हरिहर दाहाल – क्षतिपूर्ति (लघु कथा )
उजेली भक्कानो छोडेर रोई। मुटु पिटीपिटी रोई। सपनाहरू गर्ल्याम्गुर्लुम ढलेर आँफैलाई किचेझैं लाग्यो उसलाई। विवाह भएको तीन महिना बित्न नपाउदै कमाउन गएका श्रीमानको मृत्युको खबर कति हृदय बिदारक भयो होला, त्यो उजेलीलाई मात्र थाहा छ। श्रीमानलाई गर्भवती भएको खबर पनि सुनाउन नपाउदै मृत्युको समाचार पठाउने निर्दयी दैबलाई धारे हात लाएर सरापी। आँसु नसकुन्जेल रोई ऊ| आफन्त, छरछिमेक र गाँउले पनि रोए।
जीवनलाई सरल र सहज बनाउने अभिलाषा बोकेर बिदेस भासिएको अन्तरे बाक्सा भित्र लास बनेर फर्कनुको पीडालाई पत्र पत्रिकाले मुख्य समाचार बनाए। पत्रिकाको सम्पादकले सम्पादकीयमा अन्तरेको ब्यथा र बाध्यताका बारेमा कलम चलाए। पत्र पत्रिका पढ्ने पाठकहरू रोए र सिङ्गो देश रोयो।
राजनीतिक अस्थिरताका कारण देश भित्र अबसरका संभाबनाहरू नहुनु, भौतिक संरचनाहरू भत्काउनु र पुन निर्माण नगर्नु ,नेताहरू जनताप्रति उत्तरदायी नहुँनु, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका आँफै भ्रष्ट हुँनु, दण्डहीनताले पराकस्टा नाँघ्नु जस्ता अराजक परिस्थितिनै आम नेपालीहरूको पलायनको मुख्य कारण हो भनी सम्पादकले ठोकुवा गरे। सम्पादकको ससक्त कलमले देस भरी एउटा ज्वारभाटा नै सृजना गर्यो।।अन्तरेको मृत्यु राष्ट्रिय मुद्दा बन्यो।
मृतकको परिवारलाई उचित क्षतिपूर्तिका साथै मृतकलाई राष्ट्रिय शहिद घोषणा गरिनु पर्ने माग सहित उत्रिएको जनमहासागरको नेतृत्व गर्ने प्रमुख सज्जनसँग सरकारले घुँडा टेक्यो र बार्ता गर्न एउटा आयोग गठन गर्यो। आयोगले निर्धारित समयमा नै जिम्मेबारी पुरा गर्यो।
सरकारको निर्णय अनुसार मृतकको परिवारलाई क्षतिपूर्ति स्वरुप रु. ५० हज्जार तुरुन्त उपलब्ध गराईनुका साथै हेपिएका र दबिएका जनताका आवाजलाई सरकार समक्ष पुर्याउन महत्वपूर्ण योगदान पुर्याए बापत जनबिद्रोहको नेतृत्व गर्ने सज्जनलाई पुरस्कार स्वरुप रु १० लाख दिने घोषणा गर्यो। सरकारको यो निर्णयलाई सबैले मुक्तकण्ठले प्रसंसा गरे। र, यस ऐतिहाँसिक निर्णयपछि जनबिद्रोह पनि शान्त भो।
हरिहर दाहाल,क्यालिफोर्निया