उसले ऋण गरेर भए पनि त्यसै थन्किरहेको थोत्रो रेडियो हिजै मात्र बनाएर ल्याएको थियो । उसको मुहारमा एक किसिमको चहक उत्सुकता प्रष्टै बाहिरबाट देखिन्थ्यो । बिहान उठेदेखि उ त्यो रेडियो सँग टपक्क टाँसिरहेको थियो मानौ त्यो रेडियो कुनै टिनको सानो बक्सा होइन उसको काखे छोरा नै थियो ।
त्यो रेडियो उसकी श्रीमतिले दाइजोस्वरुप ल्याएकी थिइन । गत बर्ष बजेटले उ जस्तालाई केही राहत दिने रोजगारीको ग्यारेण्टि दिने जस्ता कुरा बाहिर आउँछकि भन्ने उसले सोचेको थियो । परिस्थिती बदलिएको अवस्थामा उसले त्यस्तो आशा राख्नु पनि एकदम जायज थियो । तर उसले सोचेजस्तो नआउँदा उसलाई भित्रभित्रै रिस उठेको थियो । फलस्वरुप रिसको झोकमा उसले त्यो रेडियोलाई भुईमा बॆस्सरी बजार्योा । त्यसपछि उसले त्यो रेडियोलाई फेरी बनाउने हेक्का राखेन ।
मंहगी चुलियो । ज्यामी मजदुर गरेर उसले बल्ल तल्ल केही छाक छोड्दै भएपनि जीवन धानिरहेको थियो । बन्द हडतालले त उसको त्यो श्रम पनि लगभग बेकार हुने अवस्था भइरहेको थियो । यतिकैमा सरकार फेरीयो । र त्यो सरकारबाट बजेट घोषणा हुने तयार भयो । अब त केही आउला कि भोकै बस्नु पर्ने दिन नआउला कि नभए पनि बेरोजगारी भत्ता बढ्छ कि भन्ने आशमा उसले सो रेडियो बनाएको थियो ।
त्यसकै लागि आज मजदुर गर्न उ बाहिर पनि गएको थिएन । बजेट आउने क्रम शुरु भयो । उसले उत्सुकता पुर्वक कान चनाखो पारेर सुन्यो । मन्त्रीको आवाज धोत्रो सायद धेरै बेर बोलिरहदा त्यस्तो भएकोले हुन सक्छ प्रष्ट आइरहेको थिएन । पानी घटघट पिएको पनि सुनियो । र त्यसपछि फेरी मन्त्रीको भाषण जारी रहने काम भयो । दई तीन घण्टा सुनिरहदा पनि गरिबहरुको लागि ज्यामी मजदुरहरुको लागि भनेर एउटै कुरा आएन । यतिकैमा बजेट यति खर्बको…… करोड भनी मन्त्रीले बजेट भाषण टुङ्ग्याएको सुनियो ।
रिसले उसले त्यो रेडियो लौ खा……… भन्दै भुईमा बजार्योि बिगतको बर्ष झै। अब चाहि त्यो रेडियो केही गरी पनि नबनाउने भनेर अठोट गर्यो. । र हिड्यो बाहिर । अर्को कोठाबाट श्रीमति चाहि उसको क्रियाकलाप निरन्तर चुपचाप नियालिरहेकी थिइन अबोध बालिका झै……………।