्वारभाटा नै सृजना गर्यो।।अन्तरेको मृत्यु राष्ट्रिय मुद्दा बन्यो।

मृतकको परिवारलाई उचित क्षतिपूर्तिका साथै मृतकलाई राष्ट्रिय शहिद घोषणा गरिनु पर्ने माग सहित उत्रिएको जनमहासागरको नेतृत्व गर्ने प्रमुख सज्जनसँग सरकारले घुँडा टेक्यो र बार्ता गर्न एउटा आयोग गठन गर्यो। आयोगले निर्धारित समयमा नै जिम्मेबारी पुरा गर्यो।

सरकारको निर्णय अनुसार मृतकको परिवारलाई क्षतिपूर्ति स्वरुप रु. ५० हज्जार तुरुन्त उपलब्ध गराईनुका साथै हेपिएका र दबिएका जनताका आवाजलाई सरकार समक्ष पुर्याउन महत्वपूर्ण योगदान पुर्याए बापत जनबिद्रोहको नेतृत्व गर्ने सज्जनलाई पुरस्कार स्वरुप रु १० लाख दिने घोषणा गर्यो। सरकारको यो निर्णयलाई सबैले मुक्तकण्ठले प्रसंसा गरे। र, यस ऐतिहाँसिक निर्णयपछि जनबिद्रोह पनि शान्त भो।

हरिहर दाहाल,क्यालिफोर्निया

Harihar Dahal – Mike Ra Melinda

माइक प्राय ११ बजे नै लन्चका लागि आउने गर्छ र उ सधै पहिलो ग्राहक हुन चाहन्छ र आज पनि उ सधैंझै सबैभन्दा पहिला नै आयो।

मैले उसलाइ रेस्टुरेन्टमा लन्च गर्न आउने क्रममा केहि नेपाली शब्दहरु ” नमस्ते,तपाँइलाई कस्तो छ,राम्रो छ,मिठो छ र फेरि भेटौला”जस्ता प्रचलित नेपाली शब्दहरु सिकाएको थिएँ र हाम्रा प्रत्येक भेट्घाटमा उ मैले सिकाएका नेपाली शब्दहरु गर्बका साथ सुनाउन चाहान्थ्यो र नेपालीमै संबोधन गर्ने गर्दथ्यो।

तर आज उ सधै को जस्तो खुशी अनुहारमा थिएन। सधैं नमस्कार भन्दै आउने माइक आज मलिनो अनुहारमा थियो र चुपचाप थियो।माइकको अनुहारको हाउभाउ हेरेर मैले अनुमान लगाएँ की आज उ कुनै ठुलै समस्यामा छ|

लामो सास तानेर माइक स्टुरेन्टको बारमा रहेको भित्ता पट्टिको कुर्सिमा बस्यो|उसले मार्गरिता(मादक पदार्थ) अर्डर गर्दै म संग सम्बाद सुरु गर्योि र भन्यो-हरी, म बर्बाद भएँ,सर्बस्व भयो हिजो मेरो।

म अक्क न बक्क परे,आश्चर्य चकित अनुहारमा उसलाई हेरि मात्र रहें,माईक एक्लै बोल्दै गयो,म सुन्दै गएँ-मेरा दु:खहरुमा साथ दिने र मेरा पिडाहरु सुनिदिने केबल उ मात्र एउटी साथी थीइ जसलाई म हरेक यात्रामा साथ लैजाने गर्दथे। कती सपनाहरु थिए मेरा,मैले उस्लाई धेरै ठाउँमा लान र देखाउन बाँकी थियो तर मेरो केहि लागेन। १५ दिन देखि उसको खान प्रति उति सारो रुचि थिएन र शरिरको वोजन पनि घट्दै जाँदै थियो।

एक्कासी स्वाशप्रश्वाशमा अबरोध आए पछि हिजी राती १२ बजे मैले उसलाई अस्पातल लगें तर औषधी बिज्ञानले मार्न नसकिने किटाणुको संक्रमणका कारण उ जिन्दगिको अन्तिम घडिमा रहिछ,ओखतिले बचाउन सकिएन|ज्यान गयो र हिजो राति नै मेलिन्डाको म्रित शरिर लाई अस्पतालमा छोडेर फर्किंएँ म।

कल्पनानै नगरेको खबरले म आश्चर्यचकित भएँ। जोनिको केटि साथि छ भन्ने त थाहा थियो तर उसको नाम मेलिन्डा हो भन्ने चाँही मलाई थाहा थिएन।
मैले सान्त्वन दिने क्रममा जाने र सुने जतिका सहानुभुतीका शब्दहरु प्रयोग गरें र संसारको रितका बारेमा बताएँ |मेलिन्डाको म्रित शरिरको चिरशान्तिको कामना गर्दै मैले माईकलाई कम्लिमेन्ट्री मर्गरिता थपिदिएँ।
धन्यबाद दिदै माईक ले पुन: मेलिन्डा का बारेमा थप्यो र भन्यो-“बिराला जाति मध्धेकि उत्कृष्ट जातिमा पर्थि मेलिन्डा र उसलाई मैले १० महिना अगाडि मात्र किनेको थिएँ”।

– क्यालिफोर्निया

Harihar Dahal – Asahamati (Nepali Laghu Katha)

हरीहर दाहाल- असहमती (लघु कथा)

बैठक ठीक १० बजे शुरु भयो।प्राबासी समाजका प्रतिष्ठित भद्र पुरुष तथा महिलाहरुको सहभागीता रहेको त्यस सम्मानित उपस्थितीले प्रबासमा रहेका नेपालीहरुलाई सँगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए।

यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो।तुरुन्त संस्थाको नाम जुराइयो। तयारी समिती बनाउने निर्णय भयो।मुख्य तयारी समिती,सदस्यता बिस्तार समिति,भाषा, धर्म,जाति,परम्परा,संस्कृति,सभ्यता,भेसभुषा र साहित्य संबर्धन समिति,कोश परिचालन समिति,आकस्मिक सहयोग समिति,खेलकुद समिति,सल्लाहाकार समिति,जनचेतना अभियान समिति,जनसंपर्क समिति,निर्माण समिति,साजसज्जा समिती र आबस्यक भए अझै उपसमितिहरु बिस्तार गर्न सक्ने गरी बिभिन्न कार्य समितिहरु बने। प्रस्तावित नाम र निर्णयहरुलाई सतप्रतिशत उपस्थितिले अनुमोदन गर्‍यो।

सहमती र समर्थनका नाममा बजेको तालिले सभाकक्ष गुन्जयमान भयो।

कार्यक्रम संचालकले बैठकमा उपस्थित भएका संपुर्ण देसप्रेमी समाजसेवीहरुलाई आफ्नो देश र समाज प्रति प्रतिबद्ध भएर आफ्नो जाती र देशका नाममा एकजुट हुन सकेकोमा धन्यवाद दिदै कार्यक्रमको अन्त्यमा आयोजित रात्री भोजमा सरीक हुन आग्रह पस्कदै बैठक अन्त्य भएको घोषणा गरे ।

भोजमा सबैले दिल खोलेर मिस्टान परिकारहरु जिब्रो पट्काउदै खाए र बिकासे मदिरा पिए।आयोजकलाई सबैले हृदय देखिनै आभार ब्यक्त गर्दै प्रसंसा गरे।

भोली पल्ट बिहानै स्थानिय बित्धुतिय संचार माध्यमबाट बैठकमा उपस्थित भए मध्धेका ५० प्रतिशत समाजसेवीहरुले अघिल्लो दिन भएका कुनै पनि निर्णयमा आफ्नो सहमती नरहेको भन्दै बक्तब्य निकाले जहाँ भनिएको थियो-

“हामीहरु कुनै पनि समितिमा नपरेकोमा गुनासो नरहेको,देश र समाज प्रती सधैं बफादार र जिम्मेबार रहेको र आफ्नो जाती प्रती बिनासर्त सहयोग गर्न सधैं तयार रहेको तर हिजो भएको बैठकको निर्णयमा चाँही हाम्रो पक्षको सहमती नरहेको हुँदा अर्को उपयुक्त संस्था गठन प्रकृयामा सामेल हुन आग्रह गर्दछौं।”

Harihar Dahal – Prabhu Malai Bachaunu Hos

घरमा सधैं तनाब हुन्छ। कोलाहल र चिच्याहटमा रात बिताउनु पर्छ। दिनदिनै आमा र बाका बिचमा हुने झै-झगडा, कुटाकुट, लुछाचुडी र भनाभनले मेरो टाउको दुख्छ। बा र आमा बिचमा हुने संबाद सुन्दा र व्यबहार हेर्दा यस्तो लाग्छ कि वहाँहरू दुबै जनालाई अहिल्यै मानसिक अस्पताल लगिहालौं।

तर वहाँहरू दुबैको झगडाको कारण भने म आँफै हुँ। मेरो खुशी र सफल भविष्यका लागि वहाँहरूको लडाईं केन्द्रित छ।

संभवत संसारकै सबै भन्दा बढी भाग्यमानी सन्तानमा पर्छु म किनकि दुबै अभिभावकको संपूर्ण जिन्दगी केबल मेरो उज्जल भविष्यका लागि मात्र समर्पित छ। र वहाँहरू केबल मेरो भलाईका लागि मात्र लड्नु हुन्छ। लुछाचुडी गर्नु हुन्छ र एक अर्काको टाउको फुटाउनु हुन्छ।

आमाले मेरो पढाईमा उचित ध्यान नदिएको आरोपमा बुवाले आमाको कंचडमा दाबिलाले हिर्काएको घाउ अझै निको भएको छैन । आमाले चिथोरेका नंग्राका ढोबहरू बाको अनुहारमा अझै स्पस्ट देखिन्छन।

वाको कथन छ- तँ गतिछाडा आइमाईले छोरालाई बिगार्ने भईस। न समयमा खान दिन्छेस, न समयमा स्कुल पुर्याउछेस। जुम्रा हेरेर बस्न मै तँलाई फुर्सद छैन। थुतुनोभरि नाना थरीका बिषादीहरू धस्यो। । अनुत्पादक काममा समय बितायो। ज्ञानगुणका कुरा भन्दा बढी मतिभ्रस्ट हुने कुराहरूमा ध्यान दियो। अर्काको देखासिकी गर्यो।
आफ्नो भन्दा अर्काको पारीबारले के गर्छ भन्ने कुरामा बढी चासो दियो। कल्ले के लायो, के खायोको चर्चा गर्दै समय बर्बाद गर्यो। आफुले सुको पढेकी छैनस भन्दैमा छोरालाई पनि हली बनाउने बिचार छ?

आमा प्रतिवाद गर्दै भन्नुहुन्छ- तिमी नकच्चरा बुढालाई बहुला कुकुरले झैं गाँउ चहार्दै ठिक्क छ। काम दाम केही छैन। घरभित्र मुन्टिनासाथ तातो भात चाहिने बडाहाकिमलाई घर परिवारको चिन्ता छैन। बिहानदेखि बेलुकासम्म नागरिक सर्बोच्चताका नाममा भाषण ठोक्यो र बेलुका घरभित्र छिर्नासाथ श्रीमतीलाई रुवायो। तीन थाल भात घिच्नासाथ कुम्मकर्ण झैं सुत्छौ र बाघले घुरे झैं घुरेर हामीलाई सुत्न दिदैनौ। घरको काम जति सबै मै बुढीले गर्नु पर्ने। छोराको हेरचाह मै बुढीले गर्नु पर्ने। ऐंचो-पैचो, मेला-पात, छर-छिमेक मैले नै चलाउनु पर्ने। पाहुना-पासो मै बुढीले धान्नु पर्ने। तिमी बुढा त बरु मरेपनि हुन्थ्यो ! एक्लै पाल्थे छोरालाई!

यी संबादहरू मैले बच्चादेखि नै सुन्दै आएको हुँ र निरन्तर सुनिरहेको छु। यस्तो लाग्छ- बा र आमा मेरो भविष्य भन्दा पनि वहाँहरू आफ्नै ब्यक्तिगत सुख, सुबिधा र आत्मा सन्तुष्टिलाई बढी महत्व दिनु हुन्छ। छोरालाई कसले बढी ध्यान दिन्छ भन्ने अहँकार र घमण्डको लडाईका बिच मेरा बाल अधिकारहरू खोसिएका छन। आरोप र प्रत्यारोपको युद्धमा म मिचिएको छु। घुन जस्तै पिसिएको छु।

मेरा खुशीका नाममा मलाई दिनदिनै रुवाँउने काम भएको छ। मेरो भविष्यका नाममा मेरो भविष्य बर्बाद गर्ने काम भएको छ। म चाहन्छु कि मेरा बा र आमाले मेरो भविष्य र सफलताका लागि भन्दा आफ्नो कर्तब्यमा ध्यान दिनुहोस्। जिम्मेबार अभिभाबकले गर्नु पर्ने कर्तब्य र कृयाकलापका बारे छरछिमेकि बाट सिक्ने प्रयास मात्र गरिदिए पनि मेरो भविष्य सुन्दर हुन सक्थ्यो कि ?

प्रभु! मेरा बा र आमाको मनसिकतालाई परिवर्तन गरिदिंदै सदबुद्धि दिनुहोस्। मलाई शान्तिले बाँच्न, हुर्कन, रमाउन, बढ्न, पढ्न र गरिखान पाँउने अधिकार सु-निश्चित गरिदिनु होस् ! यस घरको सदस्य भएर जन्मनुमा मेरो के दोष प्रभु? लौन मलाई बाँच्न दिनुहोस्! म हजुरप्रति जीवनभरि अनुग्रहित हुनेछु। प्रभु, मलाई बचाउनु होस्!नागरिक सर्बोच्चताका नाममा भएपनी बचाउनु होस्!

– क्यालिफोर्निया