Bishnu Bhandari – Bishwas

बिष्णु भण्डारी – विश्वास

घामका अन्तिम किरण पनि अस्ताइसकेका थिए ।
केहीबेर अघिसम्म उत्तरतिर देखिने सेतो हिमाल सुनौला घाममा चम्किँदै थियो । पहाडको उचो शिखर क्षितिज चुम्ने रहरले मुस्कुराएझैँ लाग्थ्यो । अहिले भने त्यहाँ त्यस्तो छैन । घुर्मैलो घुर्मैलो क्षितिजसँगै पहाड उदास ठडिएको छ । हिमालको अगलबगल वादलका स–साना टुक्राहरू तैरिँदै छन् । जसले गर्दा हिमाल पनि झरिलो र चम्किलो हैन फिका र निराश देखिएको छ ।
सदाझैँ आज पनि त्यो अनाम बाटोमा मान्छेहरूको ओहोर दोहोर बढेको छ । सहरसँगैको गाउँ । साँझको बेला यहाँ सधैँ यस्तै देखिन्छ । जानेभन्दा आउने बढी । कमिलाको ताँतीजस्तो । आउनेहरू प्रायः सबैले केही न केही समाएका छन् । एकाध मान्छेबाहेक सबैका हातमा पोकापन्तरा छन् । कसैको हातमा तरकारी त कसैको हातमा फलफूूल । कसैको हातमा सुफत मूल्यको चावल त कसैको हातमा छोराछोरीका लागि माया गरेर किनेको कापीकलम । अनि केहीको हातमा मासु त खोकिलामा जतनले लुकाएर राखेको सस्तो रक्सीको सिसी ।
मान्छे हिँडेका छन् । सयौँ वर्षदेखि जसरी हिँडे उसैगरी हिँडेका छन् । कोही मुस्कुराउँदै हिँडेका छन् । कोही थकित अनुहार लिएर फर्किंदै छन् । कोही पीडामा डुबेका छन् । कोही खुसीले गफिँदै छन् । कोही जीवनदेखि नै अघाएका छन् । कोही उदात्त जीवनको खोजीमा निस्किएका छन् । जो जीवनदेखि भाग्न खोज्छन् बाटो छेउ उभिएर उदास नेत्रले टाढा हेर्छन् । कोही उभिएर खुइय सुस्केरा हाल्छन् । जिन्दगीको भारि बोक्दाबोक्दा थाकेर होला प्रायः वृद्धहरू एक्लै एक्लै बरबराउँछन् । एक्लै एक्लै लडखडाउँछन् र सुस्त सुस्त बाटोबाट ओझेल पर्छन् ।
त्यही भीडमा हतारहतार गर्दै धनकुमारी पनि फर्किंदै छ । पुरेत बाजेले जुराइदिएको नाम हो यो । तर यो नामप्रति घृणा छ उसलाई । गरिबीले आहात् बनाएको छातीमा यो नामले च्वास्स घोच्छ । तर पनि यही नामले बोलाउँछन् सबै जना । ऊ फर्किंदा अरूहरूको जस्तो उसको हातमा पोकापन्तरा छैन । तरकारी र फलफूले भरिएको झोला छैन ।
ऊ आई र छोरोलाई सुमसुम्याई । छोरो लामो समयदेखि उसकै प्रतीक्षामा थियो । आमाको आगमनले ऊ फिस्स हाँस्यो । हाँस्दा पहेँला र फुक्क उठेका गालाबीचमा सेता दाँत हिमालजस्तै चम्किए । उसले नस्याहारिएको छोरोको कपाल मिलाइदिई । गाला सुमसुम्याई र म्वाइँ खाँदै भनी– ‘छोरो ! किन बाहिर ? हेर त लामखुट्टेको बथान ।’
‘मैले आकाश हेर्दै थिएँ आमा !’ उसले शान्त स्वरमा भन्यो ।
उसले सुनिन सायद । अथवा सुनेर पनि प्रतिक्रिया जनाइन । छोरोलाई लिएर भित्र गई र बत्ती बाली । बत्तीको मधुरो प्रकाशमा कोठा मुस्कुरायो । उसले खुइया सुस्केरा हाली र पोल्टाबाट बिस्कुट निकालेर छोरोलाई दिई ।
‘आमा ! तपाईंले पनि खानोस् न ।’ बिस्कुट खाँदै छोरोले भन्यो ।
‘मलाई भोक छैन छोरा ।’ उसले सुस्तरी भनी । हुन पनि उसलाई भोक थिएन । दिनभर ठेकदारकोमा सावेल चलाउँदा चलाउँदा ऊसँग भएको भोक मेटिएको थियो । दिउसो एककप चिया र आधा पाकेट बिस्कुट खाएकी हो उसले । त्यसपछि दिनभर गिटी र बालुवासँग कुस्ती खेलीरही । सँगै कामगर्ने साथीहरूले चाउमिन खाए । कसैले आलु र चना–चिउरा खाए । उसले त्यस्तो केही खाइन । एउटा बिस्कुट पनि आधा बाँधेर पोल्टामा राखी ।
‘रोटी खायौ नि दिपु ?’ स्टोभ सल्काउँदै उसले सोधी ।
‘खाएँ आमा !’ छोरोले छोटो उत्तर दियो ।
उसले खाना पकाई । छोरोलाई खाना ख्वाई र आफूले खाई । भाँडा माझ्दा र सरसफाइ गर्दा रातको नौ बजिसकेछ । छोरोलाई दवाइ ख्वाएर ओछ्यानमा ढल्किई ऊ । ढल्किएर सुत्दानसुत्दै उसको आँखामा उही फोटो प¥यो । जुन फोटो लामो समयदेखि सामुन्नेको भित्तामा झुन्डिएको छ । फोटोमा लोग्ने र आफूसँगै छोरो मुस्कुराउँदै उभिएको छ । नहेरूँभन्दा पनि सुत्ने बेलामा त्यही फोटोमा आँखा पर्छन् । कत्ति पटक त उसले त्यो फोटोलाई त्यहाँबाट हटाएकी हो । तर, स्कूलबाट आएपछि प्रत्येक पटक उही ठाउँमा राखेको थियो छोरोले । सायद उसलाई आमाको यो काम असह्य भएको थियो । उसले फोटोलाई उही ठाउँमा राख्दै भनेको थियो– ‘आमा ! मेरो बाबालाई यहाँबाट किन हटाएको ?’
उसले बत्ती निभाई । कोठा सुनसान गुफाजस्तो अन्धकार भयो । बाहिर भने भुस्याहा कुकुर भुकेको आवाज आउँदै थियो । निकै समय बित्दा पनि निद्रा लागेन । ऊ उठी र चुरोट सल्काई । सलाईको उज्यालोमा कोठा केही क्षण उजेलियो र फेरि अँधेरो भयो । उसले केही बेर बुङबुङ धुवाँ उडाई र सुती ।
‘आमा ! नीद लागेन ?’ केहीबेरको मौनतापछि छोरोले सोध्यो ।
‘अब निदाउनु पर्छ ।’ उसले सिरक मिलाई र छोरोलाई काखमा च्यापेर निदाउने प्रयत्न गरी ।
उसलाई थाहा थियो छोरो बाँच्ने छैन । बचाउन सक्ने छैन उसले । तर पनि ऊ बाँचेकी थिई । सङ्घर्ष गर्दै थिई । उसका बिगिँ्रदै गएका किड्नीले एकदिन काम गर्न पुरै छोड्ने छन् । ऊ मनभरि बाँच्ने अभिलाषा बोकेर मृत्युलाई अङ्गाल्न विवश हुने छ । छोरोको मृत्युसँगै उसले पतिको अन्तिम चिनो गुमाउने छ । आँखाको ज्योति गुमाउने छ । आशा र खुसी गुमाउने छ । यस्तै सोच्दासोच्दै उसका आँखा रसाए । केही समयमै आँखाबाट आँशुको मुल फुट्यो ।
‘आमा किन रूनु भएको ?’ आमाका आँसुुको स्पर्शले मर्माहत हुँदै छोरोले सोध्यो– ‘रोएर मलाई सन्चो हुन्छ र आमा ? डाक्टर अङ्कलले मलाई सन्चो हुन्छ भन्नुभएकै छ ।’ छोरोले अँध्यारोमै आमाका आँखामा हात पु¥यायो र आँसु पुछिदियो । यसपछि त झन आमाको हिक्का नै छुट्यो । उसले बलैले आफूलाई रोकी । आँसु पुछ्दै उठी र नजिकैको जग उठाएर पानी खाई ।
कोठा फेरि पनि सुनसान भयो । केहीबेरको सन्नाटापछि छोरोले सोध्यो– ‘आमा ! भन्नोस् न मलाई सन्चो नहोला र ?’

आमा काममा गइसकेकी छ । दिपु सदाझैँ पेटीमा बसेर टोलाउँदै छ । कहिले त्यो अबोध बच्चाले पारिपारि चम्किने क्षितिज हेर्छ । बेलाबेलामा उड्ने पन्छीका बथान देख्दा भित्रभित्रै रमाउँछ । कहिले बाटोमा हेर्छ । बाटोमा स्कुल जाँदै गरेका आफूजस्तै केटाकेटी देख्दा भने ऊ निराश हुन्छ । दिनक्कैजसो उसले यसैगरी बाटोमा हेर्छ । यसैगरी बच्चाहरू स्कुल जान्छन् । कोही रोएका हुन्छन् । कोही हाँसेका हुन्छन् । कसैलाई बुवाले बोकेका हुन्छन् । कसैलाई आमाले उचालेका हुन्छन् । कसैले डो¥याएका हुन्छन् । कसैले समाएका हुन्छन् ।
उसलाई पनि त बुवाले यसरी नै बोकेर स्कुल लैजाने गथ्र्यो । ‘पढेर असल मान्छे बन्नुपर्छ ।’ बाटोमा जाँदै गर्दा उसले भन्थ्यो– ‘पढ्यो भने गरिब पनि महान् बन्छ ।’ हो त नि कति माया गथ्र्यो बाउले ? कसरी राती सुतेपछि गाउँखाने कथा भन्थ्यो ? कसरी गरिब किसानले राक्षसको हातबाट राजकुमारीलाई बचायो ? अनि कसरी राजकुमारीले त्यही किसानलाई कमारो बनाई ? यस्तै यस्तै कथा सुनाउँथ्यो ऊ । कथा सुन्दासुन्दै ऊ बुवाको काखमा निदाउँथ्यो ।
अहिले भने त्यो सबै अतीत भैसकेको छ । उसको बाउ ऊबाट चुँडिएको पनि अब त पाँच वर्ष भयो । अहिले पनि बुवा आउनुहुन्छ कि भन्ने आशामा बाँचेका छन् यी दुई प्राणी । प्रत्येक दिन यतिखेर बाउको झझल्को बढेर आउँछ । खाना खानेबेला र सुत्नेबेला उसले बाउलाई नसम्झिएको दिनै छैन ।
पाँच वर्ष पहिलेको घटना सम्झिदा पनि ऊ झस्किन्छ । कसरी मध्यरातमा आएका थिए सैनिक ? कसरी उसको बाउलाई घिसार्दै लगेका थिए ? बाउलाई लैजादै गर्दा ऊ कसरी चिच्याएको थियो ? कसरी खाटबाट फाल हालेर बाउलाई समाएको थियो ?
अब त बुवालाई लगेको पनि जुगै पो भयो । त्यसपछि बुवाको केही खबर आएन । किन लगे होलान् उसको बाउलाई आधारातमा सैनिकले ? किन नफर्किएको होला उसको बुवा ? नराम्रो काम गर्नेलाई प्रहरीले समात्छन् भन्ने सुनेको हो उसले । तर उसको त्यति जाती र असल बुवाले पक्कै पनि नराम्रो काम त गरेन होला । उसलाई अझै पनि यस्तै लाग्छ ।
ऊ र उसकी आमा धेरै पटक बुवालाई खोज्न पुलिसचौकी गए । सैनिक छाउनी पुगे । तर, कहीँ पनि भेट्न सकेनन् बाउलाई । बदमासी नै गरेको भए पनि पुलिसचौकीमा त भेटिनुपर्ने । त्यहाँ नभए जेलमा त हुनुपर्ने । तर कत्ति खोज्दा पनि कहीँ भेट्टाउन सकेनन् । कहीँ नभेटिएपछि माया मारेर काममा लागेकी थिइन् आमा । यो सबै सोच्दासोच्दै उसको छाती चसक्क भयो । आँखाबाट आँसु बगे ।
‘ल, किन रोएको दिपु ? भात खाएको छैन, हो ?’ सँगै कोठामा बस्ने अन्टीले उसलाई सोधी ।
‘हैन अन्टी ! त्यसै ।’ उसले आँसु पुछ्दै छोटो उत्तर दियो ।
टोल छिमेकमा सबैले माया गर्छन् उसलाई । तर मायाले मात्र नपुग्ने रै’छ । उसका दुबै किड्नी बिग्रिएको महिनौँ भयो । फेर्न लाखौँ रूपियाँ लाग्छ । वेपत्ता परिवारको छोरो । कसले दवाई गरोस् ? कसले खर्चको जोहो गरोस् ? आमाले दिनभर कमाएको पैसाले कोठाभाडा तिरेर मुस्किलले खाना र दवाई खर्च जुट्छ ।
कमिजको फेरोले आँसु पुछ्दै उसले भन्यो– ‘अन्टी अब त मेरो बुवा फर्किनु हुुन्न होला हगि ?’
‘ए ! बुवालाई सम्झिएर पो रोएको तिमी ?’
‘हो अन्टी ! बाबाको सम्झना धेरै आउँछ ।’
उमेरले बच्चै छ ऊ । मात्र बाह्र वर्षको । तर असाध्यै ज्ञानी र इमान्दार छ । उसको तर्क सुन्दा ऊ बच्चाजस्तो लाग्दैन । यति सानैमा पनि कसरी आर्जन गरेको होला यति सुन्दर विचार ? उसका कुरा सुन्नेहरू यसै भन्थे । ऊ दिनभर कोठामै बस्छ । कहिले पढ्छ, कहिले सुत्छ र कहिले चित्र कोर्छ । अनि बिहान बेलुका विद्यालय जाने र फर्किने स्कुले केटाकेटीलाई हेरिरहन्छ । हेर्दा हेर्दै ऊ भित्तामा अढेस लागेर टोलाउँछ । बिमारीले क्लान्त र कमजोर ऊ सपनामा भने विद्यालयको चउरमा हुन्छ । साथीसँगै खेलमा सहभागी हुन्छ । उसलाई मन पर्ने खेल हो दौड । उसलाई दौडमा कसैले पनि उछिन्न सक्दैनन् । सबैलाई उछिनेर ऊ नै प्रथम हुन्छ । सबैले स्यावासी दिन्छन् । सबैले पिठ्युमा धाप मार्दै क्यावात भन्छन् । ऊ हर्षविभोर हुँदै घर फर्किन्छ । तर ऊ घर फर्किएर खुसी साट्न नपाउँदै घनघोर वर्षा हुन्छ । बेतोडले हुरी चल्छ । आँधीहुरीको प्रचण्ड धक्काले उसको निद्रा खुल्छ । विपनामा भने ऊ न दौडिन सक्छ न त हिजोको जस्तो खुसी नै बाँकी छ ऊसँग । मात्र पारि देखिने उही पहाड सधैँझैँ ठिङ्ग उभिएको छ ।

‘आमा ! तपाईं कति दुब्लाउनु भयो ?’ राती भात खाँदै गर्दा उसले सोध्यो– ‘तपाईंलाई सन्चो छैन क्यो आमा ?’
‘मलाई ठीक छ छोरा ?’ आमाले ऊतिर पुलुक्क हेर्दै संक्षिप्त उत्तर दिई ।
‘ठीक भए किन यसरी दुब्लाउनु भएको त ?’ छोरोले शङ्का व्यक्त गर्दै सोध्यो ।
यस पटक भने आमाले उत्तर दिइन । उत्तर भए पो दिनु । उसले धेरै दिनदेखि बुझ्न चाहन्थ्यो आमा किन यसरी दुब्लाउँदै छिन् ? आमाको बाहिरी दुःख त उसलाई पनि थाहा थियो । तर मनभित्र दन्किने चिन्ताग्निको उसलाई के थाहा ? उनको जीवनमा एकपछि अर्को गर्दै बज्रिँदै गर्ने घात प्रतिघातबारे उसलाई के थाहा ?
उसले सुत्ने बेलामा बिस्तारै भन्यो– ‘आमा सबैले गणतन्त्र आयो भन्छन् ।’
‘हो छोरा ! सबैले त्यसै भन्छन् ।’ आमाले पनि झनै सुस्तरी भनी । मानौँ यो कुरा कसैले सुन्न सक्छ । र, सुन्यो भने उपद्रव मच्चिन सक्छ ।
‘आमा ! हाम्रो बुवा अब फर्किनुहुन्न ?’ लामो समयपछि यसरी सोधेको थियो उसले । पहिले त आमा यस्तो अनपेक्षित प्रश्नले व्यकूल बनी । तर पनि ऊ संयमित बनी । उसले नै संयम गुमाई भने विरामी छोरोको हालत झन कस्तो होला ? सायद उसले यस्तै सोची र बिस्तारै भनी– ‘छोरा प्रतीक्षाको अन्तिम सीमा हो यो ।’
‘आमा ! के हाम्रो बाबाले राजाको विरोध गर्नुहुन्थो ?’
‘बुवा असल मान्छे हुनुहुन्थ्यो छोरा ।’
‘त्यसो भए उहाँ माओवादी हुनुहुन्थ्यो आमा ।’
ऊ बोलिन । के उसलाई थाहा थिएन र उसको लोग्नेले क्रान्तिकारी पार्टीमा काम गर्छ भन्ने ? थाहा भए पनि त्यो बच्चालाई कसरी भनोस् कि उसको बुवा क्रान्तिकारी भएकै कारण वेपत्ता पारियो । पाँच वर्ष वेपत्ता हुनु भनेको नफर्किनु हो । कोठामा सन्नाटा छायो । निकैबेरको मौनतापछि उसले फेरि भन्यो– ‘आमा मलाई थाहा छ अब हाम्रो बुवा फर्किनुहुुन्न ।’
‘कसले भन्यो यस्तो नचाहिने कुरो ?’ आमा अलि च्याट्ठिएको आवाजमा बोली । उसले देखाउन चाहन्थी ऊ जे बोल्दै छ सरासर झुट बोल्दै छ । फेरि ऊ मारिएको भन्ने पनि त एकिन थिएन । सायद उसलाई लाग्दै थियो उसको लोग्ने कुनै दिन फर्किने छ ।
‘मैले आज पत्रिकामा पढेको आमा ! हाम्रा बुवा नआए पनि हामी भने सुखी हुन्छौँ रे ! नयाँ नेपाल छिट्टै बन्छ रे आमा !’
‘पहिले पनि धेरैले त्यसै भनेका हुन् ।’ उसले अलि विस्मयमिश्रित स्वरमा भनी– ‘तर अहिलेसम्म कसैले भनेको पुगेको छैन ।’
‘आमा ! मलाई बाँच्ने धेरै रहर छ ।’
‘बाँच्ने मन कसलाई हुन्न र छोरा ? तर डाँडाको जून कतिञ्जेल चम्किन सक्छ ?’ नबोलूँ भन्दाभन्दै पनि उसले बोलिहाली । तर बोली टुङ्ग्याउँदा नटुङ्ग्याउँदै उसलाई बोलेकोमा पश्चाताप भयो । उसले आफैलाई घृणा गरी ।
‘हैन आमा ! निराश नहुनुहोस् न,’ उसले उत्तेजित हुँदै भन्यो– ‘के हाम्रा बाबाको बलिदान त्यत्तिकै खेर जाला र ?’
ऊ केहीबेर बोलेन । कोठा उसैगरी निस्पन्द टोलाइरह्यो । केहीबेरको मौनतापछि उसले फेरि भन्यो– ‘आमा म बाँच्ने छु । मलाई फेरि स्कुल जाने रहर छ आमा ।’
ऊ यसरी बोल्दा उसको पहेँलो अनुहारमा दुईटा आँखा चम्किए । उत्तेजनाले आँखाका कोस रसाए । उत्तेजनाले हो कि बोल्दाको थकाइले हो उसले छिटो छिटो स्वास लिने र छोड्ने गर्दै थियो ।
‘हो छोरा मलाई पनि साँझ नपर्दै अन्धकार फैलिएको देख्ने रहर कहाँ छ र ?’ आमाले लामो निस्वास छोड्दै भनी ।
‘आमा मलाई पनि तपाईंसँगै लैजानुहोस् न ।’ छोरोले आशान्वित नयनले आमालाई हेर्दै भन्यो ।
‘काँ छोरा !’
‘नयाँ बिहानको सुन्दर क्षितिज भेट्न ।’
‘छोरा ! क्षितिज पनि भेट्ने वस्तु हो र ?’
‘आमा त्यही त हाम्रो विश्वास हो । हामी यही आशा र विश्वासमा झुन्डिएर त सधैँ बाँच्ने गर्छौं । के भुल्नु भयो र बाबाले भनेको कुरो ?’ उसले छिटोछिटो दार्शनिक कुरो ग¥यो र आमाको अनुहारमा हे¥यो । सायद आमाको प्रतिक्रिया सुन्न चाहन्थ्यो ऊ । तर आमा नबोलेको देखेर उसले पुरानो कुरा सम्झाउँदै भन्यो– ‘आमा ! बुवाले भन्नुभएको थियो– जीवनदेखि हरेश नखानु धन । म फर्किने छु ।’
उसको बुवाले अन्तिम पटक यही भनेको थियो । ढोकानेरि पुगेर केहीबेर उभिएको थियो ऊ । अन्तिम पटक उनीहरूलाई हेर्दै बुवाले भनेको कुरा अझै पनि बिर्सिएको थिएन उसले । उसले यो कुरा सम्झाउँदा आमाको मुटु नराम्रोसँग दुख्यो । आमाले भित्तामा अढेश लागेर सजल नयनले बाहिर हेरी । झ्यालबाट टाढा टाढा देखिने क्षितिजको घेरा अन्धकारभित्र कतै हराएको थियो ।
‘आमा ! के मलाई मर्छ भन्नुभएको ?’ उसले अलि भावुक हुँदै भन्यो । सायद बोल्दाबोल्दै उसको गला अवरुद्ध भयो । ऊ अगाडि बोल्न सकेन ।
‘हैन छोरा ! म वर्षौंदेखि तिम्रै भरोषामा त बाँचेकी छु ।’ आमाले पनि भावुक हुँदै भनी ।
‘हो आमा ! म बुवाको सपना पूरा नभएसम्म मर्ने छैन ।’ उसले आमातर्फ फर्किएर यसरी भन्यो कि मानूँ मृत्यु उसको खटनमा आउने छ । कस्तो आत्मविश्वास ! एकछिन त आमा पनि हेरेको हे¥यै भई । केहीबेरको मौनतापछि उसले सुस्तरी भनी– ‘छोरा ! के त्यो बिहान हाम्रो खुसी बोकेर आउला र ?’
उसलाई लाग्यो आमा अविश्वास गर्दैछिन् । आमाले बाहिर फैलिएको अन्धकारलाई मात्र सत्य ठान्दैछिन् । भोलिको नयाँ र सुन्दर बिहानप्रति शङ्का गर्दैछिन् ।
उसले दृढ र मृदुल स्वरमा भन्यो– ‘आमा ! के त्यो रक्तिम क्षितिज हाम्रो बुवाको रगतले रङ्गिएको होइन र ?’
( दृश्यावलोकनः असोज, २०६६ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *