Aayam Phuyal – Kapal: Ek Charcha Paricharcha

आयाम फुयाल – कपाल: एक चर्चा परिचर्चा

“के गरेर काट्या यो कपाल? न पछाडि काट्या छ, न अगाडि छोट्या’को छ। भोलि मिलाएर आउने त्या’, नत्र घरतिर बसे हुन्छ”, असेम्ब्ली सकेर क्लास तिर जादैँ थिए; डि. आई. को यो कठोर र रुड आवाज कानमा ठोक्कियो। एकमन त गएर; ‘सर, यो कपालले तपाईँको के बिगार्दियो, खाली के कपाल काट्, कपाल काट् भनिरा’, काटेकै त छु नि जटाधारी बाबा जस्तो बन्या’ त छैन नि, अलिक अगाडि पछडि राख्न मन लाग्छ त राख्न नपाई?’, भन्दिउ जस्तो लाग्या थियो। तर अहँ, “हुन्छ सर!” बाहेक न त मुखबाट केही निस्क्यो, न त आँखा नै ठडियो। विचरा, आँट त्यति साह्रो कहाँ छिप्पिसक्या हुनु। म क्लासतर्फ सरासर अघि बढे।
“मे आइ कम इन सर?” ढोकाको क्यार् आवाजको ध्वनि चिर्दै भने।
“कहाँ ग’को हिरो तिमी?” सरको आवाजमा नम्रता थियो।
“सर, त्या’ डि. आई. सरले बोलाउनुभा’थ्यो।”
“किन नि?”
सरको यस प्रश्नको जवाफ दिन गाह्रो भयो। त्यहीपनि भनेँ, “कपाल काट् भन्नलाई बोलाउनुभ’को, सर!”
सरको अनुहारमा व्यङ्ग्यात्मक र करुण हाँसो एकसाथ दौडियो र आवाज निस्क्यो, “ल, ल भित्र आउ”। सर एक-दुई मिनेट यत्तिकै केही सोचे झैँ अलमल्लिरहनु भयो र अन्त्यमा आवाज फुट्यो, “आज एउटा सानो कुरा गरौ है त, अरु सेक्सन भन्दा अलि अगाडि नै छौ कोर्समा पनि हामी।” विद्यार्थी न परियो ठुलो तालीका साथ सरको कुरालाई सम्बोधन गरियो!
“ल, ल ठिक छ, एउटा कथा भन्छु अनि त्यसको अलि चर्चा परिचर्चा गरौँला।
‘के हो तँ, तलाई कपाल काट्नु पर्दैन, दादागिरी देखाउन आ’को त या’? भोलि, कि कपाल काटेर आउनी कि ड्याडीलाई लिएर आउनी”, अफिस कोठामा छिर्न लागेको एउटा शिक्षकले आफ्नो स्कुलको डि. आई. को उक्त आवाज सुन्यो। व्यङ्ग्यात्मक मुस्कानका साथ उसले अन्दाज लगायो कि फेरी कुनै विद्यार्थीले गाली खायो, नमज्जाले! शिक्षक सरासर अफिस कोठामा छिर्यो। अनि भित्त्तामा देख्यो एउटा तस्वीर जसमा आइन्स्टाइनको जिङ्ग्रीङ्ग कपाल प्रस्टै देखिन्थ्यो। र साथै आइन्स्टाइनको एउटा हातले आफ्नो दिमागमा पोइन्ट गरिराखेको थियो। शिक्षक कसैले थाहानपाउने गरी मुस्कुरायो।’
कथा सकियो।”
सरले भन्नुभयो, “कथा त बुझियो होला पक्कै पनि। म आज तिमीहरुलाई यस्तै कुरा भन्छु केही। एउट स्टुडेन्टको मुख्य गहनालाई अनुशासन भनेर चिनिन्छ। त्यही अनुशासनको कुनै पोइन्ट्मा लेखिएको होला या नहोला (मैले अहिलेसम्म पाएको छैन लिखित अनुशासनका पोइन्टहरु), कपाल काट्नुपर्छ या यस्तै केही! मलाई वास्तवमै अचम्म लाग्छ, कपालमा कुन किसिमको अनुशासन लुकेको हुदो रै’छ?! खै, कपाल पालेपछी विद्यार्थी नपढ्नी हुँदो रै’छन कि अथवा कपाल लामो भएमा विद्यार्थीको बौद्धिक क्षमता घट्दो रै’छ कि!? त्यसो हुँदो हो त, हेलेन केलर भनेर आज संसारले चिन्दैनथ्यो होला, पारिजातको ‘शिरिषको फूल” पनि यत्तिकै झरिजान्थ्यो होला।”
“कपालले गर्दा विद्यार्थीको अनुशासन भङ्ग हुन्छ रे। एउटा विद्यार्थी अननुशासित हुन्छ रे! खै, के भन्नु अचम्म लाग्छ, तिनै लामो कपालको विरोधिहरु जीवनको कुनै मोडमा विद्यार्थीलाई बुद्ध जस्तो बन्नुपर्छ भनिरहेका हुन्छन। अब यसो सोचौँ त हरेक तस्वीरमा बुद्धको कपाल कति लामो देखाइएको हुन्छ? अब के बुद्ध पनि अननुशासित?! बुद्ध मात्रै किन प्राय: सबै देवीदेवताको कपाल लामो नै देखाइएको हुन्छ तस्वीरहरुमा; अब के सारा देवीदेवता अननुशासित त? सायद, यसको जवाफ ‘बढी बाठो हुन्छस् त?!’ नै पाइन्छ होला।”
“सर, रुल हो नि त स्कूलको, फलो गर्नुपरिहाल्छ नि”, सम्बृद्धले आँट गर्यो एकछिनको सरको निरन्तर बोलाईको धाराप्रवाहलाई रोक्न! सरले सम्बृद्धलाई मात्र मुस्कान दिनुभयो र “बस” भन्नुभयो। सर ४५ सेकेन्ड जति घोरिनु भयो अनि शब्द निस्क्यो मुखबाट नम्रतापूर्वक, “सम्बृद्ध, मान्छेकालागि रूल बन्या कि रूलका लागि मान्छे?” शान्ति…
सम्बृद्धको रातोपिरो भयो अनुहार!
“एक हिसाबले तिम्रो कुरा नि ठीकै हो। तर यहाँ हेर त, मेरो कपाल नि लामो छ, मेरो साइडलक नि चुच्चै छ; तर तिमी त मैसँग पढिरहेका छौ त फेरी!?” फेरी शान्ति…
“कुरा के भन्दाखेरी बाबु, अलिकति कुरालाई मोडौँ। अमेरिका, फ्रान्सजस्ता मुलुक बाट सुरु भयो टाई लगाएर पढ्न जाने प्रवृत्ति। तर आज उनीहरु बिना टाई विद्यालय जान्छन् र हामी सास नै अड्किने गरी टाई कसेर। कतिलाई त निकै नै उकुसमुकुस भएको हुन्छ। निकालेर फाल्दिउ जस्तै लाग्छ, तर सक्दैन। त्यसैले, मान्छे वा कुनैपनि संघ, संस्था समयानुसार चल्न सक्नुपर्छ। उनीहरुको देशमा अहिले विद्यार्थीले टाई लगाउन छाडे यसको मतलव यो हो त: के तिनीहरु अननुशासित भए? के तिनीहरुको बौद्धिक् क्षमता घट्यो? अवश्य छैन नि, उनीहरुलाई टाई लगाउँदा अप्ठेरो महसुस भयो, लगाएनन्; कतिलाई सजिलो हुन्छ लगाउछन अझै पनि। कपाल पनि टाई जस्तै एउटा बिम्ब न हो। त्यसैले, सम्बृद्ध रूल, रूल भन्नुभन्दा पनि यो आफ्नो लागि कत्तिको उपयुक्त हुन्छ, कतिको यसले आफूलाई कम्फरटेबल गराउँछ भन्ने कुराको ध्यान राख्नुपर्छ जसकारण आफ्नो एकाग्रता (पढाइपट्टिको होस् या अन्य कुनै) स्थिर रहन्छ।”
“कपाल पाल्दैमा विद्यार्थीले पढ्दैन, विद्यार्थी बिग्रन्छ भन्ने मनशाय जुन छ हाम्रो समाजमा त्यसको म एकदमै विरोधि हुँ। लन्डन, नर्वेतिरको विश्वविद्यालय जाऔँ त्यहाँ कत्तिका कपाल लामा हुन्छन्, कतिका दारी लामा हुन्छन। अब उनीहरुलाई त्यस्तो कपाल मनपर्छ, राख्छन्; त्यसले के असर गर्छ र उसको पढाइमा!? ऊ त झन खुसीसाथ आफ्नो पढाइ अघि बढाउन सक्छ। यसो सोचौँ न, के सारा विश्वविद्यालय टपर, गोल्ड मेडलिस्ट, नासाका वैज्ञानिकको टाउकोमा कपाल थिएन त अथवा के उनीहरुको कपाल लामो थिएन होला त? त्यसैले, कपाल पालेर, नपालेर पढाइमा कुनै पनि किसिमको वाधा अड्चन आउदैन। अब कतिले भन्लान, नुहाउन, स्याहार गर्नपर्दा पढ्ने समय बर्बाद हुन्छ! त्यस्तालाई मेरो एउटै मात्र प्रश्न छ कि: “के छोरीमान्छे कोही पनि पढ्दै पढ्दैन् त, के उनीहरुमा बौद्धिकता शुन्य छ त?” यसको जवाफ नि, ‘त जान्दछस् धेरै’ बाहेक केही आउला जस्तो मलाई लाग्दैन।”
“एउटा विद्यार्थीलाई कपाल पाल्न मन छ, के भयो त पालोस्। उसले पढेन, लेखेन भने पो कराउनु जायज हुन्छ त, अब कपाल लामो पार्‍यो अथवा कपाल ठडायो भनेर कराउनु चै वास्तवमै निकै नै अनुचित हुन्छ। त्यसले, विद्यार्थीमा पनि एक त, त्यो गाली गर्नेप्रति नेगेटिभिटी उब्जिन्छ अर्को त, उसको मनोविज्ञानमा पनि आघात पर्दछ। त्यसैले, विद्यार्थीको बाहिरको हाउभाउ भन्दा नि उसभित्रको बौद्धिक क्षमतालाई मध्यनजर राखेर उसलाई त्यही तवरले प्रोत्साहन गर्नुपर्छ। उसभित्रको पोटेनसियालिटीको कदर गरिनुपर्छ।”
“अब मैले यसो भन्दा तिमीहरु कसैको मनमा अब त्यसो भए त विद्यार्थीले जे गरेर हिडेँ नि भै’गयो नि, क्लासमा डेडलक हानेर आए नि भयो, कपाललाई डाँफेजस्तो रङ्गाएपनि भयो भन्ने किसिमको सोच आउला। अझ त कतिले के पनि सोच्लान भने ‘जन्म्या’ नि नाङ्गै, मर्ने नि नाङ्गै के खान बीचमा चैँ लुगा लगाउनु!?’”
“सबै जना नाङ्गै हिडेँ नि हुन्थ्यो; तर समय त्यस विन्दुसम्म पुगिसकेको छैन। मैले अघि नै भने नि समय सापेक्षिक हुनुपर्छ भनेर; त्यसैगरी यस्ता कुरा पनि विस्तारै संशोधन हुदै जान्छन्। के थाहा समयको कुनै विन्दुमा हाम्रा भावी पुस्तालाई लुगा भन्ने पनि केही कुरा हुन्छ भन्ने थाहा हुदैन कि!?”
“अत: मैले यत्रो क्लास लिएर हामी रुलका लागी नभै’कन, रूल हाम्रा लागी हो भन्ने कुरा अर्थाएँ। तर म आफै भोलि क्लासमा डेडलक बनाएर आउन सक्दिन किनभने म त्यो समयको बिन्दुमा पुगिसकेको छैन, तसर्थ म अहिलेको समयलाई अङ्गाल्न बाध्य हुन्छु। तर यसो भन्दैमा सधै आफ्नो इच्छालाई दबाउनु चै हुन्न, आफूलाई समयानुसार बदल्न चैँ सक्नुपर्छ हैन भने अहिलेको बाइसौँ शताब्दी छेउछाउको मानव सभ्यता फेरि गएर बर्दिया र रुकुमको जङ्गलमा विसर्जन हुन्छ।”
टिङ् टिङ् टिङ् टिङ् टिङ्…!
सरको धाराप्रवाहले, “ल ल है त यस्तै हो, सबै मिल्छ एकदिन, पढ्न चैँ राम्रोसँग पढ्नुपर्छ तिमीहरुले”, भन्दै विसर्जन लिन्छ।
म उठेर सबैभन्दा अघि दुई हात पिट्छु र सबै साथीहरु नि ताली पिट्छन्। सर हाँस्दै बाहिरिनुहुन्छ।

-आयाम फुयाल
कक्षा-१२
सैनिक आवासीय महाविद्यालय
सल्लाघारी, भक्तपुर