Yuddha Prasad Mishra – Hamro Bhainsi Bubu Dinchha (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – हाम्रो भैंसी बूबू दिन्छ (नेपाली बाल कविता)

कहिले खेल्दछ पानीभित्र
कहिले चर्दछ उता चौरतिर
गोठभित्र गई सुत्दछ राती
हाम्रो भैंसी कस्तो जाती

यसकै गोवर बोकी बोकी
दिन्छिन् आमा मकै Continue reading “Yuddha Prasad Mishra – Hamro Bhainsi Bubu Dinchha (Nepali Bal Kabita)”

Yuddha Prasad Mishra – Sakdachhu Fadkina (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – सक्दछु फड्किन (नेपाली बाल कविता)

सक्दछु फड्किन लड्दिन सितिमिति
फड्के खाडल साहसले जिती
लडे हिलोमा बिचरा तड्पी
दिदी हाँसिन् खितिति

म ता डराएँ भो मुटु ढुकढुक
लाग्यो मेरा मनमा दुःख
देखी हिलाम्य तिनको त्यो मुख
लाग्यो भुक्न कुकुर भुक्भुक्

(बालकोसेली पूर्णाङ्क १६, २०४६)

 

Krishna Bajagain – Akshar Ra Prem

कृष्ण बजगाईं – अक्षर र प्रेम

कलिला चिम्रा उसका आँखामा
तृष्णा देखे अक्षरहरुको
निरक्षर उसका आमा बुबाले
घोटी घोटी पिलाए
उनीहरुलाई कण्ठस्थ बाह्रखरी अक्षरहरु ।

झोलामा अक्षरको भारी बोकेर
हिँड्न सक्ने भयो ऊ
चपाएर निल्न सक्छ भन्ने ठाने सबैले
अनि कोच्याई कोच्याई खुवाए उसलाई
शिक्षकले कितावका अक्षरहरु ।

केही भन्नै परेन
अलि ठूलो भएपछि
आफै चाटन् थाल्यो
प्रोफेसरका पुराना नोटका अक्षरहरु ।

हेर्दा हेर्दै ऊ
अक्षरहरुसँगसँगै जवान हुँदै गयो
र अक्षरका छिप्पट शब्दहरुसँगै
दिनरात खेल्न थाल्यो ।

उसको दैनिकी–
रातभर
अक्षरका लिपिबद्ध ठेलीहरु
सिरानी लाएर सुत्नु
दिनभर
अक्षरकै रोहवरमा
अध्यन कक्ष र पुस्तकालयमा
आफूले आफैलाई
घण्टौ कैद गर्नु ।

अचानक एक दिन
अक्षरको अस्त्र चलाएको आरोपमा
फतवा जारी भयो उसको नाममा
अर्को दिन
पक्राउ पुर्जी जारी गरे अक्षरहरुले ।
तर,
केही दिनमै
अक्षरकै जुलुसहरुले नै मुक्त गर्यो उसलाई ।

फेरी एक दिन अक्षरहरुको बारेमा नै लेख्यो
थुप्रै लेख्यो
र अन्तिम वाक्य लेख्यो–
“म अक्षरहरुलाई माया गर्छु” – कवि ।

Narayan Tiwari – Ma Jutta Hoon

नारायण तिवारी – म जुत्ता हुँ

म जुत्ता हुँ
कोही लगाउँछ
म मर्दछु –
कोही फेरि लगाउँछ
· ·
खिइनु पनि मर्नु हो
म खिइँदै मर्छु
घिर्सार्छन् मलाई
मेरो नाम नमेटिउञ्जेल
पर्छार्छन् मलाई …
· ·
म जुत्ता Continue reading “Narayan Tiwari – Ma Jutta Hoon”

Tanka Subba – Prasanta Mahasagar Ko Chhal Sanga

टंक सुब्बा – प्रसान्त महासागरको छालसंग

सगरमाथा झैं अग्लिएर
प्रसान्त महासागरको छेवैमा उभ्दा
पाइतालाहरु सुम्सुम्याएर
भाग्छन् अनायासै छालहरु
र छलाङ्ग मार्दै जिस्क्याउछ
उत्ता गहिरार्इमा पुगेर महासागर
उसको वालुवासरिको वक्षस्थलमा
गर्मी छल्ने अनगिन्ति मान्छेहरु
सागरको मोहकतामा डुवेका पर्यटकहरु
र आलिङ्गनमा बाँधिएका प्रेमीप्रेमीकाहरु
हराएकाछन् सवै महासागरको अङ्गालोमा
त्यसवेला लाग्यो मलाई
कसैलाई कसैको पर्वाह छैन
समयको कुनै मतलव छैन
किनकी दृश्यहरु अवलोकन गर्दा
त्यहि यथार्थ झल्किरहेछ
यसरी प्रसान्त महासागरको अङ्गालोमा
सवै हराउँदा म पनि हराएछु
तर उसको चिसो स्पर्शले थाहा पाए
महासागरको माधुर्यता
हो त्यसै वेला मेलै देखे
मुस्कुरार्इरहेको प्रसान्त महासागर
अथाह नीलो आँखाहरुमा
र उर्लिदै आउँने अनगिन्ति लहरहरुमा
तव सम्झे छङछङ गर्दै वग्ने
जरुवा खोलाको साङलो पानीलाई
तव सम्झे हिमालसँग विछोडिदै भाग्ने
हरियो तम्मोर नदीलाई
र सम्झे सवै खोलानाला र नदीहरुलाई
किनभने उनीहरुको गन्तव्य
यहि महासागर हो भनेर
र चित्त बुझाए
महासागरको नुनिलो स्वाद चाखेर
अनि महासागरको फैलावटलाई नियाल्दा देखे
व्हेल माछा झैं डुवुल्कि मार्दै आउँने
अजङ्गको पानी जहाजलाई
जो क्षणभर मै मेरै नजिक भएर
पौडिदै गयो अर्को महासागरतिर
तव मलाई पनि जीन्दगीको महासागरमा
त्यसरी नै पौडीन मन लाग्यो
समुद्र माथिको निलो आकासलाई हेरे
त्यहाँ स्वतन्त्र उडेका चराहरुलाई देखे
तव त्यसरी नै उड्न मन लाग्यो
आफ्नै स्वतन्त्र आकासभरि
यसरी प्रसान्त महासागरसँग झुम्दा
एउटा अपरीचीत मान्छेले सोध्यो
के तिमी प्रसान्त महासगरसँग
प्रेम गर्न चाहान्छौ ?
उसको सोधाइले मेरो अग्लिनुको स्वभिमान
त्यसै होचीएर गयो
किनकी मेरो देशलाई महासागरले
कतै मायाँ गरेको छैन
भूपरीवेष्ठित देश हुनुको पीडाले
त्यसै घोचिरह्यो
मैले सानो छँदा प्रसान्त महासागर ठानेको
त्यो गरम खोला काली दह
यौवनमा नाउ खियाउँदै डुलेको फेवाताल
त्यो भन्दा विशाल सम्झेको
सप्तकोशी प्रवाह
यीनै हुन् भूपरिवेष्ठित आँखाले देखेका
महासागरहरु
यीनै हुन् मैले देखे र जानेका महासागरहरु
किनभने आज मलाई त्यहि महसुस भैरहेछ
महासागरको न्यानो अङ्गालोले वाँधीदा
सोचे प्रसान्त महासागरले
सगरमाथालाई अलिकति मायाँ गरेको भए
सायद हाम्फाल्थे होला सगरमाथावाट
प्रसान्त महासागर गहिराईमा
र छलाङ्ग मार्दै पौडिन्थे होला
उसको न्यानो अङ्गालोमा
यसरी महासागरको अनगिन्ति छालहरुसँग
हराउँदै टोलाई रहदा
सम्झेँ यहाँ पो रहेछ सारा जीन्दगी
तव प्रत्तिउत्तरमा भन्न मन लाग्यो
त्यहि अपरीचित मान्छेलाई
के तिमी सगरमाथालाई प्रेम गर्छौ ?

Bhumi Raj Bastakoti – Divya Bihani Ko Pratiksha Ma

भूमिराज बस्ताकोटी – दिव्य बिहानीको प्रतीक्षामा

पूर्वबाट उज्यालाको
एक झोक्का आएर स्पर्श गर्छ
म आनन्दले आँखा चिम्लन्छु
अनि हृदयको गहिराइ हाँसेको अनुभव गर्छु ।

क्षणभरमै काला धर्साहरू
पिँजडा जस्तै अगाडि प्रकट हुन्छन्
धमिलिन्छ प्रकाश, आप्mनो आकृति हराउँदै
त्यो साँच्चै दिव्य रूप थियो !
वा थियो बादलको टकराव ?
म विस्मृतिको खाडलभित्र बिस्तारै दबिँदै जान्छु ।

अविराम समय रथमा
म घस्रि रहेको अनुभव गर्छु
मरुभूमिका अग्ला पहाड
के के नमिले जस्तो
के के नपुगे जस्तो
के के नभए जस्तो
फेरि कतै सुदूर प्रदेशबाट
एक अँगालो उज्यालो बोकी
एक हुल परेवा
एड्दै आउँछन् आकृतिभरि
म शान्तिको लामो निःश्वास छोड्दछु ।

घिस्रि रहकोे छु सधैँ सधैँ
अस्पष्ट मार्गहरूमा
दुर्घटनाको सम्भावना बोकेर
जोगिँदै आएको अहिलेसम्म
रात पर्न थालि सके जस्तो छ
उज्यालो घोप्टियो कि कुन्नि पश्चिमतिर !?
तर म सधैँ सधैँ
‘त्यो’ दिव्य बिहानीको प्रतीक्षामा
पूर्वतिर हेरि रहेको छु ।।

Abir Khaling – Bimba

अबिर खालिङ्ग – विम्ब

अक्षरको कालोपन व्यवहारमा बोकेर
वेईमानीसँग हिंडिरहन्छ
विश्वास…
वेवास्तासंग विचारको बस्तीमा ।

मानिसहरू
शंकाको दीयो जलाएर
विश्वास खोजिरहन्छन सधैंको अँध्यारो मनहरुमा ।
चराले गाएपछि विद्रोहको गान
हावाले फेरेपछि अशान्तिको श्वास…
विश्वासका पातहरू झर्छन ।

तूहिसके विश्वासहरू…
सपनाहीन घरको ।
फूलको / नानीहरुका / चराको / खोलाको / आकाशको ।
विश्वासहीन बाटाहरू कति षडयन्त्र रच्छन ।

आकाशको नांगो आंङबाट
चुहिरहन्छ – घामको पीप /
श्रापित बाँच्नुको पसारोमय स्थितिमा दुर्गन्ध फैलिन्छ ।
हत्केलाले अनुहार छोपेर
कुदिरहेछन सबै
आफैलाई खोज्ने उपक्रममा ।

डढेलो लागेको छ विश्वासको जंगलमा
दमकल खोज्नेहरु पनि
त्यहीं बनवास पसेका छन ।

Narayan Tiwari – Man Paryo, Man Parena

नारायण तिवारी – मन पर्‍यो/मन परेन
(नेपाल साप्ताहिक ३७१)

तिमीले कोट-पाइन्ट लगाएको
मन पर्यो
राष्ट्रियता
पोसाकमा नखोजेको मन पर्यो
तर, बन्दुक बोकेको मन परेन
बन्दुकको धङ्धङीले अझै गाँजेको
मन परेन ।

तिमीले स-साना मानिसहरूको आँसु पुछ्छु भनेको
मन पर्यो
तिमीले देश बनाउँछु भनेको
मन पर्यो
तिमीले चेतनाको दियो बालेको
मन पर्यो
तर, बन्दुकले नै जितेको हो भनेको
मन परेन
बन्दुकले हारेको नस्वीकारेको
मन परेन ।

हिजो-
बन्दुक बोकेको मन परेन
आज-
बन्दुकको धङ्धङीले नछाडेको मन परेन ।

तिमीले आगो बोकेको मन पर्यो
आगो बालेको मन पर्यो
आगोले पोलेको मन परेन
त्यही आगोले डढाएको मन परेन…!

Shyamdas Baisnav – Jyoti Stambha Mahakabi Devkota

ज्योति-स्तम्भ’ महाकवि देवकोटा

ज्योति-स्तम्भ’ झैँ थिए उनी, उज्ज्वलता फैलाए- विचारले
सुधारवादी ध्येय लिएर ‘दक्ष’ बने व्यवहारले
“विचार घुस तेजिला, हृदयमा उज्यालो भर
अँधेर-निशिमा परेँ, किरण छाऊ हे सुन्दर ”
भन्दै, शिव-सुन्दर भावले-भित्री चेत उघारेर
अथक परिश्रम कविले गरे-साहित्य-क्षेत्र सिँगारेर
धनी थिए चेतनताका उनी, लागिपरेथे ‘ज्ञान-युद्धमा’ ।
प्रभाव पर्न गएथ्यो सबतिर-शोषित, पीडित, प्रबुद्धमा ।
अमर बनेथ्यो उनको चिन्तन, कहलिए- ‘लक्ष्मीप्रसाद’ भनी
अपहेलित जीवनको उद्धार-गर्ने ठहरिन गए- ‘गुनी’
पहाड, उपत्यका, तराई सबैतिर, ‘कवि-नजर’ पुगेको देखिन्छ ।
सबै जात र वर्गहरूकन-कृतिले ब्यूँझाएको पाइन्छ ।
पूर्वीय संस्कार भएका मान्छे, पश्चिमतिर पनि लागे हेर्न ।
शिक्षा, दीक्षा, पठन-युक्त भई, लागे ‘अशोभनीयता’ फेर्न ।
‘भुलभुल कविता मूल फुटे’ झैँ, उनको ‘भाव-प्रवाह’ फुटेथ्यो ।
प्रतिभाबाट छुटी छहरा, हृदय हृदयमा- ‘स्पर्श’ गरेथ्यो ।
उपत्यकाको गाथा उनले, छन्द झ्याउरेमा ब्यूँझाए ।
‘मुना-मदन’ को रचेर काव्य, घर-घरलाई ‘द्रवित’ तुल्याए
“ईश्वरको हाँसो पाएका फूल, छोएर नमार ”
भनेर उनले अर्कै नै नयाँ देखाए संसार
पूर्वीय गौरव दर्शाउँदै- उनले रचेथे- ‘शाकुन्तल’
मीठो लाग्छ भनी गाथा- थिए उठाएका यो भूतल
पश्चिमी जगत्तिर हेरी कविले- ‘प्रमिथस’ काव्य रचेथे ।
पूर्व र पश्चिम दर्शनलाई- उनले ‘निकै’ मथेथे ।
‘ल्हुनी’ र ‘म्हेन्दु’ सिर्जना गर्दै- शेर्पा र तामाङ वर्ग जगाए ।
गुँथेर गाथा- ‘कुञ्जिनी’को, ‘राउतहरूको’ हाल खुलाए
आस्तिक-नास्तिकको गन्थन- ‘सुलोचनामा’ हेर्न सकिन्छ ।
बाहुन, राणा, क्षेत्रीहरूको गतिविधि जान्न र बुझ्न सकिन्छ ।
गोसाइँ-स्थानको निर्झर गान सुनेर उनले लेखे काव्य ।
उनको प्रतिभाले देखायो- ‘सुन्दर प्रकृति’ बनेको भव्य ।
‘स्वदेश गौरव’ दर्शाउँदै- उनले चिनाए विविध स्थान ।
‘भरेर चेत’ विशालताको, कविले गर्न खोजे उत्थान ।
वीरहरूको गाथालाई ‘लक्ष्मीले’ जगाएको पाइन्छ ।
वलिदानी, साहसीप्रति पनि कविले ‘सम्मान’ जताएको देखिन्छ ।
बोले धर्म- ‘कुन मन्दिरमा ‘पूजा’ गर्छौ- आऊ ‘
मैले बोलेँ- “वीरहरू वलिदान भएको ठाउँ ।”
यस्ता उत्सर्गी भावमा- ‘सेवालाई’ महìव दिएर
विवेक र पसिना ठूलो ठानी उनी हिँडेथे- ‘सत्य’ भजेर
‘वन कुसुम’ फुलेको देखाएर, रज-नायक त्यहाँ पुर्‍याएथे ।
दन्त्य कथाको पारी भान, कविले काव्य उब्जाएथे ।
विविध प्रकारका ‘रचना’ रच्दै-शिक्षणतिर पनि बढे उनी ।
अदक्षलाई ‘दक्ष’ बनाई-उच्च गराउन भिडे उनी ।
स्वतन्त्रताको महिमा सम्झी, ‘चौहान’ र ‘राणा प्रताप’ जगाए ।
जस्तै आपत् आइपरे पनि, हिम्मत नहार्नुको ‘होस’ खुलाए ।
‘शाहजहाँको’ बुझेर इच्छा, ‘ताजमहलतिर’ दिए ध्यान
सहृदयताको व्यापकतामा, यिनका कृतिहरू भर्थे ज्यान
रजपूतहरूको साहस सम्झी, ‘नाटक’ रचिएथ्यो रमणी
अरावलीको सुन्दरतामा, ‘भल्केथ्यो’ ‘जल दरबार’ ‘मणि’ ।
स्वदेश-सुधारक शिक्षासेवी, लेख्न तपस्वीतुल्य उनी,
यत्रतत्र सगाइ हिँड्थे- ‘हित-चिन्तक’ भई, बनी ‘सगुनी’ ।
रोएको सारङ्गीमा देखे गायन गर्नेहरूको गीत ।
पिछडेका वर्गहरूमा उनले दर्शाएथे- आˆनो प्रीत ।
“के गरुँ त यसै सुतुँ ? अँध्यारैमा ? भन्थे- हजुर
हिमालमा जब ‘धप्प’ बल्दो देखिइन्थ्यो गजुर ”
पग्ले ‘सृजनघन’ भनेर उनले- इन्द्रेणीको रङ खुलाए
यात्री बन्दै देश-विदेशको ‘पुकार-पहाडी’ पनि व्यक्ताए
शिक्षा अनि साहित्य-क्षेत्रले उनको धेरै नाम चलायो ।
‘नेपाल नानीतुल्य छ’ भन्दै ‘लक्ष्मी निबन्धले’ विश्व चिनायो
‘ज्ञान-ज्योति’ फैलाउन खातिर, बन्न गए ‘शिक्षा मन्त्री’ उनी
त्रिभुवन विश्वविद्यालयको साथै ठडियो ‘प्रज्ञा निकाय’ पनि
‘हिमवत्खण्डी’- आदर्शसाथ पश्चिमको गुणलाई उघारी ।
भौतिक-आध्यात्मिकता दुवै-उग्राए उनले, खूब विचारी ।
सुनको बिहान उदाउने कुरा- बालक रमाउन गरेथे उनले ।
चरा र स्वर्गको मीठो गीत, उत्साह जगाउन कथेथे उनले ।
अङ्गे्रजी भाषामा भई प्रवीण, उनले त्यसमा पनि रचे कृति
अङ्ग्रेजीका प्रख्यात सिर्जना अनुवाद गरेर- थपे द्युति
नेपाल र नेपालीको गौरव, थियो ‘रहर’ बढाउने उनमा ।
रुस र अन्यत्र पुगेर पनि-देखाए चमत्कार सम्मेलनमा ।
‘देश-सुधारक’ उनी हुँदा, लागे-राजनीतितर्फ पनि ।
‘हैरानी’ भोग्न पर्‍यो यसबाट, घेरिन आए-धुर्त वैगुनी ।
धेरैले उनलाई ‘ढाल’ बनाए, चाहिने नचाहिने काम गराए ।
छलकपट र स्वार्थी घेरामा- उनको ‘यश’ जति धमिल्याए
‘अभिशाप’ हुन गयो गतिविधि सारा, यसबाट हुन गए ‘डण्डित’ पनि
घायल पछीतुल्य बनेर- हुन गए बडो ‘पीडित’ उनी
ईष्र्या द्वेषले थाल्यो डस्न, देखाए ‘दोष’ सहयोगीले नै ।
कुरा लगाई ‘जाति’ बन्ने- राखे इरादा उपयोगीले नै ।
तब लाग्यो उनलाई क्यान्सर रोग, कुपथ परेको ठानियो ।
सक्रिय हुन खोज्नेको ‘आन्द्रा’, भारततर्फ लगेर काटियो ।
‘नेपालीमै’ स्वदेशभर पढाउने उनको ‘आदर्श’ थियो ।
विषाक्त कारण बन्न गएर-यसबाटै क्लेश उब्जन गयो ।
खेद मनाए साराले तब- कुटिल काम हुन गएकोमा
‘भौगोलिक त्रुटि भो’ भने कसैले- ‘गुणका वैरी’ बढेकोमा
आखिर-निभ्न नै गए उनी, मर्न नचाहँदा नचाहँदै पनि ।
शिक्षक विद्यार्थीहरू झुमिए- ‘अन्तिम दर्शन’ गर्न भनी
गरियो प्रार्थना पुगी चितामा- “देवदूत हे महान्” भनेर
स्थानीय व्यक्तिहरू त्यहाँ झुके, गुम्यो उज्यालो भन्ठानेर
श्रमिक थिए कवि उपकारी, हेर्न खोज्दथे ‘तम’ खारी
कृतघ्नताको बनी शिकार, उल्टो ‘दोषी’ भई लाचार
मुटुको धुकधुक बन्द भएको, आर्यघाटमा चिता जलेको
देखे संवेदनशीलहरूले- ‘सत्व मिटी’ निर्द्वन्द्व भएको
आज पचासौँ वर्षपछि- कविको मनाउन लागिँदैछ ‘शताब्दी
मरेपछि गुण देखिन थाल्यो, अवगत हुँदैछ उनको ‘उपलब्धि’
‘गुणको अन्त्य हुँदोरहेनछ’- भन्ने देखिन थाल्यो अहिले
भित्र घुसेको ‘उज्ज्लताको’- सुकीर्ति फैलन थाल्यो अहिले
ज्वालामुखी विस्फोट भएथ्यो कविलाई पागल ठानिँदा,
छैटौँ इन्द्रीय बोलेथ्यो-रहस्य भित्री नजानिँदा ।
परिपञ्ची स्वार्थ विरुद्धमा जागृति- ‘अभियान’ थाल्नेलाई,
ठान्दै-ईशा, गान्धीतुल्य- गरिदोरहेछ पछि हाई हाई
गीतामा झैँ- सार कुरा जति ग्रहण गरौँ अब हामी सबले
‘विकार’ र ‘विकृति’ पन्छाएर- ‘शुभ-चिन्तन’ प्रबल गरौँ सबले
उपसंहार-
हानथापको खेलमा, पर्न गए कवि झेलमा ।
‘मालिकवादी’ परिपञ्चीको फस्नगए- ठेलमठेलमा

Saroj Dhital – Mero Priya Kavi

सरोज धिताल – मेरो प्रिय कवि

मेरो प्रिय कवि
आजकाल कविता नै लेख्दैन ।

भोकाएको बेला
छटपटिए पनि, रोए पनि
अँगेनाको छेउमा बसेपछि
मुख रसाउँछ
दुई चार गाँस परेपछि
सुकेको आँत नै रसाउँछ
र भोक मरिसकेपछि
म कविता लेख्छु—भोककै बारेमा

तर मेरो प्रिय कवि
कविता नै लेख्दैन ।

मुख थुनिएको बेला
बोल्नै नपाएर छट्पटिए पनि
धुरु धुरु रोए पनि, रिसले मुर्मुरिए पनि
परबाट आएको धुन सुन्दा
म पनि गुन्गुनाउँछु
रिस मरेपछि, पीडा घटेपछि
म कविता लेख्छु—अभिव्यक्ति स्वतन्त्रताको बारेमा

तर मेरो सबभन्दा मन पर्ने कवि
आजकल बिल्कुलै कविता लेख्दैन ।

जुन, २००२

Basanta Mohan Adhikari – Nepali Sapana Ra Bipana

बसन्त मोहन अधिकारी – नेपाली सपना र बिपना

आमा !
आज फेरी सपना देखें
तिमीलाई भैसिले लखेटेको
मध्यरातमा जुरुक्क उठेर
चैतन्यको बतिमा
चारैतिर हेरे
घरबाहिरका अर्नाहरूले खेद्दै रहेछन् ।

हो बाबु,
भो त्यो कुरा नगर
तिम्रो घरबास उठ्ला!
ईज्जत मात्र होइन
प्राण चुडिएला
मेरो चाहना
तिम्रो गाँस, बास र कपास
र जीवन हो ।
मैले पनि भयङ्कर सपना देखेँ
गाँउघर, शहर मात्र होइन
प्रदेशमा पनि ऐंठनहरू आएर
तिम्रो गला थिचिरहेछन् ।

घरआँगनबाट
बल्ल तल्ल बाँचेका
मेरा सन्तानहरूलाई
कुबेर बन्ने होडमा
जिउँदो बलि दिदै
त्यो प्रदेशमा
कठ्ठै ! बाँच्नु न मर्नुको दोसाँधमा
कठ्ठै ! बाँच्नु न मर्नुको दोसाँधमा
सैतानहरूले
भेडा बाख्रा झै बेचिरहेछन् ।

आमाको ममता न हो
सहन नसकेर
रुदैँ सगरमाथा उक्लिएर
प्रदेशतिर चिहाए
कयौ सपुतहरूले
भाईबैनीहरूलाई
ममताले बाँधेको देखेँ
अँगालो हालेर राखेको देखेँ
त्यतिखेर
भावविहल भै आँखाबाट आँशु खस्यो
खुसी र हर्षो
धेरै भयो
यस्तो दृष्य नदेखेको ।

समयको अन्तरालमा
अनायासै,
तिम्रो जस्तै सपना देखेँ
सपुतहरूलाई घरकै भैंसीहरूले खेदिरहेछन् ।
हान्न र फाल्न सिंग उदाई रहेछन् ।
पापै पापले भरिएको धर्ती बिच
आधा रातमै उठेँ
पुकार गरे
हे जन्मदाता !
संसारका सृष्ट्रिकर्ता !
यो धर्तीमा
सत्यताको कर्म र कतर्ब्यमा
बाँच्न दिदैनौ भने
जन्म पनि नदेउँ
म सधै मेरा सन्तानहरू
अनाहकमा बलि चढाउन चाहन्न ।
बलि चढाउन चाहन्न ।

Umesh Rai Akinchan – Ma Banche Bhane Bhagawan Marchha

उमेश राई’अकिञ्चन’ –म बाँचे भने भगवान मर्छ

एक हरफ शब्दले
संसार जित्न खोज्ने
ए कवि !
कोर एउटा
नानी रोएको आवाजजस्तो कविता
छापामारको कैमोफ्लेज लुगाजस्तो
टाटे पाङग्रे
विश्वको नक्सामा
ए भिक्षु !

विपरित बहिरहेछ हावा
उल्टो फरफराइरहेछ झण्डा
फर्काउ
पानको पात पाइला नाघेर
सिमाना काटिरहेका
घामलाई

कि त रोएर
कि त हाँसेर सकिने
जिन्दगीलाई
यसरी जोड
ए दार्शनिक !

पुथ्वी घुमे जस्तो
फेरि फेिर
नदोहोरियोस्
कलिलो फूलको गुनासो

‘म मरे भने भगवान बाँच्छ
म बाँचे भने भगवान मर्छ’ ।

Mahesh Regmi – Meri Antim Stri

महेश रेग्मी – मेरी अन्तिम स्त्री
(मधुपर्क असार, २०६७)

मेरी अन्तिम स्त्री
जो वाचाल छ
म उसको श्रोता बनेर अघाउनुपर्छ
उसका तर्क र भाषणको ‘ब्रेकफास्ट’ खानुपर्छ
र, बेलाबखत स्वर्गीय दृश्य भएर विभाजित बन्छे
मलाई तृप्ति दिन ।
ऊ अमूक पार्टीको सक्रियतावादी
र, केही छायाँवादी
उसले निर्वाचन जितेकी छे
संसद्मा पुगेकी छे
समलिङ्गी अधिकारका लागि युद्धरत् ।
मलाई आवारा बनाउने सरकार
उसका लागि सत्ता पक्ष छ
र, संसद भवन
उसका लागि घर र माइती भएको छ ।
म उसको जीवनको एकछेउमा बास गर्छु
तर ऊ मेरो निवास भने होइन
र, घर पनि होइन ।
मेरा लागि ऊ अन्तरिम सम्बन्ध बन्छे
र, मेरा अङ्गहरूको विघटन गर्न खोज्छे
जसरी यो गुण्डा सहर
मेरो जिब्रो थुत्न खोज्छ
खोस्न खोज्छ मेरो वीर्य
ए मेरी अन्तिम स्त्री
म अन्तिम नायक हुन चाहन्नँ ।

पाल्पा, हालः काठमाडौं ।

Matrika Pokhrel – Ban Phool Ra Sapana

मातृका पोखरेल – वनफूल र सपना
(सहिद सेतू सुनारको स्मृतिमा)

म वनफूल,
युगौंदेखि
गरिबी र अपमानको हिउँले
धेरै ठाउँमा डामिएका छन्
मेरा फूलका पत्रहरू
सभ्यताको जँघारमा
घाइते भएर म
धेरैपटक लडेकी छु
अपमानित भएरै
मैले पनि युगलाई नबोकेको भए
हामी सबै मिलेर चन्द्रमा कसरी छुन्थ्यौं ?
ठिहिर्याउने वर्तमानमा बाँचेर
मैले सबैलाई
एक पाखो घाम ताप्न बोलाएकी हुँ,
म सेतू सुनार !
हामी सबैभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन ।

मेरा पिता पूर्खाले
खाडलमाथिको जमिन देखेनन्
मैले खाडलमाथिको जमिन टेकिन
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भर्याङ लाएँ
हामी धेरैले उचालेको
नयाँ यात्राको एउटा साइतमा
मैले पनि अघिल्तिर पाइला राखेँ,
मलाई थोपाको शक्तिसँग विश्वास छ
मलाई घामको वास्नासँग विश्वास छ
मलाई हावाको गतिसँग विश्वास छ
म सेतू सुनार !
मलाई समानताको भोलिसँग विश्वास छ
म तपाईंहरूजस्तै हो,
मलाई बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।

प्रिय आफन्तहरू !
भोलिको समयलाई
बेलाबेलामा सम्झाइरहनु
मैले रोपेको विरुवामा
फेरि झुन्डिनुहुँदैन कालीपोकेहरू,
मेरो यात्रामा
कसैले कुनै शोकगीत नगाउनू
मेरा साना सन्तानहरूलाई
बुझने भएपछि सुनाइदिनु
तिम्रा निला आँखाहरूको
प्यारो अनुरोध पूरा गर्न
ऊ सागर हिँडेकी छ,
मसँग लोभको कुनै दरबार छैन
म वनफूल !
मलाई बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।

मेरा पूर्खाले,
गोडमेल गर्दा नदेखेको एउटा झार
झयाँगिएर विषवृक्ष भएछ,
त्यो हल्किएको देखेर
म क्रोधले आहात भएँ
म अतितसँग क्रुद्ध भएँ
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भर्याङ लाएँ
प्रिय आफन्तहरू !
म जंगली फूल !
म सेतू सुनार !
तपाईंहरूभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन ।

(जनआन्दोलनका क्रममा २०६३ वैशाख ४ गते नेपालगञ्जको ज्ञानेन्द्र चोकमा गोली लागी मृत्यु भएकी सहिद हुन् सेतूसुनार । पछि आन्दोलनकारीहरूले ज्ञानेन्द्र चोकलाई सहिद सेतू विक चोकको रूपमा नामाकरण गरेका थिए ।)

Hemanta Pardeshi – Marubhumi Ko Cactus

हेमन्त परदेशी – मरुभूमिको क्याक्टस

तिमी कल्कलाउदो गुलाबको फूल
म आधा सुकिसकेको मरुभूमिको क्याक्टस
अब आफै भन तिमी –
कहाँ छ हामीमा समानता?

हो, प्रेमको कुनै परिधि हुँदैन
उमेर र आयूको सीमा हुँदैन
तर Continue reading “Hemanta Pardeshi – Marubhumi Ko Cactus”

Ganga Ram Gadtaula – Ma Kahan Dera Painchha

गङ्गाराम गड्तौला – मकहाँ डेरा पाइन्छ

तपाईं डेरा खोज्दै हुनुहुन्छ?
सुविधायुक्त घर रोज्दै हुनुहुन्छ?
भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
आउनुहोस् मकहाँ डेरा पाइन्छ।

सुविधाका लागि डराउनु पर्दैन
कुनै कुरामा कराउनु पर्दैन
आफू भलो त जगतै भलो
कहिले आफैँ आगो हुनुहोस्
कहिले आफैँ पानी हुनुहोस्
यस्तो डेरा कहाँ पाइन्छ
भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ
आउनुहोस् मकहाँ डेरा पाइन्छ।

लाइन छ ― बत्ती छैन
धारो छ ― पानी छैन
सुत्न नमिले पनि बस्न पाइन्छ
भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
आउनुहोस् मकहाँ डेरा पाइन्छ।

गफ गर्नुहोस् ― बोल्न पाइन्न
झ्याल कहिल्यै खोल्न पाइन्न
कौसीमाथि डुल्न पाइन्न
पाहुना आए हुल्न पाइन्न
सधैँ बाहिर रहे पनि पानी–बत्तीको महसुल चाहिन्छ
भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
आउनुहोस् मकहाँ डेरा पाइन्छ।

डेरा होइन ― दरबार हो
तपाईंका लागि घरबार हो
रङ्गशाला हो ― दौडनुहोस्
स्विमिङपुल हो ― पौडनुहोस्
टुँडिखेल आफैँ बनाउनुहोस् ― भित्रै जात्रा मनाउनुहोस्
यहाँ केवल बोल्न पाइन्न, अरू सबै छुट छ
भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?
आउनुहोस् मकहाँ डेरा पाइन्छ।

डेरा हो यो सस्तो छ ― खेल्ने मैदान जस्तो छ
हावा छिर्छ ― घाम छिर्दैन
नपरेसम्म पानी छिर्दैन
मुसाका दुला टाल्नुपर्छ ― दिउसै बत्ती बाल्नुपर्छ
अग्रिम भाडा तिर्नुहोस् ― निहुरेर भित्र छिर्नुहोस्
यस्तो डेरा कहाँ पाइन्छ?
भन्नुहोस् तपाईंलाई यस्तै चाहिन्छ?
आउनुहोस् मकहाँ डेरा पाइन्छ।

शान्तिनगर ― ५, झापा, हाल: काठमाडौँ।

Komal Shrestha Malla – Thapdai Gai Maile Piyen (Gajal)

कोमल श्रेष्ठ मल्ल – थप्दै गई मैले पिएँ (गजल)

थप्दै गई मैले पिएँ,पिउनु पिएँ पिउनु पिएँ
बोतलको हेर कमाल बिग्रिएछ मेरो हाल
मालामाल मालामाल उनी मालामाल

बात लाउँछे छोएँ भने नपिएर बसेँ भने
आई हाल्छे Continue reading “Komal Shrestha Malla – Thapdai Gai Maile Piyen (Gajal)”

Dr. Mohan Prasad Joshi – Adhuniktako Tikho Dhanu

डा. मोहनप्रसाद जोशी — आधुनिकताको तीखो धनु

न घाम घरमा पस्न दिएँ
राखी झ्याल खुल्ला,
न हेरेँ उडिरहेका
पङ्क्तिबद्ध बकुल्ला,
न देखेँ फैलिएका
हिमालका शृङ्खला |

न उक्लेँ माथि छतमा
चाँदनी रातमा,
न रुझें म बर्सातमा
रूख-बिरुवाका साथमा,
न पल्टिएँ प्रकृतिको
केही बेर काखमा |

न रोकेँ मैले आफूलाई
हेर्न लामो इन्द्रधनु,
सूर्यास्त देख्दा कुनै दिन
रोकिएन मेरो मनु,
गढेको देख्छु छातीभित्र
‘आधुनिकता ‘ को तीखो धनु |

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)

Sudhir Chhetri – Rakta Pipasu Camera Haru

सुधीर छेत्री – रक्तपिपासु क्यामेराहरू

नखिँच्नू अबदेखि मेरा अर्द्धमुदित नयनहरू
रगतका भोका क्यामेराहरूले।
नटिप्नु डुब्नलागेको घाम रक्तपिपासु क्यामेराले।
सत्याग्रह खाएर डम्म अघाएका
अन्शनकारी सन्तोषहरू र
हावामा पौडी खेलिरहेका
स्वाभिमानी झण्डाका नक्शा उतार्नलाई
चर्केका सम्वेदना-लेन्सहरू
अहँ,
पुग्दैन।
क्यामेराहरू ड्र्याकुला हुन्।
घाउहरू, रगत, विस्फोटहरू ह्नमर्‍याङ्-मर्‍याङ् चपाउँदै
निल्दै
ओकल्दै
गणतन्त्रका अँध्यारा गल्लीभित्र
ती मुत्न जान्छन्।
क्यामेराहरू मृत्युका प्रयोजक हुन्
वधशालादेखि बुफेसम्मै।
जसलाई आमजनता भन्छौ नि तिमीहरू !
त्यो माचिस सल्कँदा
कता-कता डढेलो लाग्छ, हेर्नू।
अनुहारभरि लतपत रक्तिम महोत्सव बोकेर
खुफिया गोजीमा हात घुसारी
यतै आउँदैछ त्यो महानायक।
किटाणुयुक्त पाठेघरबाट
हुलका हुल सिजोफ्रेनिक महाशयहरू
सभ्यताको व्हाइट-कलर कायामा निस्कँदैछन्।
मेरो माटोको आवाज
चियर्स-लिडरहरूका काखी र छेपारीका भञ्ज्याङ्हरूमा
साउती बनेर हराइबस्छ।
ऊ ह्न धातुको रूमालले
मेरो आँसु र पसीना सोतार्न चाहन्छ।
तिमी नखिँच्नू
भस्मेका पवित्र मृतात्माहरू

पौष्टिक उद्भिदका हरितकण।

Bishwa Sigdel – Ekkai Chhin Sano Paridhi Malai

विश्व सिग्देल – एक्कैछिन सानो परिधि मलाई

हेर है !
नछोए नि मेरा कविता
नसँगाले छरिएका पन्नाहरु
भुईं/टेबुल/किताबका पत्र/गोजी
रहन दिए
यथास्थान

सडक
राता हरिया बत्ती
आदेश दिन्छ
म लुरुक्क हुन्छु

अफिस
करेन्ट चरो, पाले
आदेश दिन्छ
म लुरुक्क हुन्छु

चामल पसल
बाँकी बक्यौता
आदेश दिन्छ
म लुरुक्क हुन्छु

अरु त अरु
तिमी
भान्छा,सयनकक्ष
आदेश दिन्छेऊ
म लुरुक्क हुन्छु

अब
आदेशमाथि आदेश सहेर
सधिएको गोरुको पिठ्यूँ
सिधा गर्न
छर्न/बढंगी बनाउन/भत्याङ भूतुङ गर्न
मैले नपाउने लेख्ने बेला ?

म छरिन्छु
सेता सूर्य किरण पन्ना
लुकाउँछ
अन्तर कुन्तर घाम
मात्तिन्छु/लड्खडाउँछु ,हदयको छाल
ठोक्किएर लड्छु, छरिएका कविता
चिप्लिन्छु, हिलो कविता
उ कमल…पख ! पख !

एक्कैछिन
सानो परिधि
तिम्रो के जान्छ ?
बरु ढोका लगाउँछु नि हुन्न !

हेर है !
नछोए नि मेरा कविता
नसंगाले छरिएका पन्नाहरु
भुईं/टेबल/किताबका पत्र/गोजी
रहन दिए
यथास्थान