Lalita Doshi – Madhu Timi

ललिता दोषी – मधु तिमी
(मधुपर्क माघ, २०६७)

वासन्ती फूलजस्तै
सधैँ मगमगाउनु मधु तिमी
लाखौँको हृदयमा
यसरी नै अटाउनु मधु तिमी
दिनदिनै शिखर चढ्दै
चढ्दै जानु मधु तिमी
बेली, चमेली, वास्मतीझैँ
सुगन्ध छर्दै जानु मधु तिमी
चालेछौँ पाँच सय पाइला
लाखौँ चाल्नु मधु तिमी
जन्मायौँ लाखौँ सर्जक
करोडौँ जन्माउनु
मधु तिमी
बनेका छौँ पि्रय सबको
यस्तै पि्रय बन्नु मधु तिमी
पूर्णेको चाँदनीजस्तै
सधैँ जगमगाउनु मधु तिमी
फुल्नु, फल्नु लटरम्म भै
डाली नै नुगाउनु मधु तिमी
यही कामना तिमीलाई
यस्तै अमृत छर्नु मधु तिमी ।

Bikram Subba – Kitab

लेखिँदैछ अब एउटा नयाँ किताब
मानिसहरू भन्दैछन् –
किताबको कुनै पनि अध्यायमा
कुनै पनि नश्लका
राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन
युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्‍याइने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि खण्डमा
पार्टीका अड्डाहरू
भाडाका टाँगन घोडा बाँध्ने अस्तवल हुने छैन
मन्त्रालयका नयाँ कुर्सीमा
पुरानो छाँयाले जागिर खाने छैन
कतैबाट संचालित कुनै सिल्लीहरूले
संसदको माइकबाट हाम्रो कानसम्म विष फुक्ने छैन
गाउँ-घर-टोलको सुरक्षाको निम्ती
कुनै विदेशी राइफल भर्ति हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि दफामा
महिलाका उज्याला आँखा थुन्ने आँशु हुने छैन
रैथाने मानिसको किपटका पर्खालबाट ढुंगा थुतेर
पुराण वाचन गर्नेको आशन निर्माण हुने छैन
स्वदेश गानको ढुकढुकी चल्दा
दलितका छातीको धुनलाई विरहको पहिरोले तान्ने छैन
मधेसका निकुञ्जहरूबाट निस्किरहेका सुगंधहरूलाई कसैले
देसद्रोही कुर्ता र अनागरिक सुरुवाल पहिर्‍याउँने छैन
कर्णालीको नौरंगे डाँफेलाई फसाउँने इन्द्रजाल हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि हरफमा
लिम्बुवानको कञ्चनजंघामा स्वतन्त्र डुल्ने
ध्वाँसे-थ्याप्चे चितुवालाई धराप थापिने छैन
खम्बुवान-अरुणको हाक्पारालाई फसाउँने ढोडिया हुने छैन
तमुवान र मगरातलाई धसाउँने पाताले छाँगो हुने छैन
थरुहट र ताम्सालिङको निधारमा कालो वादल हुने छैन
झुप्राका छानाहरू जगल्ट्याउँने वतासको तुफान हुने छैन
खलंगातिर झरिरहेको बहुमुल्य जडीबुटी
कथाको केवल असहाय घाइते पात्र हुने छैन
तराइका अन्न सिरिफ चण्डालका लोकगीतको गेडा हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि अनुसूचिमा
मानिसका मुटु-कलेजो भेदन गर्ने सुइरो हुने छैन
छोरी-बुहारीको अस्मितालाई मुडाझैँ चिर्ने खञ्जहर हुने छैन
किसानको खेतले विधवा बस्ने मौसम आउँने छैन
मजदुरका हातहरू तुरुङ ठोक्ने शान्ति हुने छैन
विद्यार्थीका पठनपाठन रोक्ने घडि घुम्ने छैन
गायकले गीत गाउँदा कुनै हुकुमी ताल बज्ने छैन
कविहरूका अराजक उडानलाई बाँध्ने संहिता हुने छैन
स्वर्गजस्तो यो मेरो मुलुकमा
राक्षस उत्पादन गर्ने कारखाना हुने छैन
अब तिमी नै भन,
के के होला त त्यो किताबमा ?

Siddhicharan Shrestha – Siddhicharan

सिद्धिचरण श्रेष्ठ – सिद्धिचरण

हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ,
हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ !
गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको,
निभ्न खातिर पिलिपिलि गर्छ नाम जसको जिएको ।

आज यो चलमलाउँछ, अचल भोलि पर्दछ,
‍खोजी जसको गर्नलाई युग युगान्तर बित्त्दछ !
बग्छ सवेग अनन्त धार, त्यसको कण यो एक छ,
फेरि मिलेर अनन्तमाथि अनन्तसम्म पुग्दछ !

Baidyanath Upadhyaya – Garibi Unmulan

वैद्यनाथ उपाध्याय – गरिबी उन्मुलन

वाङमयको उदघोष छ
दीन-दरिद्रहरुनै
साक्षात नारायणका रूप हुन।
दरिद्र नारायणको
सेवाको निम्ति
देशको सरकार चलेको छ
धुँवाको मुश्लो उडाउँदै
दीन-दरिद्रहरुको निम्ति
गुडुल्की रहेछन नेताहरुका
शीत-ताप नियंत्रित बाहनहरु
परिवर्तनको सोच राख्ने
नामी भलादमीहरु
दरिद्र-अवस्थामा परिवर्तन आओस भन्दै
एउटा च्यानलबाट अर्को च्यानल तर्फ दगुरिरहेछन।
दरिद्रताको खलबली
अब देशको संसदमा मच्चिदैंछ
नेताहरुको मन-मस्तिष्कबाट
दरिद्रताको
नयाँ संस्करण बोलिरहेछ
हत्यारा, बलात्कारी, लुटेरा
जे नै भए पनि
दीन-दरिद्रहरुको सेवा गर्ने
अधिकार उनिहरुको नै छ।
अब दरिद्रताको उन्मुलनका निम्ति विदेशको लगानी भित्र्याँइदैछ
झुग्गी-झोपडीहरुमाथि
बुलडोजर चलाएर
ठूला-ठूला उद्योगहरुको
जग बसालिंदैछ।
राजधानीका शीत-ताप नियंत्रित कोठाहरुबाट
लगातार आफ्नो भलाईमा
गरिबी म्यानेजम्यांटको
पाठ पढाईंदैछ।
देशले आज धेरै प्रगति गरेको छ।
दरिद्रता गाँउमा होस
अथवा
मान्छेको मन-मस्तिष्कमा
दरिद्रता त दरिद्रता नै हो।
मेरो भनाई यो छ कि
दरिद्रता त मासिनकै लागि हुन्छ
जन्मैदेखि हरएकले चाहेको हुन्छ सम्पन्नता
बाहिरी विपन्नताको त
कुनै उपाय होला
तर
मन-मस्तिष्कलाईनै
जकडने यो दरिद्रताको
उन्मुलनको लागि
म सोद्धछु
यो देशमा कुन योजना छ?
सवा सौ करोडको देश
आज मौन छ।

Bibek Dulal Chhetri ‘Damak’ – Kharab Maanis Khub (Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – खराब मानिस खुब (गजल)

खराब मानिस खुब चिल्लो घस्छ भन्छन्
घिर्णा गरिनेसित नै माया बस्छ भन्छन्

आधुनिक न्युटनहरू पनि कस्ता कस्ता
भकुण्डो पृथ्वीबाट आकाशमा खस्छ भन्छन्

नामै नलेउ ती धुम्रकेतुहरूको यतिखेर
शुर्य त साझै नपरी भट्टीतिर पस्छ भन्छन्

रत्ति ,रम्भा ,त्रिलोत्तमा सुन्दरी एक्से एक
तर तिनको बुद्दी स्रीन्गारले डस्छ भन्छन्

डुल्नु हुन्न रे कैले पनि शहर ,बजार
यो “विवेक “लाइ महँगीले कस्छ भन्छन्

Manoj Bogati – Kharka Ko Anuhar

कराइरहने माऊगाईको आँखा बालेर
उज्यालिएको त्यो किसानको घरको भित्तामा
हॉंसिरहेको खबरकागजको बराक ओबामाको तस्बीरले
देख्दैन
किसानको मनको घाउ।
खबरकागज भित्तामा टॉंसेर सजाएको कोठामा
चुपचाप बसेकी
आशामायाकी लुती प्रतीक्षालेआजै रातीको सपनामा पनि
स्पष्टै देखिन्‌
परदेश लागेको लोग्नेको हस्टपुस्ट शरीर।
हलो बोकेर निस्किएको बूढ़ो किसान
त्यही पुरानो खेत जोत्दैछन्‌।
उसको निधार हेर्नु
कहिल्यै नजोतेको बॉंझो खेत जस्तै देखिन्छ।

सॉंझ धिप्रीको उज्यालोमा दूध उमालिरहेकी
किसानकी स्वास्नीमान्छेलाई
अँध्यारो गोठबाट नै देख्छ
बँधुवा रोजगार खेपिरहेकी
दार्मी गाईको ममतीय आँखाले।

बिहानै टीभीमा देखिने देश जस्तो सफा छैन यो खर्क
न खबरकागजको अक्षर जस्तो शिक्षित छ।

बराक ओबामा के बुझेर हॉंसेको हो हँ?
यो खर्कको दृश्य खाममा हालेर
राष्ट्रपतिलाई पठाईदिने जान्ने छोरा
कहिले फर्किने दिल्लीबाट!

Dipendra KC – Penson Patta

दीपेन्द्र के.सी. – पेन्सनपट्टा

सम्झनाहरु बल्झाउने
पेन्सनपट्टा बोकेर हातमा
पेन्सन क्याम्प आउने
बाटो हेर्दैछिन आमा !

जग्गेका मण्डपहरुमा गरेका वाचाहरु
जीवनभर साथ दिने कसमहरु
त्यो पहिलो रातका कुराहरु
मखमली चोली र चमेलीका कुराहरु
बनारसी साडी र गोरखपुरका रेलका कुराहरु
छुट्टी र दशैंका कुराहरु
“कार्कीनेटा”को डाँडो हेर्दाहेर्दै थाकेको
समयका कुराहरु
एक शरद फुल्ने
र, ओइलाउने मनफूलका कुराहरु,
सवै पट्याएर आफुभित्र
वावाको “प्रेमिल चिनो”
अपूर्ण सम्झौतापत्र जस्तो
सम्झनाहरु बल्झाउने
पेन्सनपट्टा बोकेर हातमा
पेन्सन क्याम्प आउने
बाटो हेर्दैछिन आमा !

कसले पो भुल्छ र !
राइफलसँग टाँसिएर
आत्महत्या गरेका रातहरु,
तिमी कार्कीनेटो काटेपछि
आत्महत्या गरेका दिनहरु
जीवनका धेरै अँशहरु
हरण गरेर
जीन्दगीको हिसावमा
घाटाको वासलात देखाउँदै
बाँकी बक्यौता उठाएर
सम्झनामा बगाउने आँशुहरु
खरीद गरे जस्ता,े
उताबाट आएर
६ महिनालाई पुग्ने
अँक थपिदिएर जान्छ
“सोल्जर बोर्ड“ ले ।

अव त ! पुग्यो मलाई ।
किनारमा प्यासै उभिएर
बगिरहेको कालीगण्डकी
हेरिरहेको बेलवृक्षजस्तो जीन्दगी,
थाकिसकेकी हुँ पहिल्यै हेर्दाहेर्दै
मेरो मान्छे आउने आशमा
पेन्सनपट्टा हिडेर आएको
“नयाँ पुल” का बाटाहरु,

अव म
हेरेर अन्तिम पटक
पेन्सन क्याम्प आउने बाटो
र, फिर्ता गरिदिन चाहन्छु
यो “बहीखाता जस्ता”े पट्टा
र, माग्छु केवल
मेरो “बहादुर लाहुरे” भएको ठेगाना

बुझाउनलाई आज—
सम्झनाहरु बल्झाउने
पेन्सनपट्टा बोकेर हातमा
पेन्सन क्याम्प आउने
बाटो हेर्दैछिन आमा

बागलुङ, हाल बेल्जियम

कार्कीनेटोः— पोखरा—बागलुङ राजमार्ग निर्माणपूर्व पैदल यात्रामा पोखरा पुग्दा पार गर्नुपर्ने स्याङजा र पर्वत जिल्लावीच पर्ने विशाल उकालो पहाड ।

नयाँपुलः— माथी उल्लेखित अवस्थासँगै पोखरा—बागलुङ यात्रामा पर्वत जिल्लाबाट बागलुङ प्रवेश गर्ने कालीगण्डकीमाथीको पुल जुन बागलुङ प्रवेशको प्रवेश विन्दु मानिन्थ्यो ।

Laxmi Rijal – Mero Man Bolyo

लक्ष्मी रिजाल – मेरो मन बोल्यो

आफूलाई मात्र ठूलो छु भन्नेहरू यहाँ
टिकटिक पर्खाले घडीको आवाजसँगै अवश्य ढल्नेछन्
विचारमा दारिद्रयता देखाउनेहरू
अवश्य कमजोर भएर मुख लुकाउनेछन् ।
बलियोले कमजोरलाई दवाउने मनसाय मरेर जानेछ,
महान् विचार लिएर महान् पाईला सार्नेहरूले जित्नेछन्,
विचारको यात्रा उज्यालो मुख लगाएर
अँध्यारोका विरुद्धमा उज्यालोको लागि हुन्छ
उज्यालोमा विचार हिँड्छ, अँध्याराको छाती टेक्दै
ठूलो मन जित्न ठूलै विचार लिँदै
गर्वपथका काँडाहरू कुल्चदंै हिँड्न सक्दछ ।
मन सग्लै राखेर हिंड्न परेपछि
विचारचाहिँ टुक्र्याउन सक्दैन
धम्की पिउँदै क्षणिक सुखले डकार्न चाहँदैन ।
त्यस्तै, कसैका स्वप्नबिम्वहरू प्रिय ठान्दै
म पनि कसैका सपनालाई माया गर्न सक्दिनँ ।
जिन्दगीको विशाल फाँटहरूमा
मेरा सपनाहरू करोडाँैका लागि नाचिरहन्छन्
हृदयको अन्तगर्भभित्र दमित हुँदैनन् सपनाहरू
युगौँयुगका लागि मलजल गर्छु
र, फुलाउँछु जग ढाक्ने गरी
साँच्ची, म वैयक्तिक सपनाहरूलाई प्रेम गर्दिनँ ।
किनकि म र मेरा सपनाहरू !
केवल मभित्रका विभ्रम मात्र हुन्
म र मेरा मनभित्र लुकेका पीडा मात्र हुन्
अनि उकुसमुकुस भएका आतङ्क मात्र हुन्,
म र मेरा सपनाहरूमा करोडौँ मन मिसिनुपर्छ
म शून्यमा विर्सन र हराउँन चाहन्छु
किनकि एक चाखो अनुभूति चाख्न चाहन्छु ।
जसरी जून हररात सधैँ अर्काका लागि रोएकै हुन्छ,
जतिसुकै प्रिय र मिठास भएपनि सूर्य
सार्थक हुन आफू पोलिन्छ र अर्कालाई पोल्छ,
त्यसरी नै म व्यक्त सपनाहरू पोलेर
अव्यक्त आनन्दका कथाहरू रच्न चाहन्छु,
म यहाँ नौलो सृष्टि रच्न चाहन्छु ।
म तिनै कथाहरूलाई माया गर्छु
म तिनै आँसुहरूलाई प्रेम गर्छु
जुन सूर्यझैँ भएर देखा परेको हुन्छ
जुन जूनझैँ भएर देखा फिँजिएको हुन्छ
मेरो मन बोलेको धुन भएर गुञ्जेको हुन्छ ।

रुपनगर १, प्रगतिटोल, सप्तरी

Jamuna RC – Sapani Haru Ma

जमुना आर. सी. – सपनीहरुमा

सधैं–सधैं मेरो सपनारुपि रंगमञ्चमा
असंख्य नायकरुपि पुरुषहरु मेरो अगाडि आउँछन्
र,मलाई सम्पूर्ण रुपमा नङ्ग्याउँदै
मेरो हिउँजस्तो कोमल तन
अनि निश्चल आकाश रुपि मनमा
पाशविक कामुक आँखाहरुले पोली पोली
कालकाला डामहरु बनाउँछन्
मेरो जीवनको सहारा नजीक आई
मेरै यात्राको किनारा खोस्छन् ।

सधैं–सधैंका सपनारुपि रंगमञ्चमा
तिनै असंख्य नायकरुपि पुरुषहरु मेरो अगाडि आएर
स्वाभीमानी वीर योद्धाहरु देखाउँदै
कैयौं कर्तुतहरुले गाँजिएको
आफ्नै पुरुषार्थलाई देखाउँदै
पागल सरी
आकाश तिर हेर्दै, टोलाउँदै
अनि एक्कासी छाती पिट्दै
कपाल लुछ्दै मसँग आफ्नो हराएको
जवानी माग्न थाल्छन्
अलिकति बाँकी रहेको पुरुषार्थलाई धिक्कार्दै
आमाको छातीमा पछारी पछारी
चुलिएको जवानी
आमाकै सामुन्ने
छताछुल्ल पार्दै पोखिदिन्छन्

सधैं–सधैंका सपनारुपि रंगमञ्चहरुमा
असंख्य नायकरुपि पुरुषहरु मेरो अगाडि आएर
महापुरुषको बिल्ला भिरी
नैतिकतालाई धरौटी राख्दै
कैयौं वर्तमानको बलत्कारी बन्दै
युद्धमा पराजित भएको वृद्ध सिपाही सरी
आफ्नै जीर्ण तन सामु
विदीर्ण मन लिएर
आफ्नै आँसुको सागरमा
डुबाएर मार्न पुग्छन् आफैलाई

मेरो मध्यरातका सपनारुपि रंगमञ्चमा
आखिर तिनै असंख्य नायकरुपि पुरुषहरु
बेहोसीमा नसासँगै
एकोहोरो दौडिरहन्छन्
दौडिरहन्छन् ।
मेरो सपनारुपि रंगमञ्चमा
असंख्य तिनै नायकरुपि पुरुषहरु
मात्र मेरो खोजिमा
मात्र मेरो खोजिमा ।

दरौँ—१,स्याङ्जा, हाल: पोखरा, नेपाल

Dhooswan Sayami – Mahanagar

धुस्वां सायमि – महानगर

एउटा
सहर
महानगरका हरेक मानिस
कहिल्यै
सीधा र सही तरिकाले बाँच्दैनन् ।

उनीहरू आफू
आफ्नै र अरू कसैको
संकेत-निर्देशनमा
सदा
हिँडेर, सोचेर र बोलेर बाँच्दछन् ।

यसरी
कहिलेकाहीँ
सीधा बाटोमा हिँडेर सही बोल्दछन्
उनीहरू
डराएर/हड्बडाएर
त्यस बाटोलाई छोड्दछन्
र कोही मानिस
जो सीधा बाटोलाई
सही बाटो मानेर हिंड्दछन्
यस्ता मानिसहरू जीवनमा मार
र हार खान्छन्
हरेक
सहर
महानगरको जीवन
वक्रपथमा हिंड्छ
यही वक्रपथ हो ?
सहरको जिन्दगीको चक्रपथ ।
उनीहरू
सदा-सदा
वृत्त परिधिमा नै घुमेर
बाँच्दछन्
उनीहरूलाई
जीवनमा कहिल्यै
केन्द्रविन्दु प्राप्त हुँदैनन् ।

हरेक
सहर
महानगरको बाटो
गलत यात्रामा खुलेको हुन्छ ।

साभार: जनमत कविता खण्ड १ २०६४

Bhupi Sherchan – Prata Ek Aghat

प्रत्येक दिन
चोरझैं सुटुक्क आएर
मलाई भोरले अलिकति निचोर्छ
व्यूझन्छु म किरणहरूको स्पर्शले
देख्छु प्राचीका नियमित रूपमा माझिएका
सेतासेता उज्जवल दाँत
हुन्छ मनको कुनै कुनामा
एक हल्का तर तीक्ष्ण आघात
आह! सकिंदै गइरहेछ मेरो जीवन
प्रत्येक दिन एक निश्चित मात्रामा टुथपेष्टझैं।

Minkumar Nabodit – Yuddha Ko Tayari Ma

मीनकुमार नवोदित – युद्धको तयारीमा
(मधुपर्क २०६६ चैत)

यतिबेला म
गौतमबुद्धको आँगनमा उभिएर
युद्धको घोषणा गरिरहेछु
युद्धका लागि मसँग
गौतमबुद्धभन्दा धेरै बूढो
खियाले खाइसकेको बन्दुक छ
जयस्थिति मल्लले कोरेको
जातीयताको धमिलो रेखा छ
उनैले बनाएको
भत्किन आँटेको विभेदको पर्खाल छ
म त्यही पर्खालको छेऊमा उभिएर
अस्तित्व युद्धको तयारीमा छु
अनि कहिल्यै नभेटिने गन्तव्यको यात्रामा छ
आफ्नै घरको धुरी उधारेर
अंशबण्डाको सीमारेखा कोरिरहेछु
यसैको खातिर
बूढो बन्दुक बोकेर
युद्धको तयारीमा छु ।
तिमी र हामीबीचको युद्धिपछि
न म हुन्छु न त तिमी हुन्छौ
केवल गर्भभित्रै बाबु गुमाएर
टुहुरा भएका थुप्रै नानीरूप हुनेछन्
अनि हाम्रो आफ्नै तस्विर झल्कने
मारुनी, धाननाच, चण्डीनाच
रोदी, द्यौसीभैलो र तामाङसेलो
केही केही बाँकी रहने छैनन्
अनि बाँकी रहनेछन्
युद्धको डँडेलोले खरानी भएका रित्ता घरहरु
गाउँघन्द अलि पर जङ्गलमा विस्थापित
मिर्मिरेमा आँखा मिच्दै पँधेरो जाने
केही विधुवाहरु
रुँदै तिनीहरूकै पछि लाग्ने
केही दुब्ला बालबालिका
अनि निष्पट्ट अँध्यारोमा
सलेदो सकिएको
कुपी एक हातमा र अर्को हातमा लट्ठी बोकेर
संघारमा टाउको ठोक्काउँदै
नयाँघरको ढोकाभित्र
प्रवेश गर्दै गरेका बाबुआमाहरु
पारि पाखामा फुल्नै बिर्सिएका
दुई चारवटा
गुँरासका रुखहरु
बिहे नहुँदै मुग्लान पसेका
युवाहरुको प्रतीक्षामा सुस्ताइरहेको
उदास चौतारोमात्र बाँकी रहनेछ
यति हुँदाहुँदै पनि म युद्धको तयारीमा छु
किनकि यसबाहेक मसँग
अन्य विकल्प छैन
अहिले उज्यालो भूमिगत छ
र छ सर्वत्र अँध्यारै अँध्यारो ।

खोटाङ बतासे-७, रात्माटा
हालः विराटनगर-१६

Deependra KC – Upahar

दीपेन्द्र के.सी. – उपहार

दुर्नाम देशको राजनीति
संधै फाल्तु भाषणमात्रै छोड्छ
जनतालाई संधै सडकमा लडाउ“छ
राजनीतिको सन्देश —
वालक, युवा
सिलाङका गल्ली, खाडीका मरुभूमि
मलेसियाका अप्ठयारा र
अमेरिका, यूरोपका जुठ्यानहरुमा वर्वराउँछ ।
जीन्दगी एउटा लक्ष्यजस्तो—
मुग्लानमा ओइरो लागेको छ
राजनीतिको पेलाइले ।
राजनीति फेरि राजनीति !
एउटा फतुरो गफसंगै
शिक्षा दिन्छ नवपुस्ताहरुलाई भीडभाड अनि
वुझाउंछ मुग्लानलाई
भविष्यको सुरक्षित घर,
नेताज्यूले व्याख्या गरेको
राजनीतिको गलपासो भिर्दै
सिद्धान्त सिकाउंछ घिच्रो फुलाउंदै
देश, नेता, राजनीति
फेरि राजनीति ! भन्दै
स्वदेशी वेरोजगारीको भेलमा वगेर
विदेशी रोजगारको खाल्डोमा जकाउंदैछ
आफैलाई
बाहिर निस्कनै नसक्ने गरी ।।

बाग्लुङ, हाल: बेल्जियम

Bhim Darshan Roka – Mero Awaaj

धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछ
तिमी ध्यानले सुनिरहनू
त्यसमा मेरो पनि आवाज हुनेछ
फेरि झन् झन् ठूलो हुँदै जानेछ ।
आकार यसको, सूर्यमण्डलजस्तो
घामवरिपरि सभा लागेजस्तो
राती भए चन्द्रसभा
बसिरहेका तारैतारा
चक्रैचक्र
सफा शुभ्र
बाहिर भित्र
सप्ताहहरुमा शहीद सप्ताह
महिनाहरुमा माघ, फागुन
क्रान्तिको रङ्गरोगन
क्रान्तिको चिर आयु, आगमन ध्वनि
चिरपरिचित
मुटु ध्वनि
धातु बजेजस्तो
चोटमा चोट थपिँदा पनि
टन्न आवाज मिलेको
टन्टलापुर घाम मानौँ मध्यान्हमा बजिरहेको
बन्दै आयो टाढा टाढासम्म
दिशा एकै
लागिरह्यो युगौँयुगसम्म
नसा एकै
दुवै हात फैलाएर
तीनै सप्तक छोएर
स्वर सागरहरुको सङ्गम
ल्याइरहेको परिवर्तन
लाखौँलाखको बीचमा
मेरो आवाज छुट्टिएन भने
चिन्न पनि सकेनौ भने
खुशी हुनेछु, मिलिसकेको रहेछु
अब पीर रहेन, धेरै पर छैन
पुगिसकेछु एउटा निश्चयमा
पाकिसकेछु, झर्ने झर्ने बेलामा ।

Abhas – Bidroha Bhayechha Bhitra Bhitrai

अस्तिसम्म यो आरु
विधवा जस्तै
ठिङ्ग उभिएथ्यो बारी छेउमा
मेरो मन हुँडलिएथ्यो घट्ट झैं
निराशाले
एउटा गीत गाइथी
र घाँटीमा भक्कानो पारी गएथ्यो
त्यसको मूच्र्छनाले
अहिले देख्दैछु
त्यसको पनि यौवन चढेछ, एकपटक फेरि
मौलाएछ सायद इच्छा
विद्रोह भएछ भित्रभित्रै
आरु फुलेछ
ऊ, आफ्नो प्रेमी भेट्न
बाहिर टुसाइछ त्यसकी मुना ।

Deependra KC – Shahid Biddhut Ra Shraddanjali

सुनसान,सामसुम, शान्त
उदाश, निराश, सन्तप्त चिमहरु
सूर्यको प्रकाशले गिज्याउछ
हरेक अध्याराहरुले अंठयाउछ
टुकी र मैनहरुले घेरिएर
कहीं कतै दियालाहरुमा वेरिएर
तातो राप र अरुको उज्यालोमा
आफूलाई देखाउदै चिन्तितरु
सडकमा उभिएर
नेताज्यूको भाषण सुनेर लज्जित
नया नेपाल सुनेर त्रसित
अर्थमन्त्रीहरुका योजना सुनेर आजितरु
तिनै चिमहरु रु आज
अंध्यारा वस्तीहरुमा
विद्युतको शोक श्रद्धाजंलि मनाउदैछन
नेताहरुका योजनाका शोक शन्देस पढेर
जलश्रोतको पुराण भट्याएर
हरेक दिन १६ घण्टा मौन धारण गर्दैछन
विद्युतलाई शहीदको सूचीमा चढाएर।।

Tara Parajuli – Aswikrit Upahar

तारा पराजुली – अस्वीकृत उपहार
(मधुपर्क २०६७ असार)

बल्ल खाटा बसेथ्यो
तिमीले दिएको घाउको
पुनश्चः उही खाटा
कम्पनी आत्माले
फुस्क्यो एउटा डिपार्टमेन्ट पसल
र, साट्यौ तिनै रुपैयाँ
तिमीलाई रङ्गिन लाग्ने रहरहरूसँग ।
बन्दुकको नालजस्ता तिम्रा आँखाहरू
नतमस्तक छन् मैतिर
तर पराजित बेहोेर्ने छौ तिमीले
यो एकलौटी मुटुबाट
स्वर्गजस्तो मेरो संसार
सार्नु छैन बसाइँ
काँचले बनेको तिम्रो सहरमा ।
सुसाएकी हुँ वियोगमा
थुप्रै प्रेमपर्वहरू
चौतारीको एक्लो पीपल भएर
बगाएकै हुँ आँखामा साउन
तमोर भएर
अहँ, देखिनँ कतै
तिम्रो आस्थाका हिउँचुली ।
बेइमान हौ तिमी भावनाको
बालुवाको उपहार बोकेर
नआऊ मेरोसामु
बगाएकी छु-
बर्षात्को अरुण भएर ।

Lakshmi Mali – Jindagi

मिटिङ्ग र गोष्ठीजस्तो
शब्द र कागजको पाना होइन
हाकिमको अर्डरजस्तो होइन
कोर्टको बहसजस्तो पनि होइन
कार्यान्वयन हुनै नसक्ने
कुनै परियोजना होइन
चुनावको मुद्दा होइन
पार्टीको नारा होइन
राजनैतिक दाउपेच पनि होइन
जिन्दगी त
मिठो र नमिठोको संगम हो
त्यसैले
जिन्दगीलाई भोगेर हेर ।

Rakesh Karki – Ukhelera Pareli Silikka Ramri (Nepali Gajal)

राकेश कार्की- उखेलेर परेली सिलिक्क राम्री

उखेलेर परेली सिलिक्क राम्री
पाउडर क्रीमले टिलिक्क राम्री

कसो कसो गरेर आफुले आफ्नै
फोटो खिच्छिन् किलिक्क राम्री

समाजलाई हानेको फेशन जानेको
पुतली नै जस्तो झिलिक्क राम्री

हाउ भाउ कटाक्ष अँध्यारोमा पनि
दियो झैँ बलेकी पिलिक्क राम्री

हेर्नेको नजरमा छुनेको मुटुमा
घाम झैँ झुल्किने मिलिक्क राम्री

Binod Roka – Hami Dhritarashtra Hamro Desh Dhritarashtra

बिनोद रोका – हामी धृतराष्ट्,  हाम्रो देश धृतराष्ट्र्

हामीलाई,
मान्छे र परिवेश चिन्न संजयका आखा चाहिन्छन
त्यसैले हामी आफ्नो घर,परिवार र सेवक बाहेक अरुलाई चिन्दैनौ।
कथंकदाचित चिन्ही हाल्यौ भने पनिर्
इष्र्या वा डाहाले कसैलाई भन्दैनौ।
हाम्रै संस्कारबाट बनेको हाम्रो देश
धृतराष्ट भन्दा फरक छैन,
त्यसैले देशमा राजतन्त्र, प्रजानत्त्र एवं गणतन्त्र जे आएपनि
सत्तासिनहरुले आफनो उत्तराधिकारीमा
दृर्योधन नै खोज्दछन।
पाण्डव देख्दैनन।
हो हामी धृतराष्ट। हाम्रो देश धृतराष्ट।
विदृरको विवेक र ज्ञानको उपहास हृन्छ,
किनकि हाम्रा स्वार्थ संग उस्को
विचार मिल्दैन, अनि
विदृर निरिह हृन्छ।
त्यसैले,
हाम्रो सत्ता प्राप्तीका आधार
सदा तरवार, वन्दृक र भय बने।
स्वतन्त्र जनमतको आधार वन्न सकेनन।
हो हामी धृतराष्ट्र्। हाम्रो देश धृतराष्ट्र्।
हामी बृद्धमा केवल शिर्द्धार्थ देख्छौ
उ हाम्रा लागि
राजकृमार सिवाय केही वनेन
हामीले उसलाई
एउटा वोधिवृक्ष दिई बृद्धत्व प्राप्त गर्ने
अवशर दिएनौ,
त्यसैले उ बृद्धत्व प्राप्त गर्न
पलायन हुनुपर्छ।
हो हामी धृतराष्ट्। हाम्रो देश धृतराष्ट्र्।
हामी भृकृटी र अरनीमा सृम्नीमा र
बाबृचा मात्र देख्छौ
ज्ञानको ज्योती र कौशलता देख्दैनौ।
त्यसैले,
भृकृटीले ज्ञानको उज्यालो र
अरनीकोले आफनो कौशल देखाउन
परदेशीको सहारा र आंखा खोज्नृ पर्छ।
हो हामी धृतराष्ट्र्। हाम्रो देश धृतराष्ट्र्।
हामीलाई मान्छे र पशिवेश चिन्न
संजयका आंखा चाहिन्छ
देश चलाउन विदृरको ज्ञान र विवेक होईन
सकृनीको कृटील चाल र दृर्योधनको अहंकार चाहिन्छ।
त्यसैले हामी खोट मात्र देख्छौ अरुमा
गृणजति आफु र आफनामा मात्रै पाईन्छ।