Sushma Manandhar – Ghar

सुषमा मानन्धर – घर

“तेरो बूढा आज पनि त्यही नखरमाउली केटीसँग सुपरमार्केटमा घुम्दै थिए । मैले नदेखेझैँ गरेँ । हैन, कति दिन चुप लागेर बस्छेस् ? किन केही भन्दिनस् आफ्नो बूढालाई ?” जुनाकी साथीले पिर मान्दै सोध्दै थिई ।

नभनेकी कहाँ हो र उसले ? हावा नचली पात हल्लिँदैन भन्छन् । सुरुसुरुमा उसका श्रीमान् र त्यो केटीको बारेमा गाँइगुइँ चल्दा जुनाले सोधेकी पनि हो । कहिले रोएर, कुनै बेला घुक्र्याएर खबरदार पनि गरेकी हो उसले तर हरेकपटक उसका श्रीमान्ले जुनाको टाउको छोइ किरिया खान्थ्यो । बाहिर कसैसँग कुनै सम्बन्ध नभएको र कुनै उठबस नगरिएको भनी उसलाई आश्वस्त पार्थ्ो । विचरी ऊ, विश्वास गर्थी । फेरि सधैभरि उसले श्रीमान्को पछि लागेर साध्य पनि थिएन । साथीभाइहरूले बेलाबेलामा उसलाई चलेका हल्ला सुनाएर चेताइरहन्थे । पछि नराम्ररी धोका खानु पर्ला, होस गर्नु है भन्दै खबरदार गरिरहन्थें । अनि त्यो दिन जुना खुब प्रतिवाद गर्थी श्रीमान्सँग । जो चोर उसैको ठूलो स्वर ! उसका श्रीमान त्यस्तो बेला उल्टै अहिलेसम्म पनि आफूलाई अविश्वास गरेको भनी जुनालाई अविवेकीको संज्ञा दिँदै गाली गर्थे । ऊ नाजवाफ हुन्थी, थप सोध्न ऊसँग कुनै प्रश्न बाँकी रहँदैनथे । उसले हरघडी सशङ्कित पिल्सिनु पथ्र्यो र धेरै रात छट्पटाएरै पनि बिताई उसले ।

हुँदाहुँदा पछि त उसले यस्ता कुराहरू सोध्न पनि छाडी । कसैले केही सुनाइहाले पनि ऊ केवल सुनिरहन्थी, रित्तो भित्तोजस्तै । प्रतिक्रियाविहीन अनुहार ओढेकी उसमा यस्ता खबरहरूले ज्वालामुखी दन्काइरहन्थ्यो । उभित्रको जलन, दुःख र पीडाले उसलाई घरिघरि प्रतिशोधको लागि उक्स्याउँथ्यो । अलिकति एक्लोपनाको आभाष र अलिकति परपीडकको भावनाले जुनाको पनि आफ्नो अफिसमा काम गर्ने सहकर्मी सुमितसँग सम्पर्क बढ्यो । समान अभिरुचि र विपरीतलिङ्गी आकर्षणमा, मीठो व्यवहार गर्ने सुमितसँग ऊ दिन प्रतिदिन नजिकिँदै पनि गई । एउटै अफिसमा काम गर्ने हुँदा उनीहरूलाई भेटघाट गर्न कुनै असुविधा थिएन । सधैँको भेट र कार्य गराइले उनीहरू सहकर्मीभन्दा पनि बढी अभिन्न साथी बन्दै गए । त्यही भएर कुराको कुनै सीमा नराखी जुना सबै कुरा सुनाउँथी उसलाई, श्रीमान््सँगको दिनहुँको किचकिच, उनको अर्की केटीसँगको लसपस, श्रीमान्को बेवास्ता, आफ्नो कुण्ठा, छटपटी र दबाइएका अनेकौँ इच्छाहरू । जहाँ, जतिखेर पनि सँगसँगै देखेर अफिसभित्र उनीहरूको बारेमा गरम चर्चाहरू पनि चल्न थालिसकेका थिए । चिया खाजादेखि फुर्सदमा लाइब्रेरीमा पत्रिका पढ्नसमेत सँगै हिँड्न थालेपछि कुरा नकाटियोस् पनि किन ? सुमितको त तै अझै बिहे भएको थिएन तर बिहे भैसकेकी जुनासमेत पनि श्रीमान्लाई देखाउनाखातिर उनीप्रतिको प्रतिशोधको भावनाले सुमितसँग नरामै्रसँग झ्याम्मिएकी थिई ।

उठ्दाबस्दा, साँझबिहान जुनाको दिमागमा एउटै नाम हुन्थ्यो सुमित । श्रीमान्लाई उसले वास्ता गर्न छाडेकी थिई अब । ऊ सधैँ तुलना गर्थी सुमित र आफ्नो श्रीमान्मा । मनदेखि नै टाढिएकी हुँदा उसलाई श्रीमान्को कुनै पनि कुरा राम्रो लाग्दैनथ्यो । सुमित पनि उसलाई खुब मन पराउँथ्यो तर त्यो मन पराइको रूप, सीमा र गन्तव्य कुन हो ? ऊ जान्दिनथी । उसले कहिल्यै खोतल्ने प्रयास गरिन । उसलाई त्यहाँ प्रेम पाउनु पनि थिएन । श्रीमान्ले गरिरहेका विश्वासघातको एउटा विकल्प मात्र खोजेकी थिई उसले सुमितसँगको साहचर्यमा । आखिर त्यत्ति उमेर भएकी पनि त हैन ऊ । दुब्लो जिउडालको कारणले गर्दा ऊ आफ्नो उमेरभन्दा अझ कम नै देखिन्थी ।

सुमितसँगको आफ्नो सम्बन्धको स्वीकारोक्ति उसले आफ्नो मनखाने साथीसँग पनि गरिसकी । उसकी साथीलाई उसको सम्पूर्ण इतिहास र घरको परिस्थिति पनि थाहा थियो । बाटो बिर्सेका श्रीमान्लाई सुधार्नुको सट्टा आफूले पनि त्यही बाटो अनुसरण गरेपछि अन्त्य कुन ठाउँमा हुन्छ भन्ने सोच्न पनि नचाहेकी जुनालाई उसकी साथीले घरपरिवार र छोराछोरीको भविष्यको बारेमा सम्झाएर धेरैपल्ट सचेत पनि गरिसकी ।

तर जुना सुमितसँगको मायाको सागरमा चुर्लुम्म डुबिसकेकी थिई । यथार्थताको कटु धरातलमा टेक्नुभन्दा आफ्नो ब्वाइफ्रेन्डसँगको क्षणिक सामीप्यमा ऊ जीवनभित्रको आनन्द खोज्थी । उसका श्रीमान्को कोसँग लेखापढी हुँदैछ र उनी किन ढिला घर आउँछन् वा किन कैयाँै रात विभिन्न बहानामा घरमा अनुपस्थित रहन्छन् भन्ने कुरामा अब कुनै सरोकार रहेन । दुवैको संसार छुट्टाछुट्टै थियो, खुसी र सपना बेग्लै थिए ।

आफ्नो व्यक्तिगत स्वार्थ र बदलाको भावनाले एकअर्कालाई सानो देखाउने होडबाजीमा परिणाम कहिले पनि राम्रो हुँदैन भनेर जुनालाई उसका साथीहरूल्ो निकैचोटि सम्झाए । पहिलेपहिले त उसले साथीहरूका कुरा सुनेर आफूलाई सम्हाल्न र सुधार्न खोजी । छोराछोरीका मुद्दा अगाडि लाएर श्रीमान्लाई सम्झाउन पनि खोजी तर उनले बानी फेरेनन् । घरको स्थितिमा कुनै सुधार नदेखेपछि उसले सम्झाउने साथीहरूसँगै उल्टो प्रतिवाद गर्नथाली । पुरुषहरूले लोग्ने भएर जे गरे पनि हुने अनि स्वास्नीमानिसले त्यही काम गर्दा अस्वाभाविक किन ठहर्ने भन्ने प्रश्न ऊ साथीहरूलाई फर्काउँथी । आफ्नो अहंको लागि पनि ऊ श्रीमानसामुु झुक्न तयार भइनँ ।

आमाबुबाको आ-आफ्नो स्वार्थ, अहं र विलासिताको सबैभन्दा प्रत्यक्ष असर त जुनाका छोराछोरीमा पर्‍यो । जुनरूपमा अभिभावक भएर बच्चाहरूलाई माया, ममता र स्याहार दिनुपर्ने थियो, त्यो न जुनाले दिन सकी, न त जुनाका श्रीमान्ले नै । उसका श्रीमान्लाई रातोदिन अफिस, आफ्नी गर्लफ्रेन्ड, पार्टी, पिकनिक, रेष्टुराँ र उपत्यका बाहिर सेमिनार अनि मिटिङका नाम गरी विकएन्डमा छुट्टी मनाउँदैमा फुर्सद थिएन । जुनाका पनि अधिकांश समय सुमितको वरिपरि नै बित्थ्यो । सार्वजनिक बिदाको दिन ऊ सुमितसँग लङ्ग ड्राइभमा निस्कन्थी । उसले गर्ने हरेक क्रियाकलापमा सुमितको इच्छा सर्वोपरि रहन्थ्यो । सुमितलाई त्यो मीठो लाग्दैन । सुमित त्यो चाहँदैन, यीभन्दा बढी अरू कुरामा उसको ध्यानैै रहन्नथ्यो । आफ्ना छोराछोरीका पनि कुनै इच्छा, सपना होलान् भन्ने कुरा जुना र उसका श्रीमान्ले सोचेनन् । अझ जुनाले त आफ्नो पर्समा ऐनासँगै लुकाएर सुमितको फोटो राखेकी थिई, भेट नभएको दिन र न्यास्रो लाग्दा त्यही फोटो हेरी बस्नु उसको मुख्य काम हुन्थ्यो । ऊ ठट्टामा सुनाइरहन्थी- बरु उसले श्रीमान्लाई छोड्न सक्छे तर सुमितलाई ज्यान गए पनि छाड्दिन ।

उसकी छोरी पोहोरदेखि कलेज जान थाली । घरमा जस्तो परिवेश हुन्छ, केटाकेटीहरूले त्यसैको सिको गर्छन् । भर्खरको बैँसालु उमेर, खुलापन र घरमा रोकतोक गर्ने कोही नहुँदा उसका पाइला पनि क्याबिन रेष्टुराँ र डिस्कोथेकहरूतिर सजिलै पुग्न थाले । छोराछोरीलाई उचित सुझाव र नियन्त्रण गर्नुपर्ने मान्छे आफैँ बरालिएपछि उसका छोराछोरीको पनि के दोष ? मुन्द्री लगाएर लामो कपाल पाल्ने ब्याइफ्रेन्डसँग मोटरसाइकलमा लिपिक्कै टाँसिएर घुम्नु, अबेरसम्म घर बाहिर बस्नु बढ्दै गरेकी उसकी तरुनी छोरीको दिनचर्या थियो । उसको छोरो भने स्कुलमै पढ्दै थियो दस कक्षामा । पढाइभन्दा अन्य गतिविधिहरूमा नै उसको रुचि देखिन्थ्यो र त अघिल्लो वर्ष परीक्षा बिगार्‍यो पनि । क्लास छोडी आफ्ना अल्लारे साथीहरूसँग गफिएर बस्नु, चुरोट पिउनुजस्ता नराम्रा लत उसमा मजाले बसिसकेका थिए । ऊ मात्र के कम, ऊ पनि आफ्नी गर्लफ्रेन्डलाई लिएर साइबर र पार्कहरूतिर डुलिरहन्थ्योे । उसका श्रीमान्मा छोराछोरीको बानी व्यहोरा बुझ्ने धैर्यता थिएन । जुुना भने छोराछोरीलाई कहिलेकाहीं सम्झाउन खोज्थी तर आफैँ बिग्रेको बाटो हिँडिरहेकीले ठूलो स्वर गर्न सक्दिनथी ।

अलिक दिन भयो जुनाको श्रीमान्सँग फेरि कचमच सुरु भएको । खै ! कसले सुुनाएर हो, उनले सायद पहिलोचोटि जुनासँग सुमितको बारेमा सोधेका थिए । मुखभरिको जवाफ दिएर जुुनालाई श्रीमान्को मुखमा बुजो लाइदिन मन त लागेको थियो तर बोल्दै बोलिन, कुनै सवालजवाफ नै गर्न चाहिन ।

राजधानीको व्यस्त सडकछेऊ रहेको “माइ पाराडाइज” रेष्टुराँ जोडीहरूबीच निकै लोकपि्रय छ । प्रत्येक टेबुलहरूलाई पोतेका पर्दाहरूले बारेर आकर्षक मात्र बनाइएको हैन, त्यसले केही हदसम्म गोपनियता पनि रहन्थ्यो । स्टि्रट फेस्टिवलको मौका पारेर रेष्टुराँले भव्य छूट पनि दिइरहेथ्यो । आज सुमितले जुनालाई त्यहींँ जाने प्रस्ताव राखेको छ । घरमा भरे खाना खाने नै को छन् र पकाउन, उसका श्रीमान्को आज साँझ मिटिङ छ रे अफिसमा । छोरो बिहानदेखि खानै नखाई बेपत्ता थियो र छोरी उसकी साथीको घरमा भोज छ, आज नफर्किने भन्दै थिई । सधैँको यस्तो स्थितिले उसलाई दुःखी नबनाउने त हैन तर अब उसले ती दुःखहरू सोचेर दुःखी हुन छाडेकी छ । त्यसैले उसले सुमितको प्रस्ताव सहर्ष स्वीकारी । साँझ अफिसबाट फर्केर नुहाइवरि उसले आफूलाई धेरैबेर लाएर मेकअप गरी । अनि भड्किलो लोकट ब्लाउजसँग आफूलाई मनपर्ने रङको सारी लगाई । गर्धन र कान पछाडि महँगो परफ्युम दली । सुमितले लिन आएपछि ऊ ढोकामा ताल्चा लगाई निस्किई ।

रेष्टुराँमा एउटा कुना रोजेर जुना सुमितसँग टाँसिएर बसी । रङ्गीन साँझ पाश्र्वमा बजिरहेको स्टिभ वन्डरको अङ्ग्रेजी गीत “पार्ट टाइम लभर” को धुनसँग अझै मादक बनिरहेको थियो । प्रत्येक जोडीले अगाडिका साथीमै संसार खोजिरहेका थिए । जुना र सुमितले पनि एकअर्काका आँखामा तैरिँदै हल्का पेयसँग मायाका कुराहरू साटिरहे ।

एकैछिनमा रेष्टुराँको भित्री लबीमा कोलाहल सुरु भयो, कुनै केटाले उपद्रो गर्‍यो कि? झगडा भएजस्तो, कोही रोएजस्तो सुनियो । उत्सुकताले जुना सुमितको हात समातेर भीड छिचोल्दै त्यहाँ पुग्दा उसको छोरो आफ्नी दिदीको गालामा थप्पड हानेर ठूलो स्वरमा कराउँदै थियो । उसकी छोरी आफूभन्दा सानो भाइले पिटेकोमा रुँदै, रिसाउँदै फत्फताउँदै पनि थिई । छोरीका ब्याइफ्रेन्ड उसलाई फकाउँदै थियो भने छोराकी गर्लफ्रेन्ड झगडा नगर्नु भन्दै उसलाई तान्दै थिई । त्यही भीडको एक छेउमा जुनाको श्रीमान पनि थिए, आफूभन्दा आधा उमेरकी आफ्नी गर्लफ्रेन्डसँग स्तब्ध उभिएका । सिनेमाझैँ लाग्ने अकल्पनीय दृश्य, चारै जनाले एक अर्कालाई देखे ! आफूलाई लुकाउन नसकिने अप्रत्याशित र अप्ठ्यारो परिस्थितिमा फेला परे सबै ।

स्थिति सहज बनाउन पहल कसले र कसरी गर्ने ? कसैले सोच्न सकिरहेका थिएनन् । जुनाका श्रीमान भीडबाट निस्किए र छोरीको हात समाई गाडीतिर लागे । जुनाले पनि छोरोलाई तान्दै उनीहरूको अनुसरण गरी । चारै जना नबोली कारमा बसे । जुनाको श्रीमान गाडी हाँक्दै थिए । जुना सँगैको सिटमा थिई । छोराछोरी पछाडिका सिटमा थिए । अपराधबोधले ग्रसित सबैको दिमाग अनेकौँ भावनाले उद्वेलित थियो तर प्रत्यक्षतः कोही कसैसँग बोलिरहेका थिएनन् । बोल्ने आँटै आइरहेको थिएन कसैलाई । आ-आफ्नो वैयक्तिक स्वतन्त्रता र खुसीका लागि घरदेखि टाढा भाग्दै गरेका उनीहरूको त्यो मौनताबीच गाडी भने घरतिरै कुदिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *