माधव ‘सयपत्री’ – छापामार नबनेर ठीकै गरेँ
मुटुरोगले च्याप्दैलगेपछि विप्लव ओछ्यान परेको थियो । छोराछोरी हुर्काएर मर्ने उसको इच्छा नै मर्दैमर्दै गएको थियो । श्रीमतीको झर्कोफर्को निकै बढ्न लाग्यो । श्रीमतीको मनले भन्न लागेको थियो, ‘यिनलाई हेरचाह गर्न नपरे म ढुक्कले खेतपाती, वस्तुभाउ गर्दी हुँ ।’ युद्धरत पार्टीको समर्थक भएपनि ऊ छापामार बनेको थिएन । केही समय विश्वासपात्र भएर पार्टीका गोप्य कागजपत्र र चिठी सम्बन्धित ठाउँसम्म पुर्यायो । एक्कासि उसलाई रोगले गाँज्यो । छापामार बन्न सकेन । छापामार बन्न नसक्नुकोपश्चातापले उसलाई खङ्गार्दै थियो । माओ, क्यास्त्रो, चे ग्वेभारा, गोञ्जालो आदिका आत्मसंस्मरण पढ्दा उसलाई युद्धभन्दा उत्तम बाटो अरू छैनजस्तो लागेको थियो । सोच्थ्यो, ‘देश र जनताको लागि मर्न पाएको भए मेरो पनि सालिक बन्थ्यो होला ।’
सुनेको थियो, युद्धमा सहादती हुनेहरूको सालिक बन्ने भएको छ रे ! त्यो लहरमा उसको पनि जिउँदोजाग्दो सालिक ठडिन्थ्यो होला । सालिकको घाँटीमा माला पहिर्याइन्थे होलान् । कमरेड इशानले उसलाई दुइदिन फकाएको थियो । विप्लवलाई आश्वासन दिँदै भनेको थिो, ‘विप्लव दाइ, हाम्रो गौरवशाली युद्धदस्तालाई तपाईंजस्ता विचारशील मान्छेको खाँचो छ । परिवारको जिम्मा पाटीले लिन्छ, होलटाइमर भएर हिँड्नुस् । उपचार पनि पार्टीले नै गरिदिन्छ । हामीलाई तपाईंले डोर्याउनुपर्छ दाइ !’ इशानले हस्तक्षेपै गरेपछि भनिदिएको थियो, ‘तिमी ढिपी नगर भाइ । जनताको मुक्तिको लागि युद्धमोर्चामा सम्लग्न हुने मन भएपनि मलाई रोगले गाँज्दैलगेको छ । म भूमिगत भएर खट्न सक्दिनँ ।’ इशान थप केही नबोली हिँडेको थियो ।
केही दिनपछि इशानले दोहोरो भिडन्तमा सहादत प्राप्त गर्यो । पार्टीले सम्मान गरी उनको सालिक निर्माण गर्ने भयो । यता विप्लवलाई रोगले च्याप्दैलग्यो । देश सेफ्ल्यान्डिङ्गतिर लाग्यो । पार्टीले यति छिट्टै युद्ध रोकेर शान्तिप्रकृयामा आउने कुरा उसले सोचेको पनि थिएन । इशानको सहधमिर्णी मृदुला उसलाई हेर्न आउँदा उनले भनेका चोटिला कुराले उसको मन शतचूर्ण भएको थियो । अहो ! कति साहसी महिला ! श्रीमान् मृत्युका पीडालाई कसरी लुकाउन सकेकी ! उनले भनेकी थिइन्, ‘दाइ, उतिबेला हाम्रो गौरवशाली जनयुद्धलाई नजरअन्दाज गर्नुभो । त्यतिबेलै युद्धमा लागेको भए तपाईंको उपचार पार्टीले गर्थ्यो । अब हामीले सिफारिस गर्ने कुरा भएन ।’
‘मृदुला ! पति विछोडको पीडालाई हृदयको कुन कुनामा केले छोपेर राखेकी छ्यौ ? आइमाईलाई कमजोर सम्झन्थेँ । अहँ, होइन रहेछ । उनी इशानभन्दा पनि आँटिलिरहिछन् ।’ मृदुला हिँडेपछि उसको मन नराम्ररी हुँडलियो । विप्लवले इशानकी रक्तकणिका सानी छोरीको सुन्दर अनुहारमा इशान नै देखेको थियो । छुट्नेबेला मृदुलाले भनेकी थिइन्, ‘दाइ, श्रीमान्को वीरगतिले मलाई झन् कठोर बनाएको छ । समयले घाउको खाटा पुर्दैल्याएको छ । अहिले त मलाई कमरेड इशान मेरै साथमा हुनुहुन्छ जस्तो लाग्छ । दाइ, तपाईं छिटै निको हुनुस् । मेरो शीध्र स्वास्थ्यलाभको कामना ।’
उसले निरास भएर भनेको थियो, ‘बैनी मृदुला, मेरो रोगको कारणले युद्धमोर्चामा जान सकिनँ । मेरो शरीर गल्दैगएको छ । धेरै दिन बाँच्दिनँ होला । विजयका लागि शुभकामना ।’ उसले यसोभन्दा मृदुलाको अनुहार मलिन भएको थियो । उनीहरूबीच एकछिन मौनता छायो । मृदुलाले ऊसित बिदा मागिन्, ‘दाइ, म तपाईंलाई हेर्न आएकी । शहिदहरूको सालिक निर्माणबारे मिटिङ्ग हुँदैछ । छिट्टै पुग्नुछ । सक्नुहुन्छ भने जाऊँ ।’ उसले भन्यो, ‘मृदुला, म जान सक्दिनँ । सास बढेर हिँड्नै हुँदैन ।’ मृदुला हिँडिन् । ऊ उनी हिँडेको हेरिरह्यो ।
हतियार बिसाएर पार्टी शान्तिप्रकृयामा आयो । पार्टी सरकारमा गयो । गैह्रीखेत बेचेर श्रीमतीलाई साथ लिई विप्लव उपचारका लागि काठमाण्डु गयो । मुटुको उपचार खेत बेचेको पैसाले मात्र सम्भव थिएन । उसले पार्टीमा लागेका गाउँकै साथीहरूलाई सम्पर्क गर्न खोज्यो । पार्टीबाट केही आश पनि गरेको थियो, पार्टीले उसको उपचारका लागि धेरथोर सहयोग जुटाइदिन्थ्यो कि ! तीनचार दिनपछि केही साथीसँग उसको सम्पर्क भयो । विशाल, क्रान्ति, प्रहार, एटम, चट्टान र हुङ्कार अस्पतालमै भेट्न आए । डाक्टरले रगत, दिसा, पिसाब, खकार परिक्षणका लागि स्याम्पल लिए । तर परीक्षणको रिपोर्ट आएपछि मात्र अस्पताल भर्ना गर्ने भए । केही पत्ता औषधी दिएर पर्सिपल्ट मुटुको परीक्षण गर्न बोलाए । अब उसलाई अस्पताल बस्न आवश्यक थिएन ।
तीनदिन कता गएर बिताउने होला, ऊ सोचिरहेको थियो । श्रीमती पनि उसकै मुखमा हेरिरहेकी थिइन् । काठमाण्डुमा उसका खासै नजिकका आफन्त थिएनन् । भए पनि कसलाई दुःख दिनु ! साथीहरूलाई हप्पति भन्न सकेन । विशालले सदाशयता देखाएर भन्यो, ‘आज हाम्रोमा जाऊँ है दाइ !’ क्रान्तिले थप्यो, ‘हैन आज हामीकोमा जाने । हुँदैन त भाउजू ?’ प्रहारले झनै आदर गरेर भन्यो, ‘तिमीहरूकोमा भोलिभोलि जानुहुन्छ । आजचैँ म लान्छु ।’ एटम चट्टान र हुङ्कारले पनि कर गरे । ‘हैन, यिनीहरू मलाई आफ्नो कोठामा लैजान किन यति आतुर भएका हँ ?’ कस्कोमा जाने उसले तत्काल निर्णय गर्न सकेन । श्रीमतीको अनुहारमा हेरिबस्यो । श्रमतीले पनि उसकै मुख ताकिन् । सोच्यो, ‘साथीहरूको डेरा साँघुरो होला । बिरामी राख्न गाह्रो पनि हुन्छ । पानीको समस्या होला । यस्तै त हो काठमाण्डुको हाल । यी साथी पनि डेरै गरी बसेका छन् । काठमाण्डुमा बाँच्न यिनीहरूलाई कति गाह्रो होला । झन् बिरामी पाहुना लाग्दा कति अप्ठेरो हुन्छ !’
विशाले नै जित्यो । त्यो दिन उनीहरू विशालकोमा जाने भए । अरू साथी बिदा भए । विशालले ट्याक्सी बोलायो । गंगालालबाट निस्केर ट्याक्सी चत्रपथ आइपुग्यो । बाँया मोडिएर त्यो चाबेलतिर हुँइकियो । भित्रीबाटो छिरेर ट्याक्सी विशालनगर पुग्यो । उनीहरूलाई चोकमा ओरालेर ट्याक्सी हिँड्यो । विशाल अघि लाग्यो । केही पर पगेपछि एउटा घरको मुलगेट खोल्यो । विप्लवलाई लाग्यो–‘विशालले डेरा त राम्रै घरमा लिएको रहेछ ।’ बैठक कोठामा पुर्यायो ।
बैठककोठाको डेकोरेसन देखेर विप्लवलाई सकसक लाग्यो । ‘हैन, विशालले कति पैसा कमाउँछ हँ ? केमा जागिर खान्छ होला विशाल ?’ भित्रैबाट आएको सकसकीलाई उसले रोक्न सकेन । सोधिहाल्यो, ‘विशाल, तिमीले कोठा त राम्रो लिएका रहेछौ, कसरी खर्चको म्यानेज गरेका छौ हँ ?’ विशालले भन्यो, ‘यो घर मेरै हो दाइ । क्रान्ति, प्रहार, चट्टान, एटम, हुङ्कारले पनि घर बनाएका छन् । ‘छापामार बनूँ दाइ’भन्दा तपाईंले टेरपुच्छर लाउनुभएन । मौकामा चौका नहाने कहिले कमाउने ! सोझो औंलाले ध्यू कहाँ आउँछ र ! ज्यान हत्केलामा राखेर पार्टीमा लाग्दा पनि नकमाए कहिले कमाउँने ? मैले मास्टर र कर्मचारीहरूबाट लाखौँ रुपियाँ चन्दा उठाएँ । खुद्रामसिना चन्दा त कति हो कति । विस्थापित गराइएका मान्छेले छोडेको जेथोमेथोको के हिसाब ! सफायासम्मको कार्वाही गर्ने चिठी पठाएपछि पैसा बुझाउन उनीहरू नै आउँथे । पार्टीलाई के थाह, कस्ले कति चन्दा उठायो । ‘यत्ति उठ्यो’ भन्दियो, टन्टै साफ ।’
विप्लव एकैचोटि भिरबाट खस्यो र तल चट्टानमा बजारियो । ‘जनताको मुक्तिका लागि लडेका छापामारहरूको यस्तो करतुत ! शर म लाग्नुपर्नेमा गर्व पो गर्छन् !’ त्यो घृणित प्रवृतिको घृणा गर्ने उसले शब्दै भेटेन । त्यहाँ केही भन्ने कुरा पनि भएन । विशालकी श्रीमती आएर नमस्ते गरिन् । केटाकेटीले पनि ‘नमस्ते अंकल’ भने । त्यो रात त्यहीं बिताउन उनीहरू बाध्य थिए । खाना खान बोलाउँदा विप्लवकी श्रीमतीको अनुहारमा बादल लागेको थियो । उनीहरूसँगै भित्र पसे ।
विशालको घरको भोजनपरिकार देख्दा उसलाई लाग्यो –विशाल राजसी भोजन गर्छ । सुत्ने कोठाको झकिझकाउ देखेर ऊ दिग्भ्रमित भयो । भनिसाध्ये छ र ! रातभरि उसको मनमा कुरा खेलिरहे । ‘अचम्म ! मनपरि चन्दा उठायो, आफूखुसी राख्यो । न पार्टीलाई सबै बुझाउनुपर्ने न सरकारलाई चन्दाको कर तिर्नुपर्ने । नेपालीहरूले आफ्नो गाँस काटेर डराईडराई दिएको चन्दाले को उँभो लागेछ ? कस्ले महल ठड्याएछ ?’ यतिबेला उसले सबै कुरा बुझ्यो । पार्टीले जुराइदिएको आफ्नै नाम ‘विप्लव’ देखि उसलाई धृणा लाग्यो । पार्टीमा कस्ता अवसरवादी पनि लागेका रहेछन्, त्यो पनि बुझ्यो । पुग्यो, उसलाई यत्ति बुझ्दा पुग्यो ।
भोलिपल्ट झिसमिसेमै उठ्यो । विप्लवको मन भने एकतासले पोलिरहेको थियो । उसलाई त्यहाँ बस्नै मन लागेन । मनले अर्कै कुरा भनिरहे पनि मुखले भनिदियो, ‘विशाल राम्रो प्रगति गरेछौ । खुसी लाग्यो । अभैm प्रगति होस् । हामी फुपूकी छोरीकोमा जान्छौँ । त्यहाँबाट अस्पताल पनि नजिकै पर्छ । भोलिलाई सजिलो हुन्छ । ल त हामी जान्छौँ है !’
उनीहरू मन भारी पारेर हिँडे । ‘साम्यवादको लक्ष्य लिएको पार्टीका कार्यकर्ता यति तल गिर्न सक्छन् ? कसरी पत्याउने ?? नपत्याऊँ, आफ्नै आँखाले देखिसक्यो । छापामार नबन्दाकोपश्चात्ताप छिनभरमै उसको मनबाट नामेट भएर बढारियो । छापामारप्रतिको उसको मोह भङ्ग भयो । सोच्यो, ‘छापामार नबनेर मैले शतप्रतिशत ठिक गरेँछु ।’
श्रीमतीले उसलाई डोर्याएर टेम्पु लाग्ने ठाउँसम्म पुर्याइन् । उसको मनले हिसाब सोध्यो, ‘पार्टीका कार्यकर्ताहरूले देशभरिका कर्मचारी, शिक्षक, व्यापारी र सर्वसाधारणबाट कति अन्नपात र पैसा उठाए होलान् ? यसको हिसाब कोसँग छ ?’ उसले अड्कल गर्न पनिसकेन । निरासनिरास उनीहरू नारायणगोपाल चोकतिरै लागे । आकाश धँमिलिएर रन्चे भएको थियो ।