Bhupi Sherchan – Rikta Shayya Ko Sthan Bata

शय्याको भर्खर रिक्त भएको स्थानबाट
उठिरहेछ तातो बाफ
ठ्वाक….ठ्वाक….ठ्वाक
ठक…ठक…ठक्क
तल भ¥याङमा सुनिन्छ
टाढा गइरहेको
क्रमशः क्षीण भइरहेको
कसैको परिचित
तर असन्तुलित पदचाप
एकछिनको निम्ति वातावरण बेहोस हुन्छ
पुनः सुनिन्छ कोर्राको फटकार
बग्गीको खड–खड, घोडाको चित्कार
बाटोको ढुङ्गा र माटोको सम्मिलित हाहाकार
म भने शय्यामा पल्टिरहेर
निस्पन्द, निश्चल, शिथिल, चूपचाप
सोचिरहेछु मैले
के गरे —प्रणय कि पाप !
पुनः सोच्छु —यो म के सोचिरहेछु
के यो मेरो सोचाई मात्र ? जिज्ञासा मात्र ?
कि मेरो अन्तस्ले मसित लुकाएको पश्चाताप ?

Hemanta Pardeshi – Kahan Jaun Ma Desh Khojna

हेमन्त परदेशी – कहाँ जाऊँ म देश खोज्न

देश नै जनता
र,
जनता नै देश !
कहिँ सुने जस्तो
कतै पढे जस्तो
तर बिस्मृत छन्
मेरा मानसपटलहरु
सुषविताबाट
क्षयग्रस्त बने जस्तै ।

तपाईलाई थाहा छ?
तपाईलाई पो थाहा छ कि?
सडक सडक

गल्ली गल्लीहरुमा
एक्लै भौतारिँदै
प्रश्नै प्रश्नहरुको
तुल टाँग्दैछु म l
सहरका होर्डिङ्गबोर्डहरुमा
बियर र चाउ चाउको
बिज्ञापन टाँगे जस्तै ।

सामयिक खोज
समादृत प्रश्न
हार्दिक बधाई दाइ/भाइ !
बधाई र शुभकामनाका
अनगिन्ती शब्दका पोकाहरुले
टन्न भरिएको
गह्रुँङ्गो झोला
पिठ्यूँमा बोकेर
यौटा अपरिमित
सडकको दुरी
निरन्तर नापिरहेकोछु म
ओलाङ्चुङ्ग गोलाका
खम्बा भोटेहरुले नुन बोकाएर
उकाली ओराली गराइरहेका
लेकाली ‘याकहरु’ जस्तै ।

ए मूर्ख मान्छे !
सडक र गल्लीहरुमा
खोजेर पनि पाइने चिज हो र ?
देश र जनताको
अर्थ र परिभाषा ?
म भित्रको ‘म’ ले
मलाई नै प्रश्न गर्छ
अनायसै झस्किन्छु म
आफ्नै प्रतिविम्वसँग l
आफ्नै छाँया देखेर तर्सिएको
खरायो र सिंहको कथाको
मूख्य पात्र बुद्धु सिंह जस्तै ।

पुग्छु म सिंहदरबार
नियाल्छु एक एक दृश्य
खोइ देश?
कहाँ छन् जनता?
सबै अरुकै ईशारामा नाँचिरहेका
नर्तकीहरु देखेर
आश्चर्यचकित हुन्छु म
अब कहाँ जाऊँ?
के गरौँ म?
बेस्सरी अलमलिन्छु l
मेरा थकित पाइलाहरु
पुन: लम्किन्छन्
आफ्नै गाउँ-बस्तीतिर
आहा ! जनता नै जनताको लस्कर
भावमङ्गित हुन्छु म अनायसै
र ,
नियाल्न थाल्छु
प्रत्येक अनुहारहरुलाई l
तर अफसोच !
कहिँ कतै देशको चित्र देख्दिन म
ती अनुहारहरुमा l
मिथ्या लाग्छन् मलाई
देश नै जनता
र ,
जनता नै देश-को परिभाषा l
मानौ जनता हरु
फगत न्यूरोडमा बेच्न राखिएका
बिभिन्न मानवाकृतिमा कुँदिएका
हस्तकलाका सामानहरु मात्रै हुन् ।

अब कहाँ जाऊँ म देश खोज्न ?
सडक?
गल्ली?
सिंहदरबार?
मेरो गाउँ-बस्ती?
अझै अनुत्तरित छन्
मेरा प्रश्नहरु आफैसित ।

Rabindra Nath Thakur – Nimantrana [From Geetanjali]

मेरा भय नष्ट गरिदेऊ भगवान् ! नष्ट गरिदेऊ !
मलाई देखेर मुख नलुकाऊ !

तिमी छेउमै थियौ, तर मैले चिन्न सकिनँ
म अरुतिर हेरिरहेको थिएँ, जान्दिन कहाँ ?

तिमी मेरो अन्तःकरणमा विहार गर !
मेरो हृदयमा हाँसोको प्रकाश गर !

बोलन, मसँग केही कुरा गर, मेरो देहमा स्पर्श गर
आफ्ना हात बढाएर मलाई उठाऊ !

ईश्वर ! मेरा सबै ज्ञान भ्रामक हुन्,
मेरा हास्य–रुदन सबै भ्रामक हुन्,

मेरो अगाडि आऊ, मेरो भ्रम टाढा गर, मेरा भय नष्ट गरिदेऊ !

Dipendra KC – Desh, Buddha Ra Duryodhan Haru

दीपेन्द्र के. सी. – देश, बुद्ध र दुर्योधनहरु

कसले भन्छ हँ ?
यो देश
बुद्धको देश हो
गलत !
सरासर गलत !!

यो त
काजी भीम मल्लले
मृत्यु पुरस्कार पाएको,
जँग बहादुरको कोत पर्व हुदै
हिंसाको रगतले नुहाएर
१७ हजार वलीले ढाडिएको
हिंउदको अजिँगर झै
आरामसाथ निदाएको
देश पनि हो ;

अहिले एउटै भय छ
कहिले व्यँझिने हो ?

बहुलाएको राजनीति
निर्वस्त्र सरकार
जारी गर्छन सरकारी प्रवक्ता !
असत्य र बक्रशैलीका शन्देस
देशवासीका नाममा,
सँधै भट्ट पुजारीले
प्रसादसँग आशीर्वाद साटेर
भट्याएको मन्त्रजस्तै
केवल !
उनैका लागि
जनताको भोग खान
शहीदको वलि चढाएर
धेरैले शासन चलाएको
देश हो यो ।

कठै कहाँ हुनु
यो देश बुद्धको ।

यो देश
बुद्धको देशै होइन
बुद्धले टेकेको भूमिमात्रै हो
बुद्धको पाइला भएर मात्रै हुदैन
बुद्धत्व छैन यहाँ –
त्यसैले, यदाकदा
शकुनीको पासामा चलेको देश हो यो
यादवहरु साक्षी वसेपनि
यदुवंशी कृष्णहरुको देश होइन यो
जहाँ पासामा गडवडी भएपनि
निरीह कृष्ण !!

कहिलेसम्म हो कुन्नि ?
दुर्योधनले जवर्जस्ती चलाउन खोजेको
देश हो यो
अनि फेरि
महाभारत हुनसक्छ यहाँ कुनैपनि वेला
त्यसैले –
कसले भन्छ हँ ?
यो देश बुद्धको देश हो
सरासर गलत !

वरु अलि अलि यो सही हो
यो देश अलि अलि
शकुनीहरुको पनि हो
दुर्योधनहरुको पनि । ।

–दीपेन्द्र “अपजसी”

वागलुङ, हाल– ओस्टण्डे, बेल्जियम

Abhas – Rajdhani

यो काँशको कचौरा
भोड्का र उर्वशीले टन्न छ
यसलाई रित्याउन
प्रत्येक साँझ
कोही
मासङ्गल्ली छिर्छन् र आफैंलाई
रित्याउन थाल्छन्
कोही
बागबजार पस्छन् र आफैंलाई
खोज्न थाल्छन्
यो काँशको कचौरा
भोड्का र उर्वशीले टन्न छ
बासी रोटी र बासी सपनाले टन्न छ
यसलाई
प्रवाहित गर्न र निम्त्याउन
साजी घामलाई
यहाँ कुनै मञ्जुश्रीले
अझै
फुलचोकीबाट
या कतै उचाइबाट
तरवार उज्याएको छैन
अझै
कुनै बुद्धले
स्वयंभूबाट
या कतै अग्लाइबाट
शंखनाद गरेको छैन ।

Durga Lal Shrestha – Sanjog [Bal Kabita]

जाँदै थिएँ बाटोमा
भेट भयो ऊसँग,
किन किन एक्कासि
दुवै भयौं झसङ्ग !

भरखरै लागेकेा
घामजस्तै झुलुक्क,
मुख हामी दुवैको
हाँस्यो त्यसै मुसुक्क !

थाहा छैन ऊ को हो,
तर कति अचम्म
हेर्दै हामी डुबेछौँ
आनन्दमै चुर्लुम्म !

उल्ले, मैले पाएको
आनन्द यो कस्तो हो,
भनूँ नै म कसरी
यो भनेको यस्तो हो –

२०५९ जेठ ४

Binod Aryal – Samjhauta

विनोद अर्याल – सम्झौता
(मघुपर्क पुस, २०६८)

सम्पादकको सम्पादनबाट
भ्रूण हत्या भएर
काँचो वायु बनेको एउटा कविता
कविता लेखिरहेको मलाई पिर्न आयो ।
ऊ कहिले बत्ती निभाइ कागज उडाउथ्यो,
पूर्खाको नासो भनी Continue reading “Binod Aryal – Samjhauta”

Durga Lal Shrestha – Raat Paryo [Bal Kabita]

रात पर्‍यो, सुत्छु आमा
बिहान त होला,
त्यो घामले यो अँध्यारो
छिनभर धोला;

त्यसैले त मेरो मनको
रुँदै बग्छ खोला-
सपनाको त्यो बिहान
कैले खुल्छ होला –

त्यो बिहान मेरो, आमा
त्यो प्रभातफेरी,
अस्ताउने Continue reading “Durga Lal Shrestha – Raat Paryo [Bal Kabita]”

Komal Shrestha Malla – Jasto Ghaat Ustai Haat (Nepali Gajal)

कोमल श्रेष्ट मल्ल – जस्तो घात उस्तै हात (गजल)

जस्तो घात उस्तै हात छुटेपछि साथ
नजिक टाढा के कुन्नी छैन कुनै बात

फूलै फूल केहो जात किन छोप्छ रात
सोध्छ किन छिन छिन भित्र भित्र आत

भोग पियास कस्तो लौ खिस्स हिस्स दाँत
कस्तो नसा नपियरै अङ्ग अङ्ग मात

अहो अहो तर्कनाको नदेखिने खात
नजिक टाढा के कुन्नी छैन कुनै बात

Bhanuraj Aryal – Bukhyancha Ko Desh Ma

भानुराज अर्याल – बुख्याँचाको देशमा

अलि अक्करे भिरमा
कुनै आली मरेको लाशहरुले
कुनै अधकल्चो लाशहरुले
गह्राहरु छुट्टयाईएका
एउटा सानो खेत,
जहाँ,
जताततै सिनो गन्हाइराऽछ,
आलीहरुमा खुँखार देखिने
सयौं गिद्धहरु
लाश लुछन् झगडा गर्दैछन,
वरिपरि व्वाँसाहरु
मौका कुर्दैछन र खुशी छन ।

खेतभर छरिएका छन
अचम्म लाग्दा बोटहरु
कुनै निख्खर राता
कुनै राता-पहेँला
कुनै निला,
र, रगतका फाल्सा जस्ता
अश्लिल निसास्सिने पानीहरु ।

यी अराजक खेतका वर्णनविच
रातो हाँडीको टाउकोमा
पट्यारलाग्दा
काला
मसानका गोलहरुले
आँखा, नाक बनाइएको
तर कान नभएको,
ताइचीन परालको जीउ बनाएर
जुटले खुकुलो संग
बाँधिएको
कमलपित्ते रंगको
बाहुला नभएको
आधा रातो आधा पहेँलो
माग्ने कमिज लगाएर
एक बुख्याँचा
राखिएको छ।

यो समय त्रासदमा
गाउँ कोलाहल छ
र, सहर भित्र
गोपाल, भूपी र बिक्रमहरु
झक्झकाइ रहेछन
तैपनि सहर
कट्टु पनि नलगाई
दिउँसै भट्टीमा
कोक संग म:म: चपाई रहेछ ।

Kedar Sanket – Rukh Dhaleko Chhaina

केदार संकेत – रुख ढलेको छैन

इतिहासको पाना पल्टाएर
एकथरीले लेखे / भने
उहिले उहिले
सबैले हाम्रो गाँउमा रुख मौलाएको कुरा
दरो जरा गाडेको कुरा
त्यो रुखको बिगतका हाँगाहरुबाट
अमृत फल फल्दै गर्दा
पटक पटक
बिसाक्त फल फलेको कुरा
भाच्चिएको र लछारिएको र पछारिएको
तर कहिल्लै जरा नउखेलिएको कुरा
अर्थात काटेर नफालिएको कुरा ।

अर्का थरीले लेखे / भने
हेक्का राखेस्:
रुख ढलेको छैन
रुख उखेलिएको छैन
– मात्र पात झरेको छ
– मात्र फल कुहिएको छ
– मात्र केही हाँगाहरु लछारिएका छन्
यदि रुख ढलेको भए
रुखको जराहरु पनि उखेलिनु पर्ने हो
त्यो भएको छैन
गाउलेहरु यस्तै भन्छन्
गणतन्त्रले मात्र हाम्रा गाँउमा
नयाँ मुजुरामए रुख
के रोपिन्थ्यो र
किनकि यहाँ
एउटा रुख ढले पनि
अरु थुप्रै बुढोरुखहरु ढलेकै छैनन् ।

Dipendra KC – Balirahechhu Ma

दीपेन्द्र के.सी. – बलिरहेछु म

आज बलिरहेछु म
न्यानो दिन कसैलाई
उज्यालो दिन कसैलाई ।

बलिरहन आगो –
जल्नुपर्ने रहेछ कोही
जीन्दगीको खलियानबाट
झिकिएर घरीघरी
सल्किरहेछु दाउरा झैं ।

भन त –
के सम्झिन्छौ मलाई
आगो निभीसकेपछि पनि ?
न्यानो
सेलाइसके पछि पनि ?

जतिवेला धुँवाले
सँकेत गर्नेछैन
मेरो मृत्युको ।

आज बलिरहेछु म
न्यानो दिन कसैलाई
उज्यालो दिन कसैलाई ।

बागलुङ, हाल ओस्टण्डे बेल्जियम

Dibya Giri – Raksi Ra Mayalu Ko Maat Ustai Ustai (Nepali Gajal)

दिव्य गिरी – रक्सी र मायालुको मात उस्तैउस्तै
(मधुपर्क २०६६ जेठ)

रक्सी र मायालुको मात उस्तैउस्तै
मायालु र रक्सीको जात उस्तैउस्तै ।

आँखाभरि आँसु अनि छातीभरि चोट
दुखाई र वेदनाको खात उस्तैउस्तै ।

आˆनै Continue reading “Dibya Giri – Raksi Ra Mayalu Ko Maat Ustai Ustai (Nepali Gajal)”

Sabina Sindhu – Chihan Uthchha

सबिना सिन्धु – चिहान उठ्छ

क्रान्तिको रक्तरन्जित खोलो
फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ
र चिहान उठ्छ, हतियार बोकेर
मान्छे मान्छे भएर उठ्छ ।
न्यायको खातिर
मान्छे इतिहास भएर उठ्छ
सत्यको खातिर !
पाखण्डी इजलास
फेरी विस्थापित हुन्छ

जे होस् चिहान उठ्छ ।

ढुङ्गा जस्तै साह्रो पारेर मुटु
समयको सम्पूर्ण अधिकार
बिद्रोहको तुफान भएर उठ्छ ।
सिङ्गै कथा जन्माउँछ
बज्रिन्छ छातीमा असन्तुष्टिका भाग्य रेखा

अन्तमा
शरीरबाट रगतका छिटा
उच्छिट्टिएर आकार बन्छ देशको
आकार बन्छ मुस्कानको

चिहान क्रान्तिका लागि उठ्छ
चिहान शान्तिका लागि उठ्छ

जे होस् चिहान उठ्छ ।

Niroj – Lekhina Nasakeko Katha

निरोज – लेखिन नसकेको कथा

ति दुर्दिनका भोगाईहरु
कुन्नी किन हो?
छाईरहन्छन्―दृश्य बनेर
रसिला रसिला आँखाहरुमा
आईरहन्छन्―पूर्वस्मृति बनेर
कैदी मनको बिस्फारित छालहरुमा
अन्तर कुन्तर र सबै तरेलीहरुमा
सिङ्गै कथाका प्लट बोकेर।

तिमै्र आग्रहमा त हो नि मैले पाहाड चढेको
खाली खुट्टै कयौ काँडाका भर्याङहरु पार गरेको
तिमीले नै त हो उत्पेरित गरेको
सबै सबै सपनाहरुमा आँगो झोस्न
हो साच्चै मैले जितेको थिए
मेरो खुशीहरुलाई ठाउँ बनाउन
हठात् तिमीले नियम बदल्यौ
र बदल्यौ रुप
अनि त के चाहियो?
तिमी आफ् नै मनमौजीमा छौ
तर तिम्रो हुनुको दस्तुर खोज्दा
आफ् नो जितको प्रमाण खोज्दा
म पागल कहलाईन्छु
म आवरा कहलाईन्छु।

आश्वाशनका डोकाहरु
राखेर दोबाटोमा
भो नलोभ्याउ अरु धेरै ग्राहकहरु
विद्रोहमा तिम्रो साम्राज्यको झण्डा उखेले भने
फेरि कहाँ छ तिम्रो जाने ठाउँ?

तिम्रो शासकले मेरो
कलकलाउँदो प्रेमलाई
यौवनमै फाँसी दिन्छ
यद्धपि तिमी त्यही
कोमल, चञ्चल र सुन्दर नारी भईरहन्छ्यौ।

यो पुरानै मान्यता नभत्काई
एकान्त र सुनसान साझमा सधैँ
आँउछन् आईरहन्छन् कथाका प्लटहरु
तर म कत्ति लेखिन सक्तिन
कथाका हरफहरुमा
आफ्नै मान्यताहरुलाई
बलत्कृत बनाएर।

मेरो स्वभावमा तिमी नमिल्दा पनि
मेरो मान्यतामा तिमी नअटाउँदा पनि
तिमीलाई आफ्नो ठानेर
प्रशस्त… प्रशस्त आलोचना गर्छु
तिम्रा सबै बहुलठ्ठीपनहरुको
तिम्रा सबै अहङ्कारहरुको
जस्तै लेखिन नसकेको कथाले
तिमीलाई प्रेम गरे जस्तै
धेरै पे्रम गरेर पनि।

Saroj Dhital – Maanis Ra Gidda

सरोज धिताल – मानिस र गिद्ध

‘अधिपति हुं
सिङ्गो आकाशको’
भनेझैं गरी
फिंजाएर आफ्ना
भीमकाय पखेंटाहरू
उड्दै आयो
त्यो
गिद्ध
चीसो ठिहि¥याउने छाया“ फ्या“क्दै
धरतीका तरेलीहरूमा
र बस्यो
थपक्क
अन्धकारमा उभिएको विशाल खण्डहरमाथि

उज्यालोको सानो टुक्रा खोज्दै
अन्धकारको अर्को कुनामा
यत्नसाथ हि“डिरहेको
मान्छे
झस्कियो भयले
थर्रर काम्यो चिन्ताले
रोयो ऊ पीडाले
ही दिनपहिले
ऐनामा
त्यस्तै–
त्यो गिद्धको जस्तै
देखेथ्यो उसले आफ्नो अनुहार

उसको त्यो भय
उसको चिन्ता
उसको त्यो पीडा
एक ढिक्का भयो
अन्तर्मनको आगोमा पग्लेर
च्याप्टियो आत्माभित्र पेलिएर
अनि तरवार बन्यो– मन्जुश्रीको झै“
धारिलो

झिलिक्क बिजुली चम्के झै“
काटियो एउटा गल्छी
अन्धकारको त्यो राज्यमा ।

प्रस्फुटित हुन थाल्यो जब
त्यस गल्छीभित्र
सानो अङ्कुर सुन्दरताको
अनि देख्यो मानिसले
उज्यालो
विस्तारैविस्तारै जो हुर्कि“दै थियो
उसको गहिरो पीडास“गै

गल्छीपारि खण्डहरमा
गजक्क परेर बसेको गिद्ध
उज्यालोको प्रस्फुटनदेखि
बिल्कुल अनभिज्ञ
अझै फड्फडाउ“दै थियो पखे“टा
घमण्डले
रमाउ“दै अन्धकारमा

यो देखिरहेको मान्छे
निःशब्द प्रार्थनामा
पीडाको दियो बालेर
चुपचाप चिच्याइरह्यो

ईश्वर !
देखोस् न त्यसले पनि
यो दिव्य सुन्दरता !

Gopal Parajuli – D.C. Ma Mero Prabesh

गोपाल पराजुली – डी.सी. मा मेरो प्रवेश

टनी मरिसनको परिचय आँखामा राखेर
डी.सी. हेरिरहेको म
काला जातिको संवेदनालाई
मरिसनले
र मेरा आँखाले
मेरो देशको संवेदनालाई
पुनर्जीवित गरेर
म कसरी बाँच्न सक्छु
अमेरिकालाई हेरेर
आफैँतिर फर्किरहेछु
शत्रुहरूको खराबीको भविष्यवाणी गरेर
र शत्रुहरूले
मानिसहरूलाई हेरेर ताकेका
बन्दुक हेरेर
आँखाको उच्चतम शिखरमा बसौँ
कि आधुनिक संवेदनालाई आत्मसात् गर्दै
आधुनिक अमेरिकाको जीवनलाई समाएर
विश्वलाई स्वतन्त्रताको भाव दिन सक्ने
कथा कविता लेखौँ
मेरो र देशको मौनताको बीच
उठ्न सक्ने
सबै पर्खालहरू ढालेर
मलाई मेरो कवि दिन सक्ने
समयलाई
र मेरो मनमा हुर्किएको
कुनै नवागन्तुक योद्धालाई
परिचयका साथ
साथमा लिँदै
असल खराबका बीच हुर्किएको
एउटा संसार
आफैँले राख्नका लागि छानौँ
कि जीवनको व्यापकतालाई
अमेरिकातिर हेरेर
देशलाई दिउँ
र सम्झनलायक समयको
प्रशंसामा
अमेरिकामै बसेर
अन्तिम कविता लेखौँ
म मानवीय संवेदनाको स्वर
मैले मलाई बाँच्न दिएको जीवनमा भरौँ
र आˆनै कविलाई
आफूसँग खोसेर
अमेरिकी भूमिमा उभिएर
संसारलाई दिऊँ
कि प|mस्ट हेमिङ्वे
हृविटमनहरु
शताब्दीको र मेरो भएको
खुलासा गर्दै
आˆनो सूचना लिन
नेपालबाट
अमेरिका प्रवेश गरेको कुरा
घोषणा गरौँ
कि अमेरिकाकी
कुनै कवयित्रीको गर्भबाट
बुद्ध झिकेर
यो संसारलाई दिन चाहन्छु भनौँ
र हातमा अस्त्र नहुनेहरुलाई
जीवित राख्न
यो संसारमा
एउटा असल मानिस जन्मनु
जरुरी छ भनेर
बिहान उठ्ने बित्तिकै
कविताको अन्तिम हरफमा
सही गरौँ
बन्दै गरेका
प्रश्नहरुलाई आँखामा राखेर
मेरा सबै उत्तरहरुलाई प्रतीक्षाबाट झिक्न
र बाँकी प्रश्न नगर्न
मेरो कविलाई हेरिरहेछु ।

-वुडबि्रज, भर्जिनियाँ,
अमेरिका, नोभेम्बर-६, २००५

Saroj Dhital – Pidaa Nilkantha Ko

सरोज धिताल – पीडा नीलकण्ठको

हे महादेव !
ए शङ्कर !

भन त नढाँटी,
दुख्दैन के साँच्चै त्यो नीलो घाँटी ?

कि तिमीसँग पनि छ
हिउँ जस्तो कुनै चीसो पीडा
जसले काठिएको छ
तिम्रा चीसो छाला
र तिमीलाई दुख्दै–दुख्दैन ?

या कुनै लेप छ तिमीसँग
निस्पृहाको
जसले लेपिएको छ तिम्रो बुढो गला
र विषले तिमीलाई पोल्दै पोल्दैन ?

ए शङ्कर !
म मान्छे तिमीसँग सोध्दैछु
भन त नढाँटी
के तिमीलाई रिस उठ्दैन ?
जब भक्तहरू आएर प्रार्थना गर्छन्
र भन्छन्–
“हे प्रभु !
फेरि एकचोटी पिई देऊ न हलाहल
जो निस्किरहेछ मेरै जीवनबाट
मन्थन भएर मेरै पापको डोरीले ”

जनवरी, १९९९

Laxmi Prasad Devkota – Maal Kindi

क.
समय बराबर प्यारले फर्की,
उल्टो छाल
हान्छ कमाल !
किनकि अगाडि क्यै झल्केथ्यो,
बेहोश वेगमा,
स्वर्गको माल !

ख.
सम्झनाले गिज्याइहिछ बोक्रालाई,
निद्रालाई तन्द्रालाई,
ऊँगलाई आत्माको !
“तैले बेंक्मा राखेमध्ये
कुन हो अक्षर ?
कुन हो सुन्दर ?
के ले जिउँछन् रातमा यो ?”

ग.
क्षणहरुले लुटिरहन्छन्
नित्य मलाई
गरीब बनाई,
सम्झनाले लुटेर तिनकन,
“लौ ला” भन्छे — यो भारी चीज,
खोसी ल्याएँ !
तेरो, तँलाई !

घ.
अलकत्राले कालो सडक छ
नकली माल रङ्गीन भडक छ !
दिनकरको छ यात्रा अन्त !
बाँकीपुरमा याद अटक छ !
बिजुली–तारमा एक चटक छ !
पृथिवी बन्छिन् बैकुण्ठ !

ङ.
स्वर्गावतरित सन्ध्या ओर्ली
पसल–सींढीमा ओर्लन खोज्छिन् !
ज्योतिषी छन् साथी दृग दुई
जब नव तारा झल्किन रोज्छिन् !
उज्यालो भनेको अमृत हो !
जिइरहन्छ, जिलाइरहन्छ !
ती झल्किथिन्, लझ गुँज्छिन् !

च.
फेला परयो तब एउटा ताला !
खुले हृदयको सारा कोठरी,
ऐनावाला !
झल्किन् हजारौं रङ्गले
बाला !
नशा, नशाका तार भरी क्यै बिजुली दुगु¥यो,
ज्वाला माला !

छ.
सुन्दरीजल झर्ना झरेथ्यो
जीवन–चक्र घेर घुमाई !
दुनियाँका सब नगरी झिलमिल
पारुँ जस्तो लाग्यो मलाई !

ज.
दिनकर डुबेथे यत्ति निम्ति !
बिजुली बलेथे यत्ति लागि !
अनन्त क्षणहरु भुरभुर उडेथे
ठाउँ बनाउन यस क्षण लागि !
म पनि सारा संसार घुमेथें
पाउन यत्ति, यत्ति भागी !
एक थलनिम्ति संसार बन्छन्
एक पलनिम्ति पृथिवी घुम्छिन्
एक क्षण लागि जीवन बन्छन्
अनन्तका पनि क्षणमा गुँड छन् !

झ.
एकै क्षणको आन र तान,
दिव्य दर्शन या सूनसान !
एक पलकमा नितको ज्यान !
एक झलकमा पर आश्मान !
एक झलकमा जगत् श्मशान !

ञ.
मानवताको बिरुवामाथि
फुल्दछ यति तर्क भन्ने जानें !
दुई आँखाले पिए त्यो राति
त्यो अमृत जो सुरले जाने !

ट.
सुन्दरता ! के पायौ याद ?
चोरी हुन्छन् पथमा कत्रा ?
आफू सग्लै टिपियौ, अचेता !
धनी बनाउँछयौ कोष परत्र !

ठ.
स्वरुपभन्दा छाया अमर छ !
छाया ठूलो ! छाया सुन्दर !
तिम्रो तत्क्षण थिति नै अमर छ !
अजर छ तिम्रो मोहनी–मन्दिर !

ड.
प्यार भनीकन कोही छुँदो हो,
अवहेलनको तिम्रो काया !
पूजा गर्दै कोही रुँदो हो –
सम्झन सक्छयौ ?–
सकुची, चित्रन तिम्रो छाया !

ढ.
प्राप्त तिम्रा वैभव सीमित !
अप्राप्त तिम्रा धन छन् असीमित
आपूmभन्दा तिमी छौ ठूली !
अचेत छौ ए शक्ति अकेली !

ण.
कुनै कुनामा, भारतदेश,
शायद् वाष्पिल दर्पण सामु
दुखले टिप्छयौ फुल्दो केश !
बैँसको हरियो, मीठो, फुल्दो
उपवनमा भै शरदावेश !

त.
कसरी बताऊँ तिमी छौ उस्तै ?
बयस अमरमा सुन्दर चूली ?
आँधी न छुन्छन्, समय न छुन्छ !
परिवर्तन छ पदको धूली !
एकान्त हराएँ मैले सुन्दरी !
बेहोश निमौले संगमा बोली !
समय अडाई, विजयकथाका
वार्ता खोली !

थ.
सींढी पसलका ओर्ल शके ए !
ती लोचनका झुम्का ओराल !
उन्नाईसौँ बत्तीस सन् छ !
बदल, सके लौ, तिमी यो काल !

द.
स्पर्शहरुले खिइँदै शोभो
छाया–जगत्मा आश्रय लिन्छन् !
सचेत बन्दा आत्मा, आखिर,
त्यसमै सदन बनेको पाई—
निवसन्छन् !
आइरहिछौ ! मेरा हकले
सबका छिन्छन् !
विशाल विश्वको बाजार विषे, मेरा हकले,
माल किन्छन् !

ध.
संसारी क्वै स्तरमा भुल्दी
आफ्नो राज र सच्चा शासन !
ए अचेता ! पाउली याद !
मुग्ध दिल हो सुन्दर–आसन !

न.
सम्बन्धहरुमा मसिना, मीठा
सञ्चित अश्रुत स्वर नै बोली !
कोही जनममा चित्रकलामा
चकित बनाई, झल्के भोली !
पूरा मिलनमा, लबढब हुँला
विश्वनाथका मुटु भै डोली !

Hem Nath Ghimire – Chhati Bhitra Desh Dukhchha

हेमनाथ घिमिरे – छातीभित्र देश दुख्छ

राति निदाउँदा पनि मन आफ्नै देश पुग्छ ।
बिदेशमा हुँदा पनि छातीभित्र देश दुख्छ ॥

अरु के नै मागुँ र खै मात्र शान्ति फुले पुग्छ ।
दुःख बिसाउँदा पनि छातीभित्र देश दुख्छ ॥

हाना-हान नगरेर द्वेश-ईष्र्या भुले पुग्छ ।
लुछा-चुँडी सुन्दा पनि छातीभित्र देश दुख्छ ॥

सबै मिली देश निम्ति दिल थोरै खोले पुग्छ ।
सीमाना त्यो छुँदा पनि छातीभित्र देश दुख्छ ॥

गाउँ-बस्ती गरीबका निम्ति केही बोले पुग्छ ।
ताना-बाना बुन्दा पनि छातीभित्र देश दुख्छ ॥

अरु पछि मागौँला है ऐले सबै मिले पुग्छ ।
जहाँ जो नै रुँदा पनि छातीभित्र देश दुख्छ ॥

हेमनाथ घिमिरे
बाहुनडाँडा लमजुङ् ।