Mani Lohani – Nadiya Ra Parewaharu

मणि लोहनी – नादिया र परेवाहरू
(गोरखापत्र)

‘उनी मलाई आत्मघाती बमवर्षक भएको देख्न चाहन्थे ।’ आफ्ना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आफ्नो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । अफरोजलाई के लाग्थ्यो भने देशभन्दा ठूलो केही पनि हुँदैन । प्रेम पनि हुँदैन । श्रीमती, परिवार र माया भन्ने कुरा देशभन्दा महान हुँदैन भन्नेमा ऊ विश्वस्त थियो । त्यही भएर उनी आफ्नी पत्नी नादियालाई शरीरभरि बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा पठाउन चाहन्थे ।

‘मैले मानिन ।’ नादियाले लामो सुस्केरा फाली । इराकी नौजवानहरूका खुनमा दौडिएको राष्ट्रियता उनको खुनमा पनि थियो । किनभने मेरा पति पनि इराकी जवान थिए ।’

अफरोज इराकी सेनाको ज्यादतीलाई नरोकी बाबु बन्न पनि चाहँदैनथे । उनी अक्सर नादियासँग भन्थे रे, ‘हेर हामै्र जीवनको कुनै ठेगान छैन । यस्तोमा के सन्तानको लोभ गर्नु ? हामी मर्यौं भने तिनीहरूको विचल्ली हुँदैन ?’

‘अफरोजको यो प्रश्नको मसँग कुनै जवाफ थिएन । त्यही भएर पछिल्ला दिनहरूमा मैले उनीसँग सन्तानको जिद्दी गर्न छाडिदिएँ ।’ पछ्यौराजस्तो सानो कालो कपडाले उनले कपाल छोपिन् । मोटो भए पनि फुर्तिलो कालो ज्यानकी उनी मसँग पति वियोगका कुराहरू गरिरहेकी छिन् । आफूलाई आत्मघाती विस्फोटमा मर्न प्रोत्साहन गर्ने निर्दयी पतिको वियोगमा उनी विहृवल थिइन् । भनिन् ‘ऊ त मरिहाल्ने रैछ । मैले उसले भनेको मानेको भए पनि हुने रहेछ । कम्तीमा ऊ खुशी त हुन्थ्यो ।’

यतिखेर हामी इराकी राजधानी बग्दादमा रहेको एक महिला शरणार्थी शिविरमा छौँ । यहाँ सयौँ विधवा महिलाहरू छन् । मानिसका लागि सहयोग भन्ने एक अन्तर्राष्ट्रिय संस्थाले मलाई यहाँसम्म आउने अवसर दिएको हो । विश्वका प्रायः सबै मुलुकमा सञ्जाल भएको मानिसको लागि सहयोग भन्ने संस्थाले विशेषगरि द्वन्द्व र युद्धका चपेटामा परेका महिलाहरूको पक्षमा काम गर्छ । यसै संस्थामा आवद्ध रहेकी महिला अधिकारकर्मी हाना हदवरले यस महिला शरणार्थी शिविरमा भएका कामहरू हामीलाई बताइरहेकी छिन् । मसँगै पाकिस्तानका फारुक रहमान, जापानका अकिहितो नोकु र भारतकी शलिना वर्मा छिन् । अकिहितो र शलिना महिला अधिकारकर्मी हुन् भने फारुक र म पत्रकारका नाताले यहाँ छौँ ।

शिविर आइपुगेको दोस्रो दिन बिहान म आफ्नो कोठाको झ्यालमा बसेर बैराग लाग्दो इराकी राजधानी नियालिरहेको थिएँ । टाढा टाढासम्म रुखविरुवा कतै नदेखिने यो रङ्गहिन सहरभन्दा पनि निरिह छ यो शिविर जहाँ हामी छौँ । शान्त र जीवनहीन जस्ता देखिने सयौँ महिलाहरू मौन र चुपचाप छन् यहाँ । कोही कसैसँग बोलेको सुनिदैन । हाना बताउँदैन थिइन् । शिविरभित्रका महिलाहरू अकसर एक आपसमा बोल्दैनन् रे । पीडाले आक्रान्त उनीहरू थाहा छैन मौनतामा कस्तो शान्ति भेट्थे ? त्यसो त मौनतामा झन् ठूलो कोलाहल हुन्छ । झन् ठूलो तनाव र झन् ठूलो पीडा हुन्छ ।

‘बोल्नै पर्ने कुरामा पनि थोरै बोल्छन् यिनीहरू’ हानाले भनेकी थिइन् ‘यिनीहरूको मनमा अलि राम्रो जीवन पनि बाँच्न सकिन्छ भन्ने भावना जन्माउनु निकै कठिन काम हो ।’

त्यसो त इराक प्रवेश गरेदेखि नै मैले त्रास र तनावमुक्त आँखा कसैको पनि देखिन । यही हाना जो लामो समयदेखि यस शिविरमा काम गरिरहेकी छिन् उनकै आँखामा पनि विचित्रको डर छ ।

‘हाना, यो के को डर हो तिम्रो आँखामा ?’ शिविर आइपुगेकै साँझ मैले सोधेथेँ ।

‘अरूलाई भन्ने त हुँदैन लोहनी, तर हामी पनि कहाँ सुरक्षित छौँ र ?’ मन डरले ढक्क फुल्यो ।

‘किन के भनेकी ?’ म आँत्तिए ।

‘हामी इराकी आतङ्ककारी र अमेरिकी सैनिक दुवैको तारो छौँ । किनभने हामीले इराकी सामान्य नागरिक होस् या आतङ्ककारी सबैका विधवालाई यहाँ शरण दिएका छौँ । आतङ्ककारी र अमेरिकी सैनिक दुवैलाई लाग्छ, यहाँभित्र बसेर हामी उनीहरूका विरुद्धमा योजना बनाइरहेका छौँ । त्यही भएर यहाँ पटक पटक आक्रमणका प्रयास पनि भएका छन् ।’ हानाको कुरा नसकिँदै शलिना डरले मेरो हात चपक्क समाउँछे । म उनको कुममा हात राख्छु र नडराउन अनुनय गर्छु आँखाले ।

म अघि कुरा गर्दैथिएँ शिविर आइपुगेको दोस्रो दिन बिहानको । त्यस बिहान झ्यालबाट बाहिर हेरिरहँदा मैले जीवनविहिन झैँ शिविरको एक कुनामा एउटी २४-२६ की महिलाले परेवालाई चारो खुवाउँदै गरेको देखेँ । आफ्नै जीवनमाथि विश्वास र सम्मान गर्न नसकिरहेकाहरूको यो भीडमा अरूको जीवनको ख्याल गर्दै चारो खुवाइरहेको दृश्यले मलाई निकै रोमाञ्चित बनायो ।

म कोठाबाट तल ओर्लिएँ । उनीसँग परिचय गरिहालेँ । त्यही चारो खुवाउँदै गरेको अवस्थामा भेटेकी महिला नै हुन् नादिया हुसेन । उनका पति र तीन दाजुभाई अमेरिकी सैनिकबाट मारिए । बाबुआमा पहिल्यै स्वर्गे भइसकेका थिए । उनको घर जलाइयो । पछिल्ला महिना नादियाले अझ बढी कष्टमय दिनहरू झेल्नुपर्‍यो । अहिले उनी यही शरणार्थी महिला शिविरमा छिन् । यो ठाउँ इराकी विधवाले समाजमा खेप्नु परेको जोखिम र सास्तीबाट बच्ने ठाउँ हो । यहाँ उनको काम भनेको खाना पकाउने हो । बिहानको एक समय भने उनी सधैँ परेवालाई चारो खुवाउन भुल्दिनन् ।

‘यिनीहरूको जीवनको पनि के भर, कतिवेला कहाँ बमको छर्राले भेट्टाउने हो ?’ उनले फेरि लामो सुस्केरा फालिन् ‘यहाँ कसैको पनि जीवन सुरक्षित छैन । तपाईंहरूको पनि छैन ।’ नादियाका शब्दहरू गोलीका पर्राजस्तो लाग्छ शलिनालाई शायद र उनी फेरि मेरो हात समाउन आइपुग्छिन् डरले ।

‘मेरा श्रीमान् मलाईभन्दा बढी देशलाई माया गर्थे र म उनलाई भन्दा बढी माया कसैलाई पनि गर्न सक्दिनँें । मलाई आफ्नो जीवनको माया लागेकै उनको कारणले हो । उनी नहुँदा हुन् त म उहिल्यै शरीरमा आत्मघाती बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा छिरिसकेकी हुन्थेँ ।’ प्रेममा पनि यो कत्रो आतङ्क । यो कत्रो विध्वंस । सुनेर हामी हैरान हुन्छौँ । अकिहितो त आँखाभरि आँसु बोकेर नादियालाई हेरिरहन्छ । इराक छिरेदेखि नै उ त नर्वस जस्तै भएको छ । राम्रोसँग बोल्न पनि सकिरहेको छैन । बेलाबेलामा जापान फर्किन नपाइने हो कि भन्ने चिन्ताले ऊ व्याकुल पनि हुन्छ ।

‘तर अब मलाई डर छैन ।’ नादियाका काला ठूला आँखा राता हुन्छन् ।

‘हेर्नोस् अफरोज मारिए पछि मेरो जीवनको पनि कुनै सार रहेन । अब म बमले आफैँलाई उडाइदिन चाहन्छु । म मलाई अति नै प्यारो लागेको मानिसलाई मबाट छिनेर लैजानेहरूलाई मार्न चाहन्छु ।’ नादियाको मनमा उम्लिएको बदलाको भाव देखेर हामीलाई नरमाइलो लाग्छ । यो शिविरमा अन्य कैयौँ विधवाहरू छन् । उनीहरू कसैको मनमा पनि यस्तो बदलाको भाव देखिएको थिएन । उनीहरू जे भयो त्यसलाई ‘अल्लाहको इच्छा’ भन्ने ठान्दा रहेछन् ।

नादिया बदलाभाव भएकी एक्ली महिला भए पनि पतिवियोगको पीडा आउने उनी एक्ली महिला होइनन् । सन् २००३ मा आक्रमण हुनु अघि नै इराकमा लाखौँ विधवा थिए । धेरैले सन् १९८० को इरान युद्धमा पनि पति गुमाएका थिए । अहिले पनि प्रतिदिन सय जना इराकी महिलाहरू विधवा हुने गरेका छन् । बग्दादमा जहाँ गए पनि मस्जिदको बाहिर सिँढीमा माथिदेखि तलसम्म कालो बुर्काले छोपिएका महिलाहरू भेटिन्छन् र ती सव विधवा इराकी हुन् ।

साता दिन लामो बसाई सकेर हामी जोर्डन फर्किन्छौँ । तीन दिनपछिका लागि हामी सबैको एयर टिकट मिल्छ । यहाँबाट हामी चारैजना आ-आफ्नो देश फर्किंदै छौँ । मानिसका लागि सहयोगको जोर्डनस्थित कार्यालयलाई हामीले बग्दादको रिपोर्ट बुझाउनु पर्नेछ ।

साँझ म कोठामा बसेर रिर्पोटको खेस्रा गरिरहेको हुन्छु । शलिना हुत्तिदै आउँछिन् र मलाई अँगालेर रुन थाल्छिन् । त्यत्तिकैमा फारुक र अकिहितो पनि रुँदै आइपुग्छन् । म केही बुझ्दिन ।

‘के भयो किन रोएको ?’ म काखको ल्यापटप टेबुलमा राख्छु । मेरा आँखा पनि भरिसकेका छन् डरले ।

‘हामी बग्दादमा बसेको महिला शिविरमा अमेरिकी सेनाले बम आक्रमण गरेछ । हाना लगायत ३७ विधवाहरू मरेछन् ।’ शलिनाले रुँदै भनिन् ।

‘अनि नादिया ?’ मैले एक्कासी नादियालाई सम्भिmएँ ।

कोही पनि बोलेनन् । मलाई त्यो ३७ जनामा नादिया नपरे हुन्थ्यो झँै लागिरहृयो । पछि थाहा भयो हामी आएकै बिहान नादिया शिविरबाट भागिछिन् र शरीरभरि आत्मघाती बम बेरेर बग्दादको उत्तरमा पर्ने फालिका रोडमा अवस्थित अमेरिकी सैनिक क्याम्पमा छिरिछिन् । विस्फोटमा ११ अमेरिकी सैनिकको ज्यान गएछ । त्यही घटनाको बदलामा अमेरिकी सैनिकले भोलिपल्ट बिहान शिविरमा बम प्रहार गरेको रहेछ । सयौँ हताहत छन् भनेर अलजजिरा टेलिभिजनले बताइरहेको थियो ।

मलाई भने नादिया र चारो खान आउने परेवाहरूको मात्र याद आइरहृयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *