Laxmi Prasad Devkota – Bhoot Sawar

लक्ष्मी प्रसाद देवकोटा – भूत सवार

क.

थिए सिकन्दरका जुँघा
क्या बाघका !
करमा कस्तो करवाल !
मुठी कस्ता !
लाख, लाखका !

ख.

झोक्रिरहन्थ्यो, झोक्रिरहन्थ्यो,
लहडी एक !
भाग्यो केही ?
सब मोटाए चाटी, चाटी !
विश्वविजेताको छ उदेक !

ग.

“के चाहिन्छ ?”
त्यो भन्छ,
“हा ! हा ! हा ! हा ! घाम नछेक”
शस्त्रअस्त्रको शेखीउपर
हेर ! बुद्धिको कत्रो टेक !

घ.

दीवालाका दान गजब छन् !
स्वतन्त्र दिलको पुजारी
हाँस्दछ, हाँस्दछ मेरा दिलमा
पाजी, पूँजी, लूटहरुमा,
इन्कार तथा धिक्कार
नामका खुट्टा बजारी !