Ashok Parthib Tamang – Sabhyata Ra Prem

तिमी हराउनु र मैले खोज्नुमा
कस्तो तारतम्यता मिलेछ ?
तिमी युग छेकेर
हाँसेकी रहेछौ ।
मैले परिवेश कन्याँए
तिमी उफ्रियौ कुतकुतिएर ।
कस्तो पुलकित नयनहरू ?
अनि
स्खलित भए भावना गंगाहरू
तिमी भेटिएको अर्थ Continue reading “Ashok Parthib Tamang – Sabhyata Ra Prem”

Rakesh Karki – Virus Haru

राकेश कार्की – भाइरसहरु

लाञ्छनाका भाइरसहरुले रुघाखोकी लगाउँदा पनि खोकिएन प्रिय
हार्टयाट्याक गराउने गरी धोका दिँदा पनि मुटु रोकिएन प्रिय

सिकाउने, भड्काउने, बिगार्ने, छुटाउने, कुरा लाउने कति धेरै
तिनैका लहलहैमा पिँजडाको सुगाले जस्तै पाठ घोकिएन प्रिय

म प्रेममा अन्धो थिँए हाम्रो सामुन्ने अजँगको पहाड थियो
तिमी खुरुक्क मोडियौ म हिँडिरहेँ मलाइ कतै ठोकिएन प्रिय

छाती चर्केको देखेर होला, भट्टीले स्वागतका ढोका खोलीदियो
बहाना पाएर, लाचार भएर, हरुवाले झैँ टन्न धोकिएन प्रिय

सबैजना स्वच्छन्द छन्, आफ्ना आफ्नै छुट्टै बिचार छन्
तिमीले जस्तो अर्काले बलजफ्ती लादेको बिचार बोकिएन प्रिय

-लस् एन्जेलस्

Yagyesh Dhwoj Karki – Yo Samaj

यज्ञेशध्वज कार्की – यो समाज

यो मानिसको किनबेच चल्ने समाजमा
मजबुरीमा, लाचारीमा, बलजफतीमा, जबर्जस्तीमा
कयौं बेगुनाह चेलीबेटी बेचिन्छन्,
जो लज्जा र अपमानले
दिनभरी लुक्छन्,
रातभरी दिनलाई कुर्छन्,
सबका सामु झुक्छन्,
आफ्नो नसीबलाई धिक्कारी सुकुँसुकुँ रुन्छन्,
उनलाई अतीतले पोल्छ
भाग्यले पिरोल्छ
भित्रभित्र भावनाहरुले दुख्छ,
अनि यो समाजले पनि
उनै उपर थुक्छ!
तर,
आफ्नो इच्छाले,
आफूखुशी आफैलाई
आफ्नो इमान र मर्यादासँगै बेच्नेहरु चाहिं
रोव, रवाफ र शानसंग
दिनभरी भुक्छन्,
रातभरी चैनसंग घुर्छन्,
आफ्नो घुसियापन सबका सामु पुर्छन्,
ओहदामा माथि माथि उठ्छन्,
उनलाई न कानुनले छेक्छ
न नैतिकताले रोक्छ,
केवल कपटले बोक्छ
अनि यो समाज पनि
उनैलाई निहुरी निहुरी सलाम ठोक्छ!

Narayan Adhikari – Ke Farak

नारायण अधिकारी – के फरक ?

ए स्वयम्भू !
सत्य सत्य बोल न्यायको बारभित्रबाट
हिजो र आजमा केही फरक पायौ ?
उही उद्घाटन्-सेमिनार गोष्ठी-प्रवचन
उही भोज-भोतेर सत्ता-भत्ता
तिमी के देख्छौ खै ? म त यहि देख्छु ।

पीडामाथि पीडा थपिँदै छन्
सुनको त कुरै नगरौं नून खानै गाह्रो भइसक्यो
कोशी गण्डकी महाकाली पुरानै घाउ हुन्
निको हुनु कता कता
सीमा अतिक्रमणका नयाँ घाउहँरु फैलिँदै छन्
पुराना सन्धी-सम्झौता
नवीकरण पुनरावलोकन ठीकै होलान्
तर तिनका नाममा खै !
के के सट्टा भर्ना गर्नुपर्ने हो !
म त यही देख्छु ए स्वयम्भू !
भन तिमी के देख्छौ ?

ए स्वयम्भू !
तिम्रा बुद्धका आँखाले
शान्तिको गति के देख्छौ ?
एउटा भयानक युद्ध रोकिए पनि
युद्धका जीजिविषा पाल्नेहरु
फुटेर चोइटिएर टुक्रिएर भए पनि
रगतको होली खेलेकै छन्-
म त यही देख्छु-
पानी सङ्लो छ भन्नु भ्रम मात्रै हो
मेचीदेखि कालीसम्म
जहाँको पानी उठाएर हेर
रगतकै छिटा पाउनेछौ ।

के फरक छ हिजो र आज
उही मालिक रिझाउने खेल
उही शासन टिकाउने खेल
उही मागेर गर्जो टार्ने खेल
ए स्वयम्भू !
सत्य सत्य बोल न्यायको बारभित्रबाट
कतै देख्यौ कि नयाँ नेपाल ?

(उडब्रिज, भर्जिनिया)

Manoj Kafle (Mansoon) – Sarangi Ko Dhoon

रमाएर जीवन भरी माया कसी बाँचिदेउ
सारंगीको धुन सुनी छेउमा बसी नांचिदेउ

खुसीमा नै बित्न पाउन बचेका यी भोलीहरु
चन्द्रमाको मुस्कान संग दिलमा पसी हांसिदेउ

कलेजीमा तिम्रोमाया तुन्न मलाइ रहर लाग्छ
ढकमक्क जोवन मायाजालमा फसी गांसीदेउ

इच्छा हरु आतुरहोलान गहभरी खुसिहोला
मिलनहुदा दुइटा छाती धसी धसी टांसीदेउ

मनसुन

Anukul Prakash – Naya Paribhasha Prem Ko (Nepali Gajal)

अनुकुल प्रकाश – नयाँ परिभाषा प्रेमको (गजल)
(चितवन)

नयाँ परिभाषा प्रेमको, बुझाएर गयौ !
आशा अभिलाषा जीवन्को, टुटाएर गयौ !!

मन्मा बसन्तको भर्खर, आगमन थियो ,
वरा! मनडाली भाँचेर, सुकाएर गयौ !!

गाँस्नु रैन रैछ पिरती, हैसिएत मेरै
आँखो अन्धो थियो मनको, खुलाएर गयौ !!

भनी बाँच्नुपर्छ तिमीले, ‘साथबिना मेरो’,
मर्नुभन्दा ठुलो सजाएँ, सुनाएर गयौ !!

लुट्यौ लुट्नुसम्म आखिर, प्यासीनै’छ अनु,
खुशी नै’छु धोको तिमीले, पु-याएर गयौ !!

Krishna Joshi – Hiun Jhain Aayeu Hiun Jhain Gayeu

कृष्ण जोशी – हिउँझैँ आयौ हिउँझै गयो
(मधुपर्क बैशाख, २०६७)

हिँड्दा हिँड्दै
विष्फोट फाटेर
दोबाटोले तिमीलाई निलेको देख्थेँ
कहिले फेरि
अनजान मान्छेले जबर्जस्ती
अनजान ठाउँतिर लगेको पनि देख्थेँ

मेरा काला शङ्काहरूमा
तिमी हराउँथ्यौ पनि
देशको विस्थापित सीमास्तम्भ भएर
मेरो भूगोलबाट

देख्नु परेथ्यो कुनै दिन
नाम्चेको आरक्षणबाट निकुञ्ज भित्र नै
गोली लागेर मृत्यु छट्पटाइरहेको
एउटा कस्तुरी मृग

मायाले सुमसुम्याउनुबाहेक
कुनै उपाय थिएन मसँग
चिसो भयो त्यही क्षण हिउँ भयो कस्तुरी मृग
त्यो चिसो हिउँलाई
अर्थहीन मायाको अन्तिम सत्य प्रतीक सम्झेँ

अचानक
गोलीको रगताम्य घाउ लिएर
कस्तुरी मृगझै आयौ मसम्म तिमी पनि
त्रसित थिएँ उपचार गर्न नसक्ने
छरछिमेकलाई बोलाउन नसक्ने
बन्धित थिएँ काखमा सुमसुम्याउन नसक्ने

त्रसित मेरो मुटुमा
आवाजहीन भक्कानो फुटाउँदै तिमी पनि
चिसो भयौ त्यही मृगझैं हिउँ भयौ
अन्तिम उपहारमा मलाई
कस्तुरी वासना दिएर ।

Umesh Rai Akinchan – Sakshi Shahar Ma

उमेश राई ‘अकिञ्चन’ – ‘साक्षी शहर’मा

आँखामा राखेर
उत्साहको झोला
हिँडिरहेको होला
त्यो
सौन्दर्यको शहर……

उस्तै होला
हामीले हिडेको
हङकङ पार्कको बाटो

उस्तै होला
भूँइमा खस्तै गरेको
जोर्डनको साँझ

त्यो
परको समुद्रमा
चलिरहेको होला किस्ती
वा
झन रफ्तारमा
दौडिरहेको होला
मास ट्रान्जीट रेल्वे

यही पल
आँसुको मधुरो मैनमा
छाम्दै हौला तिमी
मर्ने मान्छेको नमर्ने याद
जुन १, २००३

Dharma Raj Aryal – Mofasalma Chharpasta Kavitaharu

धर्मराज अर्याल – मोफसलमा छरपस्ट कविताहरू
(मधुपर्क २०६६ मंसिर)

अचेल मोफसलतिर
मौलाएको छ कविताको खेती
कवि मनहरूले चेतनाको दियो बालेर
अन्धकार विरुद्ध लडिरहेका छन्
चराजस्तै उन्मुक्त भएर
कवि मनहरूले
गाउँघरमा बास बस्न थालेका छन्
कुनै सिमाना छैन भावनाको
कुनै अन्तिम गन्तव्य छैन चेतनाको
जीवनका आरोह अवरोहहरूमा
दुःख सुखको साथी बनेको छ कविता
भारी बिसाएजस्तै
यहाँ मन बिसाउने चौतारी हुन्छ
त्यहाँ विभिन्न रङका
छन्दभङ्ग उन्मुक्त कविताहरू
तँछाड मछाड गर्दै
मनका प्रदेशहरू चहार्छन्
गोठाला दाइ र
गोठाल्नी दिदीको घाँसेगीत
आफैँमा एउटा जीवन्त कविता हो
अचेल कविहरू
यस्तै कविता लेखिरहेछन् मोफसलमा
शहरका कंक्रिट बस्तीहरूमा नभेटिने
आत्मीयता र न्यानो मायामा
यहाँ कविताहरू लुटुपुटु गरिरहेका छन्
स्वार्थरहित
पवित्र मायाको खेती गर्छ मोफसल
यही मायाको डोरीमा बाँधिएर
कविहरू निरन्तर गरिरहेछन्
कविताको खेती ।
असारे भाकाको गीत गाएर
धान रोपाइँ गरे भर्खरै किसानहरूले
कोमल मनहरूले
खेतको आलीमा उभिएर
उन्मुक्त कविताहरू सुनाए
जीवन र जगत्का
सुख र दुःखका
अनगिन्ती कविताहरू
अझै छरपष्ट छन् मोफसलमा
आऊ र त्यसलाई
टपक्क टिप कवि मनहरू ।
गाउँ गाउँमा खेती हुँदैछ कविताको
आऊ गोडमेल गर
स्याहार, संहाल
किनकि मोफसल पनि नेपाल नै हो ।
तर
गणतन्त्र घोषित नेपालको राजधानीले
मोफसललाई अझै माया गर्न जानेन
कहिल्यै आफ्नो ठानेन
यौटै नेपालभित्र पनि
किन होला भिन्न दृष्टि ? भनेर
मोफसल गुनासो गरिरहेछ ।
मोफसलमा अचेल
कविताको उर्वर खेती हुँदैछ
सुखमा नमात्तिने
र दुःखमा नआत्तिने बानी भएको कारण
यहाँका मानिसहरूमा
एक प्रकारको सन्तुष्टिबोध देखिन्छ
अँध्यारो चिर्दै
अग्रगमनको लागि
राजमार्गहरू निर्माण गर्दै
वर्तमानलाई हत्केलामा सजाएर
सुन्दर भविष्यको खोजीमा
लम्किरहेको छ मोफसल निरन्तर ।
परजीवी हुन छाडेको
आफ्नै सीप र पौरखमा रमाउने
स्वाभिमानी नेपालीजस्तै
चेतनशीलहरूको बस्ती भएको छ
अचेल मोफसलको मेरो गाउँ
आली आलीमा
डाली डालीमा
मनका मयूरहरू नाचिरहेछन् यहाँ
वियोग र वेदना
अनि हर्ष र विस्मातका कुरा
जीवनचक्र समान भएका छन् ।
कतार, मलेसिया र साउदी अरबका
निराश निराश चिठ्ठीहरू पढेर
वृद्ध बाआमाका अनुहारहरू
औंसीको रातझैं अँध्यारो हुन्छन् जब
त्यतिबेला
परदेशिएकालाई घर र्फकन आग्रह गर्दै
कविहरूको एक जमात
निरन्तर पेचिला कविताहरू
लेखिरहेछन्, संप्रेषित गरिरहेछन् ।
अभाव र मानवीय पीडाका
यावत कथा-व्यथाहरूबीच पनि
मेरो गाउँ
सूर्योदयको घामझैं मुसुक्क हाँसिरहेछ
हिलोमा कमल फूलेको कुरा
मेरो गाउँले राम्रोसँग बुझेको छ
त्यसैले मोफसललाई नहेप
ऊ विस्तारै विस्तारै शहरतिर आइरहेको छ ।

– भरतपुर १०, चितवन

Mahesh Regmi – Tathakathit Ma

महेश रेग्मी – तथाकथित म
(मधुपर्क माघ, २०६७)

म आफ्नै तस्बिर च्यात्छु
आफनैविरुद्ध उभिन्छु
र,
आपत्ति जनाउँछु
आफ्नो जन्मदिनलाई
मलाई पीडा छ
देशलाई केही दिन नसकेकोमा
देशको लाज ढाक्न नसकेकोमा
तथाकथित Continue reading “Mahesh Regmi – Tathakathit Ma”

Moti Ram Bhatta – Payar Ma Kada Chot Payera Aaye

मोतीराम भट्ट – पयर्मा कडा चोट पायेर आये

पयर्मा कडा चोट पायेर आये
म भन्दै थिएँ होस राखेर आये।

फजीती तहाँ भित्रको देख्छ जस्ले
उती फकँदा कान् समायेर आये ।

म आउन्न पक्का भनी भन्नु क्यै दिन्,
यती दिन् पछि क्या छकाएर आये ।

न केही भनेको न केही सुनेको
बिना कारणै मुख् फुलाएर आये ।

म मागेर खोस्ने थिएँ मो कहाँ मन्
कता जानि त्यो मन् लुकाएर आये ।

जतिले तहाँ भित्र ता जान पाये
त्यतिले दसेक् ठेक खाएर आए ।

अहा कस्तरी छाती झल्क्यो हरीको
जसै मोति माला झुलाये र आये ।

B J Bantawa Rai – Fohori Unmaad

बि. जे. बान्तवा राई – फोहोरी उन्माद….!

यहाँ खुशीका नाममा गन्तब्य भुले पछि
ब्यथा बोकी भौतारिन्छन नतमष्तक जवानीहरु
सिंङ्गै नदी निल्दा सम्म अतृप्त छन
ति अग्ला हिमगिरीले नछेकिने कहानीहरु
फोहोरका डंगुर झैं बनाउदै जान्छन आफ्ना जिबनीहरु
यहाँ कागजको कुनै औचित्य छैन,
क्षणिकतामै पोतिन्छन लिलामी दस्तावेजहरु
सडकहरुमा यत्रतत्र रंग बिहिन अनी
सबै मस्तिष्कमा घृणित छापाखाना बनेर
कति गहन अनी बहन गर्छन आफ्नो
अदम्य शाहसहरुलाई ति चार पर्खालको
बिचमा कालो रातको सहारा लिएर
भबिस्य सिङ्गो नाङ्गिन्छ उज्यालोमा
पछुतोको निलडाम अनी बदनामीको दाग भएर
त्यसैले बैंशले मात्तिएका ए कुखुरे हो
आफ्नो फोहोर फाले पछि कन्टेनरको
मुख बन्द गर, तिमीहरुको फोहोरको
गन्धले यहाँ शहरहरु बस्तीहरु सबै
दुर्गन्धित भएका छन, अनी स्वास लिनै
धौ धौ परिरहेछ, यहाँका गल्लीहरु
त्यसैले यो तिमीहरुको उन्मादिलो बाहिरै
पोखिहिंड्ने फोहोरी जवानी मेटासिड पिएर
मेटाइदेऊ, तिमी मर्दा फेरी फेरी
तिम्रा फोहोरी उन्मादले यहाँ ठाउँ जमाउने छैन।

Rupesh Rai – Chiya Ko Swad

रुपेश राई – चियाको स्वाद

चरा साँझमा
तिमी सुत्छौ, वाध्यता अघाएर। अनि
सपना सुत्न नपाइ,
भाले डाकमा। तिमी उठ्छौ।

उठ्छौ तिमी आफैलाई लोबार्न। प्रत्येक औँलाहरूले।

के पायौ र? चियाको बोटमा।
फिका स्वाद!! बाहेक।

निमोठेका छौ
वर्षौंदेखि, त्यही औँलाले मुनाहरू। विचरा!!
लाखेस् भन्न पनि सक्दैन/प्रतिवाद गर्न
पनि, तिम्रा औँलाहरू/वाक्येहरू।

निचोरेका छौ
वर्षौँदेखि, त्यही औँलाले भस्रङ्गहरू। विचरा!!
भयो भन्न पनि सक्दैन/परिवर्तन गर्न
पनि, तिम्रा जिब्राहरू/स्वादहरू।

स्वादहरू तिमीले पाएका,
फिका चियामा, प्रश्न जन्मेर आउछ।
के, साच्चै स्वाद त्यसमा छ?

छ। गर्वले तिमी भन्छौ।
पसिनाका फ्लेबर भरिएका भस्रङ्गहरूमा!!
अराजकताका बास्ना छरिएका मुनाहरूमा!!

Baidyanath Upadhyaya – Drishya

वैद्यनाथ उपाध्याय – दृश्य

अचानक
नाटकको दृश्य बदलिए जस्तै
बदलिन्छन घटनाक्रमहरू
मैले सोचेको
चाहेका धेरै सपनाहरू
आकार लिन नपाउँदै
फेरिए जम्मै उर्वर प्रदेशहरू
ठूल्ठूला आशाका
पहाडहरूले थिचिएर
विशृंखलताको पैह्रो लागेको
यो समय
जताततै अराजक शंखनाद!
रचनात्मकताको
एक मुट्ठी बिउ छरेर
सुनौलो फसलको
अपेक्षामा रित्तिएको समय
कस्तो दृश्य यो
आशंकाहरूले नजर धमिलिएको बेलामा।

Basudev Pulami – Jutta Ra Ma

बासुदेव पुलामी – जुत्ता र म

सधैं एउटा यात्रा हिँडेर
थाकेपछि
रातभरि चुपचाप एककुनामा बसिरहन्छयो।

मैले हिँडन जानेको दिनदेखि
मलाई शिरमाथि थामेर कुनै यात्राहरूसम्म पुर्‍याएर पनि
एक्लो बनाएको छैन यसले।

कति लामो यात्रा मबाट हिँडिसक्यो
कति लामो बाटो मबाट छुटिसक्यो।
यो यात्रामा हिँडदा- हिँडदा
म आफै थाके पनि
अझै
मलाई अघि बडने जोश र जाँगर दिएर
हेरिरहन्छ हरेक यात्रापछि यसले।

मलाई थाह छ
मेरो यो यात्रा एकदिन टुङ्गिनेछ,
कारण मान्छेलाई कहीँ पुग्नु छैन।
तर
त्यो दिन पनि
मलाई चुनौति दिएर
यसले मलाई पर्खिरहन्छ। पर्खिरहनेछ।
एउटा असमाप्त यात्रा शिरमाथि बोकेर।

Bishnu Kumar Basnet – Abhab

बिष्णु कुमार बस्नेत – अभाव

अभाव
तिम्रो हो
या, मेरो मनको भ्रम
एक्लो महसुस गर्दैछु म ।
नोस्टाल्जिक हुँदै आफैमा
हराउदै जादैछु म ।
तिमी हुँदा पनि एक्लो नभाको हैन,
तिमीले चोट पनि नदिएको हैन,
तर पनि
मन केवल तिमीलाई खोज्दैछ ।
केवल तिम्रो बाटो हेर्दैछ ।
र,मपनि । । ।

Gyanuwakar Poudel – Kaandaa Banera Aaja (Nepali Gajal)

ज्ञानुवाकर पौडेल – काँडा बनेर आज (गजल)

काँडा बनेर आज पाइतालामा बिझयो यो देश
आँसु बनेर आज परेलीमा रुझयो यो देश

किन बिउँझेन यो देश, कति निदाउँछ यो देश
आतंक बनेर आज मनमा बिझयो यो देश

कल्ले के गरे यो देशलाई कल्ले बर्बाद तुल्याए ?
छलकपट र जालझेल मै अल्झयो यो देश ।

महँगी, अभाव, दुःख र यातनाका यी तीस वर्षा
सारा देशवासीका रगत र आँसुले भिज्यो यो देश ।

Krishna Adhikari Chintit – Mero Kabita

कृष्ण अधिकारी ‘चिन्तित’ – मेरो कविता

जीवनको सेरोफेरोको घेरोभित्र
हराएर लेखिएको मेरो कविता
जीवनको कथा र व्यथाको अप्ठ्यारोभित्र
डराएर लेखिएको मेरो कविता
भावनात्मक देखिए पनि
कवितात्मक नदेखिन सक्छ
कविताले मेरो मन छोयो भन्दैमा
अरूको नछुन सक्छ
मेरो मन रोयो भन्दैमा
अरूको नरून सक्छ
छुनै पर्ने रूनै पर्ने
अनिवार्य सर्त पनि त छैन कवितामा
मनलाई कसिलो बनाएर लेखेँ
आँखालाई रसिलो बनाएर लेखेँ
मुहारलाई हँसिलो बनाएर लेखेँ
ममताको भोक हटाउन लेखेँ
आत्मीयताको तिर्खा मेटाउन लेखेँ
दुःखमा दुःखसँगै रमाएर लेखेँ
सुखमा सुख समाएर लेखेँ
मुटुभरि पीडाको घाउ बोकेर लेखेँ
पानाभरि मनको वेदना पोखेर लेखेँ
कवितालाई उत्कृष्टताको तराजुमा जोखिनँ
मैले रोजी–रोजी केही देखिनँ
खोजी–खोजी केही लेखिनँ
जे भेटिन्छ त्यसैलाई देखेँ
जे देखिन्छ त्यसैलाई लेखेँ
मान्छे भन्नु समयको दास न हो
समयले जता लान्छ त्यतै जानुपर्छ
समयले जस्तो दिन्छ त्यस्तै खानुपर्छ
समयले पस्किएर दिएको भागलाई
सहर्ष स्वीकार गर्न बाध्य छ मान्छे
वेदनाले जतिसुकै अचेटिए पनि
समयको गतिसँगै घचेटिनुपर्छ
समयले खटाएको ठाउँमा अँटाउनै पर्छ
खुसी र आनन्दमा रमाउने आश
निरन्तर त्रासमा परिणत भएको छ ।

– भरतपुर ७, चितवन

Govinda Singh Rawat – Premopahar

मैले पाएको उपहार कसैबाट
अर्धाङ्गिनीलाई नभनी तिमीलाई दिएँ
तिमीले मबाट पाएको उपहार मलाई नभनि
आफ्नो प्रेमीलाई दियौं
प्रेमीले तिमीबाट पाएको सौगात
तिमीलाई नभनी आफ्नो प्रेमिकालाई दियो
उसले पनि अर्को बाठो प्रेमीलाई
त्यहि उपहार चढायो
त्यो बाठो प्रेमीनै मेरी श्रीमतीको नाठो रहेछ क्यारे
घुमीफिरी त्यहि उपहार श्रीमतीबाट
प्यारो लोग्ने भएकोले मैले पाएँ
शायद त्यसैले होला प्रेम अन्धो हुन्छ भन्छन्
कसैले नदेख्ने भएकोले नै
एउटा हुदाहुँदै पनि अर्कोसंग गर्छन् ।

Dinesh Chapagain – 11 March Maha Bhukampa : 5 Haiku Haru

दिनेश चापागाञी – ११ मार्च महा-भुकम्प: ५ हाइकुहरू

पिङ मच्चिँदा,
धर्ती फाट्यो, देख्यौ?
अनुशासित यी।१।

पिङ मच्चिँदा,
सागर उर्ल्यो, देख्यौ?
स्वाभिमानी यी।२।

पिङ मच्चिँदा,
आगो दन्क्यो, देख्यौ?
शान्तिप्रिय यी।३।

पिङ मच्चिँदा,
विकिरण फैल्यो, देख्यौ?
कर्मनिष्ठ यी।४।

पिङ मच्चिँदा,
शून्यता छायो, देख्यौ?
सूर्य मौन छ।५।

(Sent to Sanjaal Corps via Email)