Laxmi Prasad Devkota – Saalpate Fatyangro Lai

क.

चिल्लो ताजा हरियो सुन्दर
सालको नकली पात !
दुरुस्त रेखा, धर्सा, शिरा छन् !
विशालताका साल विपिनको
तरु शाखाको ए सुन्दर पतङ्ग !
अभिनवजात !

ख.

रुपकी माउ, इच्छाशक्ति,
जादूगर्नी खासा !
प्रकृतिको यो संरक्षक रङ्ग
बीच बोल्दछे क्या वाचाल
युग–भाषा !

ग.

कस्तो सफल वाह ! तेरो समाधि
यो अङ्कुर,
सहस्र संवत्सर भर विकसिस् !
जिइस् तँ,
व्यापी क्षणभङ्गुर !
पतङ्ग मरे कति, पतङ्ग मरेन,
त्यसको विकस्यो अङ्कुर !

घ.

अभीष्ट आवश्यक भावुक जो
कवि हो यस जन–वनमा रे !
जादूको या परिणति दिनमा
दूर नसक्ला ?